नेवा: स इन्टरनेट रेडियो

Wednesday, July 25, 2012

बैगुनबाहेक के छ तिमीसँग?

तारालाल श्रेष्ठ

उसले तिमीलाई सराप्यो त के बिरायो?
सराप्न लायक बैगुनभन्दा अरू बढी
के छ तिमीसँग?
-(राजेन्द्र पौडेल, हिमालतिर हेर)

'उत्थानका लागि इच्छा र साधना चाहिन्छ≤ पतनका लागि इच्छामात्रै भए पुग्छ' भनी हर्क गुरुङले लेखेका छन्। अहिले मात्तिएको देश र उछिट्टिएको मानिसझैँ विश्वकै सबैभन्दा कान्छो गणतन्त्र नेपाललाई पराइले गिज्याइरहेका छन्। प्रमुख शक्तिसँग केवल एकआपसलाई सराप्नलायक बैगुनभन्दा बढी केही बाँकी देखिन्न। मौलाउँदो बैगुनी संस्कृतिमा संवैधानिक संकटको आवरण ओढाएर संघीयताको अपव्याख्या र अपमान गर्ने प्रयास बढ्दो छ। यस्तो बेला विवेक प्रयोगको चेतना फैलाउने जिम्मा बौद्धिक वर्गकै हो। प्रयत्नविना सिकार गर्ने अजिंगरमात्र होइनन् संकटका बेला बोर्डरमा बसेर सकेसम्म सत्य बोल्ने साहस गर्ने समाज पनि हन्, बौद्धिक वर्ग।

दार्शनिक पोगोले उहिल्यै भनेका थिए, संकटको स्पष्ट उजागर गरिदिनु बरु संकट आउँदैछ भन्ने अज्ञानका पीडाभन्दा कम कष्टकर हुन्छ। कि पौड कि डुबको अवस्था आउनु पनि यथास्थितिको ओखती हो। संविधानसभाले जनमैत्री संविधान दिनै सक्दैन, नेपाललाई 'फूलबारी'को साटो यसले पनि थप 'सिरुघारी' बनाइराख्छ भने यसलाई कोमामा राखी अक्सिजन खुवाएर
कृत्रिमरूपले मात्र बचाइराख्नुको अर्थ थिएन। सभासद्हरूको निकम्मापनको दिक्दारी पराकाष्टामा पुगिसकेको थियो। कुनै मानिसले जब 'आज राति आफूलाई फाँसी हुँदै छ' भन्ने चाल पाउँछ तब बुद्ध बन्छ भनेझैँ हाम्रा सभासद्हरूले अन्तिम क्षणमा नाराजुलुश गरे। त्यो पनि लुरे नारा। रुन्चे जुलुस। हास्य कलाकारहरूका लागि समेत निक्कै मसला बन्यो, सभासद्। बिहान सबेरै सभासद्ले बाटो काटेकाले घर फर्किएर चोख्खिएको दृश्यसम्म प्रस्तुत गरे, तिनले। भाग्यमाथि विश्वास नगर्नेले पनि दुर्भाग्यमाथि विश्वास गर्नुपर्ने परिस्थितिमा बिजोकको पहिचान बन्नपुग्यो, सभासद्।

ग्रिक दार्शनिक सोक्रेटसले सही भनेका हुन्, 'पहिले आफूलाई चिन।' किनकि महान् मानिएका मानिसभित्र पनि कति पाखण्ड छ भन्ने कुराको आत्मज्ञान हुन सहज छैन। हरेकको मुखबाट शान्ति, सहकार्य र अमनचैनको आशा अझै व्यक्त भइरहेछ। किनकि हामी भित्र यही चिज छैन। शान्ति, सद्भाव र सहिष्णुतालाई व्यवहारमा लागू गर्ने कुरामा हामी दरिद्र छौँ। असहिष्णु छौँ। अहंकारी छौँ। आक्रोश र आवेगका रोगी छौँ। बैगुनी छौँ, हामी। किनकि हाम्रा नेता गण त्यस्तै छन्। 'साझा फूलबारी' नाराधारी नेपाल 'सिरुघारी'मै सीमित छ। बौद्धिक वर्ग पनि अझै वैज्ञानिक विश्लेषणका साटो बिकाउ बुद्धिविलासमै बरालिइरहेका छन्। सद्भावको धुपअक्षता गर्दै शोषणतन्त्रलाई ढाकछोप गरिआएका छन् अझै अधिकांश बौद्धिक वर्ग।

