नेवा: स इन्टरनेट रेडियो

Tuesday, December 8, 2009

कपिलवस्तु दिवसमा मेरो दिन चर्या - December 1, 2009

१ डिसेम्बर २००९ आजको दिनलाई मैले आफ्नो नियमित कामधन्दालाई एकातिर पन्छाएर कपिलवस्तु दिवसको प्रचार प्रसारमा सरिक हुनको लागि छुट्याएको थिएँ । औपचारिक रुपमा कार्यक्रम लान नसके पनि मैले केही साथीहरुको सहयोगमा कपिलवस्तु दिवसको लागि तयार गरिएको लोगो र यो दिनको सम्झनामा वितरणको लागि तयार गरिएको लेखहरु, जुन मैले www.worldamity.wordpress.com बाट डाउनलोड गरेको थिएँ, र
मैले आफैले तयार गरेको दुई लेख समेत केही प्रति फोटोकपि गरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष प्रेमशान्ति तुलाधर र अन्य गण्यमान्य व्यक्तित्वहरु ( उहाँहरुको नाम सम्झन सकिनं) लाई अनौपचारिक रुपमा हस्तान्तरण गरें । उहाँहरु नेपालभाषा एकेडेमी कीर्तिपुरमा पुस्तक विमोचन कार्यक्रममा पाल्नुभएको थियो र मैले यही मौकाको उपयोग गरेको थिएँ । मैले केही साथीहरुलाई औपचारिक कार्यक्रम नै आयोजना गर्न सकिन्छ कि भनेर सहयोग पनि मागेको थिएँ केही दिन अगावै । तर साथीहरुबाट भने जस्तो सहयोग पाउन नसकेको कारणले औपचारिक कार्यक्रम गर्ने सपना अधुरै रह्यो । श्रद्धेय रामकुमार श्रेष्ठज्यूबाट पनि ईमेलमा मलाई कुनै औपचारिक कार्यक्रम छ भने कही प्रस्तावित गरिएको छ भने सूचना उपलब्ध गराउन भन्नु भएको थियो

आजै नेपाल टुरिज्म बोर्डमा आइटिसम्बन्धि वरिष्ठ अधिकृत श्री समिर वज्राचार्यजीलाई पुस्तिका हस्तान्तरण गरेँ । उहाँले केही दिन अगाडि नै थाहा पाउन सकेको भए केही प्रोमोशनल पनि गर्न सकिन्थ्यो कि भन्नुभयो र बोर्डको वेवसाइटमा सामाग्री राख्न कोशिस गर्नेछु भन्नु भयो । केही दिन अघि नै उहाँलाई जानकारी गराउनु पर्ने मौका गुम्न गयो भन्ने लाग्यो । त्यसपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पाठकहरुले पढुन भनेर केही पुस्तिका छोड्ने विचारले म भृकुटीमण्डपतिर लागेँ । आज विहानदेखि फेसबुक अपडेट गर्न नपाएको र झन आजै कपिलवस्तु दिवसमा साथीहरुलाई सामाग्री अपलोड गर्न भ्याइनभ्याइ होला भन्ने विचार लिई ठमेलमा साथी शालिकराम डंगोलकहाँ साइबरमा पसें । फेसबुकमा कपिलवस्तु दिवसलाई विशेष महत्वका साथ सार्थीहरुले पोस्टिङ् गरिरहेको देखेर मनभित्र असीम शान्तिको अनुभव भयो । महिनौं अगाडिदेखि श्रद्धेय रामकुमार सर, कविताराम सर लगायत अन्य साथीहरुबाट अथक रुपमा गरिएको प्रयासले लाग्यो कपिलवस्तु साँचिक्कै सजीव भएर उठेको छ र आफ्नो अस्तित्व यस संसारमा पुनः प्रमाणित भएको यो दिनमा सयकडौं नेपाली आत्माहरुको अभिवादन स्वीकार्दै यो हिमालय फेदीमा अजर अमर भएर स्थापित भएको छ । अपूर्व सन्तुष्टीको अनुभव गर्दै केही पोस्टिङ् मैले पनि गरेँ । समय बितेको पत्तै नपाइने २ घण्टा भन्दा बढी फेसबुक ब्लग मै हराइरहेँ ।

