नेवा: स इन्टरनेट रेडियो

Monday, June 21, 2021

रुपा सुनारलाई पत्र - A Letter to Rupa Sunar

(केहि दिन भयो सामाजिक सञ्जालमा चर्चा पाउन थालेको एउटा घटनालाई मैले उतिसारो महत्वका साथ हेरिरहेको भने थिइन । धेरै पल्ट धेरै ठाउँ उत्थान भइसकेको आम विषय । जव जव घटित हुन्छ एकाएक विरोधका स्वरहरु सुनिन थाल्छन् । केहि समय पछि आफै मत्थर भएर जान्छन् पनि । तर यसपालि अलि चर्कै रुपमा सञ्चारमाध्यमहरु, युट्यूबहरु र दैनिक पत्रपत्रिकाहरु समेतमा यो घटनाले ठाउँ पाएपछि भने यसै विषयमा केहि लेखुँ न भन्ने लाग्यो । तर खै कहाँबाट उत्थान गर्ने हो, बरु एउटा पत्रको स्वरुपमै यसलाई आकार दिउँ कि जस्तो लाग्यो ।)
राज श्रेष्ठ

रुपाजी नमस्कार ।

तपाईंले ठान्नु भो - घरपतिले मेरो जातको कारणले कोठा दिन मानेन । तपाईंले मान्नु भो - म माथि जातीय भेदभाव भयो । र तपाईंले प्रण गर्नु भो - यसलाई त ठीक नगरी छोड्दिन ।

घरपतिले कोठा दिएन । तपाईंको इगो हर्ट भयो । प्रहरीमा जाहेरी दिनुभयो । बल्ल घरपतिले सबक सिक्ने भो । सबैले जानुन् न जात भनेर भेदभाव गर्नेको गति कस्तो हुन्छ भनेर । तपाईं दङ्ग पर्नुस् । तपाईं खुशी हुनुस् । हुनसक्छ साथीभाईलाई खुशीयालीमा पार्टी नै दिनुहोला । तर तपाईंले कहिल्यै सोच्नु भो यो समस्याको कारण के हो ? कहिल्यै बुझ्ने कोशिस गर्नुभयो ? यसको जरा कति गहिरो सम्म फैलिएको छ । तपाईं भन्नु होला सोच्नु पर्ने र बुझ्नु पर्ने नै के छ र जातीय भेदभाव गर्नेहरुलाई तह लगाउन सरकारले ऐन नै बनाई दिएको छ ।

मैले भन्न चाहेको कुरा शायद तपाईंले बुझ्न नचाहनु होला। तपाईंले आफूले व्यतित गर्नुभएको भूतकाल तर्फ फर्किएर हेर्नुस् । बाल्यकालमा सँगै खेली हुर्केका साथीसँगीहरु, छरछिमेकहरु, तन्नेरीमा स्कूलकलेज सँगै जाने साथीहरु, कार्यक्षेत्रमा सँगै काम गर्ने कलिगहरु उनीहरुसँगका कुनै पलहरुमा तपाईंले अनुभव गरेकै हुनुपर्छ तपाईंको नामसँगै जोडिएको यो थरलाई हेर्ने उनीहरुको दृष्टि अलि भिन्नै छ । यो म यसकारणले भन्न सक्छु कि म आफै पनि यी यस्तै पलहरुका साक्षी छुँ ।

एउटा क्षेत्रीय राष्ट्रहरुको अन्तरराष्ट्रिय स्तरको कार्यक्रम । राजधानी नजिकैको भव्य होटलमा आयोजकका नाताले हामी कार्यालयका सबै साथीहरु सहभागी भएका थियौं । एउटा कोठामा दुईजनाको लागि बुकिङ थियो । एकदिनको कार्यक्रम सकिएर एउटा कोठामा को को सँगै बस्ने भन्ने लिष्ट तयार गर्न साथीहरु लागे । म भने ल्यापटपमा अघि खिचिएका फोटोभिडियोहरु क्यामेराबाट डाउनलोड गर्नमा नै व्यस्त थिएँ ।

बेलुका कोठामा साथीले भन्नुभयो - "हेर्नुस् न म ... भएकोले मसँग कोहि पनि बस्न मानेनन् । यत्रो ठूलो भीडमा मसँग बस्न तपाईंमात्र पाएँ ।"

"के फरक पर्छ र अहिलेको जमानामा पनि" - मैले हाँस्दै भने । कार्यालयबाट सरुवा भएर निस्कदा ती साथी गेट मै भेट भयो । मैले सहर्ष अंगालो मारे । यसरी हामी छुट्टियौं । अहिले पनि सम्झिदा दिन, महिना र वर्षहरु बिते मैले त बिर्सन सकिन भने साथीले त के बिर्सन्थ्यो होला जस्तो लाग्छ ।

समाजमा विभेदको यति ठूलो जञ्जाल छ कि त्यो कुन रुपमा हाम्रो सामु आउँछ अनुमान मात्र गर्न सक्छौं । कहिले कुन भेषमा कहिले कुन भेषमा । पानीपँधेरोमा भोजभतेरमा प्रेमप्रसङ्गमा कहाँ छैन भेदभाव र कहाँ छैन छुवाछुत । समाजलाई दोष दिएर उम्कन सकिन्न । समाज निर्देशित हुन्छ धर्मले । जुन धर्मको आधारभूत विशेषता नै वर्ण व्यवस्था हो त्यो धर्ममा व्राम्हण र वैश्य शूद्र समान हुन भनेर कसरी मान्ने । हो यही विभेदलाई लिएर बाबासाहेव अम्वेडकरले हिन्दूधर्म परित्याग गरे । विषय भन्दा विषयान्तर गर्न चाहिनँ । यति मात्र भनौं ।

रुपाजी । 
हो तपाईं भित्र वर्षौदेखि गुम्सिएका तीता अनुभव हुनसक्छन् । तर एकचोटी गम्भीर भएर सोच्नुस त ।तपाईंले आक्रोश निकाल्न एउटा पात्र भेट्टाउनुभो - एउटा निरीह घरपति जसबाट अहिले सम्म भएका भेदभावका सबै साउँ र ब्याज असूल्न सकियोस् । जसलाई चलाखी साथ तपाईंको थर पत्ता लागिसकेपछि अन्य कुनै बहाना नै बनाउन आउँछ । जो घरबहालबाट उठेको रकमबाट आफ्नो जीविकाका केही भौतिक आवश्यकता पूर्ति हुन्छ भन्ने आशामा तपाईंहरुलाई स्वागत गर्न संधै बस्छ ।

पि.एस. - म कुनै घरपति होइन । न मैले घरवहाल नै दिएको छुँ ।

No comments:

Post a Comment