Sunday, February 9, 2014

के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?


के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?
 
डा. महेशराज पन्त 

.....पृथ्वीनारायणको उपदेश उनकै पालाको होइन भन्ने कुराको सूत्रपात मलाई थाहा भएसम्म अ लेट् म्यान्युस्क्रिप्ट् अर्थात् पछिको लेखोट पुस्तक भनी वि.सं. २०४० मा कमलप्रकाश मल्लले गरेका हुन् (कमलप्रकाश मल्लले गरेको मेअरि शेफर्ड स्लसरको नेपाल् मण्डलको रिभ्यू, कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्, ११ ठेली १ अङ्क, १३२ पृ.) । कमलप्रकाश मल्लको यस वाक्यांशबाट मूल पुस्तक होइन कि सारिएको पुस्तक पछिल्लो कालको भन्ने आए पनि यसको विवक्षित अर्थ उपदेशै पछिल्लो कालको हो भनी लगाउन थालिएको छ ।......
 
आज माघ १ गते । पृथ्वीनारायण शाह परलोक भएको आज गतेको हिसाबले २३९ वर्ष पूरा भयो । यही गएको पुस २७ गते उनी जन्मेको गतेको हिसाबले २९१ वर्ष पूरा भएको थियो । यसैले आज उनको २ सय ९२औं जन्मदिन बितेको चार दिन मात्र भएकाले र आजै उनको मरणदिन पर्न गएकाले उनको विषयमा केही लेख्नु उपयुक्त नै होला ।

पृथ्वीनारायणको जन्म पुस २७ गते भएकाले त्यो दिन सालिन्दा पृथ्वीजयन्ती मनाइँदै आएकामा सरकारले दिँदै आएको बिदा गणतन्त्र भएपछि कटौती भएको र उसले यो उत्सव पनि मान्न छोडेकाले केही उत्साही राष्ट्रवादीलाई छोडेर दुनियाँको नजरमा यो उत्सव ओझेल पर्दै गएको थियो । त्यसमाथि यस अवधिमा पृथ्वीनारायणको सालिक तोडफोड गरी उनलाई प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायकको रूपमा चिनाउने काम निकै मात्रामा भयो ।


यसपालि किन हो कुन्नि, सरकारले पृथ्वीजयन्तीमा केही चासो लिएको देखियो । यसपालि सरकार राजनीति खेल्नेको हातमा नभई सरकारिया कर्मचारीको हातमा भएकाले पनि पृथ्वीनारायणलाई हेर्ने सरकारी दृष्टि किंचित् फरक परी उनीप्रति सरकार केही नरम भएको हुन सक्छ । गतानुगतिको लोको न लोकः पारमार्थिकः अर्थात् दुनियाँ आपूmभन्दा अगाडि जो जान्छ, त्यसैको पछि लाग्छ, उसले वास्तव कुरा बुझेको हुँदैन भन्ने भनाइ पुष्ट पार्दै गएको हप्ता हाम्रा अखबारमा पृथ्वीनारायणको विषयमा निकै कुरा छापिए । धेरैजसो लेखमा पृथ्वीनारायणलाई राष्ट्रनिर्माता भनी गुणगान गरिएको छ त, कुनैकुनैमा उनको बदख्वाइँ गरिएको छ ।

तर दुवै थरी विचारको प्रतिपादन गरी लेखिएका लेखमा पुरानै कुरा शब्दान्तरमा दोह¥याइएकाले नयाँ कुरा खास छैन । पृथ्वीनारायण राष्ट्रनिर्माता थिए कि थिएनन् भन्ने कुराको पुर्पक्ष यहाँ म अहिले गर्दिनँ । गएको हप्ता अखबारमा छापिएका कुनै कुनै लेखमा उनको उपदेशलाई नकली भनी बिल्ला लगाइएको कुरा केलाउन नै यो लेख प्रस्तुत छ । दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भीमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्वारा लेखाइएको दिव्योपदेशको संस्करण मात्र हो (गोपाल शिवाकोटी, पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन, राजधानी, २०७०।९।२४।४, ६ पृ.) भनी लेखिएको कुरा लिएर केही भन्नुपरेको छ ।

