Thursday, March 27, 2014

प्यूसो पत्रकारको प्रतिरक्षा - कलमको दुरुपयोग


प्यूसो पत्रकारको प्रतिरक्षा - कलमको दुरुपयोग

डा. रोशन श्रेष्ठ, हाल अमेरिका

(दिलशोभा प्रकरणले नेपाली पत्रकारिता क्षेत्र विभाजित भइरहेको अवस्थामा किशोर नेपालको लेख "दिलशोभाको भुंग्रोमा प्युसो पत्रकार" नयाँ पत्रिकामा प्रकाशित भयो । सामजिक सञ्जालमा यस लेखलाई लिएर तिव्र प्रतिक्रिया भयो । उनले "महाभारतका भिष्म पितामहले जस्तै भूमिका निर्वाह गरेका हुन्" भन्ने धेरैको टिप्पणी रह्यो । कुनै मूलधारका पत्रिकाले उहाँको लेखको विरुद्ध लेखिएका लेख छाप्ने साहस गरेनन् । तर नेपालबाट धेरै टाढा अमेरिकामा बसेर यस घटनाक्रमलाई नियाली रहेका डा. रोशन श्रेष्ठले उनको लेखको प्रतिक्रिया लेख्ने साहस गरे । उनले लेखेको यो लेख सम्बन्धित पत्रिकाले छाप्ने आँट गरेनन् । छापिएका लेखको प्रतिक्रिया पनि सोही अखवारले छाप्नु पर्ने यथार्थलाई पूरै बेवास्ता गरिए । तर नेपाली समाज पहिलेको जस्तै अखवार र रेडियोमा मात्रै भर परेका भने छैनन् । सामाजिक सञ्जाल र ब्लगले सोझै पाठकहरु सम्म पुग्ने अवस्थामा हामी छौं । उहाँको लेख केही ढिलो भए पनि यहाँ समक्ष प्रस्तुत गरेको छुँ । सत्य असत्य छुट्याउने जिम्मा यहाँहरु कै । 

- ब्लगर राज श्रेष्ठ )




दिलशोभाको भुंग्रोमा प्युसो पत्रकार-किशोर नेपाल(नयाँपत्रिकाबाट साभार)

नयाँपत्रिकाको वेबसाइटमा किशोर नेपालको लेखमाथि प्राप्त प्रतिक्रियाहरु

प्रस्तुत लेखको फेसबुक शेयरबाट प्राप्त प्रतिक्रियाहरु

कीर्तिपुर सन्देशका प्रबन्ध सम्पादक नजरराम महर्जनको फेसबुक अभिव्यक्ति


"दिलशोभाको भुंग्रोमा प्यूसो पत्रकार" यो शिर्षक दिएर वयोवृद्ध टिप्पणीकार किशोर नेपालले टिप्पणी लेखेछन, जसमा दिलशोभाको चरित्रहत्या हुने समाचार छाप्ने पात्रलाइ प्यूसा पत्रकारको रुपमा चित्रित गर्दै वचावट गर्ने भरमग्दुर प्रयत्न गरिएको छ। उक्त टिप्पणीमुलक लेख दिलशोभामाथि लागेको आरोपको पक्ष वा बिपक्षमा होला भन्ने आशा धेरैले गरेका होलान । तर लेखको शिर्षक नै 'दिलशोभाको कारणले पत्रकार अन्यायमा परेको' भन्ने आशय रहेको छ, जब कि हालसम्म उद्घाटित तथ्य के हो भने अपुष्ट आरोपलाइ पत्रिकामार्फत सन्सनीखेज बनाउन 'तथ्य प्राप्त भएको छ' भन्ने शब्दावली प्रयोग गर्दै पत्रिका मण्डलीले समाचार छापेपछि समाजसेवी दिलशोभा श्रेष्ठ गम्भीर अन्यायमा परेको हो । यसरी उक्त लेखको शिर्षकमा नै शब्दजाल बुनेर तथ्य नै उल्टो पाल्टो पार्ने कुत्सित मनसाय लुकेको देखिएको हुँदा यो लेख लेखेबापत लेखकले कति अदृष्य उपलब्धी कुम्लाए होला भन्ने चासो सर्वसाधारणले राखे भने अचम्म मान्नु पर्दैन । उनले लेखेको लेखको हरेक अनुच्छेद अनुच्छेदमा पुर्वाग्रही सोच, जबर्जस्त कुतर्क, कुण्ठा, अप्रासंगिक सामग्री, अनावश्यक बिज्ञापन र कुत्सित मनसायहरु छर्लङ्ग विम्वित भएका छन । यसरी कुतर्क गर्न निर्लज्ज मैदानमा ओर्लने पात्रलाइ नेपाली समाजले प्रदान गरेको 'बरिष्ठ' हैसियतमाथि तिनले न्याय गर्न सकेको देखिएन । तिनको लेखलाइ चिरफार गर्दा मैले विभिन्न कुरुप दृष्यहरु देखे र उक्त लेख समग्रमा कलमको दुरुपयोगको रुपमा बुझ्न बाध्य भएँ । मेरो मुल्यांकन निम्न बमोजिम हरेक अनुच्छेदको संख्या पछाडि कोष्ठभित्र राखिएको छ ।




अनुच्छेद १ र २ - (अनावश्यक बिज्ञापन) 
यी अनुच्छेदमा प्यूसा पत्रकारको किताब, तिनको निजि रुचि र पत्रकारिता विषयबारे  भुमिका बाँधिएको छ । उल्लेखित किताब लेखेका कारण यो घटनाको रिपोर्ट गरेका होइनन र यो प्रकरणको टिप्पणीमा त्यो किताबको बखान जरुरी थिएन । त्यस्तै, किन उक्त पत्रकार यस्ता समाचार लेख्छन भन्ने कुरो पनि आवश्यक विषय होइन, न त सम्पादकले दिएका जिम्मा वा पत्रकारले कायम राखेको ब्यक्तिगत सम्बन्ध नै दिलशोभा आरोप प्रकरणसंग सरोकार राख्दछ । यी अनुच्छेदमा समेटिएका कुराहरु फगत अनावश्यक विज्ञापन हुन ।


अनुच्छेद ३ र ४ - (अप्रासंगिक सामाग्री) 
यी अनुच्छेदमा मेडियामा हावि रहेको कर्पोरेटको भुमिका समेटिएको छ । तर कर्पोरेटको भुमिकाका कारण दिलशोभा माथि आरोप लागेको वा आरोपको प्रकृतिमा असर परेको हो भन्ने कुराहरु हालसम्म बाहिर आएको देखिन्न । त्यसैले यो प्रसंग किन यो लेखमा राखियो भन्ने स्पष्ट छैन। यदि नागरिक पत्रिका संचालक कर्पोरेटले निर्दैशन दिएका कारण प्यूसापत्रकारले यो समाचार यसरी लेखेको हो भने किशोर नेपाल वा अन्य श्रोतबाट यसको सार्वजनिक जानकारी आउनु पर्यो । के प्यूसा पत्रकारले जसो जसो जजमान गरेकै हो त? के त्यहि भएर धाराबाहिक जस्तै किस्ताकिस्तामा दिलशोभामाथि आक्रमणको सिलसिला जारी राखेकै हो त? खुलस्त पार्ने जिम्मा किशोर नेपालकै हो, हैन भने यी दुवै अनुच्छेद अप्रासंगिक सामाग्री हुन ।


