नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, July 25, 2012

रूपचन्द्रसँग एउटा पटमूर्ख

अभय श्रेष्ठ

हामी सानै छँदा, पञ्चायती उत्कर्षको त्यो समय 'थाहा' आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक 'किंवदन्ती' सुनिन्थ्यो। जताततै भित्तामा 'थाहा' लेखिएको हुन्थ्यो।

प्रजातन्त्र पुनर्स्थापनापछि बिस्तारै उनी पुराना किताबको आवरणजस्तै जनताको सम्झनाका पानाबाट च्यातिँदै गए। अंग्रेजी भाषामा महिला, समाज र मनोरञ्जन समाचार लेख्न थालेकी एक किशोरीलाई विष्टबारे हालसालै मैले सोधेँ। उनले आश्चर्य प्रकट गरिन्, 'इज हि अ न्यु हिरो?'
'होइन।'
'देन हु द हेल इज दिस गाई? हाउ कुड आई नो हिम?'
'गाईभैँसी होइन डियर, उनी तिमीजस्ता महिलाका सबैभन्दा नजिकका इष्ट हुन्। त्यसो भए, तिमीलाई टम क्रुजबारे थाहा होला!'

मेरो प्रश्नमाथि छड्के आँखा लगाउँदै टमबारे उनले बाराक ओबामा शैलीको एक 'लेक्चर' दिइन्। निकोल किडम्यान र मिमी रोजरपछि केटी होल्म्ससँग पनि 'डिभोर्स' गरेर प्रेमको मैदान खुला गर्न लागेका हलिउडका सर्वाधिक ह्यान्डसम हिरोबारे उनलाई थाहा नहुनु!
म पटमूर्ख!



मध्यमवर्गीय जीवनको कुहिरोमा हराउँदा सुदूर पूर्वको आकाशमा वैजनी घाम झुल्केजस्तै आत्मज्ञानको पर्दामा रूपचन्द्र विष्टको तस्बिर जब देखा पर्छ, एकाएक मलाई यो कुहिरो च्यातेर बाहिर निस्कने हुटहुटी जाग्छ। जे सोच्ने, त्यही गर्ने, जसको राजनीति गर्‍यो, उसैको स्तरमा बाँच्ने उनको जीवनशैली थियो। अन्तिमपल्ट बिरामी हुँदा उनका सहयोगीले सुविधासम्पन्न अस्पताल लान चाहेका थिए। विरोध जनाउँदै उनले भने रे, 'झुत्रेझाम्रेले उपचार गराउनसक्ने ठाउँ वीर अस्पताल हो। मलाई त्यहीँ लैजाऊ। त्यहाँ क्याबिनमा होइन, जनरल वार्डमा भर्ना गर। झुत्रेझाम्रेहरू क्याबिनमा उपचार गराउन सक्दैनन्।' अन्ततः जनरल वार्डमा उपचार गराउँदा गराउँदै उनको निधन भयो।

विष्टका किंवदन्तीजस्तो लाग्ने अनेक प्रसंग मकवानपुरका गाउँ-गाउँमा चर्चित छन्। तिनले उनका महान् निष्पक्षता र न्यायप्रियता उजागर गर्छन्। तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय विधायक विष्टको अंगरक्षक उनका साख्खै भतिजा युद्धकलाका राष्ट्रिय खेलाडी रणसंग्राम विष्ट थिए। ती विष्ट मेरा सहपाठी संघर्ष विष्टका साख्खे दाजु थिए। उनले विष्टसँगै मकवानपुरका गाउँगाउँ र देशका कुनाकाप्चा चहारेका थिए रे। त्यसैताक प्रशिक्षणका लागि जापान जाने कोटा आयो। त्यसमा सिफारिस गरिदिन उनले काका रूपचन्द्रलाई आग्रह गरे। काकाले तुरुन्तै सिफारिस लेखिदिए। तर, त्यसको बेहोरा यस्तो थियो, 'निज निवेदनकर्ता योग्य भए निजलाई सिफारिस गर्छु। निजभन्दा अरु योग्य भए उसैलाई सिफारिस गर्छु।' निष्पक्ष सक्रियताको यस्तो अनुपम अभ्यास आत्मज्ञानलाई सबैभन्दा माथि राख्ने मान्छेले बाहेक कसले गर्न सक्छ? पालुङस्थित जनकल्याण मावि बनाउँदा उनले सम्भ्रान्त वर्गकी पत्नी उमा शाहलाई पनि आफूसरह ढुंगा बोक्न लगाएका थिए रे। आफू कठोर परिश्रम गर्ने र पत्नीलाई पनि त्यस्तै गर्न लगाउने बानीकै कारण उनको वैवाहिक जीवन विच्छेद भएको थियो।

