Wednesday, July 25, 2012

मौलिक केही छैन

प्रकाश सायमी

सन् १९८२ मा महात्मा गान्धीको जीवनीमा आधारित चलचित्र 'गान्धी' मा सर्वोत्कृष्ट अभिनेताको ओस्कार पुरस्कार ग्रहण गरेपछि बेन किंग्स्लेले गर्वपूर्वक भनेका थिए, 'मलाई गान्धी बन्न दुई वर्ष पूरा लाग्यो।' गैरभारतीय परिवारमा जन्मेका अंग्रेजी मूलका भारतीय अभिनेता कृष्णा भान्जेले त्यो चुनौती अगाडि नै भोगेको सुनाउँदा सम्मानित चलचित्रकर्मीहरू झन् चकित भएका थिए। तर, त्यही चलचित्रका निर्देशक सर रिचर्ड एटेनबरोलाई गान्धी बनाउनचाहिँ कति वर्ष लाग्यो भनी सोध्दा उनी भावुक भएका थिए।
गान्धी बनाउन वा बन्न जति वर्ष लागे पनि त्यो एउटा सूचीबद्ध क्रम थियो। तर, बनियाँ परिवारमा जन्मेका पोरबन्दरका मोहनदास कर्मचन्द गान्धी स्वयंलाई महात्मा गान्धी बन्न कति वर्ष लाग्यो होला भन्ने प्रश्नमा सदैव मौलिकताको सवाल उठ्छ। एउटा मान्छे किताब बनेको यो इतिहास पश्चिमेलीका निम्ति आश्चर्य थियो। तर, साँच्चै, एउटा किताब बन्न गाह्रो कि किताब लेख्न?

प्रभाव, प्रेरणा र अनुकरण जसरी मान्छेको जीवनबाट ग्रहण गर्न सकिन्छ, हरेक युगका लेखक वा स्रष्टा पनि अघिल्लो लेखकबाट सदैव प्रेरित भइरहेको हुन्छ। मौलिक हुने नाममा पुरानै क्रमलाई निरन्तरता दिइरहेको हरेक लेखकले आफ्नो सफलताको सिँढी चढ्दै गर्दा महसुस गर्छ। त्यो सत्य उसले कहिले पोख्ने त?
नेपाली साहित्यमा यस्ता बीज प्रश्न उठाएर बीसको दशकमा तीन लेखकले यो साहित्य, समाज, र जीवन- जगत्लाई तर्साएका छन्। ती प्रश्न साँच्चै आजसम्म धर्मसंकट बनेका छन्। पहिलो कृतिमै मदन पुरस्कार पाएकी पारिजातले 'शिरीषको फूल' प्रकाशन गर्नुअघि आफ्ना दुई कृति आफ्नै हातले जलाएर लेखक हुनुको मौलिकतामा दरबार खडा गरेकी थिइन्। यो चानचुने कुरा होइन, आफैँले जन्माएको कृति आफैँले जलाउन सक्नु। कवि भूपी शेरचनले आफैँमाथि 'सेल्फ पोर्ट्रेट'
लेखेर व्यंग्य गरे। त्यति बेलाको आफ्नो शक्तिलाई सत्तामा बदले। नेपाली भाषामा त्यस किसिमको आँट त्यसअघि कसैले गरेका थिएनन् ।

यी दुई लेखकीय घटनाले साहित्य जगत्मा जुन थिरकन ल्याएको थियो, त्यो अझै भूकम्पशाली भयो जब निबन्धकार शंकर लामिछानेले 'म लेखक हुँ वा इन्टरप्रेटर?' भनेर हाइभोल्टेज प्रश्न उठाए। जवाफ उनैले दिन सकेनन्। अरुले दिने कुरै भएन। मौलिकताका भ्रम बनाइराख्ने र पहिले लेखिसकेको कुरा दोहोर्‍याएर फेरि स्रष्टाको पद दाबी गरिरहने संसारका धेरै लेखकले ठूल्ठूला मान-सम्मान र पुरस्कार पाएपछि औपचारिक भएर माइक्रोफोनमा बोल्दा भन्ने गर्छन्, 'यो कृति नयाँ होइन ..यही समाजको उपज हो, म त मात्र माध्यम हुँ। यो तपाइँहरू बीचबाटै मैले लिएको हुँ वा लेखिनमात्र बाँकी थियो।'