अनुच्छेद ५ र ६ - (अप्रासंगिक सामाग्री) 
यी अनुच्छेदमा विवाद बढेपछि पत्रिका विक्रि बढेको र समाचार बजार तातेको कुरो समेटिएको छ । अनावश्यक विषयमा पत्रिकाद्वारा विवाद उछाल्नु तथा नारी अस्मितामाथि जघन्य हमला गर्नु भनेको जनभावना माथि अनावश्यक खेलवाड गर्नु नै हो । यस्तो गतिविधिले क्षणिक पत्रिका वा पत्रकारको ब्यापार बढ्ला, तर यो अवस्था दिलशोभाले श्रृजना गरेका विषय होइनन । दिलशोभामाथि अपुष्ट आरोपको प्रचार गर्ने पत्रकार र यथेष्ट छानविन नगर्ने प्रशासनले श्रृजना गरेको विषय हुन । त्यसैले दिलशोभाको भुंग्रोमा भएको उक्त लेखमा यी अनुच्छेदका कुराहरुको केहि सम्बन्ध छ र? केहि पनि छैन ।


अनुच्छेद ७ - (कुतर्क) 
यो अनुच्छेदमा 'मागेर हैन आफ्नै परिश्रमबाट गरेका सेवामात्र समाजसेवा हो' भन्ने जिकिर गरिएको छ। तर दिलशोभा श्रेष्ठले काठमाँडौको मुटुमा रहेको, हज्जारौहज्जार बहाल उठ्ने घर नै समाजसेवामा समर्पित गरेको किन भुलियो? दिलशोभा श्रेष्टले बिगतमा कमाएर जोडेका श्रीसम्पत्ति, गरगहना सबै सेवामा लगाउँदा लगाउँदै खपत गरेर गरगहनाविहिन भएको किन देखिएन? दिलशोभा श्रेष्ठले बिहान ३-४ बजेदेखि उठेर आफै खटेर सेवा गरेको, सरसफाइ गरेको, भान्छा सम्हालेको आदि परिश्रमहरु किन विर्सियो? त्यसैले यो अनुच्छेद दावि गरिएको परिश्रमहिन समाजसेवाको बखान दिलशोभा प्रकरणको सन्दर्भमा कुतर्क मात्रै हो । शायद टिप्पणीकार नेपाल र दिलशोभा श्रेष्ठ समकालीन उमेरको होला । लौ त परिश्रमको वकालत गर्ने टिप्पणीकारज्यू, दिलशोभा श्रेष्ठले एकदिन भरी जति शारिरिक परिश्रम गरेर समाजसेवा गर्नु भएको छ, त्यसको आधा तपाइले २-४ दिन परिश्रम गरेर देखाउनोस त!! अरुलाइ परिश्रम गरेनस भनेर कुतर्क गर्न त्यसले मात्र जान्दछ, जसले आफै कहिल्यै परिश्रम गरेको हुँदैन ।


अनुच्छेद ८ र ९ - (कुण्ठा)
यी अनुच्छेदमा समाजसेवाको नाममा आमरुपमा देखिएको विकृतिलाइ सामान्यिकरण गरिएको छ । ती कुराहरु दिलशोभा सम्बन्धि लेखमा घुसाउनु भनेको घुमाइफिराइ दिलशोभा श्रेष्ठ पनि अन्य समाजसेवीहरु जस्तै समाजसेवाको नाममा बिलासपुर्ण जीवन बिताउनेहरु जस्तै हुन भन्ने आशय हो । जब कि दिलशोभा श्रेष्ठ आफुमाथि आस्रितहरु जे खान्छन त्यहि खान्छन, उनीहरु जस्तो लाउँछन, त्यस्तै लाउँछन र उनीहरु सँग सगोल एकै घरमा बस्छन । यस्तो कुरो नजरअन्दाज गरेर समाजसेवाको क्षेत्रमा रहेका नीतिगत कमजोरीबाट फाइदा उठाउँदै योजनाबद्ध भ्रष्टाचार गर्ने आम समाजसेवीको प्रसंग झिकेर समग्र समाजसेवीहरु विरुद्ध तीतो ओकल्नु भनेको उक्त टिप्पणीकारले आफु त्यस्तो कर्ममा संलग्न हुन नपाएको कुण्ठा ब्यक्त गर्नु मात्र हो । दिलशोभा आम समाजसेवीभन्दा फरक छवि बनाएका, फरक कर्म गरेका र फरक पृष्ठभुमिमा रहेका हुनाले नै उनीमाथि सम्पूर्ण समाजको समर्थन ओइरिएको हो भन्ने हेक्का टिप्पणीकारले गरेको देखिएन ।


अनुच्छेद १० - (कुतर्क) 
यो अनुच्छेदमा थप जवर्जस्त कुतर्क थप्दै इन्भेस्टिगेटिभ जर्नालिज्मको प्रसंग झिकिएको छ । जहाँ एक अबला नारीमाथि जघन्य चरित्रहत्या हुने समाचार छापिन्छ, त्यसले टिप्पणीकारलाइ 'पुलकित' बनाउँछ अरे, कठै!! जहाँ समाजमा स्थापित नारीको रातारात उठीवास बनाउने एकतर्फी समाचार आउँछ, त्यहाँ टिप्पणीकार 'इन्भेस्टिगेटिभ' पत्रकारीता देख्छन अरे, कठै!! 'ईन्भेस्टिगेटिभ जर्नालिज्म'मा पत्रकारले स्वतन्त्र 'इन्भेस्टिगेट' गरेको हुनु पर्यो । कुनै अनुसन्धान अधिकृतसित नाजायज सम्बन्ध विस्तार गरेको कारण पुस्टी नभएको समाचारलाइ 'तथ्य प्राप्त भएको' दावि गर्दै पत्रिकामा छाप्ने काम कसरी 'इन्भेस्टिगेटिभ जर्नालिज्म' भयो? घटनाको प्रचार भएको यतिका समय वितिसक्दा सम्म कुनै एक आरोप कसैले प्रमाणित गर्न सकेको छैन । त्यति मात्र हैन कि, सर्वसाधारणले उचित ठहर्याउने प्रमाण समेत सरकार, प्रशासन र आरोप लगाउनेहरुले जुटाउन सकेको छैन । यस्तो निरिह अवस्था आउँदा पनि यस्तो कुतर्क? हो त्यस्तो जबर्जस्त कुतर्क हुन थालेपछि मानिस सोच्न थाल्छन, किन यस्तो हुन्छ? कतै नाकको साइज मिलेर त हैन, कतै आँखाको साइज मिलेर त हैन, कतै थर गोत्र मिलेर त हैन, कतै एकै खालको मानसिक रोग लागेर त हैन? जब कुतर्क जबर्जस्त जारी रहन्छ, प्रतिरक्षामा जातीय बिभेद, धार्मिक बिभेद, राजनीतिक आस्थामा आधारित बिभेद, सामाजिक बिभेद, लैंगिक विभेद जस्ता तमाम कुराहरु थपिदै जान्छ ।