मानवीय व्यवहारमा उति ध्यान नदिइएका नैतिक भ्रष्टाचारलाई उनी ज्यादै खतरनाक ठान्थे। यथार्थमा, नैतिक भ्रष्टाचार सबै भ्रष्टाचारको जरा हो। एकपल्ट मकवानपुरको दुर्गम पहाडी गाउँ डुल्दा एउटाले भुटेको मकैको फूलफूल छानेर खाइदियो। रूपचन्द्रले तुरुन्तै भने, 'मकै पाउँदा त फूलफूल छानेर खान्छस्, देशै पाइस् भने के गर्लास्?' गाउँमा आमसभा गर्दा उनी वक्तालाई मुखमा घाम पर्नेगरी र श्रोतालाई शीतल हुनेगरी मञ्च बनाउँथे रे। एउटा सभामा सहिनसक्नु घामले पोलेपछि उनकी कार्यकर्ता विश्वकान्त कलावतीले विरोध गरिछन्। रूपचन्द्रले मञ्चबाटै भण्डाफोर गरे, 'यो केटी खुब सुविधाभोगी छे, मौका पाई भने यसले सुविधाजति आफ्नो भागमा र असुविधाजति जनताको भागमा पार्छे।'

रूपचन्द्र अधिकांश मान्छेलाई 'तँ, भाते, कुकुर' भनेर दपेट्थे। सुन्दा अत्यन्त कटु लाग्ने यी सम्बोधन मान्छेको मनोविज्ञानविरुद्ध थिए। आत्मसम्मानै नभएको मान्छे पनि अरुले आफूलाई सम्मान गरोस् भन्ने चाहन्छ। तर, उनी तर्कविहीन थिएनन्। हातमा ठेला उठेका श्रमिक, किसान र मजदुरलाई उनी 'तपाईँ' भन्थे रे। दुनियाँले 'जीहजुरी' गर्ने सरकारी अधिकारी, सामन्त र मालिक वर्गलाई 'तँ, भाते, कुकुर' भनेर हकार्थे रे। मानिसहरू सामान्यतया व्यक्तिको उपस्थितिमा 'तपाईँ' र अनुपस्थितिमा 'तँ' सम्बोधन गर्छन्। उपस्थितिमा होस् वा अनुपस्थितिमा, 'तँ' लायकलाई 'तँ' र 'तपाईँ' लायकलाई 'तपाईँ'। यस्तो थियो उनको तरिका।

'भाते' र 'कुकुर' सम्बोधनमाथि उनको तर्क अझ बेजोड थियो। भातेको अर्थ हो, परिश्रमविना भात पचाउने। ब्रह्माण्डकै सबैभन्दा विवेकशील प्राणी मान्छे। विवेक गुमाएपछि ऊ भाते हुन्छ। ऊ शक्तिको आडमा शोषण गर्छ, पशु-व्यवहार देखाउँछ। हावापानी, घाम, माटो, वर्षा प्रकृतिले दिएका सार्वजनिक सम्पत्ति हुन्। सार्वजनिक सम्पत्ति निःशुल्क उपयोग गर्ने अनि कामचाहिँ नितान्त व्यक्तिगत लाभको मात्र गर्ने? सार्वजनिक सम्पत्ति उपभोग गरेपछि काम पनि सार्वजनिक हितकै गर्नुपर्छ। घामपानी, हावा, माटोको तिरो तिर्न कम्तीमा दिनको पाँच मिनेट सत्य थाहा पाउन, पाँच मिनेट थाहा पाएको सत्य फैलाउन र अर्को पाँच मिनेट 'थाहा' कार्यान्वयन गर्न सदुपयोग गर्नुपर्छ। बल्ल भातेको कलंकबाट मुक्ति पाइन्छ।

कुकुरको अर्थ हो, विवेक प्रयोग नगरी पक्ष, विपक्षमा लाग्ने। जसले घुस दियो, जसले आफूलाई फाइदा हुने काम गरिदियो, जसले झुटो प्रशंसा र चाकरी गर्‍यो, सत्य र ठीकलाई मिचेर पनि उसैको पक्षमा लाग्नु कुकुर प्रवृत्ति हो। कसैका पक्षमा नलाग्ने, सत्य र ठीकका पक्षमा लाग्ने, त्यसैका लागि सक्रिय हुने हो भने बल्ल कुकुर कलंकबाट मुक्ति पाइन्छ।

