नेवा: स इन्टरनेट रेडियो

Saturday, October 11, 2014

जगजीत, तिमी मेरो हृदय नजिक संधै रहने छौ – क्लोज टु माइ हर्ट

जगजीत, तिमी मेरो हृदय नजिक संधै रहने छौ – क्लोज टु माइ हर्ट





अक्टोबर १० २०११ – यो दिन भारतीय उपमहाद्वीप लगायत संसारभरका गजल प्रेमीहरुका लागि अत्यन्त दुखद दिन रह्यो । मेरा पि्रय गजल गायक जगजीत सिहं अब यो संसारमा रहेनन् । बिहानैदेखि संचारमाध्यमहरुले उनको निधनको समाचार दिन थालेका थिए । आफ्नो पि्रयजनसँग बिछड्नु पर्दा जुन पीडाको अनुभव हुन्छ त्यस्तै पीडाको अनुभव मलाई हुन थालेको थियो । साँझ घर फर्किदा मेरो ओठमा गुलजारको शब्दमा उनले गाएका “मरासिम” एल्बममा संग्रहित गजल “शाम से आँख में नमी सी है आज फिर आपकी कमी सी है” झुण्डिएको थियो । जगजीत सिहं करोडौं मानिसहरुका हृदयमा बसेका छन् । उनका गजलहरु मानिसहरुका ओठहरुमा झुण्डिएका छन् । आधुनिक संगीतको समिश्रणबाट गजललाई लोकपि्रयताको त्यस उचाइमा जगजीत सिहंले पुर्याएका थिए जुन उचाइमा यसअघि गजल कहिल्यै पुगेको थिएन । त्यति रुचिकर रुपमा सुनिएका पनि थिएनन् जति जगजीतका गजलहरु सुनिएका थिए ।

काठमाडौंमा त्यस ताका गजल रेस्टुरेन्टका बाढी नै आए जस्तो थियो । दर्शकहरु कोही युगल गायकगायिकाको जोडी देख्नासाथ ताली पिटी हाल्थे-“वाह क्या मिलेका जोडी जगजीत र चित्राको जस्तो ।” साथीभाइ माझ आफुलाई जान्ने सुन्ने ठान्ने बुजुर्गहरु यस्तै अँध्यारोमा ढुंगा हानिहाल्थे- “तपाईंलाई थाहा छ ? यी जोडीलाई त नेपालकै जगजीत सिहं र चित्रा सिहं भन्छन नि ।” हुनपनि गजल रेस्टुरेन्टमा चिसो बियरको चुस्की लिदै सोचमग्न हुने दर्शकहरुका मुटु भित्रै सम्म गढ्ने त्यो गजल “सरकती जाये है रुख से नकाव आहिस्ता आहिस्ता” कसले बिस्रन सकेको छ र ?

 


तर मलाई भने जगजीत र चित्राको धेरै कमले सुनेको भए पनि सुन्ने जतिले असाध्यै मन पराइएको एउटा छुट्टै परिवेशलाई लिएर गाइएको एउटा गजल यी जोडीका अन्य गजल भन्दा बढी मनपर्छ – “उस मोड से शुरु करें फिर यह जीन्दगी हर शहे जहाँ हसीन थे हम तुम थे अजनबी। ” जमानाकी प्रेमिका अहिले पत्नीको रुपमा छिन् । जीवनमा धेरै उतार-चढाव उकाली-ओराली आइसकेका छन् तीता-मीठा अनुभवका सङ्गालो भरिएका छन् । त्यो मोडबाट जीन्दगी शुरु गर्न मन लाग्छ जब तिनी र म बिल्कूल अजनबी थियौं । एक अर्कालाई चिन्दैनौ थियौं । फेरि एक चोटी ती पलबाट जीन्दगीलाई “रि” गर्न मन लाग्छ ।

जगजीतका गजलहरु म जस्ता हजारौं युवाहरुका हृदयका धडकन बनेका छन् । कैयौं रातहरु उनका गजलहरु सुनेर विताइएका छन् । दिनहरुमा उनका गजलहरु गुनगुनाइएका छन् । जब जब तन्हाइ महशुस हुन्छ एक्लोपनको अनुभव हुन्छ तब तब जगजीतका गजलहरु साथी भइदिन्छन् । सम्झनुस् त्यो क्षण जव तपाई पहिलो पल्ट कसैको प्रेममा पर्नु भएको थियो जगजीतका गजल गुनगुनाउनु भएको थियो अनि बिछोडको बेलाका गजलहरु पनि जगजीत कै थिए । “होठों से छु लो तुम मेरा गीत अमर कर दो” – उनका सबभन्दा बढी मनपराइएको यो गजल जति पटक सुने पनि मीठो असाध्यै मीठो लाग्दछ ।