अनुच्छेद ११ - (पुर्वाग्रही सोच) 
यो अनुच्छेदमा नाम उल्लेख नगरी कान्तिपुरमा प्रकाशित बिजयकुमारको लेख प्रति टिप्पणी गरिएको छ । त्यहाँ उल्लेखित एकलाइन घतलाग्दो रहेछ 'ज्ञानीहरूले आफ्नो घरको बदनामी र आफ्नै धर्मच्यूत हुने गरी अरूको पक्षमा पाखण्डको गीता गाउँदैनन् ।' किशोर नेपालको सम्पूर्ण लेखमा पाखण्डको गीता कसले गाइरहेको रहेछ भन्ने स्वत: देखिएको छ । पत्रकारको काम समाचार लेख्ने, प्रमाणित गर्ने काम सरकारको हो भन्ने तर्क पनि तेर्साइएको रहेछ । त्यसो हो भने भोली कुनै मानसिक सन्तुलन बिग्रेको मानिसले दिएको उजुरीलाइ आधार मानेर कुनै ब्रोडसिटले फ्रन्टपेजमा 'किशोर नेपालमाथि बाल यौन दुराचार गरेको आरोप' भन्ने समाचार छाप्ने हो भने के त्यो समाचार लेख्ने पत्रकार, छाप्ने पत्रिका र प्रकाशन संस्थाले कुनै जिम्मेवारी खेप्न नपर्ने ? कि किशोर नेपाल माथि आरोप लगाउन पाइन्न दिलशोभा श्रेष्ठमाथि लगाए पनि हुन्छ भन्ने हो र?


अनुच्छेद १२ - (कुत्सित मनसाय) 
यस अनुच्छेदमा फेसबुकका कुरा समेटिएका रहेछन । ती टिप्पणीकार आफै पनि नामि बानियाँ नै हुन र उनले 'के जाति' बिकाउन त्यो लेख लेखेका हुन भन्ने कुरो त्यस लेखमाथि ब्यक्त टिकाटिप्पणीले देखाइसकेको छ । फेसबुकमा कसैको मोबाइल नम्बर लेखिनुका सकारात्मक नकारात्मक दुवै असर होलान । प्रचार खोज्ने पत्रकारको निमित्त 'के खोज्छस कानो आँखो' झै होला । त्यो सकारात्मक पाटो उल्लेख नगरी कुत्सित मनसाय राखेर नकारात्मक टिप्पणीमात्रै संलग्न गरेका छन। त्यहाँ धम्कि आएको उल्लेख छ, तर धम्कि दिनेले सार्वजनिक रुपमा नै 'मैले धम्कि दिएको हो' भनेको कुरो उल्लेख छैन, बरु त्यो पनि थपिदिए टिप्पणी सन्तुलित हुने थियो । धम्कि दियो भनेर लेख्ने, तर धम्कि किन दियो? के भनेर दियो? कुन कुरामा दियो? त्यो चाहि लेखिएन । नलेखे पनि हुने हो र? ती प्यूसा पत्रकारले कसैको पैसो खाइदिएर धम्कि पाएको हो कि? अथवा, दिलशोभा श्रेष्ठले अह्राएका कारणले धम्कि आएको हो कि? अथवा, जुनसुकै कारणले धम्कि आएपनि दिलशोभा श्रेष्ठमाथि दोष थोपर्न पाइने पो हो कि?


अनुच्छेद १३ - (अप्रासंगिक सामग्री) 
यो अनुच्छेदमा प्यूसा पत्रकारको समर्थनमा अरु लेखकहरुले लेखेनन भन्ने गुनासो र प्यूसा पत्रकार पत्नी दिल्लीभ्रमणमा गएको कुरो रहेछ । लेखकहरुले लेख्ने वा नलेख्ने आ-आफ्नै कारण होलान । दिलशोभाले भनेर वा दबाब दिएर नलेखेका हुन र? ती टिप्पणीकार आफैले पनि त २ हप्तासम्म नलेखि बसे नि । किन? कि भनेको मुल्य नपाएर अहिलेसम्म नलेखि बसेको हो भनेर कसैले प्रश्न सोधे केहि जवाफ छ कि? पुष्टी नहुने समाचार 'तथ्य प्राप्त भएको छ' भनेर पत्रिकाले छापे पछि, शायद प्यूसा पत्रकारले तथ्य सार्वजनिक गर्लान भनेर अन्य नैतिक मान्यताले ओतप्रोत ब्यक्तित्वहरु प्रतिक्षारत थिए होलान । 'प्राप्त तथ्य' देखाए भैहाल्यो । 'तथ्य' देखाए सबैले वाहबाही गरीहाल्लान नि । त्यस्तै गरी प्यूसा पत्रकारका श्रीमति दिल्ली गएको सन्दर्भलाइ पनि 'शयरमा मस्ति मार्न गएको' भन्ने र 'दिलशोभाको भुँग्रोमा परेको' भन्ने दुवै पक्ष उल्लेख नगरी एकपक्षिय टिप्पणी छ भने उता दिलशोभाको घरमा रातदिन रुवाबासि र बालबच्चा अपहरणले गर्दा पहिले नै नाजुक स्वास्थ स्थीतिमा रहेका वृद्धहरुमाथि परेको मानसिक आघात, आतंक र असुरक्षा आदि पिडाको स्वरहरु प्रति पुरै आँखा चिम्लिएको छ । यता प्यूसा पत्रकारको पत्निको हातमा मोबाइल पुग्न नसकेको भने उक्त लेखकको नजरले मज्जाले देखेछन । गजब कै रहेछ लौ।


अनुच्छेद १४ - (जबरजस्त कुतर्क) 
यो अनुच्छेदमा प्यूसा पत्रकारलाइ लागेको दोष अरु पत्रिकाको कारण भन्ने आशय प्रकट गर्दै अरुमाथि दोष थोपर्ने प्रयास गरिएको रहेछ । प्यूसापत्रकारले आफुले लगाएको आरोपको कुनै वजन महशुस गर्न नसक्नु र उनले प्राप्त गरेको भनेको तथ्य देखाउन नसक्नुले नै त्यो कति सत्य हो, कति अनर्गल र मिथ्यो थियो थाहा भएको छ । कि तथ्य देखाउनु पर्यो, कि हैन भने कारवाहीको भागिदार हुनु पर्यो - सिधा सरल कुरो यो हो । नेपाली जनता 'तथ्य' भनेको के हो भनेर खुट्याउन नसक्ने भेडा त हैनन । उनले उल्लेख गरेजस्तो 'पाटी' कति छन कति, कुन चाहिं हो स्पष्ट उल्लेख गर्नु नि? के को चपाइ चपाइ लेख्नु परो?