रूपचन्द्रका यी प्रसंग सम्झँदा मात्र पनि हृदयभरि सत्य, न्याय र उत्साहको तोरीबारी मगमगाउन थाल्छ।

मेरो पत्रकारी जीवनको १७ वर्षमा सबैभन्दा खट्कँदो एउटा पक्ष विष्टलाई भेट्न नपाउनु, उनीसँग अन्तर्वार्ता गर्न नपाउनु पनि हो। पत्रकारिता क्षेत्रमा भनिने 'डेस्क वर्क' मा थालनीदेखि नै बाधिँदा म कहिल्यै 'पत्रकार' हुन सकिनँ र यसका अनेक आकष्मिकताबाट वञ्चित भएँ।

सबैलाई 'थाहा' दिएर जगाउन खोज्ने विष्टकै निधनबारे हाम्रा मूलधारका मिडियाले थाहा पाएनन्। 'मूल्यांकन' मासिकमा उनीबारे विस्तृत सामग्री पढेपछि 'पत्रकार' भएकोमा पहिलोपल्ट म अत्यन्त लज्जित भएको थिएँ। विष्टजस्ता साँच्चिकै सही व्यक्तिको निधनको खबर लत्याएर हामी 'कुनै नेपाली नायिका राजेश हमालसँग भए पाँचपटक बिहे गर्न तयार' प्रभृतिको समाचार दिइरहेका थियौँ।

एउटा गैरभौगोलिक परिकल्पना। (तपाईँ यसलाई मार्खेजको जादु यथार्थवादको सापटी पनि भन्न सक्नुहुन्छ। यथार्थमा, यो मैले आफ्नै प्रयोजनका लागि तयार पारेको आत्मसंवाद हो। पाठकको सुविधाका लागि द्रष्टव्यका रूपमा मात्र आएको यसको आत्मभर्त्सना शैलीले प्रस्ट हुन्छ।)

तनाव र उदासी रुमालझैँ फैलिएको एक मध्याह्न विष्ट मेरै कार्यकक्षमा टुप्लुक्क झुल्किए। आकाशबाट फुलौरा बर्सँदा फुरुंग केटाकेटीझैँ म उनको अन्तर्वार्ता गर्न तयार भएँ। हकार्दै उनले मलाई भने, 'पहिले तँ आफू यो कुहिएको यथास्थितिबाट मुक्त हो, बल्ल तँलाई अन्तर्वार्ता दिउँला भाते!'

साँच्चै, परिवर्तनको कुरा गर्ने तर यथास्थिति अन्त्य गर्न सिन्को नभाँच्ने मध्यमवर्गीय बहानाबाजी मेरो पनि प्रवृत्ति हो। यो देखेर सायद उनी दिक्क थिए। भने, 'तँ भाते, कुकुरलाई पनि एक थाल भात, एक अँगालो 'आइमाई' र परस्त्रीको एउटा नक्कली मुस्कान भए पुग्ने रहेछ, होइन? सधैँभरि जाबो एउटा जागिरका लागि थरहरी हुने मान्छे त मान्छे नै होइन, बुझिस्? अनि यस्तो मान्छे कति दुःख गरेर अभय श्रेष्ठ भएको के अर्थ भयो भन् त? किन व्यर्थै पत्रकार हुँ भनेर घिरौँलाजत्रो नाक पार्छस् कुकुर! बरु अब भयभीत श्रेष्ठ भनेर नयाँ नाम राख्!'

हामी बसेकै कक्षमा आधुनिक ठाँटबाँटका केटीहरू गौँथलीको बथानजस्तै चिर्बिराइरहेका थिए। एक्कासि तिनीहरूले मतर्फ खुच्चिङ शैलीको एक एक डोज हाँसो फ्याँके। सायद भनिरहेका थिए, 'ठीक्क भो तँलाई डाँका! खुप्पै फुर्ती गर्थिस्, बुढाको हप्की खाँदा बोल्न सकिस्?'

