नेवा: स इन्टरनेट रेडियो

Tuesday, September 15, 2015

थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने



Trouble listening the radio ?
Try the alternative player below


To download the audio, right click the link below, select "Save Target As" or "Save Link As" 

शिवानी

हिजो एकजना गाउँकै दाईले फेसबुकमा म्यासेज गर्नुभयो । “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको :( ? ” लेख्नु भएको रहेछ । कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो ।

मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ । झन् हदै चित्त नबुझ्दा उसलाई सधैँको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले  दिएको छ । मान्छेहरु किन आफूलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन । फेसबुकले निश्चित सँख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ । त्यो सँख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन ।

अरुले के कारण र उदेश्यले फेसबुक चलाउछँन मलाइ थाहा भएन । तर मैले केहि सिक्न जान्न र नयाँ खबरहरु पढ्नको लागि चलाउछु । गाउँकै दाजु भएको कारणले उहाँलाई अर्को एकजना साथी हटाएर भएपनि मैले साथी
बनाएँ । तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाएँ भनेर खुल्दुली र दुखेसो भइराख्यो । अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त ।” मैले केहि प्रतिकृया जनाइन । साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे । त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो । पाँच मिनेटमा लगभग मलाई पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए ।

मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटसहरु उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन । कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सही हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो । मेरा तस्वीरहरूमा “आहा! कति राम्री 😀 ”, “वाउ लुकिंग सेक्सी 😛 ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो ।

फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके । मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँ जस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन् । गाउँको हो भन्ने थाहा छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन । धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाईको बारेमा मलाइ भने धेरै कुरा थाहा थियो । यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररी नै चिन्थे ।

यस बीचमा यिनले दुईपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे । मैले दुबैलाई इन्कार गरेँ । मैले अब मेरो काम छ पछि कुरा गरौँला भन्दा पनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा नै व्यस्त रहे । अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल J ।” दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि लप गरौँ न, आइ लप यु ” तिनको पछिल्लो शब्दले मलाई रन्थन्यायो । आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई? कसरि यस्तो सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरी यस्तो कुरा भन्न सक्छन? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको? म सरासर उनको प्रोफाइलमा गएँ । कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले । तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडि छोरीको फोटो हालेका रहेछन । “मेरी गुडिया आइ लप यु” लेखेर । मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो । मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो । उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो । मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस । तिनलाई उचित शिक्षा दिने बिचार आयो ।

 म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो 😀 म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न  भ्याएका रहेछन । मेरो रिसको पारो झन् तातियो । मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ ।

यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका । यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन । धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँयामा पारेका हुन्छन् । अझै पनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस?” “किन भाउ खान्छेस र#डी?” “बोल्दिनस् भने किन अनुरोध स्वीकार गरिस् ?” भन्ने जस्ता म्यासेज पठाउँछन् । हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ । सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन । फेरि मलाई यसो भने भनेर कसलाई सुनाउँदै हिड्ने? ब्लक या डिलिट कतिलाई गर्ने? कतिलाई ती दाजुलाई जस्तो शिक्षा सिकाउने? अर्को कुरा फेरि, यो फेसबुक नचलाई पनि नहुने कुरो ।

यस्तो कार्यमा सबैभन्दा अगाडि घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा । तिनीहरु कतार, दुबई, साउदी जस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन् । तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्ने जस्ता राग अलापेर बसेका हुन्छन् । समाजको एउटा हिस्सा म पनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन् । आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन् । आफ्नो कुरा अरुले मान्दा र आफूले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन् । छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोही पनि मर्द हुँदैन । मर्दले त नारीको इज्जत र रक्षा गर्छ । अशक्त र बच्चालाई प्रेम बाँड्छ, पिडितको उद्दार गर्छ । धर्मको पालना गर्छ । करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले । सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ ।

मेरी एउटी साथी छे, अन्जली । हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ । हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो । पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो । पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी । म डिग्रीको पढाई सँगै एउटा नीजि कम्पनीमा काम गर्थेँ । आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरी र छिट्टै भेट्न बोलाई ।  म कामको सिलसिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ । साथै रुनाको कारणबारे पनि जिज्ञासा राखेँ । धेरैबेरको रोदन र मेरो लगातारको प्रश्नले उसले समस्याको पोको खोली । उसकै बैंकमा काम गर्ने सहकर्मीसँग उसको प्रेम सम्बन्ध रहेछ । मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ । अन्जली कथित दलित हो, बिश्वकर्मा । उसको प्रेमी उपाध्याय बाहुन रहेछ । अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो । उनीहरुलाई एकअर्काको जातको बारेमा थाहा नभएको पनि होइन । दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो । अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ ।

आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन । भोलिको बाटोमा आउन सक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो । उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन र? अरुबेला देश बदल्ने ठूलाठूला कुरा गर्नेहरुले पहिला आफूलाई र आफ्नालाई बदलेर देखाउन ।

अन्जलीले आफू सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन । सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों । कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस् । हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं । झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने । छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो । यसरी अपमानित हुँदा पनि उसले कहिल्यै साथ छोड्दिन थिई, शायद आफूलाई त्यहि अनुरुप तयार पारेकी थिई ।

 मलाई अचम्म लाग्छ, जब कोही दलितको घरमा केहि पवित्र कार्य हुन्छ । कथित ठूला जातकाले फलफूल प्रसाद बाहेक अरु खाँदैनन । फलफूल छोइदैन अरु छोइन्छ रे! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे । उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानी पिउन हुने, छोएको खान नहुने रे! कति हास्यास्पद छ है चलन?

मेरो गाउँका प्राय दलितहरु रक्सी पार्छन् र बजारका भट्टीवालालाई बेच्छन् । त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातीका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन् । उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न । सुनपानी र जप गरेर दुरुस्त हुन्छन् । तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफूलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ ।

म बुझ्दछु, शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे । नभएपनि उसलाई यो समाज र यसका देखावटी रितिरिवाज प्रति रुष्ट छे । जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिई उसैले आज नगरेको गल्तीको सजायँ दियो । दलितको कोख अन्जलीले रोजेर पाएकी होइन । न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो । जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने? अन्जलीलाई हौसला र ढाडस दिने काम मेरो लागि गाह्रो काम हो । उसलाई एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं ।

समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं । अब फेरि त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन । उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन । दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिई हामी सबैलाई । मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन् । अन्जलीले त आउदिन भन्दा पनि दिदी आफैले जसरी पनि आउनु पर्छ भनेकी थिइन् ।

बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ । बेहुलीलाइ सिंगार्ने मौका पनि पाइन्छ भनेर हामी चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं । बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन् । आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो । भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन् । तर हामी बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं । हामी त साथीको घरमा पसेका साथीहरु थियौं । हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन् तर उ निरिह भई । त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं ।

अन्जलीले बरु सामान्य बन्ने प्रयास गरी हुनसक्छ यो उसको दैनिकी थियो । तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो । बिहेमा आएका धेरै मान्छेहरुका अगाडि त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरी सक्थी होली र? अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातीको हो । शायद उसले प्रेममा प्रेम मात्रै देखि होली, जातभात देखिन । त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन । हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ ।

यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु । भोलि म काठमाडौं पुग्छुँ, उसकोमा जान्छु । मलाई भेटेपछि उ झन् धेरै रुनेछे । यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ । यो देशमा केटी भएर जन्मिनु एउटा अभिशाप हो । झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो । झन् दलितको कोखमा जन्मिनु झन अर्को पाप हो । यी सबैको सजायँ भोगिराखेकी छे अन्जली ।

अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ । म नभए कोही न कोही त बोल्नैपर्छ । आज नभए भोलि त बोल्नैपर्छ । अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई । तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन । तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका होइनन् । जबर्जस्ती लादिएको यो जात हामी अब त्यागीदिन्छौं । मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन । दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन । किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ । अन्जली, यी सबै ढोंगीहरु हुन् । तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदैनन ।

आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउँदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर । अझ जबर्जस्ती गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर । गुहुमा किरा गाडिए जसरी गाडिन्छन् हाम्रो शरीरमा । तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे । यिनलाई दलित पछाडि हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन ।

हुनत अन्जली म पनि तिमीलाई पीडा दिने पीडक जातको हुँ । मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पीडा दिए । तर अब मलाइ मेरो जातमोह छैन । हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसँग, मैले बिना मिहेनत पाएको यो जात यही समाजलाई फिर्ता दिन्छु ।

थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने ।

Text credit to http://egulfnepal.com/2015/09/07/idea/ . 
Audio credit to Ms. Shivani Rani's facebook page (https://www.facebook.com/siwany123)

No comments:

Post a Comment