अनुच्छेद १५ र १६ - (असान्दर्भिक सामाग्री) 
यो अनुच्छेदमा आफैले अपाणवायू छोड्ने अनि आफैले दुर्गन्ध फैलियो भनेर कोकोहोल्ला गर्ने जस्तो कुरो रहेछ । के स्वतन्त्र पत्रकारीतामा रोक लगाउन दिलशोभा श्रेष्ठले कुनै भुंग्रो बनाएकि थिइन? के पत्रकारहरुलाइ स्वविवेक प्रयोग गर्न, हेर्न आउन, सोधेको कुरो बताउन, समाचार सम्प्रेषण आदिमा दिलशोभाले कुनै प्रतिबन्ध राखिन? यो अनुच्छेको कुरो दिलशोभा श्रेष्ठमाथि लागेको आरोपसित के सम्बन्ध राखेको छ र?


अनुच्छेद १७ - (अनावश्यक बिज्ञापन) 
यो अनुच्छेदमा पनि ती प्यूसा पत्रकारको गुणगान गाइएको रहेछ । त्यस्तो फोकटिया बिज्ञापन किन आवश्यक पर्यो र? तिनी त वेस्टसेलर लेखक, सम्पादकका प्रिय, के के हो के के गुण भएका र आफैले चयन गरेको पेशामा रहेका मानिस भनेर भुमिका बाँधेको होइन र? आफैले चयन गरेको पेशाबाट कसले विस्थापन गर्न सक्छ र? सक्दै सक्दैन । यो अनुच्छेदमा उल्लेख विज्ञापन आवश्यक नै थिएन ।


समग्रमा एक खोक्रो र लम्बेतान लेख लेखेर उक्त टिप्पणीकारले लेखकीय पारिश्रमिक त दर्है असुले होलान, तर त्यसको साथसाथै विद्वान पाठकहरु माझ तिनले आफ्नै वजनको अवमुल्यन पनि गरे । माथि उल्लेख गरे झै कुण्ठा, पुर्वाग्रह, असान्दर्भिक सामग्री, अनावश्यक बिज्ञापनहरुको वीचबाट कुतर्कहरु ठेल्नु भनेको खुल्लेआम कलमको दुरुपयोग हो । लेखकहरुले लेखकिय क्षमताको दुरुपयोग गर्दै पिडितमाथि अझै पीडा थप्ने र जसले पिडा दिएको छ उसैलाइ पिडितको रुपमा चित्रित गर्ने दुष्प्रयास भनेको सर्वसाधारणमाथि मानसिक वलात्कारको प्रयास हो । यस्तो कर्मलाइ 'जो चोर उसकै ठूलो स्वर' भन्ने उखानले चरितार्थ गर्छ । तर बयोवृद्ध टिप्पणीकार भनिएका ब्यक्तिहरु पनि 'चोरको स्वरमा स्वर' मिलाउन हिड्दा कतै यो 'दुधको साक्षि बिरालो' त हैन भन्ने खुल्दुली पनि जागेको छ ।

कीर्तिपुर सन्देशका प्रबन्ध सम्पादक नजरराम महर्जनको फेसबुक अभिव्यक्ति

नेपाली पत्रकारिता क्षेत्रका भिष्म पितामह भनिने किशोर नेपालले २६ फागुण २०७० मा नयाँ पत्रिका दैनिकमा “दिलशोभाको भुंग्रोमा प्युसो पत्रकार” शिर्षकमा आफ्नो दृष्टिकोण प्रकाशित गर्नु भएको रहेछ । उहाँको लेख पढेर मलाई महाभारतको एउटा प्रसंग याद आयो – कौरव सभामा द्रौपदीको चिरहरण भइरहेको थियो तर भिष्म पितामह भने चुपचाप बसिरहेको थियो । द्रौपदीले आफ्ना अग्रजहरुसँग आफ्नो इज्जत बचाउन धेरै अनुनय विनय गरिन् । तर ज्ञानका भण्डार, नीति नियमका ज्ञाता भिष्म पितामहले एकशब्द नबोलिकन चुपचाप बसिरह्यो । आखिर भगवान श्रीकृष्णले द्रौपदीको इज्जत बचायो ।

कौरव र पाण्डवको वीच महाभारत युद्ध भयो । भिष्मपितामह अर्जुनले हानेको बाण शैयामा सुत्न बाध्य भयो । उहाँलाई भेट्न जानेहरुलाई भिष्मले ज्ञानगुणको कुरा, नीतिगत कुरा बताईरहेको थियो । यो देखेर त्यहाँ पुगेकी द्रौपदी खित्का छाडेर हाँसिन । उनको यो व्यवहार देखेर भिष्मले किन हाँसेकी भनेर द्रौपदीसँग सोध्यो । द्रौपदीले जवाफ दिइन्, “यतिका ज्ञान गुणका कुरा अरुलाई सिकाउन जान्नेले कौरव सभामा मेरो चिरहरण भइरहँदा किन बोल्नु भएन ? के त्यो चिरहरण जायज थियो ? त्यसको औचित्य थियो ?”

“त्यतिबेला मैले कौरवको नून खाएको थिएँ । त्यही नूनको कारण मैले बोल्न सकिन ।” भिष्म पितामहले जवाफ दिए ।

के नेपाली पत्रकारिताका भिष्म पितामह भनाउँदा किशोर नेपालले पनि नागरिक पत्रिकाको नमक खानु भएको हो ? अथवा के.पी. ढुंगानाको नमक खाएर यस्तो अनैतिक दृष्टिकोण पेश गर्नु भएको हो ? 

