नेवा: स इन्टरनेट रेडियो

Monday, April 5, 2010

भारतीय प्रचार झूटो भएको भारतकै योगगुरु रामदेवको दाबी

गौतम बुद्ध आजभन्दा २५८५ वर्षअघि हालको नेपालभित्रै पर्ने कपिलवस्तुको तिलौराकोटमा जन्मेको घामजस्तै छर्लङ्ग छ। तिलौराकोटमा पाइएका र अझै उत्खनन्का क्रममा रहेका कतिपय बुद्धकालीन निर्माण सामग्री तथा तत्कालीन समयका चल्तीका सरसामानको पुरातात्विक पुष्टिले यसलाई द्विमति राख्ने कुनै ठाउँ नै दिएका छैनन्। तर पनि यस शाश्वत तथ्यमा भ्रम सिर्जना गर्ने भारतीय नियतलाई छिमेकी मुलुक चीनका साथै जापानका कतिपय प्रकाशनहरुले पनि साथ दिइरहेको देख्दा आश्चर्य लाग्ने गर्दछ। भारतीय सरकार र भारतीय प्रशासनको नियतमा देखिएको कालोपनालाई योगऋषि रामदेवले काठमाडौं आएका बेला आलोचना गरेका छन्। रामदेवले योगका माध्यमले नेपालको समुन्नति र समृद्धिका लागि नेपालको जल, जमिन, जडीबुटी, जनताको जागरण पर्याप्त भएको बताए।

शनिवार बिहान काठमाडौंको टुँडिखेलमा योग विज्ञान शिविर सञ्चालनका क्रममा रामदेवले हाल २५ हजार योगप्रशिक्षक अघिल्लो शिविरदेखि हालसम्मका दुई वर्षमा तयार भइसकेको बताउँदै अबका तीन वर्षमा व्यापक परिवर्तन आई देशभर कूल एक लाख योग प्रशिक्षक तयार हुने र पूरै नेपाल योगमय बन्नमा सहज हुने विश्वास व्यक्त गरे। योगऋषि रामदेवले नेपालमा पतञ्जलि योगपीठको केन्द्रीय कार्यालय काठमाडौंमा स्थापना हुने, धुलिखेल र स्याङ्जामा पतञ्जलि योगपीठहरुको सञ्चालन हुने कुरा पनि बताए। तर, कतिपय उनका आलोचकहरुले भने उनले नेपालमा रहेको जडीबुटीमा आँखा गाढेको दाबी गर्दै उनको उद्देश्य नेपालका सबै जडीबुटी कौडीको मोलमा भारत लैजाने तयारी गरेको बताएका छन्।

नेपालमा हिजोदेखि सुरु भएको योगविज्ञान शिविरको सञ्चालनका क्रममा काठमाडौं आइपुगेका विख्यात योगऋषि रामदेवले महापुरुषहरु सम्बन्धित देशका गौरव हुन् भन्दै त्यस्ता व्यक्तिहरुबारे गलत प्रचार गर्नुहुन्न भन्ने अभिव्यक्ति दिएका छन्। रामदेवले के पनि भनेका छन् भने महापुरुषहरुको जन्म, मृत्युजस्ता वास्तविक तथ्यबारे कसैले पनि गलत व्याख्या गर्नु उपयुक्त हुँदैन।

युवराज अवस्थामा नै २९ वर्षको उमेरमा तिलौराकोटको राजभवन छाडेर सिद्धार्थ गौतम तपस्याका लागि भारततर्फ लागेका थिए। उनले तपस्याका क्रममा भारतको बोधगयामा धेरै वर्ष बिताएका थिए भने उनको महापरिनिर्वाण (निधन) भारतको कुसीनगरमा भएको थियो। विश्वशान्तिका अग्रदूत गौतम बुद्धका नाममा नेपालले विश्वको थप सहानुभूति बटुल्न खोजेको भए हाम्रा पुर्खाले भनेका हुनेथिए होला, गौतम बुद्धले हिमालयखण्डमा गएर तपस्या गरे भनेर। अथवा उनको महापरिनिर्वाण नेपालको पावन भूमिमा भयो भनेर। भगवान् बुद्धको तपस्या, विश्वशान्तिका लागि उनले गरेका योगदान देशविशेष, जातिविशेष, धर्मविशेष र भूगोलविशेषका लागि नभई समग्र मानवताको आत्मिक शान्ति र आध्यात्मिक समुन्नतिका लागि थियो। उनको त्यहि उदात्त भावनाबाट अनुप्राणित भएका हाम्रा नेपाली पुर्खाले कहिल्यै बुद्धबारे अनर्गल प्रचार गरेनन् र उनीहरुको सत्यवादिताको अनुशरण गरी यो पुस्तासम्म आइपुग्दा पनि भारतले वा अरु मुलुकले बुद्धबारे यसो भने हामी पनि यसो भनौं भनेर हामीले नक्कली कुराको तानाबाना बुनेका छैनौं।

