Monday, November 16, 2015

नेपालले चुकेका दुई ठूला मौकाहरु (समाचार विश्लेषण)

नेपालले चुकेका दुई ठूला मौकाहरु (समाचार विश्लेषण)

राज श्रेष्ठ


२०७२ वैशाख १२ गते प्राकृतिक विपत्तिको रुपमा नेपालले भूकम्पको प्रहार खप्नुप¥यो । भौतिक जनको क्षतिसँगसँगै नेपालको गौरवको रुपमा रहेको प्राचीन सम्पदाको क्षतिको आंकलन सही रुपमा अहिले सम्म भएको पाईंदैन । भूकम्पले विश्व जनमानसमा पारेको प्रभाव यति बलियो रह्यो कि अनपेक्षित रुपमा विश्व समुदायको सहानुभूति नेपालतर्फ ओइरियो । सामाजिक संजाल फेसबुक, ट्वीटर लगायत भाइबर, स्काइप लगायतले विशेष रुपमा नेपालले ठाउँ पायो । नेपाललाई माया गर्ने विदेशी राष्ट्रका संघसस्था र सरकारबाट सहयोगको ओइरो नेपालतर्फ लाग्यो । भारत र चीन छिमेकी राष्ट्रको हैसियतले सबभन्दा पहिला सहयोग पु¥याउनेमा गनिए । वास्तबमा नेपालले सामना गर्नुपरेको प्राकृतिक प्रकोपले नेपालको आधुनिक इतिहासमा यसअघि कहिल्यै सामना गर्नु नपरेको दूरगामी प्रभाव परेको थियो । विश्वको कुनाकाप्चाबाट सहानुभूति र सहयोग ओइरिरहँदा नेपालले यसलाई अवसरको रुपमा उपयोग गर्न सकेको भए दक्षिण कोरिया र थाइलैण्डको स्तरमा आज नेपाल पुग्ने थियो ।


तर राजनीतिक नेतृत्व विश्वसदभावको यो मौकाको उपयोग गर्न नराम्ररी चुके । देशको मुहार फेर्न सक्ने यो मौकालाई फगत अपूर्ण संविधान निर्माण र सत्ता परिवर्तनसँग साट्न पुगे । भागवण्डाको राजनीतिले तत्काल गठन गरी काम गर्नुपर्ने पुनःनिर्माण प्राधिकरण कता हो कता विलाउन पुगे । फलस्वरुप विश्वरंगमञ्चमा थपिएका नयाँ नयाँ दृष्यले विश्वसमुदायको ध्यानमा नेपाल ओझेल पर्दैगयो । भूकम्पपछिको ७ महिना बितिसक्दा पनि पुनःनिर्माण कार्य लगभग शून्यको अवस्था छ । 

यसै बिच संविधानको घोषणा भयो । तर जनसंख्याको ठूलो तप्का मधेशमा आन्दोलित छन् । मधेशी जनताले आफूलाई नयाँ संविधानले विभेदमा पारेको अनुभव गर्दै समावेशीता र सिमाङ्कनलाई सम्बोधन गर्नुपर्ने माग राखी आन्दोलन गरिरहेको महिनौं बितिसक्यो । तर जुन तत्परताका साथ ती मागहरु सम्बोधन हुनुपर्ने हो त्यसो नभएपछि उत्पन्न समस्याका कारण छिमेकी भारतसँगको कुटनीतिक विवादमा देश नराम्ररी अल्झिन पुगेको छ । पेट्रोलियम लगायतका सामग्रीको ढुवानीमा भारतसँगको सिमानाकामा भएको अवरोधले उसँगको सम्बन्ध ईतिहासकै संवेदनशील घडीमा पुगेको बताइन्छ । 