किशोर नेपालप्रति मेरो मनमा रहेको श्रद्धा आजको दिनदेखि घृणामा बदलिएको छ ।


दिलशोभाको भुंग्रोमा प्युसो पत्रकार-किशोर नेपाल(नयाँपत्रिकाबाट साभार)

किशोर नेपाल

नयाँ पत्रिकाबाट साभार

बितेका दुई साता नेपाली मिडियामा समाजसेवीका रूपमा परिचित दिलशोभा श्रेष्ठ चर्चाको शिखरमा रहिन् । विगत एक दशकदेखि पत्रकारिता पेसामा लागेका केपी ढुंगाना र उनका एक सहयोगी पत्रकार सन्तोष न्यौपानेले दिलशोभाको समाजसेवाबारे तयार पारेको समाचार प्रकाशित भएपछि शुरु भएको सञ्चार वितण्डा आजसम्म पनि थामिएको छैन ।


अपराध समाचारमा रमाइरहेका केपीले अपराधकेन्द्रित समाचारलाई नै आफ्नो बिट बनाएका छन् । समाचारका अरू पक्षमा उनको रुचि नै नभएको होइन । तर, उनी अपराधकै संसारमा रमाए । एक वर्षअघिमात्र प्रकाशित उनको पुस्तक ओपेन सेक्रेट बेस्ट सेलर बन्यो ।

यसको अर्को सकारात्मक र रमाइलो पक्ष के हो भने यो बिट उनलाई कुनै सम्पादकले जिम्मा लगाएर शुरु गरेका होइनन् । समाचारको साख परिपक्व स्रोतसँगको सम्बन्धले बढाउँछ भन्नेमा विश्वस्त केपीले जुन सम्पादकसँग काम गरे पनि कसैले उनलाई त्यो बिटबाट अलग गराएन ।


सञ्चार माध्यमको विश्वव्यापी व्यवसायीकरणसँगै जनता र सरकारबीच निष्पक्ष मेसेन्जर (सन्देशवाहक) बाट सक्रिय मेनेजर (व्यवस्थापक) को भूमिकामा उकालिएका पत्र–पत्रिकाका घोषित सम्पादकहरूको स्वतन्त्र अस्तित्व कर्पोरेट बोर्डरुममा बिलय भइसकेको छ । यो अर्कै विषय हो– संसारका राम्रा समाचारपत्रहरूको सम्पादकीय कार्यालयमा प्राविधिक र शैक्षिक हिसाबले योग्य र विचारशील सम्पादकले आफ्नो व्यवस्थापकीय बन्धनभित्रै पनि सम्पादकीय कौशल देखाउने गरेका छन् ।

नेपालमा भने, एक वा दुई अपवादलाई छाडेर कर्पोरेट पत्रकारिताको नाममा व्यक्तिगत कुण्ठाको पसल थाप्ने कथित लगानीकर्तामा अलिकति पनि सम्भ्रान्त संस्कार पाइँदैन । उनीहरूका लागि प्रकाशनको सम्पादक र घरको गोठालोमा कुनै भिन्नता छैन । यस्तोमा सम्पादकले न त आफ्ना समाचारदातालाई बिट जिम्मा लगाउन सक्छ, न त सम्पादकीय कक्षको बिँड समाउनै सक्छ । निरक्षर जजमानले पुरोहितको वचन शिरोधार्य गर्दै जसोजसो बाहुनबाजे तसोतसो स्वाहा गरेझैँ अन्नदाताका अगाडि लम्पसार पर्नु नै उसको स्वाभिमान बन्छ ।


दिलशोभा काण्ड चम्किएपछि अखबारको बिक्री बढ्नु अस्वाभाविक थिएन । राजनीतिको स्वप्नशय्यामा दलका नेताहरूले पिसाब फेरेको दुर्गन्धले उक्ताएका नेपाली समाचारपत्रका उपभोक्ता पनि दिलशोभाको समाजसेवाका रहस्यमय गतिविधिसँग रमाए । केपी र उनको सहयोगीको समाचारले बजार ततायो ।

फागुनको नङछुरी लाग्ने चिसोमा टुकुचाको पानी तात्यो । त्यो तातो पानीमा दिलशोभाको पक्ष र विपक्षमा सामान्यदेखि सेलिब्रिटी हैसियत पाएका धेरै पत्रकारले हात धोए । अहिलेसम्म मूक पर्यवेक्षकका रूपमा रहेको यो टिप्पणीकारले पनि त्यो पानीमा हात धुने लोभ संवरण गर्न सकेन ।

तर, यो टिप्पणीकारको लोभको दिलशोभा र यस्तै प्रकारका समाजसेवामा लागेका कुनै पनि समाजसेवीसँग कुनै सरोकार छैन । समाजसेवा भनेको आफूले परिश्रम गरेर कमाएको आर्जनको केही हिस्सा समाजका पिछडिएको वर्गको अधिकतम हितमा लगाउनु हो । विकसित देशमा यो चलन व्यापक छ । किनभने, त्यताका मानिसले यसलाई धर्मका रूपमा ग्रहण गरेका छन् । तर, नेपालमा समाजसेवा मागेर गरिन्छ । देशमा भौतिक विकासका आधार नै तयार नभएकाले माग्नु हामी जनताको, हाम्रो सरकारको र हाम्रा संस्था सबैको संगठित पेसा बनिसकेको छ । त्यसैले, टिप्पणीकार मगन्तेको तहमा पुगिसकेको यस देशमा भीख मागेर गरिने समाजसेवाको कुनै औकात र हैसियत छ भन्ने सोच्दैन । अनुराधा कोइरालादेखि दिलशोभासम्म, समाजसेवाका नाममा गणतन्त्रदेखि गंगाजीसम्मका विषय समातेर लागेका सबै हस्ती उच्चस्तरीय भिखारी हुन् ।

समाजसेवाका नाममा देशी–विदेशी दातासँग भीख माग्ने कौशल र कला दुवै छ उनीहरूसँग । उनीहरूले यसैलाई आफ्नो पूर्णकालिक धन्दा बनाएका छन् । आफूलाई यो लाटो देशका गाँडा नागरिकबीच प्रतिष्ठित गराएका छन् । मन्त्री र मानवअधिकारका संरक्षक बनेका छन् । ठूला–ठूला लाभका राजनीतिक पद सुमरेका छन् । समाजसेवाका नाममा विलासपूर्ण जीवन भोगेका छन् । सरकारलाई बुझाउनुपर्ने कर छुट गराएका छन् । छुट नभएको कर छलेका छन् । टिप्पणीकारले पैंतालीस वर्ष लामो आफ्नो पत्रकारिता जीवनमा यस्ता खेल–तमासा धेरै देखेको छ । यस धन्दामा लागेर धेरैले आफूलाई दिन र खान पुग्ने हैसियतमा पुर्‍याएका छन् । नेपाली समाजमा यस्ता घटना ‘रिसाइकिल’ हुँदै आएका छन् । देशको हालत यस्तै रहने हो भने नेपाल मगन्तेहरूको सर्वोच्च देशका रूपमा संसारकै एउटा नयाँ गन्तव्य बन्नेछ ।


