नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, October 31, 2012

जर्मनीमा डेरा खोज्दा

दयानन्द वज्राचार्य 

उपत्यकाबाहिरबाट आएका विद्यार्थीलाई थाहा छ, काठमाडौँमा आफूले चाहेजस्तो कोठा पाउन कति गाह्रो छ। कतिपय घरधनी विद्यार्थीप्रति पूर्वाग्रह राख्छन् र कोठा भाडामा दिन संकोच मान्छन्। डेरा पाए पनि विद्यार्थीले कैयन् अप्ठेरा पूर्वसर्र्तहरू मान्नुपर्ने हुन्छ। केही विद्यार्थीले समयमा कोठा नपाएर काठमाडौँको धर्मशालामा समेत कैयन् रात बिताउनु परेको सुनिएको छ। यस्तो समस्या हाम्रो देशमा मात्र छैन। विकसित देशमा पनि विद्यार्थी, विशेषगरी विकासशील देशबाट आएका विद्यार्थीलाई डेरा पाउन सजिलो छैन। पंक्तिकारले पनि केही दशकअघि जर्मनीमा विद्यार्थी छँदा डेरा खोज्ने क्रममा केही तितो अनुभव गर्र्नु परेको थियो।



सन् १९६९ मा उच्च अध्ययनका लागि जर्मनी पुग्दा सुरुका छ महिना भाषा सिक्न इजरलोन सहरको गेथे इन्स्टिच्युटमा बिताएको थिएँ। त्यति बेला गेथे इन्स्टिच्युटले नै एक जर्मन परिवारमा कोठाको अग्रिम बन्दोबस्त मिलाइराखेकाले डेरा खोज्नुपर्ने झन्झट भएन। गेथे इन्स्टिच्युटबाट भाषाको अध्ययन पूरा गरी आफ्नो सम्बन्धित विषयको अध्ययन गर्ने सिलसिलामा म जर्मनीको फ्राइबुर्ग विश्वविद्यालयमा भर्ना भएको थिएँ। सुरुका दिनमा विदेशी विद्यार्थीलाई डेरा खोज्न गाह्रो हुने भएकाले छात्राबासले विदशी विद्यार्थीलाई कोठा उपलब्ध गराउन प्राथमिकता दिने गर्थ्यो। त्यसैले मैले छात्राबासमा सजिलै कोठा पाएँ। तर, म बसेको छात्राबासमा तीन वर्षपछि विद्यार्थीले अनिवार्यरूपमा कोठा छाड्नु पर्ने नियम थियो। म बसेको तीन वर्ष पुग्न लागेको थियो। त्यसैले मैले कोठा खोज्नुपर्ने भयो।


कोठा खोज्ने क्रममा एक स्थानीय पत्रिकामा भाडादर र सुविधाका दृष्टिले उपयुक्त कोठाको विज्ञापन फेला पारेँ। विज्ञापनमा सम्पर्क टेलिफोन नम्बर उल्लेख थियो। मैले उक्त नम्बरमा फोन गरेँ। फोन एक महिलाले उठाइन्। त्यो घर फ्राइबुर्ग विश्वविद्यालयकै कुनै चिकित्सक प्रोफेसरको रहेछ। फोन उठाउने महिला उनै प्रोफेसरकी पत्नी रहिछन्।

त्यति बेलासम्म म जर्मन भाषा शुद्ध र राम्रो बोल्नसक्ने भइसकेको थिएँ। घरबेटीलाई मैले आफू विश्वविद्यालयको वनस्पतिशास्त्रको विद्यावारिधिको विद्यार्थी भएको परिचय दिँदै उनको घरमा खाली कोठा भाडामा लिने इच्छा व्यक्त गरेँ। ती महिला निकै उदार, सहयोगी र मिलनसार भएर प्रस्तुत भइन्। सायद उनी मेरो परिचय र संवादबाट प्रभावित थिइन्। उनी मलाई कोठा भाडामा दिन तयार भइन् र कोठा हेर्न आउन आमन्त्रण गरिन्। मैले बोलेको स्तरीय र शुद्ध जर्मन भाषा सुनेर होला, टेलिफोन वार्ताबाट ती महिलाले म विदेशी हँु भन्ने छनक पाइनन्।