नेपाल एउटैमात्र संस्कृति, भाषा र भेषका मानिस बसोवास गर्ने थलो हुँदो हो त कति कुरुप हुँदो हो! एकल अनुहारको नेपाली समाज कल्पना गरेभन्दा हेरिनसक्नु कुरुप हुँदो हो! नेपाल सुन्दर हुनुमा पहिलो आधार बहुलता र विविधता हो। यहाँ एउटै जातीभित्र विविधता छ। एउटै संस्कृतिभित्र विविधता छ। एक ठाउँको नेवार अर्को ठाउँको नेवारभन्दा भिन्न छन्। पर्वते पनि फरक ठाउँमा फरकफरक छन्। अन्य पनि। अहिले अन्तरजातीय, भाषिक र सांस्कृतिक अन्तरघुलनमा वृद्धि भइसकेको छ। सानो मुलुकमा सयभन्दा बढी भाषाभाषी बाँचेका छन्। विविधताको यस निधिलाई चतुर शासकदेखि बुद्धिजीवीसम्मले 'सबैको साझा फूलबारी' भनी हचुवामा (अप)व्याख्या अर्दै आए। जातिवादी कलंक मनुस्मृतिको पृष्ठपोषकदेखि प्रगतिशीलको पगरी गुथ्नेसम्मले यही नारा फलाक्दै आए। तैपनि मुलुक 'सिरुघारी' नै रहिरह्यो। नारा भने 'साझा फूलबारी'को घन्काइरह्यो। चुक्नुनपर्नेहरू चुक्नु चुकिसके, बिक्नु बिकिसके। बौद्धिक वैविध्य व्यर्थ रुमल्लिनुसम्म रुमल्लिइसक्यो। अब स्पष्ट बोल्न सक्नुपर्छ।

एक्काइसौँ शताब्दीमा एकजातीय र क्षत्रीय राजनीति दीर्घकालीन मुक्ति मार्ग बन्नै सक्दैन। कुनै एक जातविशेषको अहंकारी भारी बोकेर ठसठस कन्दै हिँडिरहनु सच्चा बौद्धिक वर्गको मगजको सही सदुपयोग होइन। हाम्रो आनीबानी, सामाजिक संस्कार र दैनिक उठबसमा आमूल परिवर्तन आइसकेको छ। अन्तरघुलन भइसकेको छ। हिजो संस्कृत भाषालाई ईश्वरवाणी मान्नेहरू आज अंग्रेजीमै सपना देख्ने भइसके। पश्चिमीहरूलाई म्लेच्छ भनी अछुत ठान्नेहरूले पतिया प्रथालाई बिर्सिसके। मनुस्मृतिका पृष्ठपोषकका छोरानातिसमेत विश्वव्यापी भूमण्डलीकरणको नारा जप्दै पश्चिमा संसारमा छ्यापछ्याप्ती भइसके। अब न तिनलाई जात गएको भान हुन्छ। न त पतियाको पीर छ। यस्तो संसारमा केको एकल जातिवादी कुरा? केको क्षेत्रीय अन्धताका कुरा? यति हो, आफ्नो जातीय, भाषिक तथा सांस्कृतिक पहिचान तथा आफ्नो पन र मनलाई महत्वसाथ जगेर्ना गर्नु त्यस समुदायको प्रमुख कर्तव्य हो। अन्य समुदायको सहभागिता र सहिष्णु व्यवहार अपरिहार्य हुन्छ। 'सिरुघारी'लाई 'फूलबारी'मा व्यवहारिक रुपान्तरण निर्मम नाराले होइन, बौद्धिक वर्गले सही विवेक प्रयोग गरेर बोल्न सक्नुमा हुन्छ। त्यसले नवीन परिवर्तनलाई ललकार्छ, ती पतनका पृष्ठपोषक हुन्। ती प्रतिगमनका इन्जिनियर हुन्। अग्रगमनलाई ललकार्ने एउटामात्र संस्था हिजोदेखि आजसम्म अस्तित्वमा छ, त्यो हो चिहान। स्थापित जड संसारले परिवर्तनलाई घृणा गर्छ तर यही मात्र एउटा जबरजस्त सत्य हो। संघीयता मुलुकले धान्नै सक्दैन भने पनि अब मनुस्मृतिअनुसार मुलुक अघि बढ्नै सक्दैन।