लेखकले यति भन्ने आँट इमानदारीपूर्वक पहिले कहिल्यै गरेको हुँदैन । जब ऊ साँच्चै सामान्य भनिएको लेखकभन्दा बढी चिनिन थाल्छ, अनि ऊ मौलिकताको भ्रम त्याग्न थाल्छ। चर्चा, पुरस्कार, सम्मान वा अभिमानको रथारोहण गरिरहेका बेला लेखकलाई आफ्नो सत्ताको अनि स्वामित्वको डरले पनि सत्य बोल्न आत्मानुमति हुँदैन। त्यसले गर्दा ऊ हरेक कृतिमा यो मेरो अघिल्लो भन्दा पृथक छ भनेर दाबी गरिरहन्छ, आजसम्म यस्तो किताब लेखिएको छैन भनिरहन्छ। यो डर वा भय, ऊसित त्यस बेलासम्म कायमै रहन्छ, जबसम्म ऊ आफ्नै अगाडि अरुबाट नांगिएको हुँदैन। अमेरिकी बिट कवि एलेन गिन्सवर्गले आफ्नो कविता 'मान्छे नांगो छ' वाचन गरिरहँदा बारम्बार सभा हलमा उपस्थित व्यक्तिले मान्छे कसरी नांगो छ, पुष्टि गर भनेपछि उनी 'ई यसरी नांगो छ,' भनेर आफ्नो पाइन्ट खोलेर नांगै बाहिर हिँडेका थिए। उनको यो ताल र चाललाई कसैले अभद्रता भने, कसैले पौरुष भने, कसैले दुस्साहस भने। तर, मिडियाचक्रमा आज पनि यसलाई 'ठूलो आँट' भनिन्छ। उनको यो निजी प्रदर्शनलाई आचार्य रजनीशले कायरता भने। 'गिन्सवर्ग डरुवा रहेछन्, आफू पुरुष हो कि होइन भन्ने थाहा पाउन पनि उनलाई त्यत्रो मान्छेको साक्षी चाहियो ।'

रजनीश स्वयंले उठाएको यो तर्क पनि डरकै उपज हुनगयो पछि। सत्ता साक्ष्यमा । मराठी भाषाका प्रसिद्ध नाटककार महेश एलेन्कुञ्चवारले आफ्ना प्रतिस्पर्धी विजय तेन्दुलकरको सत्ता हल्लाएपछि एक पात्रमार्फत लेखेका थिए, 'लेख्नुको आवेगमा हामी अघिल्लोको पाइला मेट्दै पाइलामात्र पछ्यारहन्छौँ, मौलिकता त्यहाँ कहाँ छ र, यो त आवृत्तिमात्र हो।'

समलंैगिकता र यौन शोषणबारे आफ्नो लेखनले चुलिएका एलेन्कुञ्चवारलाई आफूभित्रको यो डर तोड्न वा आफूमाथिको मिथ्या सत्य बोल्न करिब ३५ वर्ष लागेको उनी स्वयम्ले स्विकारेका छन्। डर यतिमात्र हो, कोही भन्न सक्छन्, कोही भन्न खोज्छन्। कोही भन्नै नसकी सकिन्छन्।

काफ्का, देवकोटा, पारिजात, भूपी, शंकर वा एलेन गिन्सवर्ग यसैका प्रोक्सी पात्र हुन्। कोही बोले, कोही बोलेनन्। काफ्काबारे भनिन्छ, उनले जीवनभर 'मनुष्य' कै बारे लेखिरहे। त्यो मनुष्य स्वयं उनै थिए भन्ने उनलाई कहिल्यै थाहा भएन। काफ्काको 'स्वयं' आफ्नो विस्तारमा सारा मानवतालाई समेट्थ्यो, तर काफ्काभन्दा कम कलाकारका लागि यही 'स्वयं' उनको एउटा सीमा पनि हुन सक्छ। काफ्काले परमप्रिय मित्र म्याक्स ब्रडलाई देहान्तपूर्व निर्देशनात्मक पत्र लेखे, मेरा अप्रकाशित कृतिहरूका पाण्डुलिपि जलाइदिनू। उनले यो आदेश त्यस्ता मान्छेलाई दिए जो उनका एकदम विश्वासिला थिए, उनलाई खुब माया र आदर गर्थे। तिनले यस्तो काम कदापि गर्न सक्दैनथे। म्याक्स ब्रडले त्यो काम गरेनन्। अन्त्य बेलामा पुगिसकेर मनमा सबै अहम् ध्वस्त-न्यस्त भइसकेको परिस्थितिमा काफ्काले निकै हिम्मत गरेको यस घटनाले उनमा बारम्बार आफू पुनरुक्ति भइरहेको तडपन प्रशस्त देखिन्थ्यो। जीवनमा यस्तो घटनावली हुने काफ्का पहिलो स्रष्टा होइनन्, अरुमा पनि भएको छ। हाम्रा देवकोटाले पनि शान्त भवनको अस्पतालको शैयामा पुगिसकेपछि आफ्ना निकटवर्ती हरि श्रेष्ठलाई यही आग्रह गरे, 'मुनामदनबाहेक मेरा सबै कृति जलाइदिनू।' ब्रडले जस्तै हरिले पनि सशर्त आग्रह स्विकारेनन्।