आज पुस्तकालयमा हराइरहँदा छापाका साचार माध्यममा कुनै समाचार झुल्कन्छ कि भन्दै दैनिक पत्रिकामा आँखा डुलाइरहेँ । नागरिक दैनिकमा साथी लक्ष्मण पुरीको लेख “चिरौं वुद्धजन्मस्थलको भ्रम” शिर्षकमा छापिइएको थियो । सँगै मेरो लेख कपिलवस्तु दिवसको परिचयात्मक रुपमा मात्र लेखी प्रेषित गरेको थिएँ छापिइएको थियो । जे होस् नागरिक दैनिकले आज कपिलवस्तु दिवस हो र वुद्ध जन्मस्थलको बारेमा भारतीय भ्रामक प्रचारको बारेमा जानकारी दिने उद्देश्यले लेख छापिएकोमा खुशी लाग्यो । लक्ष्मण पुरीजीको लेखमा कपिलवस्तुको वर्तमान अवस्था र वुद्ध जन्मस्थल बारेको भ्रामकतालाई चिर्ने प्रयास गरिएको थियो । लेखसँग सम्बन्धित कलाकारद्धारा कल्पना गरिएको चित्रले नेपालतर्फको वुद्ध जन्मस्थलबाट एक भारतीयले पुरातात्विक वस्तुहरु भारततर्फको लग्दै गरेको र भारतीय भूमिमा वुद्धजन्मस्थल भनेर बोर्ड टाँगिएको देखाइएको छ र आकाशबाट भगवान् वुद्ध यस्तो दृष्य हेर्दै पसिना काट्दै अचम्भित हुँदै ध्यानमग्न हुने दुबै आँखामध्ये एक आँखा खोलेर यो चोरीको दृष्य हेरिरहेको छ । कलाकारको कल्पनाशीलतालाई धन्यवाद दिन मन लाग्छ । अन्य दैनिक पत्रपत्रिकामा भने कुनै समाचार नपाइएकोले मन नमीठो भयो ।

साँझ घर आइसकेपछि टेलिभिजनका पर्दामा कही कतै कपिलवस्तुबारे कभरेज आइरहेको छ कि भनेर सस्रती नेपाली टेलिभिजन च्यानलहरु स्क्यान गरेँ । कहीँ कतै पनि कभरेज नभए पछि निराश हुँदै एफएममा कान थापिरहें । आज फेसबुकमा मैले इमेज न्यूज एफएममा कपिलवस्तुसम्बन्धी केही बोल्छु भनेर गर्वका साथ पोस्टिङ् गरेको थिएँ । के बोल्ने भनेर खेस्रा तयार पारेँ एक दुई पटक रिहर्सल पनि गरेँ । फोन लगाउनु पर्यो भनेर टेलिफोनको रिसिवर उठाएँ । लोडसेडिङ्को समय इमरजेन्सी लाइटमा खेस्रा अगाडि राखेर डायल भएको धेरै पटक भयो तर फोन पाउन नै सकिनँ । बारंबार प्रयास गरेँ, अहँ फोन लाग्दै लागेन लाग्दै लागेन । नरमाइलो अनुभव भइरहेको थियो । मैले खेस्रालाई दुई तीन पटक ठूलो ठूलो स्वरले पढेँ । यसबखत मेरो वरिपरि जे जति जीवात्मा छन् सबैले सुनिरहेको हुनुपर्छ सम्भव छ सात समुन्द्र पारीका मेरा मित्रहरु सुजनजी, लक्ष्मणजी सबैले सुनिरहेको हुनुपर्छ श्रद्धेय रामकुमार सर कविताराम सर मेरो भरखरै टुसाएको लेखनीलाई सुन्दै छन र ढाढस् दिइरहेका छन् र निराश नहुन भनिरहेका छन् । मलाई फेरि एकपल्ट एफएममा बोल्न भनेर तयार गरेको खेस्रा सुनाउन मन लागेको छ ।

