नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Tuesday, April 30, 2013

गुलजारः फुर्सतका रात र दिनमा

गुलजारः फुर्सतका रात र दिनमा

प्रकाश सायमी

गुलजार भारतका एक प्रसिद्ध सिनेकर्मी र गीतकार ।

उनलाई मैले चिन्न थालेको लगभग बचनपनदेखि नै हो जतिबेला म ललितपुरस्थित श्री चण्डी विद्याश्रममा कक्षा सातको बिद्यार्थी थिएँ । त्यसताका म हिन्दी र अँग्रेजीमा प्रकाशित सबैजसो सिनेमासम्बन्धी पुस्तकहरु पढ्थेँ । म पढेको पाठशालाको नजीकमै सिनेमाभवन थियो अशोक सिनेमा हल । त्यहाँ लागेका प्रायः म सबै सिनेमा हेर्थेँ नेपाली हिन्दी अँग्रेजी । म कक्षाको फर्स्ट व्वाई थिएँ तर कक्षा छोडेर फिल्म हेर्न जान्थेँ म मध्यान्तरको रिक्त समय बचाएर बागमतिमा साथीहरुसित पौडी खेल्न जान्थेँ अनि फर्स्ट व्वाइ भएको नाताले म सबभन्दा पहिले क्लास टीचरको कुटाइ पनि खान्थेँ । अनि म जुलुस सभा समारोहमा पनि पहिल्यै पुग्थेँ त्यसमा पनि फर्स्ट व्वाई भएर कुटाइ खान्थेँ । तर अचम्म म फर्स्ट चैँ हुन्थेँ म नौ कक्षासम्मै प्रथम भएँ ।

त्यो स्कूलमा त्यति लामो समय फर्स्ट व्वाई बन्ने सौभाग्य मलाई नै मिल्यो त्यो अचम्म मेरा लागि त छँदै थियो तर मेरा गुरु आमा र गुरुवालाई पनि सदैव रह्यो । म कहिलेकाहिँ सोच्थेँ या त यो स्कूल राम्रो छैन या म नै यो स्कुलको लागि उपयुक्त छैन । मलाई उछिन्न सक्ने मेरा पछाडि बिद्यार्थी नै छैनन् । तर म नौ कक्षामा पुगेपछि मलाई मेरा थर्ड व्वाई सुदीप श्रेष्ठले मलाई उछिने । उनी प्रथम सरिता महर्जन व्दितीय र रीता महर्जन तृतीय भए मलाई साथीहरुले चौथोमा पनि ठाउँ दिएनन् म सातौँमा पुगेँ । छत्तीस सालको राजनीतिले मलाई निक्कै पछाडि धकेल्यो । तर राजनीतिक रुपले मेरो केही सोच थिएन मात्र परिवर्तनको अनुभूति चाहन्थेँ म ।

मेरा शिक्षकहरुको ठोकुवा थियो म सिनेमाका कारण बिगिन्छु । तर म राजनीतिका कारण ध्वस्त-व्यस्त भएँ शायद उहाँहरु हारे होलान् । म त कुनै बाजीमा सहभागी नै थिइँन हारजीतमा मलाई के चासो म त मात्र रम्य जीवन बिताइरहेको थिएँ कालिदासकोजस्तो जीवन ।

एकजना इतिहासका शिक्षकले त कैयन् बिद्यार्थीका अगाडि उदाहरण दिँदा यस्तो पनि भने रे 'सबैजस्तो हुनु तर प्रकाशजस्तो नहुनु नि!'

पछि को-को केके भए म जान्दिनँ । तर म चैँ प्रकाशको प्रकाश नै रहेँ । बरु मेरा अनुयायी मेरा थर्ड व्वाई सुदीप चैँ अहिले नेपालकै एक प्रसिद्ध डाक्टर भए ।
मैले सिनेमा हेर्न शुरु गर्दा सिनेमामा काम गर्छु भनेर हेरेको शायद थिइँन । कुनै कुनै कक्षा मलाई यति विरक्त लाग्थ्यो म यो विषय नपढी पास गर्न सक्छु भन्ने भान हुन्थ्यो । म त्यसै गर्थें र त्यही विषयमा मैले अस्सी प्रतिशत भन्दा बढी अङ्क ल्याएर उत्तीर्ण पनि हुन्थेँ ।