हुन पनि मलाई कम्ती मर्नु भइरहेका थिएन! रूपचन्द्रलाई यस्ता कुराको छु मतलव! खुइय गर्दै उनले भने, 'मेरो कामै जनता जगाउने, ती नजाग्ने भइहाले। जतिलाई जगाएँ, धेरैजसो ती पनि जालीफटाहालाई काम लागे। युवा पुस्तामा अलिकति भरोसा तँमाथि थियो, तँ पनि उही ड्याङको चाउरे मूला रहेछस्!'
म मुख सिलाइएजस्तै वाणीविहीन देख्दा कवितात्मक पारामा उनले भने-

चार माना माटोसित तेरो नातो जोडियो भनेर
माटाको भाँडाले तँसित दोस्ती-स्वस्ति गर्‍यो भनेर
बसिस् कैद गमलामा, सिंगै पृथ्वीलाई छाडेर


अहो, रूपचन्द्रले मैले कहिल्यै व्यक्त गर्न नसकेको मभित्रको भय कति सजिलै व्यक्त गरिदिए! परन्तु, म आफ्नो प्रतिरक्षा गर्न तम्सन्छु। 'रूपचन्द्रजी, कृपया यस्तो सम्बोधन फिर्ता लिनुस्। यस देशको पछिल्ला दुई राजनीतिक परिवर्तनका लागि अनेक खतरा मोल्दै म पनि सशरीर सहभागी भएको हुँ। त्यसको अंशदाबी मैले कहिल्यै गरिनँ। म श्रमिक हुँ, शारीरिक र मानसिक दुवै श्रम गर्छु। खेत खन्छु, आली लगाउँछु, ड्याङ फाँड्छु, बाउसे गर्छु, थ्रेसर चलाउँछु। सत्य र न्यायका पक्षमा बोलेर, लेखेर मानसिक श्रम गर्छु।'

म सिलसिला मिलाएर खासै बोल्न नजान्ने मान्छे मकैझैँ पड्केको देख्दा उनी अचम्भित थिए। 'आवेशमा कसैसँग नराम्रो व्यवहार गर्दा, झुटो बोल्दा र मेरो कारणले कसैले दुःख पाउँदा पश्चातापले कैयन् दिनसम्म निदाउन सक्दिनँ। कसैलाई ढाँट्ने, छल्ने काम गर्दिनँ। मासु पसल्नी, मम पसले, खुद्रा पसले र कन्डक्टरले झुक्किएर बढी पैसा फिर्ता दिँदा इमानदारीपूर्वक तिनलाई पैसा फर्काएको छु। तिनले यो गुन नसम्झनुमा मेरो के दोष छ र रूपचन्द्रजी?

'हो, सदाबहार प्रतिपक्षी स्वभावका कारण मेरो पत्रकारी जीवन सदैव सिसिफसको नियति भोग्न बाध्य भयो। तपाईँलाई थाहा होला, स्वर्गका राजा जुपिटरले तरुनी एजिनालाई अपहरण गरेका थिए। सिसिफसले युद्ध जितेर एजिनालाई बाबुआमाकहाँ फिर्ता ल्याइदियो। त्यसको सजायस्वरूप उसले अजङको ढुंगा ठूलो पहाडका टाकुरामा पुर्‍याउनुपर्ने भयो। ऊ ढुंगा घचेट्दै पहाड उक्लन्छ तर टाकुरामा नपुग्दै ढुंगा तल आइपुग्छ। फेरि घचेट्दै उक्लन्छ, ढुंगा फेरि तल आइपुग्छ। जीवनभरि उसले यही निस्सार काम गरिरहनुपर्‍यो। पत्रकारका रूपमा म पनि एउटा सिसिफस हुँ।

'म बुद्धको कुरा गर्थेँ, मेरा हाकिमहरू 'बुद्धु' सुन्थे। म लु सुनको बयान गर्थेँ, उनीहरू 'लसुन' मात्र चिन्थे। म सुकरातको कुरा गर्थेँ, उनीहरू सुकुटी भनेको मात्र बुझ्थे। म गान्धीको कुरा गर्थेँ, उनीहरू 'गधा' सुन्थे। म लोर्काका कविताको कुरा गर्थेँ, उनीहरू 'लौका' भनेको मात्र बुझ्थे। म सुरदाशको कुरा गर्थेँ, उनीहरू सुँगुरको चरित्रमात्र बुझ्थे। म सेक्सपियरको कुरा गर्थेँ, उनीहरू सेक्स सुन्थे। म त दस्तोब्स्कीको पात्र राजकुमार मिस्किनजस्तै पटमूर्ख पो ठहरिएँ। यसरी मेरो जीवन सिसिफसको नियति भोग्न बाध्य भयो। सायद त्यसैले दिक्दारी मेरो स्थायी स्वभाव भयो।'

वृद्ध किसानजस्तै निधार खुम्च्याउँदै विष्ट चाख मानेर मेरो कुरा सुन्छन् र मेरो पिठिउँमा धाप दिन्छन्। आमा भेटेको बालकजस्तै उत्साहित हुँदै म भन्छु, 'तर, एउटा आत्मस्वीकृति रूपचन्द्रजी, कुनै सुन्दर युवतीलाई देख्दा मनमा अलिकति 'पाप' पलाउनुु, एउटै लेख वा कवितालाई सामान्य परिवर्तन गरेर फेरि छाप्नु अपराध हो भने त्यो यदाकदा मबाट भएको छ। त्यसका लागि सजाय भोग्नुपर्ने हो भने म तयार छु। तर, म दाबीसाथ भन्छुु, त्यसबाहेक मैले आफैँसँग पनि झुक्नुपर्ने कुनै काम गरेको छैन रूपचन्द्रजी!'