यसको अर्थ, नेपाली निरीह त पक्कै होइनौं। सत्य कुरालाई अभिव्यक्त नगर्दा आफ्नै देशका नयाँ पुस्तामा पनि भ्रम पर्न सक्छ। हाम्रो लुम्बिनीको संरक्षण, यसको बृहत् विकासमा हाम्रो सरकार, हाम्रा निकाय र हामी स्वयंले उदासीनता देखायौ भने यसको असर पक्कै पनि नयाँ पुस्तामा पर्नेछ।

अहिलेकै कुरा गर्ने हो भने पनि अवस्था भयावह छ, प्रचारप्रसार उपल्लो स्तरमै गलत तवरले भइरहेको छ। भारतका करोडौं विद्यार्थी बर्सेनि भारतमा गौतम बुद्ध जन्मेको इतिहास पढिरहेका छन्। हामीचाँहि हाम्रा विद्यार्थीलाई भारतका एक/एक प्रान्तको नक्सा पढाइरहेका छौं, त्यहाँको पाठ्यक्रममा स्कुले विद्यार्थीलाई नेपाल भन्ने देश उत्तरको छिमेकी देश हो भन्ने पनि बोध गराउनु आवश्यक देखिएको छैन। हाम्रा निजी स्कुलहरुका कतिपय पुस्तकहरु अझैसम्म भारतीय पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पनि हाम्रा निकायहरु मौन छन् र खोजीको सट्टा भनिरहेका छन् कि उनीहरुलाई यो जानकारी नै छैन। भारतमा जाने पर्यटकले पढ्ने टुरिस्ट गाइड बुक, ट्राभल लग तथा पर्यटक पथप्रदर्शकहरुले दिने जानकारीमा सर्वत्र यस्तै अनर्गल प्रचार छ।

उत्तरको छिमेकी देश चीनका केही निकायले पनि बुद्धको जन्मस्थलबारे गलत प्रचार गराइरहेका छन्। नेपालमा नेपाल चीन मैत्री संघको कार्यालय छ। त्यसले तिब्बतलाई चीनको अविभाज्य भाग हो भनेर नेपालको प्रत्येक पुस्तालई घोकाउन अनेकन सामग्री जनस्तरमा पस्किरहेको छ। नेपाली भाषामा तिब्बत चीनको स्वशासित क्षेत्र हो भनेर बुझाउने र चीन सरकारले तिब्बत लिएपछि भएको विकासको अवस्था देखाउन बर्सेनि लाखौं डलर खर्चेर काठमाडौंमा कार्यक्रम गरिन्छ तर तिब्बती धार्मिक नेता दलाई लामा र तिब्बतीको स्वतन्त्रताको माग जायज होइन भन्ने प्रचारका लागि तयार गरेको भिडियो सिडी The 3.14 Riots in Lhasa मा उद्घोषकले सिडीको ४१औं मिनेटमा बुद्धको जन्मस्थल भारतमा भएको भनेर उल्लेख गरेको छ। चीनले बुद्धसम्बन्धी कति त्यस्ता सामग्री निर्माण गरेको छ, जसमा बुद्धको जन्मस्थल भारत हो भनेर उल्लेख भएको होला? हाम्रो सरकार, हाम्रा निकायहरु, सम्बन्धित देशका हाम्रा दूतावास कतैबाट पनि त्यसलाई सच्याउने पहल नहुनु आश्चर्य र अशोभनीय हो।