कपिलवस्तु दिवसमा नेपाली मिडिया र सरकारको उदासिनता:


आज कपिलवस्तु दिवसको सन्दर्भमा यहाँहरु समक्ष राजनीतिभन्दा पृथक रहेर केही कुरा निवेदन गर्ने अनुमति चाहन्छु । १ डिसेम्बर १८९६ मा आजैको दिन जर्मन पुरातत्वविद् डा. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । यस अशोक स्तम्भमा भगवान् वुद्धको जन्म यही लुम्बिनीग्राममा भएको हो भनेर उल्लेख गरिएको छ । यति महत्वपूर्ण दिनको सम्झनामा यस दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाउन विदेशस्थित नेपालीहरु र नेपाल भित्रकै देशभक्त नागरिकहरुले संयुक्त पहल गरेका छन् । विद्युतीय साचार सामग्रीको पहुँचका कारण विश्व नै एक ग्लोबल भिलेजको रुपमा विकास भइरहेको परिप्रेक्ष्यमा आधुनिक इन्टरनेट प्रविधिमा आधारित सामाजिक सजाल फेसबुक, ट्विटर, ब्लग र वेवसाइटहरुमा वुद्धसँग सम्बन्धित सामाग्रीहरु र कपिलवस्तुसँग सम्बन्धित ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेटिएका लेखहरु प्रशस्तै राखिएका छन् । यस बाहेक विदेशी राजदूतावास र नेपालमा स्थानीय रुपमा कार्यक्रमहरु भइरहेका समाचार पनि कपिलवस्तु दिवसकै ब्लगमा राखिएका छन् । तर आजको दिन यति महत्वपूर्ण हुँदा हुँदै पनि यो गौरवशाली दिनको सम्झनामा नेपाली मिडियामा छापा र विद्युतीय एफएम तथा टेलिभिजनमा अत्यन्त थोरै मात्र समाचार संप्रेषित भएको पाउँदा अत्यन्त दुःखको अनुभव हुन्छ । कपिलवस्तु दिवसको सम्बन्धमा म आफैले छापा तथा विद्युतीय मिडियामा ईमेल गरेर यो दिवसको सान्दर्भिकता र महत्वलाई स्थान दिन अनुरोध गरेको थिएँ । तर दुर्भाग्य भनौ कि हाम्रो नियति नै यस्तै मैले धेरै पहिलेदेखि सुनेको “हामी आर्थिक रुपमा मात्र होइनौं विचारमा पनि दरिद्र नै छौं” भन्ने विचारसँग सहमत हुन करै लाग्यो । आज धेरै विदेशीहरुलाई भगवान् वुद्धको जन्मस्थलको बारेमा भ्रम रहेको छ र भारतले उत्तर प्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु भनेर प्रचार प्रसार गरिरहेको छ । वुद्ध भारतीय हुन र उन्को जन्म भारतमा भएको हो भनेर राष्ट्रिय अन्तरराष्ट्रिय बिरोधका बाबजूद भन्ने मात्र नभएर अथाह आर्थिक लागानी गर्दै नक्कल्ली कपिलबस्तु निर्माण समेत गरिरहेको छ भारतीहरुले । यस्तो अवस्थामा वुद्धको जन्म लुम्बिनी कपिलवस्तुमा भएको हो भनेर प्रमाणित गर्ने अशोक स्तम्भ पत्ता लगाइएको आजको दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाउने जुन महत्वपूर्ण निर्णय गरियो त्यस्लाई बिशेषत: ठूला भनिएर चिनिएका नेपाली छापा र सरकारले कुनै महत्व नदिनु अत्यन्त उदेक लाग्दो कुरो हो ।

राज श्रेष्ठ, किर्तिपुर

No comments:

Post a Comment