नेपालमा समाजसेवा ‘पोलिटिकल गेमप्लान’को अभिन्न अंग हो, राजनीतिक शक्तिको प्रमुख स्रोत, राजादेखि राजनीतिज्ञसम्म, सबैको दुहुनो गाई । ०४८ सालसम्म यो व्यवसाय राजतन्त्रको प्रत्यक्ष आधिपत्यमा थियो । त्यसपछि विभिन्न लिंग र वर्णका मानिसमार्फत पनि राजतन्त्रकै अप्रत्यक्ष आधिपत्यमा रह्यो । यसलाई नियन्त्रण गर्न विभिन्न चरणमा बनेका विभिन्न औतारका सरकारले नियम–कानुन बनाए । ती कानुनको निर्माण यी व्यवसायी, समाजसेवीकै पक्षमा भएको अहिले साबित हुँदै गएको छ । किनभने कुनै कानुनको कुनै कानुनसँग सम्बन्ध छैन । कुनै नियमको समन्वय गर्ने निकाय छैन । समाजसेवाका नाममा कार्यरत भिखारीले गरिब र निरीह नेपाली जनताका नाममा विदेशमा भीख माँगेर कति रकम भित्र्याए ? सरकारको अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई त्यसको जानकारी हुँदैन । विदेशी दूतावास सरकारसँग कुनै सरोकार नै नराखी गाउँगाउँ गएर भिक्षादान गर्न स्वतन्त्र छन् । नियन्त्रणका नाममा अर्थ मन्त्रालयको कर असुल्ने निकायले गरेको कडा र प्रभावशाली व्यवस्था साना तहका मानिसले चलाएका संस्थाको हकमा मात्र प्रभावकारी हुन्छ । शक्तिसम्पन्न सामाजिक संस्थालाई त सरकारद्वारा मान्यताप्राप्त लेखा परीक्षकले मोटो फिस असुलेर लगाँैटी लगाइदिने गरेका छन् । भिखारीहरूले चलाएको यो व्यापारको समानान्तरमा लेखा परीक्षणको प्रयोजनका लागि आवश्यक नक्कली भ्याट बिल, रसिद, होलोग्राम र छाप निर्माण गर्ने सानातिना धन्दा मौलाएका छन् ।


दिलशोभामाथि केपी ढुंगाना र उनका सहयोगीले तयार पारेको समाचार पढेपछि टिप्पणीकार पुलकित भएको थियो– नेपालमा इन्भेस्टिगेटिभ (खोज पत्रकारिता होइन, त्यो मगन्ते पेसाकै अंग बनिसकेको छ । नेपालमा त्यसले समग्रतामा इन्भेस्टिगेटिभ जर्नालिज्मको अर्थ दिँदैन) पत्रकारिता सुरु भएछ । सरकारी कार्यालय र गैरसरकारी संस्थादेखि गाउँ र जिल्लाका हरेक तहमा व्याप्त भ्रष्टाचारले आकुल–व्याकुल बनेका नेपाली जनता र नेपाली समाजको वास्तविक प्रतिनिधित्वको दाबी गर्दै आएका बौद्धिक, व्यापारिकलगायत विभिन्न समूहका सदस्यले यसको प्रशंसा गर्नेछन् । तर, टिप्पणीकारको यो सोचाइ गलत साबित हुन चौबीस घन्टा पनि कुर्नु परेन । केपीको समाचारको प्रतिक्रियामा समाचार पूर्ण रूपमा नपढेका विभिन्न महानुभावको फेसबुकको भित्तो भरिन थाल्यो । उनीमाथि नेपाली समाजमा जातीय विभेद फैलाउनेदेखि सफेदपोसी सज्जन र भद्र महिलाको धवल वस्त्रमा रछ्यानको फोहोर पानी छ्यापेर सामाजिक सद्भाव खलबल्याउन खोजेकोसम्मका आरोप लगाइयो ।


त्यति नै वेला एउटा सेलिब्रिटी कलमले आफ्नो अनुभवको पिटारालाई आधार बनाएर दिलशोभाको दिलदारीको चर्चा गर्दै लेख्यो— आरोप प्रमाणित नभए के होला ? त्यो आरोप प्रमाणित हुनु हुँदैन भन्ने आग्रह राखिसकेपछि आरोप प्रमाणित भए कतिको अनुहारबाट समाजसेवाको नकाब उत्रिएला ? भन्ने प्रश्नको जवाफ खोज्ने त कुरै आएन । पत्रकारको काम समाचार लेख्ने हो, प्रमाण जुटाउने काम सरकारको हो भन्ने पत्रकारिताको सामान्य तर सर्वस्वीकार्य मान्यताको सम्झना गर्नु पनि परेन । भारतमा तहल्का मच्चाएर सामाजिक संस्था र तिनका जन्जालका ‘डार्लिङ’ पत्रकार बनेका तरुण तेजपाललाई आफ्नो स्वार्थको अनुकूल नरहेपछि सामाजिक जागृतिका ठेकेदारले कसरी भित्तोमा पुर्‍याएर बदनाम गरे, त्यो भर्खरैको घटना हो । ज्ञानीहरूले आफ्नो घरको बदनामी र आफ्नै धर्मच्यूत हुने गरी अरूको पक्षमा पाखण्डको गीता गाउँदैनन् ।


नामी बनियाँको कुन्नि के जाति बिक्छ भन्ने त भनाइ नै छ हिन्दी भाषामा । दिलशोभाको पक्षमा शुरु भएको केपीविरुद्धको अभियानको आगोमा घिउ थप्ने काम त्यही भनाइले गर्‍यो । फेसबुकको भित्तोमा उनको मोबाइल नम्बर लेखेर फेसबुक प्रयोगकर्तालाई उनीविरुद्ध उक्साउने काम भयो । ज्यान मार्ने धम्की त कति आए कति ? समाचार लेखेकै कारणले यतिविधि धम्की र गालीको यातना उनले कहिल्यै सहनुपरेको थिएन ।

नैतिक मान्यताले ओतप्रोत सम्पादक, स्तम्भकार र विचारकको भीडमा उनको प्रतिरक्षामा कोही पनि प्रत्यक्ष उभिएन । देशका पत्रकारको पेसागत अधिकार र सुरक्षाका लागि संगठित नेपाल पत्रकार महासंघ दलहरूको भागबण्डा संघमा परिणत भैसकेको अवस्थामा लोकतन्त्रमा जनताको मताधिकार र शक्तिको महत्त्व बुझेको, पत्रकारितामा साख र निष्पक्षताको मूल्य पद्धतिको जानेसम्म अवलम्बन गर्ने र कुनै दलीय बन्धनमा नबाँधिएको एउटा प्युसो पत्रकारको महत्त्व नै के हुन्छ र π केपीको हकमा यो यातना र पीडा उनी एक्लैले भोगेका थिएनन् । सधैँ सार्वजनिक यातायातमा हिँड्नुपर्ने उनकी पत्रकार पत्नी सावित्रीका लागि दिनहुँ यो पीडा असह्य बन्दै गएको थियो । अन्तत: केपीले आफ्नी पत्नीलाई यो अनावश्यक मानसिक पीडाबाट जोगाउन दिल्लीमा कार्यरत जेठानको डेरामा पठाइदिए । उनले मोबाइल अहिलेसम्म खोल्न सकेका छैनन् ।