जापानी पर्यटकहरु नेपालको तिलौराकोट र बृहत् लुम्बिनीको धार्मिक पर्यटनमा आउँछन्। उनीहरु प्रस्ट छन्, शान्तिका अग्रदूत गौतम बुद्ध नेपालको लुम्बिनीमै जन्मेका हुन् तर जापानबाट प्रकाशित हुने कतिपय प्रकाशनमा पनि यस्तै भ्रम छापिने गरेका छन्। पाठकलाई पक्कै थाहा होला, जापानी नागरिक र्युहो ओकावालाई जापानीहरु बुद्धको नयाँ अवतारका रुपमा प्रचार गरिरहेका छन्। सन् १९५६ मा टोकुसिमा जापानमा जन्मेका ओकावाले सन् १९८६ मा अमेरिकाको न्युयोर्कमा द इन्स्टिच्युट फर रिसर्च इन ह्युमन ह्यापिनेस भन्ने आध्यात्मिक संस्थाको स्थापना गरे। अहिले विश्वका अनेकन मुलुकमा उनको प्रवचन, उनको उपदेश आदिको प्रचारप्रसार भइरहेको छ। नेपालमा पनि ह्यापी साइन्स नामको आध्यात्मिक संस्था केही वर्षदेखि सञ्चालनमा छ। यसका मासिक प्रकाशनहरुमा ओकावाबारे प्रचारप्रसार भइरहेका छन्। यसका प्रकाशनहरुमा गौतम बुद्धको जन्म भारतमा भएको उल्लेख छ। यसो हुँदा पनि नेपालका सदस्यहरुले त्यसमा आफू संलग्न संस्थासित केही सोधनी गरेका छैनन् र प्रस्ट परिदिन खोजेको देखिएको छैन। थाइल्यान्ड, भुटान, भियतनाम, श्रीलङ्का, म्यानमार, लाओस लगायतका मुलुकका बुद्धका अनुयायीहरुमा बुद्धको जन्मस्थलबारे के जानकारी होला, हाम्रा दूतावासहरुले त्यसमा के पहल गर्नुपर्ने होला? यसबारे सरकार अझै पनि गम्भीर छैन। गौतम बुद्धको जन्मस्थल हुनुको गौरव पनि भारतीय सम्पन्नता र नेपालप्रतिको ज्यादतीका कारण हामीले गुमाउनुपर्ने हो भने अरु कति कुरा गुमाउँदै जानुपर्ला? हाम्रो निरीहताको यो अर्को लाजमर्दो अवस्था हो।

(यो लेख २०६६ चैत्र १५ गतेको साप्ताहिक जनमञ्चमा प्रकाशित छ। )


Bibash Yatri wrote :

रामदेव नेपाल आएर बुद्ध नेपालमै जन्मीएको बताएर ताली खाएपनि उनीद्धारा लिखित जिवन दर्शन नामक पुस्तकमा बुद्धको जन्म स्थान भारत रहेको दावी छ ।


योग शिविर संचालन गर्न नेपाल आएका भारतिय योग गुरु शुक्रवार नेपाल आएलगत्तै भारतले अनावश्यक रुपमा विवाद झिकिरहेको गौतम बुद्धको जन्मस्थानको बारेमा बोले । योग शिविरको जानकारी दिन आयोजीत पत्रकारसम्मेलनमा रामदेवले बढो स्पष्ट शैलीमा भने–बुद्ध नेपालमा जन्मीएका हुन । यो विषयमा भारतले अनावश्यक रुपमा विवाद गर्नुहुन्न । उनको सो उद्घोषपछि कतै नेपाली जमिन मिचेर आफ्नै बनाएको राष्ट्रले बुद्धलाई पनि भारतिय नै बनाउने पो हुन कि भन्ने चिन्तामा परेका नेपालीले केही राहत पाए । तर, जव रामदेव आफैंले लेखेको पुस्तक जिवन दशर्नमा बुद्ध भारतमा जन्मीएका हुन भनेर लेखेको देखियो तव रामदेव आफैंपनि बुद्ध भारतमा जन्मीएको मिथ्या कुतर्क फैलाउन सक्रिय रहेको खुल्यो ।

उनीद्धारा लेखिएको पुस्तक जीवन दर्शनको पुष्ट आठमा उनले आफु जन्मीएको राष्ट्रको गुणगान गाउंदै कृष्ण,महाविर,चन्द्रशेखर आजाद, छत्रपती शिवाजीको नामसंगै बुद्धको नाम समेत उल्लेख गरेका छन । पृष्ट आठको ‘ जिवनके अनसुल्झे प्रश्नोका समाधान भन्ने शिर्षको तेस्रो प्यारामा उनले लेखेका छन्– मै सौभाइशाली हुं कि मैने उस पवित्र भुमि वा देशमे जन्म लिया है जहां योगेश्वर श्रीकृष्ण,बुद्ध, गुरु नानकदेव, गुरु गोविन्द सिंह, जैसे देव पुरुषो, महाराणा प्रताफ छत्रपती सिवाजी, चन्द्रशेखर आजाद, सुभाषचन्द बोस, रामप्रसाद विस्मिल, भगतसिंह, राजगुरु प असफाक जैसे बिरो तथा महर्षि दयानन्द,व स्वामी विवेकानन्द जैसे महापुरक्ष पैदा हुंए है । मै अपने जस्वन पुपग से मां भारती कि आराधना करुगां ।