फेसबुकको रुमानी दुनियाँ । अस्ट्रेलियामा पढ्ने गर्थिन – एउटी नेपाली केटी साथी भइहालिन् । छिट्टै नै तिनका फेसबुक Friends को संख्या ह्वात्तै बढ्न थाले । तिनका वालपोस्ट र कमेन्टहरुले संधै भरिभराउ हुन्थे । नेपालमा जाडोको मौसम छ अस्ट्रेलियामा भने गर्मीले उधुम मच्चाइरहेको छ भन्ने कुरा तिनले आफ्नो स्टाट्समा जनाएकी थिइन् । “साह्रै गर्मी छ उफू “- तिनले फोटो अपलोड गरिन् । म पनि के कम जगजीतको गजल जो कन्ठै थियो कमेन्ट दिइ हालें – “आपको देख कर देखता रहे गया क्या कहूँ और कहने को क्या रहे गया ।” “गजलका लागि धन्यवादू “- तिनले उतिन् खेरै जवाफ फर्काइन । हप्तादिन पछि एक्कासी तिनी मेरो Friends’ लिस्टबाट अलप भइन् । आफूलाई पछुतो लागिरहेको थियो बेकार कमेन्ट गरिएछ भनेर । आफ्ना साथीहरुको Friends’ लिस्टबाट फेरि तिनलाई खोज्न थालें माफी चाँही मागिहाल्नु पर्ला भन्ने सोच्दै । म निराश भएँ । तिनी त फेसबुकबाटै गायब भइसकेकी रहेछन् । शायद कमेन्टका बाढीलाई थाम्न सकिनन् र डिएक्टिभेट गरिन् होलिन् ।

तलाउ किनारामा एउटी युवतीको टुक्रा टुक्रा पारिएको विभत्स लाश भेटिन्छ । “यस्ती सुन्दर युवतीको भविष्य यति दुर्दान्त हुन्छन् भन्ने कुरा सोच्न पनि सकिन्न ।” – अनुसन्धान अधिकृत नाना पाटेकर फिल्म “तरकीब” मा भन्छन् । तब्बु आफ्नो प्रेमी मिलिन्दलाई आफ्नो पितासँग परिचय गराउँछिन् । पिता कमाउदार पुत्री गुमाउन चाहन्न । “तिम्री बहिनीसँग यस केटाको कुरा चलाउ ।” – पिताको कुरा सुनेर तब्बु स्तब्ध हुन्छिन् । “मेरी आँखो ने चुना है तुझको दुनियाँ देखकर, किसका चेहरा अब मै देखूँ तेरा चेहरा देखकर ” – जगजीतले अलका याज्ञिकसँग गाएको यो गीत सुन्न धेरै वर्षपछि म फिल्महल सम्म पुगेँ ।

 
पुत्र विवेकको दुर्घटनामा मृत्युले जगजीत-चित्रा अत्यन्त मर्माहत हुन पुगे । चित्राले गजल गाउन चटक्कै छाडि दिइन् । जगजीत आफ्नो व्यथित हृदयलाई सान्त्वना दिदैं गाइ नै रहे । तर नियति अझै कठोर हुनु थियो । चित्राकी छोरीले पनि आत्महत्या गरिन् । यी छोरी चित्राकी पहिलो पतिको तर्फबाट थिईन् । धेरै कमलाई मात्र थाहा छ जगजीत चित्राकी दोस्रो पति हुन भनेर । यसपछि भने जगजीत र चित्रा अलग भए । तैपनि जगजीतले गाउन छोडेनन् । स्टेज प्रोग्रामका लाइभ शोहरुमा उनका हजारौं पुयानहरु माझ गजललाई जीवन्त गाइ नै रहे । बलिउड फिल्मका लागि पनि जगजीतले गाएका छन् । मानिसहरु उनका गीत भएको फिल्म हेर्न हलसम्म पुग्थे । बलिउडका फिल्म निर्देशक महेश भट्टले उनको स्मरण गर्दै भनेका छन् – सिनेमा हलमा Frontस्टलदेखि ड्रेससर्कल बाल्कोनीसम्मका सबै सिटहरु भरिभराउ अनि उभिएर हेर्ने दर्शकहरुले खचाखच भरिएका थिए । फिल्म “अर्थ” को जगजीतको गीत “झुकी झुकी सी नजर बेकरार है की नहीं दबा दबा ही सही दिल में प्यार है की नहीं ” सकिनासाथ दर्शकहरु एकसाथ उभिएर ताली पिट्न थाले र “वन्स् मोर, वन्स् मोर” भन्न थाले । सिनेमा हलमा दर्शकहरुले “वन्स् मोर” भनेको यो गजब कै घटना थियो ।

यो दुनियाँ जसलाई जादूको खेलौना भनिन्छ रे जगजीतले संधैका लागि छाडेर गए । तर तिनले छाडेर गएका गीतगजल हर एकको मनमस्तिष्कमा सबैका हृदयका नजीक संधैका लागि रहिरहने छन् । “गम हो की खुशी दोनों कुछ देर के साथी है, फिर रास्ता ही रास्ता है हसना है न रोना । जगजीत तुम मेरे दिल के करीब हो – क्लोज टु माइ हर्ट ।”

राज श्रेष्ठ
कीर्तिपुर काठमाडौं ।

कति मर्मस्पर्शी ढंगले गाएका छन्, जगजीतले यो गजल - "इक प्यारका नगमा है ..."

No comments:

Post a Comment