आजसम्म नेपाली भाषामा देवकोटालाई चिनाइरहनु नपर्ने तर सँधै चिनाइने कृति हो, मुनामदन। प्रकाशनको इतिहासमा सर्वथा सबैभन्दा बढी बिक्री भएको मानिने यो कृति छापिँदा नेपाली भाषी पाठकका निम्ति नौलो उपहार भए पनि नेवार भाषा जान्ने र बुझ्नेका निम्ति यो नौलो खुराक थिएन। नेवार भाषाको चर्चित लोककाव्य 'जि वयाः लच्छि मदुना' सुनिसकेका र गाइसकेका भावकका निम्ति यो कुनै नूतन अनुभव ठहरिएन। तर, आजपर्यन्त देवकोटा 'मुनामदन' का पर्याय बन्न पुगे। त्यतिमात्रै होइन, देवकोटाकै यही शैलीमा ग्राम्य परिवेश, स्थानान्तरणको घाउ, निम्नमध्यम वर्गको संघर्ष र गरिब जीवनको अनुपम प्रेमको कोष्ठकभित्र कैयन् गीति नाटक लेखिए।

हामी केही नयाँ लेख्दैनौँ। सबै पुराना कुरा दोहोर्‍याउँछौ। अग्रजलाई पछ्याएर कलम चलाउँछौँ। अब मौलिकता भन्ने कुरा लेखनमा छैन भन्ने गरेको र भनेको वर्षौँ भए पनि लेख्ने काम जारी छ।
गौरी शंकर नाट्य परिवारको आग्रहमा हेनरिक इब्सेनको जस्तो नाटक चाहियो भनेपछि गोपालप्रसाद रिमालले 'मसान' लेखेको सर्वसत्य स्वीकार्य छ। ओसामा दाजाईको जस्तो उपन्यास हाम्रो साहित्यमा पनि चाहियो भनिएकै बेला 'शिरीषको फूल' फुलेको हो। नेपाली साहित्यबाट नोबेल पुरस्कारको निम्ति प्रस्तावित माधव घिमिरेको 'अश्वत्थामा' भन्दा धेरै पहिले नै भारतवर्षमा धर्मवीर भारतीले यही विषयमा 'अन्धा युग' लेखिसकेका थिए। यसपछि पनि अश्वत्थामामाथि नाटक, उपन्यास, काव्य लेखिएका छन्, लेखिँदै छन् फरक फरक विषयमा। यो पनि अटुट छ।

म मफलर भएको भए र म कमिज भएको भए, एकै समयका दुई कविले लेखेको दुई कविता भए पनि विषयवस्तु दोहोरिएको मात्र भन्न मिल्दैन। 'कतिकति आँखाहरू बाटो छेक्न आउँछन्' हरिभक्त कटुवालको प्रसिद्ध गीत। नेपाली गीतमा कति पटक उनीपछि आएका गीतकारले पनि यसको छेको हालेका छन्। कति पटक कटुवाल स्वयं पनि 'मन त फलामकै भए हुन्थ्यो' भन्ने कवितामा साहिर लुधियानवीको 'दिल अकेला सिकारी' दोहोरिएका छन्।

देवकोटाको 'सुन्दर शान्त विशाल नेपाल' पढेपछि मात्र हामीलाई 'गाउँछ गीत नेपाली' सार्थक लाग्छ। बंगाली भाषाको साझा संस्कृति र भाषा बुझ्नेका निम्ति दार्जीलिङले आज जे सोच्छ, नेपालले त्यो भोलि गर्छ भन्ने समको उक्ति बंगाली लोकगीतमा सुनिसकेजस्तो लाग्छ। यो नराम्रो होइन, तर आफ्नै भनेर दाबी गर्नुचाहिँ अपराध हो। शंकर लामिछानेले भन्दा पहिले जीवनलाई प्याजसित हरमन हेस्सेले तुलना गरिसकेका छन्। बीपी कोइरालाले भन्दा पहिल्यै 'कारिन्दाको मृत्यु' को स्केच रुसी भाषामा पनि त छ !

