नेवा: स इन्टरनेट रेडियो

Sunday, March 28, 2010

विदा एक युगपुरुषलाई


स्व. गिरिजाप्रसाद कोइरालाको युगान्तकारी योगदान भनेको माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनु हो। राजतन्त्रलाई सदाकोलागि विदा दिइसकिएपछि गणतन्त्रको युगमा देशलाई प्रवेश गराउनु पनि उहाँको अर्को योगदान रह्यो। नयाँ संविधानको निर्माण भइनसकेको स्थितिमा, शान्ति प्रक्रियामा गतिरोध भइरहेको अहिलेको अवस्थामा उहाँको अभिभावकत्वको जरुरतको महत्व सबैले महशूस गरी रहेकै बेला उहाँले संसारबाट विदा लिनुभयो।

नयाँ संविधान जारी गर्ने र शान्ति सम्झौतालाई निश्कर्षमा पुर्याउने जिम्मेवारीको नेतृत्व अब कसले निर्वाह गर्ला त? एउटा शून्यता छाएको छ, देशको राजनीतिमा। नेपाली काँग्रेस भित्र कुनै नेताले उहाँको स्थान लिन सक्ने सम्भावना अहिले सम्म देखिएको छैन। असक्षम र अवसरवादी नेताहरूको भीडमा उहाँ जस्ता दृढ निश्चयी नेताको खडेरी नै छ, नेपाली काँग्रेसमा। कोइरालाको अवसानपछि इतिहासले माओवादी नेता प्रचण्ड र एमाले नेता झलनाथ खनाललाई नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रिय व्यक्तित्वको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ।

उहाँको जीवनकालमा उहाँको विरोध गर्दै नथाक्नेहरू समेत उहाँको निधनले देशको राजनीतिमा गहिरो रिक्तता ल्याएको अनुभव गर्दैछन्। उहाँको कसैसँग नझुक्ने दृढ निश्चयसँग उहाँको विरोधीहरूले पनि प्रशंसा गर्न थालेका छन्।

टारेर टार्न नसकिने मृत्युको आभास उहाँलाई भइसकेको थियो। आफ्ना भतिजा शेखर कोइरालाको महाराजगञ्ज स्थित घरलाई वर्षौं आफ्नो निवास बनाए पनि अन्तिम अवस्थामा आफ्नी छोरीकै घरमा जीवन विसर्जन गर्ने उहाँको इच्छा रहेछ। स्वास्थ्य स्थिति बिग्रदैं जाँदा विदेशमा उपचार गर्न जान मान्नु भएन, न त देशकै अस्पतालमा नै धेरै समय रहन चाहनु भयो। अन्तिम सम्म जर्जर भैसकेको भौतिक शरीरले साथ दिन छाडिसक्दा पनि आफ्नै इच्छामा बाँच्नुभयो उहाँ।

२०६२-६३ को आन्दोलनपछि संसद पुर्नस्थापना हुन्छ भन्ने कसैले सोचेका थिएनन्। सशस्त्र विद्रोहमा लागेका माओवादीलाई पनि साथै लिएर राजाको निरकुंश शासन विरुद्ध आन्दोलन कल्पना बाहिरका कुरा थिए, त्यतिबेला। कोइरालाको दृढ इच्छा शक्ति र राजनीतिक सुझबुझ कै कारण यी सब सम्भव भए। राजासँग टक्कर लिन सक्ने र अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिन सक्ने व्यक्तित्वकै खाँचो थियो, त्यसबेला त्यो आन्दोलनलाई।

प्रधानमन्त्रीको रूपमा लामो समयसम्म देशको कार्यकारी रहनु भएपनि देशलाई आर्थिक रूपमा एक सबल राष्ट्रको रूपमा उभ्याउन उहाँले जस्लाई अर्थतन्त्रको नेतृत्व सुम्पिनुभयो, उनीहरूको असक्षमतालो गर्दा देश आर्थिक रूपमा सम्पन्न हुन सकेन। र, नेपाली काँग्रेसको असफल आर्थिक नीतिको कारण जनताले चरम गरीवी र अभाव बेहोर्नुपर्यो। उहाँको नेतृत्वमा राजनीतिक क्रान्ति सफल भएपनि देश र जनताले आर्थिक सम्पन्नताको अनुभूति भने गर्न सकेन। उहाँको दृढ इच्छा शक्ति र निर्णय लिन सक्ने क्षमता र त्यसले देशको राजनीतिमा पारेको प्रभावलाई युगौंसम्म जनताले सम्भि्करहने छन्। विदा एक युगपुरुषलाई।

राज श्रेष्ठ
कीर्तिपुर

No comments:

Post a Comment