सिनेमाले मलाई एककिसिमले सिर्जनात्मक मूल दिएको छ । त्यही सृजनाको बलले गर्दा म राजनीतिज्ञ चैँ भएनछु नत्र आज आफैँलाई घृणा गरेर गाली गरिरहेको हुनेथिएँ । त्यो दुर्भाग्यबाट म शतप्रतिशत बँचे । मलाई यसरी बचाउनेमा एक थिए । हिन्दी फिल्मकार गुलजार । म आवश्यकताभन्दा बढी भावुक र क्रियटिभ सिनेमा हेर्न मन पराउँथे त्यो बेला । गुलजारका सिनेमामा त्यो पक्ष बलियो हुन्थ्यो र उनी सिनेमा बनाएपछि त्यसको पुस्तक पनि लेख्थे र ती लाभदायक हुन्थे मेरा निम्ति । सिनेमा कहाँ बन्यो कसरी त्यसको निर्माण भयो पढ्न खूब मन लाग्थ्यो ।

यस्तै क्रममा मैले गुलजारको किताब भन्ने फिल्मको स्क्रिनप्ले पढ्ने मौका पाएँ मैले मन लगाएर पढेँ । त्यो पहिलो बालमनोबिज्ञानमा आधारित फिल्म थियो शायद मैले जीवन जाने-बुझेको । म झसँग भएँ 'किताब'को त्यो बाल पात्रसित । त्यो पात्र मसित धेरै सामीप्यता राख्थ्यो । म पनि घरबाट बाहिर थिएँ पढ्नका लागि ऊजस्तै मपनि ऊजस्तै अलि लापर्वाह थिएँ मेरो र उसको चरित्रले मेल खायो । त्यहीबेला गुलजारलाई मैले एउटा पत्र लेखेँ तर अज्ञानतावश टिकट टाँस्न बिर्सेर पत्र फर्केर मेरै स्कूलमा आइपुग्यो ।

चिठी प्रधानाध्यापकको हातमा आएपछि म जिल्लिएँ । अनि स्कूलभरि जोकरको पात्र बनाइएँ । तर म रमाएँ कमसेकम मैले कलम त उठाएँ । त्यसपछि मैले कलम उठाएको उठायै भयो कहिले रेडियोको बाल कार्यक्रममा कहिले गोरखापत्रको मुनामा कहिले मधुपर्कका नारायणबहादुर िसंहलाई लेखरचना पठाइरहन्थेँ । एककिसिमले स्कूलको नाम सहभागी भइरहन्थ्यो मेरो त्यो गतिविधिमा ।

गुलजार पढ्ने र हेर्ने क्रम यसैबेला शुरु भयो ।

पढ्न थालेँ उनका सारा गीत गजल र नज्म । छापिए जति सारा । एकदिन धर्मयुगमा उनको कथा मझली दिदी पढेँ । यसबारे कतै चर्चा छैन । मलाई यो कथाले खूब छोयो ।
फरक धारका र समानान्तर व्यावसायिक सिनेमा बनाउने गुलजारका सिनेमा भारतीय चलचित्र महोत्सव हुँदा काठमाण्डुमा प्रदर्शन हुँदा मैले नियम पुर्याएर सबै हेरेँ ।

गैरव्यावसायिक निर्देशक गुलजारका सिनेमामा विचार प्रशस्त हुन्थे उनी साहित्यका मान्छेलाई सिनेमामा तान्न सक्ने खुबी राख्थे । उनको सिनेमामा साहित्य त हुन्थ्यो नै तर त्यसभन्दा बढी प्राविधिक प्रयोग र नयाँ चलन प्रशस्त हुन्थे । उनी के कुरामा अगाडि थिए मलाई थाहा छैन तर उनका सिनेमाले मलाई अगाडि नै छुन्थे । नारायणगोपालको भाषामा म उनको फुनजस्तै भइसकेका थिएँ ।