भारतका चर्चित लेखक सुरेन्द्र बर्माले आफ्ना अग्रज मोहन राकेशको पद पछ्याउँदै त्यही लेखे जेजे राकेशले लेखका थिए। राकेशले संस्कृतका महाकवि कालिदासमाथि 'आषाढ का एक दिन' लेखे। सुरेन्द्रले 'आठवाँ सर्ग' लेखे। राकेशले बुद्धमाथि 'लहरोँ के राजहंस' लेखे। सुरेन्द्रले 'सूर्य की अन्तिम किरण से सूर्य की पहले किरण तक' लेखे। राकेशले आधुनिक जीवनमाथि 'आधे अधुरे' लेखे। सुरेन्द्रले 'नायक, खलनायक, विदूषक' लेखे। राकेशले पाएको पुरस्कार उनले पनि पाए। राकेशले 'अँधेरे बन्द कमरे' मा साहित्य एकेडेमी पुरस्कार पाए। सुरेन्द्र बर्माले पनि 'मुझे चाँद चाहिए' लेखेर त्यही पुरस्कार पाए। राकेशको देहान्त भए पनि सुरेन्द्र बर्माले केही लेख्न सकेका छैनन् अहिलेसम्म।

अग्रजलाई पछ्याउने वा दोहोर्‍याउने परम्परा विदेशमा जस्तै नेपालमा पनि छ। नेपाली साहित्यमा पहिलो विदेशी पुरस्कार 'डोयेचेवय्ला' पाउने कथाकार दिनेश सत्यालले निबन्ध-कथा लेखेर बीस वर्षअघि चर्चा कमाए पनि उनको कथा 'डायमन हार्बर' लाई मेरो सलाम, उनले चिहानघाटबाट वा सीमावारि सीमापारिको अछुत आकर्षण कायमै राखे। नयाँलाई स्पेस दिन चाहन्छु भनेर शंकर लामिछाने शैलीमा सन्न्यास लिए पनि उनको शैली साँच्चै नै नयाँ पुस्ताले बचाएकै छ, आजभोलिको अखबारको कथाकारितामा।

नयाँ लेख्छु भनेर आएका लेखकलाई होस् वा नयाँ लेख्दैछु भन्ने लागेका लेखकलाई पनि पूर्ववर्ती लेखकको प्रेरणा वा अनुशरण चाहिन्छ। त्यसो भनेर भीमनिधि तिवारी र हरिहर शास्त्रीजस्तो अरुको प्रभाव पर्ला भनेर कहिल्यै कसैको कृति नपढ्ने लेखक हुनु ठीक होइन।

प्रेरणा लिने क्रममा नक्कल गर्नु वा चोरी गर्नु भएन जसले गर्दा लेखकको सिर्जनशीलतामा कुनै पनि बेला सुख्खा (क्रिएटिभ फ्लस) हुनसक्छ। त्यसबाट चाहिँ लेखक सचेत हुनु जरुरी छ। भारत सरकारद्वारा सन् २००५ मा नोबेल पुरस्कारका निम्ति नामांकित हिन्दी भाषाका उपन्यासकार निर्मल बर्मा सदैव भन्थे, 'हरेक लेखकमा आफ्ना पूर्ववर्ती लेखकको प्रभाव पर्छ। कुनै शब्द, कसैको कविताको पंक्ति, कुनै पुरानो पढिएको कहानी- भिन्नाभिन्नै दिशाबाट आएका अनुगुञ्जहरू एउटा अनौठो रचना-अनुभवमा अर्को जन्म लिँदै जान्छ 'त्यो बच्चाजस्तै जसको चालले उसको बाबुको झल्को दिन्छ।'

बर्माको यो भनाइ उनको सर्वाधिक चर्चित कृति 'धुंध से उठती धुन' मा पढ्न पाइन्छ। कति मीठो र शाश्वत उनको यो भनाइ! १४ वर्षअघि यो पंक्ति पढ्दा म तरंगित भएको थिएँ। तर, उनलाई पनि थाहै भएनछ, त्यसको ५० वर्षअघि स्पेनी भाषामा लेखिएको होर्खे लुई बोर्खेसको 'लैबरिन्थ्स' को पृष्ठ २३६ मा यही पंक्तिको पहिलो लाइन यसरी नै छ, 'सत्य के हो भने हरेक लेखकले आफ्ना पूर्ववर्ती लेखकलाई रच्छ। उनको कार्यले हाम्रो अतीतको संरचनालाई सुधार्छ जसरी यसले आगतलाई सुधार्न सक्छ।'

बार्खेसले लेखकको स्पर्धा र समीकरणबारे चर्चा गरेका छन् जसरी महाकवि देवकोटाले लेख्न सिकाइमाग्न आएका आफ्ना शिष्य शंकर लामिछानेलाई भनेका थिए, 'रिपिटिसन अन द सेम वर्क अफ लाइन ह्याज् नो मिनिङ' भनेको ६१ वर्षपछि पनि हामी त्यही बाटोमा छौँ।

छैँटौ शताब्दीका कवि जयन्त भट्टले पहिल्यै भनेका छन्, 'हामी नयाँ केही लेख्न समर्थ छैनौँ, सबै पहिल्यै लेखिसकिएको छ, विषयवस्तु पुरानै हो, शैलीमात्र नयाँ।'

Source : http://www.nagariknews.com/saturday/43112-2012-07-07-08-59-53.html