सीमित पुरुषदेखि पुरुषसम्म मुलुकको तमाम स्रोत साधन र राजनीतिक शक्तिकेन्द्रमा हाबी राखेर पनि 'अखण्ड'को पाखण्ड नारा जप्दैमा मुलुक 'सबैको साझा फूलबारी' बन्न सक्दैन। कम्मरमा खुकुरी र शिरमा ढाकाटोपीले मात्र मुलुक उँभो लाग्दैन। टेक्नोक्रेटिक संसारमा फड्को मार्न सबैले समान अवसर पाउने संरचनाको आवश्यकता छ। यस्तो संघीय संरचना मुलुकलाई आवश्यक छ जसभित्र वास्तविक उत्पीडितले आरक्षण पाओस्। यस्तो संरचनाको खाँचो छ जहाँ वर्गीय चस्माभित्रै पनि थुप्रै लेन्सले समाज हेर्न सकियोस्। पुँजीवादीहरूले पैसाभन्दा पर पनि संसार छ, संसारको सबै चीज किन्नबेच्न सकिन्न भन्ने बुझून्। आरक्षण जनजाति, मधेसी वा दलित भएकाले काठमाडौँमा करोडौँ मूल्यको घरबारवालाले पाउनुको साटो बरु कर्नालीका कंगाल बाहुनले पाउने नीति बनोस् र लागू होस्। अनि जे-जे नामधारी संघीयता बने पनि जुन जातका भए पनि असली पीडितले आरक्षण र न्याय पाउने संरचना बने कोही आत्तिनु पर्दैन। एक जाति थोकमा सबै शोषक सामन्ती र अर्को जाति थोकमा सबै उत्पीडित देख्ने हाम्रो हेराइमा भ्रम छ कि छैन, बौद्धिक वर्गले स्पष्ट पार्नु सक्नुपर्छ।

केस्राकेस्रा केलाएर असली उत्पीडितले न्याय र आरक्षण पाउने तथा उत्पीडकले दण्डसजाय पाउने अकाट्य मानव अधिकारको व्यवस्था संघीयतामै बढी सुनिश्चित गर्न सकिन्छ। 'अखण्ड'को नाममा परिवर्तनलाई रोक्न खोज्ने र 'साझा फूलबारी'को नारा जप्दै मुलुकलाई 'सिरुघारी'मै सीमित राख्नेहरूविरुद्ध पहिले हस्तक्षेपकारी बोली बोल्नुपर्ने पनि बौद्धिक वर्गले नै हो। सहिष्णुताको मन्त्रमात्र जप्ने तर शोषणको विरोध गर्नै नजान्नेविरुद्ध सामूहिक बौद्धिक हस्तक्षेपको खाँचो छ। कलंकित जातिवादी भाग्यवादी बाहुनवादबारे मौन बसिआएका मनुस्मृतिका घोषित-अघोषित पृष्ठपोषकले पनि अहिले एकल जातिवादी राज्य पुनर्संरचनाको विरोध गरेका छन्, तिनले ढिलै भए पनि सही बोलेका छन्। कट्टर 'कास्टिस्ट' धर्मकर्मले कसैलाई भलो गर्दैन। विश्वमा अफ्रिकी कट्टर रंगभेद नीति 'अपार्थाइड' जस्तो अर्को अमानवीय नमुना कुनै असल बौद्धिकले चाहँदैनन्।

नेपाललाई इन्द्रेणीझैँ रंगीन 'साझा फूलबारी' बनाउने हो, न कि त्यसको नाममा 'जातिवादी सिरुघारी'। जुन जाति वा कित्ताका भए पनि अब बौद्धिक वर्गले आफ्नो विवेक प्रयोग गरेर बोल्नैपर्छ, हामी 'कास्टिस्ट' होइनौँ। एकल मनुवावादी आक्रोशको रोगी होइनौँ। एकल जातीय अहंकारी पनि होइनौँ। सहअस्तित्व र समान सांस्कृतिक पहिचानको पक्षधर हौँ। हामी सद्भावका पक्षमा ओठे नारामात्र घन्काइरहने तर शोषणतन्त्रको विपक्षमा बोल्ने बेला भने मौन बस्ने पाखण्डी पनि होइनौँ। होइन भने सन्तति सबैले अघिल्लो पुस्तालाई औँला ठड्याएर सोध्नैपर्छ, 'बैगुनभन्दा बढी के छ तिमीसँग?'

 Source : http://www.nagariknews.com/saturday/43504-2012-07-16-09-32-26.html