यस वाक्यअनुसार दिव्योपदेश भनेको आफ्नो अन्तिम अवस्थामा पृथ्वीनारायणले आफ्ना भाइभारदारको अगाडि बोलेर गएको कुराको लिपिबद्ध रूप नभई भीमसेन थापाले अंग्रेजसँग लडाइँ भएको समयमा केयरसिंह बस्नेतद्वारा लेखाइएको कुरा हो भन्ने अर्थ आउँछ । पृथ्वीनारायण वि.सं. १८३१ मा परलोक भएका र अंग्रेजसँगको वि.सं. १८७१–१८७२ मा लडाइँ भएकोले पृथ्वीनारायण बितेको ४० वर्ष जतिपछि दिव्योपदेश लेखिएको हो भन्ने कुरा यताबाट बुझिन्छ । यस कारण दिव्योपदेश पृथ्वीनारायणले बोलेर गएको कुरा होइन भन्ने जिकिर त्यस लेखमा गरिएको छ भनी भनिरहनु नपर्ला ।

केयरसिंह बस्नेत को हुन् मलाई थाहा छैन, केहरसिंह बस्नेतबारे भने मलाई केही थाहा छ । सरदार केहरसिंह बस्नेत पृथ्वीनारायण शाहकै पालामा वि.सं. १८२८ मा सतहूँको लडाइँमा परेका थिए (नयराज पन्त र अरू, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, २०२५, ९१०–९११ पृ.) । यिनै केहरसिंहलाई नै केयरसिंह भनी ठानेको हो भने कुरा निकै आनतान प¥यो, यसैले यस विषयमा बढी चर्चा गर्नु आवश्यक छैन । अब बाँकी रह्यो, पृथ्वीनारायणले बोलेर गएको भनी कहलिएको उपदेश भीमसेन थापाले लेखाएको भन्ने । भीमसेन थापालाई धेरैजसो बुद्धिजीवी ठूला राजनीतिज्ञ मान्छन् ।

तर गहिरिएर नेपालको इतिहासको परिशीलन गर्नेहरू उनलाई त्यस कोटिमा राख्दैनन् । धर्मकर्म र तन्त्रमन्त्रको बलले पनि आपूmलाई अङ्ग्रेजले हराएको हो कि भन्ने उनलाई लागेकोले नै उप्रान्त फिरंगीका आफ्ना मझबको क्या देवता रहेछ. देवताको ध्यान पूजापद्धति कस्तो रहेछ. ताहा बुझ्या थाहा होला. तसनिमित्त तिमिले कसैले चाल नपाउन्या पाठसंग अभ्यंतर गरी बुझी यो देवता यो ध्यान यो पूजापद्धति भनी छुट्याई कागजमा उतारी चाडो पठाउन्या काम गर भनी कलकत्तामा राखिएका नेपालका वकील अर्थात् आजभोलिको भाषामा राजदूत लोकरमण उपाध्यायलाई चिठी लेख्ने (गौतमवज्र वज्राचार्य, थापान्वयेन भीमसेनेन दूताय लोकरमणाय प्रहितं पत्रम्, संस्कृत–सन्देश, १ वर्ष, १०–१२ अङ्क, २०१०, २०–२२ पृ., नयराज पन्त, अनुवाद–हेतु, गल्लीमा फ्याँकिएका कसिंगर, २०१८, ८१ पृ.) भीमसेन थापाको बूताले पृथ्वीनारायणको उपदेशमा जुन विचारको प्रतिपादन छ, त्यो प्रतिपादन गर्न भ्याउने होइन ।

पृथ्वीनारायणले आफ्नो अन्तिम अवस्थामा आफ्ना भाइभारदारहरूको अगाडि बोलेर गएको कुराको लिपिबद्ध रूपको कुनै नाम थिएन । जुन कागतमा त्यो लेखिएको छ, त्यसमा यस्तो— श्रीश्रीश्री ५ बुढा महाराजले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउ लाग्नुभयामा गुरूप्रोहित थरघर भैयाद् भारादार र आफ्ना ददा सुरथिसिं राना सबैका बुढापाकाछेउ हुकुम भयाका कुरा—— लेखिएकोले यो कुरा स्पष्ट हुन्छ । बाबुराम आचार्यले यसलाई पृथ्वीनारायणको व्याख्यान भनी काम चलाएका छन् (धनवज्र वज्राचार्य र साकेत विहारी ठाकुर, बाबुराम आचार्य र उहाँका कृति, २०२९, १०५–१०६ पृ.मा छापिएको, बाबुराम आचार्यले सूर्यविक्रम ज्ञवालीलाई ई.सं. १९३५ जून १२ तारीखमा लेखेको चिठी) ।

