नेवा: स इन्टरनेट रेडियो

Thursday, March 26, 2020

भाषिक असहिष्णुता

(Source : Roshan Shrestha's Facebook Page)
कोरोनाको बात छाडुम, आज निजि कुरा गर्न मन लाग्यो ।
फेसबुकमा नियमित जसो लेखिरहने ब्यक्तिहरुको प्राय:जसो धेरै साथी हुन्छन् । शायद म थोरै साथीहरु हुनेमध्य पर्छु होला । आज आफ्नै प्रोफाइलतिर हेर्दा सन २०१० देखि सन २०२० सम्ममा करीब ३५०० साथीहरु जम्मा भएको पाएँ । यसबीच करीब १०० जनाले अनफ्रेन्ड गरेछन् । १३ जनाले ब्लक गरेका रहेछन्।
ब्लक गर्नेहरु अधिकांश राजनीतिक विषयमा पूर्वाग्रहि मानिसहरु हुन । राजनीतिक बेथितिहरुको बिरोधमा मैले ब्यक्त गरेको विचारको ताप सहन नसक्दा उनीहरु आक्रोशित भइ ब्लक गरेर भागेको मलाइ थाहा छ। ''जस्तालाइ त्यस्तै'' रवैयाले उनीहरु हतप्रभ भएर चित्त दुखाएको होला भन्ने मेरो अनुमान छ।
तर अनफ्रेन्ड गर्नेहरुको लिस्टमा भने अधिक संख्या भाषिक-विषयमा पूर्वाग्रहि मानिसहरु देखिए । यसलाइ थप प्रष्ट पार्दैछु ।
एउटा नेवारले नेपालभाषालाइ माया गर्नु, त्यसको पक्षपोषण गर्नु उसको नैतिक दायित्त्व हो । यूनेस्कोले यसलाइ 'मर्दै गएको भाषा'को सुचिमा राखेको हुनाले यसलाइ मर्न नदिन सक्दो योगदान गर्नु पर्छ ।
तर नेपालको शिक्षा र सामाजिक मान्यतामा रहेको विकृतिको कारण अनौठो सोचाइ ब्याप्त छ। अंग्रेजले अग्रेजी भाषा प्रयोग गर्दा, चिनियाँले चिनियाभाषा प्रयोग गर्दा स्वभाविक ठानेर स्वीकार गर्ने नेपालीहरु यदि एक नेवारले नेपालभाषा प्रयोग गरेको देख्दा भने नाक खुम्च्याउँछन। यस्तो अस्वभाविक सोचाइ किन?
सरकारी मान्यताप्राप्त निकायहरुमा नेवारले नेवारको आफ्नै मौलिक नेपालभाषा प्रयोग गरे अमान्य हुने 'भाषिक विभेदयुक्त ब्यवस्था' नेपालमा लामो समय कायम रहेको हुँदा सरकारी मान्यताप्राप्त बाहेक अरु भाषाहरु 'अछुत' हेपिए झै हेपिने वातावरण बन्यो । 'अछुत' वा 'अमान्य' भाषालाइ हेयको दृष्टिले हेरिदा नेवार आफै पनि नेपालभाषाको प्रयोग गर्न हिचकिचाउने जमातमा परिणत हुँदै गयो ।
बहुभाषिय देशमा बाहुनले बाहुनभाषा, क्षेत्रीले क्षेत्रीभाषा, खसले खसभाषा, तामाङले तामाङभाषा, नेवारले नेपालभाषा, गुरुङले गुरुङभाषा, मगरले मगरभाषा - यसरी आ-आफ्नो भाषा प्रयोग गर्नु उनीहरुको नैसर्गिक अधिकार नै हो। आफ्नो मौलिक भाषा प्रयोग गर्नु भनेको त झनै राम्रो हो, त्यसो गर्दा हामी सबै खुशी हुनु पर्छ - यस्तो भावना हाम्रो समाजमा विकास हुन सकेन ।
बरु आफुले नजानेको भाषा प्रयोग गरेको देख्दा अन्तर्मनमा लुकेको हिनभावना लुकाउन अनावश्यक तर्कमा अल्झिनेहरु बढे। त्यस्ता तर्कहरुका कारण भाषा जानेका मानिसहरु समेत आफ्नो भाषामा गर्व गर्नुको सट्टा लजाउने माहौल बनीरह्यो।
त्यो दुषित माहौल चिर्नकै लागि आफ्नो सुविधानुसार नेपालभाषामा विविध जानकारीहरु, विचारहरु सकेसम्म प्रस्तूत गर्नु पर्छ। कविले कविता लेख्ने, साहित्यकारले साहित्य पस्किने, गीतकारले गीत गाउने, यस्ता सबै कदमहरु भाषासेवा हो, ताकि 'मर्न लागेको भाषा'ले थोरै भएपनि ओखतिमुलो पाओस र छिटै नमरोस भन्ने पवित्र उद्देश्य यसमा लुकेको हुन्छ ।
तर भाषासेवाको यो स्वरुप प्रति असहिष्णु मूर्खहरु यस्ता कुरा बुझ्दैनन ।''यो मान्छेले खाली नेपालभाषामा लेख्छ, पढनै झ्याउलाग्दो'' - यस्तो भन्नेहरु अधिकांश नेपालभाषा बोलेको बुझ्ने तर स्कुल कलेजमा नेपालभाषा कहिल्यै पढ्न नपाएका नेवारहरु हुन । सातसमुद्रपारीको भाषामा लेखेको पढ्दा 'झ्याउ नलाग्ने' तर तिनका आफ्नै पुर्खाले बोल्ने बुझ्ने भाषामा लेखेको पढ्दा 'झ्याउ लाग्ने' किन भएछ भनेर उनीहरु कहिल्यै पनि विचार गरेर हेर्दैनन ।
तपाइ छक्क पर्नु होला शायद, मलाइ अनफ्रेन्ड गरेका १०० मध्ये ७०-८० जना त्यस्ता नेवारहरु रहेछन् । ती अनफ्रेन्डवालाहरुसित बैचारिक मतभेद, बिबाद भएको पनि छैन, कुनै ब्यक्तिगत मनमुटाव पनि छैन। अझ एकजनाले 'खाली नेपालभाषामा लेखेर दिक्क पारेकोले गर्वसाथ अनफ्रेन्ड गरीयो' भनेर स्टाटस नै ठोकेको रहेछ। तिनलाइ मसित, मेरो बिचार र मैले पस्किने बौद्धिक खुराकसित भन्दा पनि मैले प्रयोग गरेको 'नेपालभाषा' सित बढी रोष रहेछ । कति नीच विचार!!
त्यस्ता मूर्खहरुसित मित्रता कायम रहनुभन्दा नरहनु जाति !!! पहिला प्रयोग नगरेको हतियार 'ब्लक' नै उपहार भो तिनलाइ ।
कुरा बुझौं, मुसुमुसु हाँसौ ।

No comments:

Post a Comment