के दिलशोभाबारे केपीले कुनै अनर्गल र मिथ्या लेखेका थिए त ? त्यस्तो केही थिएन । दिलशोभाको मगन्ते कलाबाट पीडित मानिसको समूहले उनीविरुद्ध पुलिसमा उजुरी दिएको सोझो र शुद्ध समाचारलाई स्वयं दिलशोभाको भनाइसमेत राखेर तयार पारेका थिए उनले त्यो समाचार । सम्पादकका रूपमा उनीसँग काम गर्दाको मेरो आफ्नै अनुभवको आधारमा भन्दा समाचारको मानवीय र प्राविधिक पक्षमा सकेसम्म कुनै त्रुटि हुन नदिने र हकका कुरामा अखबारका मालिककोसमेत मोलाहिजा नगर्ने समाचारदाता हुन् उनी । थाहा भएअनुसार उनले तयार गरेको त्यो समाचार कुनचाहिँ काकताली परेर हो वा परिबन्दमा पारिएर हो कुनै ‘पाटी’ले आफ्नो साइटमा राखिदियो । साइटमा राखेसम्म त ठिकै थियो । तर, समाचारबाट दिलशोभाको सबै भनाइ झिकेर आफू साखुल्ले पल्टिने काम गर्‍यो ।


केपीले तयार पारेको समाचारसँग जोडिएर अहिलेसम्म जति विवाद आएका छन्, त्यसका संकेत नेपाली पत्रकारिताका लागि अत्यन्त खतरनाक छन् । एकातिर दलहरूले स्वतन्त्र पत्रकारिताको क्षेत्रमा व्यापक हस्तक्षेप गरेर लोकतन्त्रमा राज्यको चौथो अंगको विश्वव्यापी मान्यता पाएको स्वतन्त्र पत्रकारितामाथि कब्जा जमाइसकेका छन् भने अर्कोतिर संस्थागत विकासका नाममा अमर्यादित हिसाबले पत्रकारिता व्यावसायिक स्वार्थमा जेलिँदै गएकाले लोकतन्त्रको प्रतिरक्षा गर्ने यसको भूमिका साँघुरिने खतरा बढेको छ ।

टिप्पणीकार यसबारे कुनै टिप्पणी गर्न चाहँदैन । त्यस्तो टिप्पणी गर्नैपर्ने भूमिकामा पनि ऊ छैन । नयाँ जमानाको नेपाली पत्रकारितालाई मुखर र प्रखर बनाउन एकसेएक शिक्षित र प्रशिक्षित पत्रकारको भीड लागेको छ । सामाजिक सञ्जालको विकासले प्रत्येक मानिसलाई आफैँ ठूलो पत्रकार बन्ने अवसर दिएको छ । पत्रकारको नयाँ जमातले सत्य र असत्यबीच, सेतो र कालोबीच, सुन्दर र असुन्दरबीच फरक छुट्याउने स्वविवेक सक्रिय तुल्याउन सके भने सुधारका लागि ढिलो कहिल्यै हुँदैन ।


जहाँसम्म केपीको प्रश्न छ नयाँ जमानाका नयाँ पत्रकारका रूपमा उनले आफूलाई आफ्ना सम्पूर्ण विवेकसहित स्थापित गरिसकेका छन् । यो उनको आफ्नो चयनको पेसा हो । पत्रकारिताको पेसामा लाग्ने हरेक पत्रकारले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा हो– यो सुगन्धित गुलाफका फूलहरूले सजिएको बिछ्यौनामा सुत्न पाइने पेसा होइन । यसमा पाइने यातना र मानसिक तनाव त पेसासँगै जोडिएर आउने निर्बन्ध स्वतन्त्रताको अभिन्न हिस्सा मात्र हुन् ।


नयाँपत्रिकाको वेबसाइटमा किशोर नेपालको लेखमाथि प्राप्त प्रतिक्रियाहरु

#15 Nepali 2014-03-14 02:45

yo lekh padhera hola ekjana naayike bhikhaarile aafno facebook ma yesto prtikriya diyechha:


"खै के भनेर केहि मान्छे हरुले यो लेखलाइ महान देख्या हुन्, कुन्नी -- एउटा सामान्य पाठकको हैशियतले मलाइ त यो लेख bizarre, incoherent, smug, and self-righteous- sounding पो लाग्यो है।

हुन त आफ्नै देशका महान र बरिष्ठ हस्तिहरुको लेखहरु बुझ्न नसक्नु मेरै अल्प gyan पनि हुन सक्छ्।"

Sambhraanta naayike bhikhaariko tarka pani bejodko hundo rahechha......h una pani desh bheekh namagi chaldaina tathapi yo pani satya ho ki jabasamma yasta bhikhaariharuko churifuri deshma rahanchha deshlai aafnai khuttama ubhyaunuparchha bhanne aam urja ra maanasikata nai kamajor huna jaancha.....muk hya kura ta deshma aafno ragat pasina bagaayikana aafaile aafno deshka laagi kehi utpaadan gariraheka samudaayale yasta gareebko naam ma maageko bheekh khayera "elite" ko rawaaf dekhauneharulai uniharuko aafnai haisiyatma jhaarnu parchha.....

#14 p.p.koirala 2014-03-11 22:24

कुनै पनि समाचार लेक्दा सत्यथथ्थ्य के हो ? यदी समाचार गलत रहेछ भने सम्बन्धित बेक्तिलाई कती असरपर्छ यो कुरा बिचार गर्नु पर्छ कुनै पनि घटनालाई हलुका तरिकाले लिनु हुँदैन र आफु र आफ्नो पत्रीका बिकाउने प्रयोजन का लागि झुट्ता समाचार लेक्नु हुँदैन ।

#13 Bhuwan Pandey 2014-03-11 22:11

Really great

#12 simha 2014-03-11 12:09

des ma ram rajya wa danab rajya banaune vumika jornalst ko thulo hat hun6.aba sabei patrakar le partyko billa faler swatantra patrakar bannos.ram rajya banaunos.kalo lai seto setolai kalo vanne chalan bata mathi uthnos.please.

#11 tito mitho 2014-03-11 11:40

.....थाहा भएअनुसार उनले तयार गरेको त्यो समाचार कुनचाहिँ काकताली परेर हो वा परिबन्दमा पारिएर हो कुनै ‘पाटी’ले आफ्नो साइटमा राखिदियो । साइटमा राखेसम्म त ठिकै थियो । तर, समाचारबाट दिलशोभाको सबै भनाइ झिकेर आफू साखुल्ले पल्टिने काम गर्‍यो ।....
yesko artha ke samachar todmod gari chhapi diyeko hoki?