उनका फिल्ममा नमकीन किनारा अपने पराये मीरा मैले हेर्ने काम गरिसकेको थिएँ । मीरा मा विश्वविख्यात सितारवादक रबिशङ्करलाई सङ्गीतकारका रुपमा आवद्ध गरेको स्मृति र पहिलो पटक ऐतिहासिक फिल्ममा पाश्र्वगायिकामा लता मङ्गेशकरको ठाउँमा वाणी जयरामको प्रविष्टी ती अक्ष्ाण्ण विषयहरु थिए । म भुल्न सक्तिनँ ।
गुलजार अरुका फिल्ममा पनि लेख्छन् भनेपछि उनले लेखेका सिनेमा पनि मैले खोजी-खोजी हलमा गएर हेर्न थालेँ । त्यसमध्ये पहिलो सिनेमा मैले बसेरा हॆरेँ जुन रमेश तलबारले निर्देशन गरेका थिए । यश चोपडाका सहायक रमेशले यस फिल्ममा गुलजारपत्नी राखीलाई मूलपात्रमा अभिनय गराएका थिए । सम्भवतः यो उनको पहिलो फिल्म होला जसमा गुलजाररचित गीतलाई अलग भइसकेकी उनकी पत्नी राखीले गाएकी थिइन् लताको स्वरमा …।

जहाँ पे सबेरा हो वहीँ पे बसेरा है …।
जहाँ बिहान हुन्छ त्यहीँ बसाइँ हुन्छ ।

यही पहिलो फिल्म थियो होला यी बेमेल जोडीको जसमा गुलजारका संवादलाई उनकी पत्नीले सुशव्द बोलेकी थिइन् । यस्तो घटना पछि हुन पाएन । मैले गुलजारलाई यही बेला शायद अझै यही समय निकटबाट चिनेको हुँ । त्यो परिचयको धरातल निकै घना नै रह्यो ।

विक्रमाव्द २०३० मा भारतीय सिनेजगतमा तीन फिल्मी नायिकाको बिबाह खूब चर्चामा आयो । राखी डिम्पल कपाडिया र जया भाडुरी । पछिल्ला दुईको नायकसित डिम्पलको सुपरस्टार राजेश खन्नासित जयाको क्रुद्धयुवा नायक अमिताभ बच्चनसित अनि राखीको फिल्मकार गुलजारसित । जया र अमिताभको केही खटपटका वावजूद पनि दाम्पत्य जीवन टिक्यो बाँकी दुई जोडीको वैवाहिक सम्बन्ध स्थायी रहन सकेन ।

अस्थाई सम्बन्धमा पनि गुलजारले राखीलाई पराई ठानेनन् राखीले पनि गुलजारसितको जोडी छुटेपछि पनि आफ्नो थरमा रहेको गुलजार हटाइनन् । त्यो अनुपम उदाहरण थियो राखी गुलजारको । दुबै एक-आर्कालाई आदर गर्थे । दोस्रो विवाह पनि टुटेपछि राखीले अर्को विवाह गरिनन् तर गुलजारले राखीलाई छोडेर अर्को विवाह कहिले गरेनन् । गुलजार सधैँ राखीकै रहे । तर बिग्रियको सम्बन्धको व्याख्या पनि कहिले गरेनन् । बरु त्यसमा गजलले मर्मत गरे भने:
हात छुटेपनि नाता कहिल्यै तोडिँदैन
जानेका लागि मन थोरै गरिँदैन

उनले सम्बन्धहीन अवस्थालाई पनि एक सम्बन्धन दिइरहे ।

म त्यतिवेला गुलजारका सबै सिनेमालाई प्रेमपूर्वक हेर्थें तर कुनै पनि सिनेमामा राखीलाई देख्दिनथिएँ त्यो मलाई अचम्म लाग्थ्यो । गुलजारव्दारा निर्देशित मौसम आँधी इजाजतजस्ता सफल फिल्ममा पनि राखी कहिले पर्दामा देखिएनन् ।

गुलजारका सिनेमा बाल्यकालमा हेर्न शुरु गरेपनि बुझ्न थालेको मैले युवाकालमा मात्र हो । जब उनले भारतीय टेलिभिजनमा पहिलोपटक उर्दूका महाकवि विश्वका प्रसिद्ध गजलकार मिर्जा गालिब माथि धारावाहिक सिरियल बनाए । डेढसयवर्ष अगि जन्मेको गालिबलाई उनले महानायक बनाए टीभीको पर्दामा । यो उनको श्रद्धा देखेर म ताज्जुब भएँ ।
गालिबका बारेमा उनले भनेका छन् 'गालिबका तीन जना आत्मीय सेवक थिए बंशीलाल र उफतलाल ती दुवै उनीसँगै थिए र उनी चिन्थे तर तेस्रो सेवक जो अझै पनि सेवा गर्दैछन् त्यो म हुँ गुलजार ।'
कस्तो उनको महानता म बिर्सनै सक्तिनँ त्यो पंक्ति शायद मपनि शङ्करका उपर यसरी नै गालिबान भएँ कि ?