भारतमा नरेन्द्र मोदीको उदयसँगै वर्षौसम्म प्रगति हुन नसकेको नेपाल–भारत सम्बन्धले नयाँ उचाई लिने पर्यवेक्षकहरुले अपेक्षा गरेका थिए । नेपाल भ्रमणताका भारतीय प्रधानमन्त्री मोदीले संविधानसभा र संसदमा दिएको भाषणलाई नेपालमा मुक्तकण्ठले स्वागत गरिएको थियो । सामाजिक संजाल र नेपाली संचारजगत मोदीको गुणगानले भरिएका थिए । मोदीले आफ्नो भ्रमणसँगै सहयोगको ठूलो धनराशीको घोषणा गरेका थिए । वर्षौंसम्म सम्पन्न हुन नसकेका भारतीय सहयोगका आयोजनालाई तीव्रताकासाथ सम्पन गर्ने मोदीको आकंक्षा थियो । जलविद्युतको क्षेत्रमा नेपालले हासिल गर्न सक्ने उपलब्धीमा भारत सांझेदार रहन इच्छुक रहेको मोदीको कथनबाट प्रष्टिन्थ्यो । यसरी विश्व रंगमञ्चमा उदाउँदो शक्तिको रुपमा भारतलाई स्थापित गर्ने लक्ष तर्फ अघि बढिरहेको मोदीको नेपालप्रतिको सदासयताबाट फाईदा लिन नेपाली पक्ष दोस्रो पल्ट नराम्ररी चुकेको छ । 

दक्षिणपूर्वी देश भियतनामले मोदी भ्रमणताका प्राप्त गरेको भारतीय सहयोगबाट यथेष्ट फाईदा लिइसक्दा पनि मोदीबाट घोषित सहयोगको भने नेपालमा अत्तोपत्तो छैन । एउटा असल छिमेकीको नाताले मोदीले नेपालको संविधान सबै जनताको साझा होस् भन्ने चाहना राख्दै सबै जनताले स्वीकार्न सक्ने संविधान बनाउन सत्ताधारीहरुलाई उतिबेलै सुझाव दिएका थिए । यसका लागि उदार मन लिन नेपाली पक्षलाई ऋषिमनले संविधान जारी गर्न भनेका थिए । तर संविधान त्यस्तो हुन सकेन । 

आदिवासी जनजाति र मधेशी जनताका हकमा अन्तरिम संविधान जतिको पनि उदार हुन नसकेको संविधानले देशमा असन्तोषको विजारोपण भएको छ । मधेश जलिरहेको छ । सुषुप्त अवस्थामा रहेको आदिवासी जनजातिहरुको आन्दोलन कुनै पनि बेला उभार लिन सक्ने संभावना बोकेर रहेको छ । लाखौं मधेशी जनता सडकमा ओर्लिएर गरिरहेको विद्रोहलाई काठमाडौंले पूरै बेवास्ता गरिरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा समेत भारतसँगको कटुतापूर्ण विवादमा नेपाल फँसिरहेको छ । 

भूकम्पपछिको कष्टपूर्ण जीवनबाट छुटकारा पाउने आशामा रहेका नेपाली जनता चरम अभावको अर्को दुष्चक्रमा परेको छ । तर सत्तापक्ष भने फोस्रो राष्ट्रवादको नारा दिंदै समस्या समाधानबाट टाढा भागिरहेको छ । आउँदा दिन अझै कष्टकर हुँदै जानेमा शंका छैन । मोदी र भारत विरोध नै नेपालको राष्ट्रियता मान्नेहरुको ठूलौ जमात सामाजिक संजाल र संचार जगतमा जति ठूलो स्वरले कराएपनि अहिलेको यथास्थितिबाट पार पाउन सकिन्न भन्ने तिनीहरुले बुझ्नु जरुरी छ । भारतबाट आपूर्ति बन्द भए चीनबाट ल्याउँछौं भनेको पनि हप्तौं बितिसक्यो । तर पनि नेपाली जनजीवन झनझन अस्तव्यस्ततर्फ बढिरहेको छ ।

No comments:

Post a Comment