#10 PABITRA 2014-03-11 11:11

you only talk about the freedom of journalism but there is another side of it which you seem to be unaware. that is media ethic. Media ethics urges a journalist to make careful and honest in its writing.

if a journalist is free to write what he thinks everyone else is also free to write and say what they think of him and his writing.

#9 Rai 2014-03-10 23:55

केपी ढुंगानाले तयार पारेको दिलसोभा प्रसंग समाचार सँग जोडिएर अहिलेसम्म जति विवाद आएका छन्, त्यसका संकेत नेपाली पत्रकारिताका लागि अत्यन्त खतरनाक छन् । नाम मात्रको स्वतन्त्र पत्रकारिता र राज्यको चौथो अंग काम असत्य समचारहरु लेखेर ठगी गर्ने काम नेपाली पत्रकारिता पेश अंगालेका पत्रकार महोदयहरु बाट नभएको होइन !नेपालका मै हुँ भन्ने पत्रकारहरुले हर क्षेत्र हप्ता अशुली गर्ने डनहरुले झैं मुलुकमा कब्जा जमाइसकेका छन् !यसले संस्थागत विकासका नाममा अमर्यादित हिसाबले पत्रकारिता व्यावसायिक स्वार्थमा जेलिँदै गएकाले लोकतन्त्रको प्रतिरक्षा गर्ने यसको भूमिका सांघुरिंदै गएको छ !त्यसैले नेपाली पत्रकारहरु माथि बिश्वास गर्ने लायकको कुनै माध्यम नै छैन !

#8 Bibek lama 2014-03-10 19:33

पत्रकार सािथ अहिले सम्मत फाेन मात्र अायिराछ ,अेस्तै तरिकाले २पैसा कमाउन अर्काकाे जिवन् , मनाेभाब संग खेलवाड गिरने हाे भने अहिले सम्म पत्रिका विकि्कम मात्र भयेकाे छ भेलि वन्द हुन्छ पसि् खरानि हुन्छ ा साथि त भारत जानु हाेला बुडियासंग तपायिं पर्रनुहाेलानि ा सत्य के हाे सबै नेपालि जनता हेरिराका छन् ा पत्रकारिता ब्यापार हैन साथि.....

#7 Yubaraj Sharma 2014-03-10 18:29

किशोर दाईले हिजो नागरिकबाट धमाधम पत्रकारहरुलाई घोक्रेठ्याक लगाउँदा प्रेस स्वतन्त्रता याद भएन ?

#6 bhawana 2014-03-10 18:28

Very nice.I really like it.We all Neplese are heing crazy with out knowing the true facts.

#5 Rabindra Khadka 2014-03-10 18:26

but without reaching to the core of the fact a journalist can not write anything to anyone. his article may lead somebody to suicide. a journalist must be aware of it.

#4 santosh 2014-03-10 16:08

नागरिकको त्यो दिनको epaper www.nagarikplus.nagariknews.com/component/flippingbook/book /1698-nagarik-26-february-2014/2-nagarik.html यसमा न दिलशोभाको स्पष्टिकरण छ न अडियोको पूर्णपाठ, भाषा हेर्दा आरोपमात्र लगाइएको जस्तो हैन प्रमाणित नै भए जस्तो छ । स्पष्टिकरण छापा र अनलाइन दुवैमा भोलिपल्ट मात्रै आएको थियो । गुन्डाले गुन्डाको दोष नदेख्ने ड्राइभरले ड्राइभर चोखो देख्ने र पत्रकारले कहिल्यै गल्ती नगर्ने रैछ

#3 yrnirola brt 6 2014-03-10 14:40

jyadai satik nirbhik bislesan nirbandh swatantr patrkaritako pakshyma lekhieko .

#2 kusan sharma 2014-03-10 14:32

एउटा पत्रकारले जे लेखे पनि सबै पत्रकार मिलेर त्यसको
पक्ष्यमा उभिनु पर्छ भन्ने बुझियो किशोर नेपालको लेखबाट l
जुन गलत हो l

#1Sanjeev2014-03-10 09:34

एउटा बुढो पितः पत्रकारद्वारा अर्को तेस्तै पत्रकारको बचाऊ


प्रस्तुत लेखको फेसबुक शेयरबाट प्राप्त प्रतिक्रियाहरु

  • Mukunda Bibash प्यूसो पत्रकारको प्रतिरक्षा - कलमको दुरुपयोग भन्ने लेख को सारै गहिरेर बिश्लेशण गरेको पढ्न पाउदा खुशी लाग्यो । अहिले को एकाइसौ सताब्दी मा पनि मान्छेले मान्छे भएर बाँच्न नपाउने र समाज को लागि केही गर्छु भन्ने हरुले केही गर्न नपाउने र गर्न नसक्ने हो भने भबिश्येमा दिलशोभाहरु जन्मने छैनन् र समाज मा यस्तै पाखन्ड हरु को मात्र जमात हुने छ जो गलत लाई सही साबित गर्न्न खोज्दै छन
  • Neeru Shrestha दुध का साछी बिराला हरु बस्ने त भैहालेनि , दिलशोभा लाई न्याये दिन नसक्ने सरकार , आफुले लगाएको आरोप प्रमाणिकरन गर्न नसक्ने पत्रकार अनी समाज सेवा को गूड्डी हाँक्ने NGO हरु कता गये
  • Bishwo Mainali दिल शोभा दिदि को मानहानी गरेर, सबुत प्रमाण केहि जुटाउन नसके पछि, ति गलत आरोप लाउने र ति आरोप लाइ अतिरन्जित ढंग ले बिना सोधखोज पत्रिका मा हेडलाइन बनाउने पत्रकार र सम्पादक लाइ कारबाही गर्न नसक्ने निरिहहरुको के कुरो गराई भो र. यो प्रकरण भित्र कतै मानव तस्...See More
  • Balmukunda Mahat महिला दिदि भहिनी ले गरेको काम को बारेमा टिका टिपणी गर्ने पत्रकारले जथाभाबी लेख्ने र कलम को दुरुपयोग् गर्दै बिना प्रमाण अर्का को मान मर्यादा मा हानी पुर्याउने हो भने समाज सेवा गर्ने दिलशोभा हरु हाम्रो समाज बाट हराउदै जाने छन, समाज मा असाये निमुखा हरु ले दया मायाममता बाट बन्चित हुनु पर्ने छ। छिटो भन्दा छिटो दिलशोभा ले नाये पाउनु पर्‍यो, येसैमा सबै को भलो छ .

2 comments:

  1. किशोर नेपालप्रति मेरो मनमा रहेको श्रद्धा आजको दिनदेखि घृणामा बदलिएको छ

    ReplyDelete
  2. Kishor Nepal le jan uddha kalma kamayeko sakha sabae Dilshova prakaran ma unko tippani le sakhap bhayeko 6.

    ReplyDelete