Monday, December 24, 2012

क्रिशमसको सन्ध्यामा नयाँसडक


क्रिशमसको सन्ध्यामा नयाँसडक

काठमाडौं, डिसेम्बर महिनाको शुरुवाती दिन, चिसो बढ्दै गइरहेको छ । जाडोको मौसमको आगमनसँगै दिन ढल्दै जाँदा साँझ हुँदानहुँदै झमक्क रात परिसक्छ । 

सन् २०१२, डिसेम्बर १०, साँझको समय, न्यूरोडको अति व्यस्ततम सडक, नेपाल वायु सेवा निगमको भवन अगाडिको रेलिङ बारमा अडेस लगाएर उभिएका यी अमेरिकी युवा जोडी मानिसहरुका ध्यान आफूतिर आकर्षित गर्ने कोशिसमा थिए । कौतुहलवश मानिसहरु उनीहरुतिर झुम्मिएका थिए । 

एक जना नेपाली युवकलाई उनीहरुले आफ्नो दोभासे बनाएका थिए । ती युवक नेपालीमा केही भन्दै थिए ।

“हामी अमेरिकाबाट नेपाल आएका हौं । यदि तपाईंहरु मध्ये कोही दुःखकष्टबाट पीडित हुनुहुन्छ भने हामीलाई भन्नोस् । हामी तपाईंका निम्ति प्रभु येशूसँग प्रार्थना गरिदिनेछौं । प्रभु येशूले तपाईंका हरेक प्रकारका दुःखकष्ट निवारण गरिदिनु हुनेछ ।”



 “क्रिश्चियन धर्मको प्रचार गर्न आएका रहेछन् ।” केही जान्ने सुन्ने जस्ता देखिने अधवैशें मानिसहरु तर्केर हिडे । म भने एकछिन अडिएर फोटो खिचिहालू, सके भिडियो पनि लिइहालूं न भन्ने तरखरमा थिएँ । केही क्षण उनीहरुलाई अल्मल्याउन मैले प्रश्न तेर्साइ हालें । 

“ए त्यसो भए तपाईंहरु नेपालमा यहाँका जनताहरुको दुःखकष्ट निवारण गर्न आउनु भएको ?”
“ठीक सम्झनु भो, प्रभु येशूले तपाईंहरुलाई दुःखकष्टबाट मुक्ति दिनुहुनेछ ।” युवतीले जवाफ दिइन् । 
ए उसो भए, के तपाईंहरु मेरो निमित्त प्रार्थना गर्न सक्नुहुन्छ ? हेरौं, प्रार्थनाको प्रभाव कत्तिको पर्दोरहेछ ?”
“तपाईंको समस्या के छ, भन्नोस् ।” युवकले सोधे । 
“म वर्तमान र भविष्यलाई लिएर अत्यन्त चिन्तित छुँ ।”
“तपाईंको नाम के हो ?” युवतीको प्रश्न । 
“राज श्रेष्ठ”
“के म तपाईंलाई राज मात्र भनेर सम्बोधन गर्न सक्छु ।”
“अवश्य सक्नुहुनेछ । ”
“के म तपाईंको कुममा मेरो हात राख्न सक्छु ?” युवकले म तिर केही कदम अगि बढाउँदै सोेधे । 
“हुन्छ ।”

युवकले प्रार्थना गर्न थाले – “प्रभु जिसस, यो मानिसलाई वर्तमान र भविष्यका हरेक दुःखकष्टबाट मुक्ति दिलाउ र यस मानिसको हरेक कदम सुमार्ग तिर लम्कियोस् ।” (भावार्थ)
त्यसपछि युवतीले प्रार्थना गर्न थालिन् । मैले दुबैलाई धन्यवाद दिएँ । 

“तपाईं कुन धर्म मान्नुहुन्छ ?” युवकको प्रश्न । 
“हिन्दू”
“तपाईं आफ्नो धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ?” (हाउ मच डु यु बेलिभ इन योर रेलिजन ?)
“अँ, विश्वास गर्छु, किन र ?”

ठीक त्यति नै बेला सँगैको फुटपाथमा पसल थाप्ने युवकले ठूलो स्वरमा त्यहाँ उभिएका मानिसहरुलाईतिर हेरेर करायो । “हुल नगरिदिनुस् न, अलि परपर गईदिनोस्, पसलै ढाकिसक्यो ।”

साँझ झमक्क परिसकेको थियो । उत्सुकतावश उभिएका मानिसहरु तुरुन्तै यताउता लागे । ती दुई युवा अमेरिकीहरुसँग मैले पनि विदा लिएँ । फर्किएर हेर्दा उनीहरु पनि त्यहाँबाट हिड्दै थिए । 

क्रिशमस नजिकिंदै गर्दा लामो विदाको सदुपयोग गर्दै नेपालका विभिन्न पर्यटकीय नगरीहरु काठमाडौं, पोखरा लगायतका शहरहरुमा यस्ता धर्मप्रचारक ईशाइ युवायुवतीहरु थुप्रै ओइरन्छन् । काठमाडौंका विशेष घुंइचो लाग्ने सडकहरु न्यूरोड, धरहरावरिपरि, नयाँ बानेश्वरतिर घुम्नु भयो भने सानासाना पुस्तिकाहरु हातहातै बाड्न बसेका नेपाली अनुहारहरु थुप्रै भेट्टाउनु हुनेछ । अमुक स्थानमा अमुक महोत्सव र प्रार्थना सभामा संलग्न हुन अनुरोध गरिएका पत्रमा तपाईंका दुःखकष्ट निवारण गर्ने उपाय लेखिएको पाउनु हुनेछ । 

क्रिशमस ताका नेपालमा रहने पर्यटकहरुलाई लक्षित गरेर पर्यटकीय क्षेत्रहरु दरवारमार्ग र ठमेलमा स्ट्रिटफेस्टिभल लगायतका विशेष कार्यक्रमहरु नै आयोजना गरिन्छ । तारे होटलहरु विशेष रुपमा सजाइन्छ । विश्व भूमण्डलीकरणयो यो समयमा नेपालीहरुमाझ क्रिशमस डे नौलो होइन । सरकारले विदा घोषणा गरेको हुँदा यो पर्व एककिसिमले राष्ट्रिय पर्वकै रुप लिइसक्यो । क्रिशमसको शुभकामना आदानप्रदान सामाजिक सञ्जाल फेसबुकमा प्रशस्तै हुन थालिसकेकाछन् । क्रिशमसप्रतिको युवायुवतीको आकर्षण भनिनसक्नुको छ । तर हालैको जनगणना २०६८को तथ्याङ्क सार्वजनिक भइसकेपछि क्रिशमस डेलाई आफ्नै चाडपर्वको रुपमा लिने र ईशाइ धर्मावलम्बीहरुप्रति सहानुभूति राख्ने सहृदयीहरुलाई भने नराम्ररी झस्काइदिएको छ । क्रमशः ....

No comments:

Post a Comment