मिर्जा गालिबले गुलजारलाई पनि अलग्गै उचाई दियो । भारतीय टेलिभिजनको इतिहासमा एउटा अविस्मरणीय सिरियल बन्यो त्यो । गुलजार फिल्मी भाषामा एक प्रोफेशनल निर्देशक थिए उनले गालिबका महान रचनालाई सङ्गीतबद्ध गर्न सङ्गीतकारका रुपमा आफ्ना परमप्रिय मित्र आर.डी. बर्मनलाई लिएनन् बरु गजल गायनमा इतिहास बनाइसकेका गायक जगजीत िसंहलाई यो चुनौति सुम्पिए र उनले फत्ते पनि गरिछाडे । यसका एकेक गजललाई उनले अजर अमर बनाए त्यो क्षमता भएका प्रतिभा थिए जगजीत िसंह । गजल बुझ्ने महारथीहरुका लागि त्यस सिरियलका सबै गजल कन्ठस्थ बनाए उनले ।

दिले नादाँ तुझे हुआ क्या है इस दर्दका दवा क्या है …
ये न थी कि हमारी किस्मत कि विसालएयार होता …
दिल ही तो है …
हजारोँ ख्वाहिश ऐसी कि हर ख्वाहिश पे …
कोइ दिन गर जिन्दगी में …

यि सबै गजल जगजीत उनकी पत्नी चित्रा िसंह विनोद सहगल भूपीन्दरजस्ता हस्तिले गाए । मिर्जा गालिब साङ्गीतिक हिसाबले पनि एउटा इतिहास नै बन्न पुग्यो यसको श्रेय पनि गुलजारलाई जान्छ । गालिबको जीवनलाई पर्दामा मात्र उतारेनन् उनले त्यस उपर पुस्तक पनि लेखे । त्यस्ता थिए गालिबका गुलजार ।

मिर्जा गालिब बनेपछि मैले थाह पाएँ गालिब र गुलजारको अर्थ । गालिबको अर्थ रहेछ अरुमाथि गरिने प्रभाव वा दमन । गुलजारको अर्थ हो फैलिएको बाग तर उनका निम्ति त त्यो नाम मात्र रहेछ उनी त पहिले फैलिसकेका थिए बहारजस्तै । यसअगि उनको नाउँ एस.एस कारला रहेछ । पाजाबी मूलका उनी जन्मस्थान दीना भारतबाट पाकिस्तानमा गाभिएपछि बम्बई आएर बसे । अनि नामथर सबै परिवर्तन गरेर मात्र गुलजार भएछन् गुलजार ।

गुलजार यो नाम उनलाई कसैले उपहारस्वरुप दिएका रहेछन् । यही नाममाथि उनले कविता पनि बनाएका छन् । एउटा सुन्दर कविता ।

गुलजारको वेशभूषा पनि आफ्नै भावको छ उनी तैपनि कविता पढ्दा गुलजारलाई पढेजस्तै लाग्छ किनकि गुलजार स्वयं एक सुन्दर कविता हुन् ।

चिकनवर्क गरिएको कुर्ता पाइजामा मात्र लाउँछन् उनी चप्पल जुत्ता लगाउँदैनन् उनी लखनवी जुत्ती लाउँछन् । जसको प्रशंसा मेरी जीवनसङ्गिनी अन्जली सधैँ गर्छिन् । उनी पनि गुलजारकी फ्यान मजस्तै ।

गुलजारका सिनेमा मलाई त्यतिवेला अझै मनपर् यो जब उनले विवाहेत्तर सम्बन्धमा राम्रा-राम्रा सिनेमा बनाए । त्यसमध्ये इजाजत एक उत्कृष्ट फिल्म हो भन्ने मलाई लाग्छ । उनले त्यस सिनेमामा एउटा सुन्दर कवितालाई गीत बनाएका छन्