केही जर्मनहरू 'गास्ट आर्बाइटर'का नामले चिनिने तुर्कीका आगन्तुक कामदार तथा तेस्रो विश्वबाट आएका विदेशीप्रति पूर्वाग्रह राख्थे भन्ने मलाई थाहा थियो। किन्तु, मेरो निकट उठबस धेरैजसो विश्वविद्यालयका प्राज्ञिक वर्गसँग मात्र हुने गरेकाले मैले त्यस्तो अनुभव गर्नु परेकोे थिएन। ती जर्मनहरू मलाई सधैँ राम्रो व्यवहार गर्थे। मैले भाडामा लिन चाहेको कोठाकी घरबेटी विश्वविद्यालयकै प्रोफेसरकी पत्नी भएकाले ती महिलामा विदेशीप्रति कुनै पूर्वाग्रह होला भनेर सोचेको थिइनँ। तैपनि मैले ती महिलालार्ई आफू विदेशी भएको पूर्व जानकारी दिन आवश्यक ठानेँ र आफू नेपालबाट आएको बताएँ।

नेपाललार्ई ती महिलाले इटालीको सहर नेपल्स भन्ठानिन् र मलाई इटालेली मूलको विदेशी ठानिन्। ती महिला छक्क परेर भनिन्, 'तपाईँँले बोल्नुभएको जर्मन भाषा सुन्दा त तपाईँ विदेशीजस्तो लाग्नुहुन्न।' म इटालीको नागरिक भएको ठानेर होला, त्यति बेलासम्म पनि उनी मलाई कोठा भाडामा दिन तयारै थिइन्। मैले फेरि आफू इटालीको नेपल्सबाट नभई नेपालबाट आएको बताएँ। तर, महिलालाई नेपालबारे केही जानकारी रहेनछ। मैले भौगोलिक वर्णन गर्दै नेपाल इन्डियाको एक छिमेकी राष्ट्र भएको बताएँ। इन्डियाको नाम लिनासाथ ती महिलाको व्यवहारमा एक्कासि परिवर्तन आयो। एकै छिनअघि त्यति मिलनसार र उदार भएर फोनमा प्रस्तुत ती महिलाले आफ्नो कुराबाट फरक्क फर्किंदै भनिन्, 'विदेशीप्रति मेरो त्यस्तो खराब धारणा केही छैन। तर, माफ गर्नुस्, म तपाईँँलार्ई कोठा दिन सक्दिनँ। तपाईँ अर्कै ठाउँमा कोसिस गर्नुस्,' उनले ठाडै भनिन्। मैले म इन्डियन होइन, नेपाली हँु भनेर दोहर्‍याएँ। ती महिलालाई आश्वस्त पार्न खोज्दै भनेँ, 'म वाचा गर्छु, मलाई कोठा भाडामा दिँदा तपाईँलार्ई कुनै समस्या पर्दैन।' तर, उनले मान्दै मानिनन्।

म इटालीको नभई तेस्रो विश्वको विदेशी विद्यार्थी भएकैले उनी मलार्ई उपेक्षा गर्न खोजिरहेकी थिइन्। 'म एकपटक कोठा हेर्न आउँछु। हुनसक्छ, मलार्ई देखेपछि तपार्इँको धारणामा परिवर्तन आउँछ', मैले विनम्रतापूर्वक उनीसँग पुनः अनुरोध गरेँ। तर, उनी आफ्नो कुराबाट टसमस भइनन्। ती महिलाले मलार्ई कुनै हालतमा पनि कोठा नदिने स्पष्ट पारिन्। हुन त कसैलाई आफ्नो कोठा भाडामा दिनु वा नदिनु घरधनीको अधिकारको कुरा थियो। तर, यस घटनालार्ई मैले आफ्नो अपमान ठानेँ। मैले कोठा लिने विचार त्यागिदिएँ तर म ती महिलालार्ई एकपटक भेटेरै उनकी पूर्वाग्रही व्यवहारप्रति आफ्नो विरोध जनाउन चाहन्थेँ।