उनीद्धारा लेखिएको यो प्यारावाट स्पष्ट हुन्छ उनी समेत भारतिय प्रशासकहरु जस्तै बुद्ध भारतमा जन्मीएको झुठो दावी गर्नेमध्येका एक हुन । तर, नेपाल आएर बढो आर्दशवादी बन्दै बुद्ध नेपालमा जन्मीएको हो भन्दै नेपालीको सहानुभुती बटुल्ने प्रयास गरे । अनी हामी नेपालीले वाह क्या बोले रामदेवले भन्दै थपडी मार्दै जयजयकार गर्दै उनको पछि लाग्यौं ।
बुद्ध नेपालको कपिलवस्तुमा जन्मीएका हुन भन्ने पुष्टीका लागि कुनै तथ्य र आधारको खोजी गरिरहनुपर्ने अब आवश्यकता छैन । राष्ट्रिय, अन्तराष्ट्रिय पुरातत्वविद्हरुले कपिलवस्तुको लुम्बीनीमा फेला परेका प्राचिन तथ्य र प्रमाणहरुको आधारमा धेरै अगाडि नै पुष्टी गरिसकेका छन् । अहिले पनि लुम्बीनीमा रहेका प्राचिन अकाट्य प्रमाणहरु जीवीतै छन्, जसको अध्ययनगरी पौराणिकताको पुष्टी गर्न कसैलाई रोकिएको छैन । तर, भारतका कथित विद्धान, चलचित्रकर्मीमात्र हैन सरकार आफैं पनि बुद्ध भारतमै जन्मीएका हुन भन्ने गलत तथ्य पुष्टीमा लामो समयदेखी सक्रिय छन् ।
केही समय अगाडि आएको चलचित्र चांदनीचोक टु चाइनामा बुद्ध भारतमा जन्मीएको दावी गरिएको थियो । त्यत्ति मात्र हैन भारतिय विद्धान भनिनेहरुले लेखेको धेरै पुस्तकहरुमा पनि बुद्धको जन्मस्थान भारतै हो भनेर लेखेका छन् । उदाहरणका लागि न्युजविक इन्टरनेशनलका सम्पादक फरिद जकरियाले लेखेको दा पोष्ट अमेरिकन अल्डमा समेत बुद्ध भारतमा जन्मीएको लेखेका थिए । गौतमबुद्धको जन्मस्थान भारत हो भनेर पुष्टी गर्न भारतले गरेका यस्ता धेरै दुस्साहरु छन । जसलाई रामदेव जस्ता दोहोरो चरित्रधारीले पनि साथ दिएका छन् ।

यस्तै अर्को दुस्साहस जारी छ । भारत गौतम बुद्धको जन्मस्थान भारतमै हो भनेर पुष्टी गर्न उत्तरप्रदेशको आलिगढवामा धमाधम लुम्बीनीको नक्कल गर्दै संरचनाहरु निर्माण गरिरहेका छन् । जहां तिलौराकोटको समेत संरचना निर्माण भईरहेको समाचार सार्वजनिक भईरहेका छन् । आलिगढवा कपिलवस्तुसंगै सिमा जोडिएको क्षेत्र हो । उत्तरप्रदेशको पिपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामाकरण समेत गरिसकेका रहेछन् । भारतको बोधगयामा बुद्धले बुद्धत्व प्राप्त गरेको र उनको जन्म नेपालको कपिलबस्तुको लुम्बीनिमा भएको हो भन्ने तथ्य पुष्टी भईसकेको छ । जसलाई बारम्बार पुष्टीको आवश्यकता छैन । उनको मामाघर देवदह र उनको दरवार रहेको स्थान तिलौराकोटको भौगोलिक अवस्थाको नक्कल गरी जस्ताको तस्तै बनाएर बुद्धको जन्मस्थान भारतै भएको पुष्टी गर्न ज्यान फालेर लागेका छन् ।

मौखिक रुपमा बुद्धको जन्मस्थानको बारेमा रामदेवले सत्य बोलेपनि उनको पुस्तकले भ्रम छरिरहेको छ । यसका बारेमा संचारमाध्यमहरुलाई जानकारी नभएको हैन । तर एभिन्युज टेलिभिजन बाहेककाले यसलाई त्यत्ति महत्व दिएका छैनन । नेपालमा प्रतिष्ठीत भनिएकाहरु अहिले रामदेवका पछि लागिरहेका छन् । त्यसैले रामदेवलाई गुरु मान्दै जे भन्यो त्यही मान्ने प्रतिष्ठीत, जमातले उनलाई यो सोध्ने कि नसोध्ने रामदेवजी तपाईको पुस्तकमा किन बुद्धको जन्मस्थानको बारेमा गलत लेखेको ? उनको त्यो दुस्साहसको बोध गराएर उनलाई आफ्नो किताववाट सो गलत तथ्य सञ्याउन लगाउने कि नलगाउने ?

Bibash Yatri

No comments:

Post a Comment