सूर्यविक्रम ज्ञवालीले पनि बाबुराम आचार्यकै अनुसरण गरी यसलाई पृथ्वीनारायण शाहको व्याख्यान नै भने (पृथ्वीनारायण शाह, १९९२, २०६ पृ.) । बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीले व्याख्यान भनी उपयोग गरेको त्यही पुस्तक वि.सं. २००९ मा प्रकाशित गर्दा नरहरिनाथले दिव्योपदेश भनी त्यसको नाम राखे (बाबुराम आचार्य र नरहरिनाथद्वारा सम्पादित, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश, ३ संस्करण, २०६१ मा परिष्कर्ताको भनाइ, झ–ञ पृ.को आधारमा) । यसैको अर्को संस्करण वि.सं. २०१० मा गर्दा बाबुराम आचार्य र नरहरिनाथले यसको नाउँ पृथ्वीनारायणसाहदेवको दिव्य उपदेश भनी राखे ।

अनि यही दिव्य उपदेश वा सन्धि गरी दिव्योपदेश भन्ने नाउँ नै रूढ भयो र सर्वसाधारणले यसलाई यही नाउँले व्यवहार गर्न थाले । सो उपदेशलाई संस्कृतमा पद्यमा उल्था गरी वि.सं. २०१० को शुरूदेखि संस्कृत–सन्देश मासिक पत्रिकामा नयराज पन्तले क्रमशः प्रकाश गराउँदै गएका थिए । तर उनले त्यस उपदेशमा दिव्य भन्ने शब्द कहिल्यै जोडेनन् र खालि उपदेश मात्र भनी काम चलाए । यसैको अनुसरण संशोधन–मण्डलले पनि ग¥यो । पञ्चायती राजमा राजाको चाकरी गर्ने प्रतिस्पर्धामा दिव्य उपदेश नाउँ पनि कतिलाई अपुग जस्तो लाग्यो र यसैले राष्ट्रिय अभिलेखालयले यसको नाउँ स्वर्णमय÷सुवर्णमय दिव्य उपदेश भनी राख्यो (अभिलेख ३ अङ्क, २०४२, १०१–१०२ पृ.) ।

पृथ्वीनारायणको उपदेश उनकै पालाको होइन भन्ने कुराको सूत्रपात मलाई थाहा भएसम्म अ लेट् म्यान्युस्क्रिप्ट् अर्थात् पछिको लेखोट पुस्तक भनी वि.सं. २०४० मा कमलप्रकाश मल्लले गरेका हुन् (कमलप्रकाश मल्लले गरेको मेअरि शेफर्ड स्लसरको नेपाल् मण्डलको रिभ्यू, कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्, ११ ठेली १ अङ्क, १३२ पृ.) । कमलप्रकाश मल्लको यस वाक्यांशबाट मूल पुस्तक होइन कि सारिएको पुस्तक पछिल्लो कालको भन्ने आए पनि यसको विवक्षित अर्थ उपदेशै पछिल्लो कालको हो भनी लगाउन थालिएको छ ।

यसको उदाहरणको रूपमा दिव्योपदेश कसले रचेका हुन् र यो कहिले रचिएको हो भन्ने कुरामा विवाद छ । आफ्नो राष्ट्रिय कार्यक्रम अघि बढाउनको लागि दिवंगत राजा महेन्द्रले यसलाई खोतलखातल गरेर निकालेका थिए भन्ने दावी केही मानिसले गरेका छन् । यस दावीको पक्षमा चित्त बुझ्ने खालको प्रमाण छैन (योगेश राज, एक्स्पिडिशन् टु नेपाल् भ्याल्इ ः द जर्नल् अप्m क्याप्टिन् किन्लक्, २०१२, १९–२० पृ. बाट मेरो उल्था) भन्ने लेखाइ देखाउन सकिन्छ ।

श्री ५ महेन्द्रको पालामा पृथ्वीनारायणको उपदेश खोतलखातल गरेर निकालिएको भन्ने कुरा नपत्याउँदा नपत्याउँदै पनि श्री ५ महेन्द्रका बाबुकै पालामा वि.सं. १९९२ मै सूर्यविक्रम ज्ञवालीले यस उपदेशको उपयोग आपूmले लेखेको पृथ्वीनारायण शाहको जीवनचरित्रमा गरेको कुरा माथि उद्धरण गरिएको वाक्य लेख्नेले कसरी बिर्से, आश्चर्य लाग्छ । माथि उद्धरण गरिएको वाक्यभन्दा निकै अगाडि बढी एक जना अबुझ यस्तो—— इतिहासका अध्येता योगेश राजका अनुसार यो ‘दिव्योपदेश’का ‘लेखक र प्रवचनको समय विवादास्पद रहेको छ ।