मैले इन्स्टिच्युटका एक जना साथीलार्ई उनको कारमा ती महिलाको घर एकचोटि हेर्न जाऊँ भनेँ। 'तिमीले कोठा पाउने होइन क्यारे, त्यहाँ केे गर्न जान्छौ?', साथीले मलार्ई रोक्ने प्रयत्न गर्‍यो। मैले भनेँ, 'अब त्यस घरमा बस्न मन त मलार्ई पनि छैन तर एकपटक तिमी मसँग हिँड, म ती महिलालार्ई आफ्ना केही कुरा भन्न चाहन्छु।' केही क्षणको गलफत्तीपछि साथी मसँग जान तयार भयो।

ती महिलाकी घर अति सुन्दर थियो। ढोकाको घन्टी बजाएपछि महिला बाहिर निस्किन्। मैले आफ्नो परिचय दिएपछि तिनले असन्तुष्टिको स्वरमा कडकिएर भनिन्, 'मैले तपाईँँसँग फोनमा त्यत्रो कुरा गरेर सबै स्पष्ट गरिसक्दा पनि तपाईँ किन आउनुभयो? म तपाईँलार्ई कोठा दिन चाहन्नँ भने यहाँ आएर के फाइदा?' मैले भनेँ, 'म यहाँ कोठा हेर्न आएको होइन। म तपाईँलाई केही भन्नमात्र आएको हुँ। तपाईँंले म इटाली नभई नेपालको विद्यार्थी भएको थाहा पाएपछि आफ्नो कुरा फेर्नुभयो र मलाई कोठा भाडामा दिन अस्विकार्नुभयो। तपाईँले सित्तैमा कोठा दिए पनि म बस्दिनँ। म प्रोफेसरका धेरै परिवारलाई चिन्छु र उनीहरूलाई निकै सम्मान गर्छु। मैले पनि उनीहरूबाट अहिलेसम्म सधैँ सद्भाव पाएको छु। तपार्इँ देख्ता त शिक्षित र सज्जन नै जस्तो लाग्नुहुन्छ। तर, विश्वविद्यालयको प्रोफेसरकी पत्नी भएर पनि तपार्इँले म तेस्रोे विश्वको विद्यार्थी भएकै कारण मप्रति देखाउनुभएको पूर्वाग्रही व्यवहार मलाई राम्रो लागेन। तपाईँको यस्तो व्यवहारबाट मेरो अपमान भएको ठानेको छु। जर्मनीमा मसँग यस्तो पूर्वाग्रही र रूखो व्यवहार गर्ने तपाईँ पहिलो शिक्षित व्यक्ति हुनुहुन्छ। त्यसैले म तपाईँको कोठा हेर्न वा तपाईँलार्ई सम्झाउन आएको होइन। तपाईँलाई भेटेरै तपार्ईँको पूर्वाग्रही व्यवहारप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्नमात्र म यहाँ आएको हँु।'

मैले यति भनुन्जेल ती महिला अवाक् भएर सुनिरहेकी थिइन्। तिनको मुखबाट बोली फुट्न सकिरहेको थिएन। मसँगै आएका मेरो साथीलार्ई पनि मैले ती महिलालाई के भन्छु भनेर पहिले बताएको थिइनँ। मेरो व्यवहार उसका लागि पनि अप्रत्याशित र कल्पनातीत थियो। अन्त्यमा मैले ती महिलालार्ई जर्मन भाषामै 'धेरै धन्यवाद' भनेर फरक्क फर्किएपछि मात्र उनी तन्द्राबाट बिउँझिएझैँ भएकी थिइन्।
Source :http://www.nagariknews.com/saturday/47300-2012-10-06-04-06-29.html

No comments:

Post a Comment