नेवा: स इन्टरनेट रेडियो

Saturday, January 29, 2022

नचाहँदा नचाहँदै बाध्यताले लेख्नु परेको एउटा सानो लेख

नचाहँदा नचाहँदै बाध्यताले लेख्नु परेको एउटा सानो लेख

- फाइट आर्टिष्ट (साभार राजेन्द्र श्रेष्ठको फेसबुकपेजबाट)

 

आज बिहानै दुईजना आइमाईहरु ठेलामा तरकारी बेच्दै कुरा गर्दै थिए ।

एकले भनिन् - "अरे, हामी यता काठमाडौं नआएको भए काठमाडौवासीहरुले के खान्थे होला है ?"

फेरि अर्कीले थपिन् - "हामी काठमाडौंमा भाडामा नबसे त यहाँका मुन्छेहरु भोकै पर्छ होला है, दिदी ?"

मेरो दिमागको पारो तात्दै थियो र सोधेँ ।

"दिदीहरुको घर कहाँ हो ?"

एकले जवाफ दियो - "म पूर्वको", अर्कोले - "म पश्चिमको"

अनि फेरि मैले सोधेँ - "अनि तपाईंहरु आफ्नो गाउँठाउँमा नबसेर किन यता काठमाडौंमा आउनु भएको नि ?"

दुबै जनाले एकै स्वरमा भने ।

"के गर्ने बाबु, हाम्रो तिर काम केहि छैन, काम गरिहाले पनि यताको जस्तो आम्दानी हुँदैन, खानलाउन साह्रै गाह्रो भयो, अनि यता काठमाडौं आएको ।

अर्कीले थपिन् ।

"यता त सानोतिनो काममात्र गरे पनि राम्रो आम्दानी हुन्छ, दुई छाक मीठो खानलाउन पुग्छ , छोराछोरीलाई स्कूल पठाउन पाइन्छ ।

के गर्नु बाबु, हाम्रो तिर त जिउन धेरै गाह्रो छ ।"

त्यसपछि मैले जवाफ फर्काएँ ।  

"ए दिदीहरु, तपाईंहरु आफ्ना गाउँठाउँमा खानलाउन नपाएपछि, काम नपाएपछि, रोजिरोटीका लागि काठमाडौं मै शरण लिन आउनुभो ।अनि, यता आएपछि केहि न केही काम गरेर दुई छाक मीठो खानलाउन पायो , बच्चाहरुलाई स्कूल पठाउन सक्यो, यहाँ आएपछि केही न केही प्रगति गर्न सक्यो, हैन।"

"हो, बाबु हो ।"- दुबैले एकैस्वरले भने ।

अब थप्ने पालो मेरो थियो ।

"अनि जुन ठाउँमा आएर यत्तिको प्रगति गर्न सक्यौ,  दुई छाक मिठो खानलाउन सक्यौ, अनि फेरि यही काठमाडौं र काठमाडौंबासीहरुको बारे यस्तो भन्न अलिकति पनि लाजशरम भएन तपाईंहरुलाई ?"

"तपाईंहरुलाई के थाहा ? महिनै पिच्छे जात्रा मनाएर खानसक्ने, करोडौंका व्यापारव्यवसाय गर्नसक्ने, करोडौंका घरजग्गा भएका, अनि देवीदेउताका मूर्ति र मन्दिर बनाउन निपुण, तामाका भाँडाकुँडा, खेतीकिसानी र काठका काममा सीपालु यहाँका बासिन्दाहरु अब तपाईंहरुका दुईचार पैसाको भाडा नपाएर भोकै पर्छ भनेर भन्न अलिकति पनि लाजशरम छैन तपाईंहरुलाई ?"

"बुझ्नुभो । बाहिरका मान्छेहरु काठमाडौंमा आएर भाडामा नबसे काठमाडौंबासीहरु भोकै पर्छ भन्नु र भुटानी शरणार्थी नेपालमा शरण लिन नआए नेपाली जनता भोकै पर्छ भन्नु एउटै हो ।"

मैले के यत्ति मात्र भनेको थिएँ, दुबैजना लाजले मुख कालोनिलो बनाएर जिल्ल परे ।

( यसले कसैको मनमा चोट परे त्यो (संयोगमात्र) वास्तविकता नै हुनेछ ।) -(ब्लगरबाट "वास्तविकता" शब्द थप)

 

No comments:

Post a Comment