विष्टलाई म आफ्नो हातको ठेला देखाइदिन्छु जुन भर्खरै असारे खेतमा परिश्रम गर्दाको चिनो हो। ठेला सुम्सुम्याउँदै उनी एक्कासि भावुक हुन्छन् र मलाई 'तपाईँ' भन्न थाल्छन्। प्रस्ट छ, उनी श्रमिक वर्गलाई अत्यन्त सम्मान गर्थे।

धन्य, श्रीखण्डभन्दा पवित्र पाखण्डलाई समाज र कानुन दुवैले पञ्चखत माफी दिएका छन्। हुन पनि अलिअलि आडम्बर नभए समाजबाट मान्छेको सदस्यतै खोसिन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसैले भनेका होलान्, प्रभुजी, मलाई भेडो बनाऊ। आत्मज्ञान जागेका बेला म पनि त्यही कामना गर्छु।

एक्कासि फेरि मभित्र कतै लुकेको आत्मज्ञान जागेर आउँछ र श्रीखण्डझैँ पवित्र आफ्नै पाखण्ड सम्झेर दिक्क हुन्छु। भित्र कतै सिसा फुटेझैँ यो के भएको मलाई? पहिरो गएझैँ भासिएको स्वरमा भन्छु, 'माफ गर्नुस् रुदाने, मान्छेले दुनियाँलार्इँ ढाँट्न सक्छ, आफूलाई सक्दैन। तपाईँलाई किन ढाँटूँ, म पनि त्यही भिडमा उभिएको मान्छे हुँ जो घर, परिवार र आफ्नै भविष्यका नाममा आफूलाई बेचिरहेको हुन्छ। मैले मान्छेलाई जगाउने खालको सत्यको अभ्यास पनि खासै गरिनँ जुन हरेक जागृत मान्छेले गर्नुपर्थ्यो। यथार्थमा, म पनि प्रियतावादी 'पत्रकार' मात्र हुँ, बाध्यता र कुहिएको सामाजिक चालचलनको बहिदारमात्र हुँ। साँच्चै, गलत लाग्छ मलाई मेरो आफ्नै वर्तमान। म कुनै पनि हालतमा मुक्ति चाहन्छु, रूपचन्द्रजी!'

संवाद त मेरो पनि रूपचन्द्रको भन्दा कम्ता 'दार्शनिक' थिएन, मैले भन्नुपर्दा। (अरुले नभन्नुमा मेरो दोष छैन।) त्यसको असर बुझ्न केटीहरूतर्फ मैले एक नजर मिल्काइदिएँ। सायद, म दस्तोएब्स्कीको पात्र मिस्किनजस्तै पटमूर्ख भएको थिएँ। आँखा तर्दै सानो स्वरमा तिनीहरू भनिरहेका थिए, 'कस्ता खुस्केट रहेछन्!'

रूपचन्द्रले टाउकोमाथि एकपल्ट दुवै हात उठाए र होहोहो गरेर बेस्सरी हाँसे। मध्यम काँटीको मेरो ढाडै भाँचिएलाझैँ धाप मार्दै भने, 'सुन् डाक्टर भाते भाइसाप, तँ पनि साँच्चिकै 'कवि' रहेछस्। आफूभित्र संघर्ष शक्ति कमजोर छ, दोष अरुलाई लगाउँछस्। ठीक छ, कवि हुनु, भावुक हुनु खराब होइन। तर, छिनमै आफूलाई दूधले धोएको भन्ने र छिनमै दोषी ठान्ने खालको दोधारले तेरो आन्द्राभुँडी छरपस्टै देखिन्छ, बुझिस्? गो अहेड, जस्ट गो अहेड!'

म केही सोध्न खोज्दै थिएँ, रूपचन्द्र एक्कासि बगरको बालुवाका महादेवजस्तै अन्तर्ध्यान भइसकेका थिए।

Source : http://www.nagariknews.com/saturday/43703-2012-07-21-10-00-09.html