’ उनले ‘द जर्नल अफ क्याप्टेन किनलक’को पादटिप्पणीको रूपमा उक्त कुरा लेखेका हुन् । त्यसो त केही मानिसले उपदेशको पाठ राजा महेन्द्रले आप्mनो राष्ट्रवादी एजेन्डालाई अगाडि बढाउन ‘उत्खनन’ गरी पत्ता लगाएको दाबीसमेत गरेका छन् । तर योगेश राजको मत छ, त्यस्तो दाबीमा कुनै विश्वसनीय प्रमाण फेला परेको छैन । काठमाडौंको केलटोलमा फेला पारिएको बताइने उपदेश वास्तवमा कसरी लेखियो, तिनका पुराना पाठ के–कस्तो थियो, त्यसलाई सक्कली पाठको रूपमा डेढ सय वर्षसम्म कसरी सुरक्षित राखियो भन्ने प्रश्नमा सन्देहको कमी छैन, पाठमा संशोधन भएको हुनसक्ने गुञ्जायस त छँदैछ (राजेन्द्र महर्जन, दिव्योपदेश र हेगियोग्राफी, कान्तिपुर, २०७०।९।२५।५, ७ पृ.)—— लेख्न पुग्छन् ।

अब बाँकी रह्यो यो उपदेश कहिले लिपिबद्ध भयो भन्ने कुरा । यो टिपोटमा श्री ५ पृथ्वीनारायण शाहलाई बुढा महाराज भनी सम्बोधन गरिएकाले यो टिपोट अवश्य पनि श्री ५ रणबहादुर शाहको शासनकालमा भएको हुनुपर्छ । पहिलो टिपोट कहाँ छ ? यो अझै पनि शोधको विषय भएको छ भन्ने मलाई लागेको छ भनी राष्ट्रिय अभिलेखालयको मुखपत्रमा लेखिएको छ (श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको स्वर्णमय दिव्य उपदेश, अभिलेख ३ अङ्क, २०४२, १०१ पृ.) ।

इतिहासकार एवं वर्तमानमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति त्रिरत्न मानन्धरले वि.सं. २०७० पुस २४ गते नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुरमा आयोजित विचार गोष्ठीमा बताएअनुसार योगी नरहरिनाथ र इतिहास शिरोमणि बाबुराम आचार्यबाट प्रकाशित प्रति अन्य प्रचलित कागजहरूबाट वि.सं. १८५८ तिर साफी गरिएको प्रति हो भनी कान्तिपुर दैनिकमा छापिएको पत्रमा लेखिएको छ (सुशीलकुमार गौतम, २०७०।९।२८।१, ६ पृ.) ।

यताबाट दुवै थरीको विचारमा उपदेशको जुन पुस्तक पाइएको छ, त्यो टेक्स्ट्युअल क्रिटिसिज्मको भाषामा अटोग्राफ अर्थात् मूल प्रति होइन । यहाँ पृथ्वीनारायणलाई बुढा महाराज भनी चिनाइएकोले रणबहादुरको पालामा यो टिपोट भएको हुनुपर्छ भन्ने अभिलेखालयको जिकिर छ । रणबहादुर वि.सं. १८३४ देखि १८५५ सम्म गद्दीमा बसेका र पछि वि.सं. १८६० मा बनारसबाट फर्केपछि उनले फेरि राज्यको बागडोर वि.सं. १८६३ मा नमारिएसम्म आफ्नो हातमा लिएकाले यति समयलाई अभिलेखालयले उनको शासनकाल भन्ने शब्दले बुझाएको हुनुपर्छ । उता अर्को विचारअनुसार वि.सं. १८५८ तिर साफी गरिएको प्रति यो हो भन्ने भएकोले रणबहादुर बनारसमै भएको वेलामा यो प्रति तयार भएको बुझिन्छ ।