मेरा केही सामान तिमीकहाँ परेका रहेकाछन्
त्यो सामान मलाई फर्काइदिनू …।

सुधाको यो पत्र उनका प्रेमीकी पत्नी मायाले पढ्दा तरङ्गित बनाउँछ हाम्रो सुकोमल भावनालाई । धेरै कमलो मनले लेखेको यो गीतलाई त्यतिकै पीडित भावमा आशा भोंसलेले गाएकी छिन् पर्दामा । र आर.डी. बर्मनको त्यस्तै जादूमयी सङ्गीतले झङ्कृत गरेको छ त्यो भावकीयलाई ।

म उनका सिनेमाका ज्ञाता त होइन पारखी हुँ तर पनि उनका सिनेमाबारे बोल्न दिइयो भने म घन्टौँ बोल्न सक्छु जस्तो मलाई लाग्छ ।
भयो पनि त्यस्तै । एकदिन गुलजार काठमाण्डू आए वृत्तचित्र महोत्सवको पाहुना भएर । केही साथीभाइ मिलेर हामीले उनलाई माचमा राख्यौँ तीन घन्टाजति । उनका साथमा हाम्रा तुलसी दिवस, कमल दीक्षित, मन्जुल रहे ।

उनी पनि मज्जाले बसे । नेपाली कविहरुका कविता प्रेमपूर्वक सुने । कसैले गीत पनि सुनाए । त्यहीबेला गायिका सुसन मास्केले गुलजारकै गीत 'शाम से आँख में नमी तो है' गाइन् । अनि खुल्यो वार्ता पर्दा ।
मैले यस गीतको रचनागर्भका वारेमा कुरा उठाएँ यो गीतमाथि भएको बारम्बारको संशोधनको चर्चा पनि चल्यो । त्यही बेला चर्चा नभएको उनको पुरानो कथा मझली दिदीको पनि प्रसङ्ग उठ्यो । उनी मेरा एकेक प्रश्नमाथि बोल्दै गए । अनि मैले सिनेमाका वारेमा पनि चर्चा गरेँ अन्ततः उनले हार स्वीकारेर भने "मलाई लाग्थ्यो म आफ्नो बारेमा धेरै जान्दछु तर यहाँ मेरोबारेमा मभन्दा धेरै जान्ने मेरा एक साथी रहेछन् । …नेपालमा आएर उनलाई भेटेर म खुशी भएँ ।"
एककिसिमको व्यङ्ग एक किसिमको प्रेम पनि पाएँ त्यसमा मैले ।

त्यसदिनको भेटघाट पछि गुलजार साँच्चै खुशी भएर गए । हामी पनि त्यतिकै खुशी भयौँ ।

उनले बम्बई पुगेपछि केही पास्रल पठाए जसमा उनका गीतका सीडी र अन्य केही पुस्तक थिए । जुन मसित पहिले पनि सङ्कलित थिए । त्यो उनको स्नेह थियो । उनले सह्दयताको परिचय दिए ।

फेरि एकदिन उनीसित दिल्लीमा तुलसी दिवसको भेट भएछ तुलसी दिवससित उनले सबैका वारेमा सोधेछन् उनको सज्जनताको उदाहरण थियो ।
बेलाबेलामा फोनका भेट हुँदा उनी सबैलाई सोधिरहन्छन् यो उनको भलमनसाहट सदैव भेटिरहन्छु म । साँच्चै उनी ह्दयले नै कवि रहेछन् र म भन्ने गर्छु उनी सिनेमाका पनि कवि हुन् ।

उनका कथा संग्रह रावीपारले मेरो घरमा विशेष ठाउँ पाएको छ उनका गीत कविताका किताब रात पश्मिने की पुखराज कुछ और नज्मे सदैव म फुर्सतमा दोहोर्याउने गर्दछु । उनले आफैँ कतै लेखेका छन्:
"दिल ढूँढता है फिर वही फुस्रत के रातदिन…।"

उनलाई सम्झिन मलाई फुर्सतका रात फुर्सतका दिन चाहिँदैन र त्यस्ता सम्झनाबाट सदैव एकान्त छविमा छु ।

No comments:

Post a Comment