अहिले भएको प्रति मूल प्रति हो वा साफी गरिएको प्रति हो भन्ने निर्णय गर्नुभन्दा जरूरी त मूल कहिले लिपिबद्ध भयो भन्नेतर्फ विचार गर्नुपर्छ कि जस्तो मलाई लाग्छ । बुढा महाराजा भन्ने शब्दले यहाँ कसलाई चिनाइएको हो भन्ने विषयमा नयराज पन्तले विचार गरेको कुरा यस प्रसंगमा उल्लेखनीय छ (श्री ५ पृथ्वीनारायण शाहको उपदेश, १२१५–१२१६ पृ) ।

आफ्नो रघुवंश महाकाव्य (८।२२)मा कालिदासले राज्य छोडी बसेका राजा रघुलाई नवेतर अर्थात् नयाँभन्दा फरक . पुराना भन्ने शब्दले र उनका उत्तराधिकारी, गद्दीनशीन छोरा राजा अजलाई चाहिँ नव प्रभु अर्थात् नयाँ राजा भन्ने शब्दले बुझाएको कुरा नयराजले लेखेका छन् । राज्यच्युत, ३४ वर्षका श्री ५ राजेन्द्रलाई वि.सं. १९०४ मा श्री ५ बुढा महाराजा भनी तात्कालिक सरकारी पत्रमा लेखिएकोले लगत्तैका भूतपूर्व राजालाई बूढा महाराज भन्ने चलन चलेको देखिन्छ । यसैले पृथ्वीनारायण शाहको मृत्युपछि लिपिबद्ध भएको, यस उपदेशको पुस्तकमा भूतपूर्व राजालाई बुझाउन बुढा महाराजा शब्दको प्रयोग भएको देखिन्छ भन्ने निष्कर्ष उनको छ ।

यस कारण छोरा प्रतापसिंहकै पालामा पृथ्वीनारायण बुढा महाराजा भइसकेकाले त्यही समयमा यो उपदेश लिपिबद्ध भयो भनी मान्नमा के आपत्ति ? पुस्तनपुस्ता पृथ्वीनारायणको उपदेश जोगाएर राख्ने सज्जनको चिनारी २ वटा नामी दैनिकमा १ दिन अगाडिपछाडि पारी छापिएको, एउटै लेखमा केलटोलका एक जना निरक्षर सज्जन (धु्रवहरि अधिकारी, नेपाली कि गोर्खाली, गोरखापत्र, २०७०।९।२७।७, ६ पृ.≤ नागरिक, २०७०।९।२८।१, ७ पृ.) भनी गलत ढङ्गले दिइएकोमा अन्त्यमा केही लेख्नुपरेको छ । गोरखाराज्यविस्तारमा ठूलो अवदान भएको बस्नेतवंशमा जन्मेका ती सज्जनको नाउँ बखतमानसिंह हो ।

उनले तात्कालिक चलनअनुसार अड्डाखानामा जागीर खान अपरिहार्य भएको, विशुद्ध नेपाली शिक्षा स्रेस्ता पाठशालामा पाएका थिए (श्री ५ पृथ्वीनारायण शाहको उपदेशमा नयराज पन्तको वक्तव्य, ४ पृ.) । स्ववंशगौरवले अभिभूत बखतमानसिंह बस्नेतको संग्रहमा प्रशस्त दस्तावेज थिए । उनले राणाकालका निकै फोटो पनि संग्रह गरेका थिए । तिनमध्ये केहीको उपयोग मैले पनि गरेको हुँ (महेशराज पन्त, राणाजीका स्वास्नीमान्छेहरूले कल्की लाउने विषयमा, पूर्णिमा ४० अङ्क, २७७–२७९ पृ.) ।

उनैबाट बाबुराम आचार्यले (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश, ३ संस्करणमा परिष्कर्ताको भनाइ, च–छ पृ.) र नयराज पन्तले (श्री ५ पृथ्वीनारायण शाहको उपदेशमा नयराज पन्तको वक्तव्य, ४–५ पृ.) त्यस उपदेशको प्रतिलिपि गर्न पाएका थिए । बाबुराम आचार्यले लिएको प्रतिलिपिबाट गरिएको प्रतिलिपि नै सूर्यविक्रम ज्ञवालीकहाँ पुगेको हो (बाबुराम आचार्य र उहाँका कृति, १०५–१०६ पृ.) । बखतमानसिंह छाउनी म्यूजियममा क्रनोलजिस्ट पदमा थिए । यस्ता मान्छे निरक्षर कसरी हुन सक्छन् ?

Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/21239-------

No comments:

Post a Comment