नेवा: स इन्टरनेट रेडियो

Sunday, March 2, 2014

दिलशोभा, यौन समाचार र अशोभनीय कार्य

दिलशोभा, यौन समाचार र अशोभनीय कार्य

बासु श्रेष्ठ, उडब्रिज, भर्जिनिया
अमेरिका


खुल्ला पत्रकारितामा भर्खर पाइला टेकेको नेपाली पत्रकारिताले 'रिसर्च एण्ड रिपोर्ट' कहिले गर्ने होला ? साना साना पत्रिकाले त सस्तो प्रचारकोलागी जस्तोसुकै समाचार राख्छ | तर मूलधारका पत्रिकाहरुले नै त्यसो गर्न थालेपछि राज्यको चौथो अङ्ग मानिने भनिएको यसबाट विश्वास नै नउठेपनि हाँसोको पात्र भने पक्कै हुनसक्छ |

केहि वर्ष पहिले अनुजा काण्डले सबैलाई चकित तुल्याएको थियो | राष्ट्रपतिसम्म हाँसोको पत्र भए | त्यतिबेला अनुजा सम्बन्धि समाचारमा कुनै सोध खोज नगरी हचुवाको भरमा सो समाचार सम्प्रेषण गरेको थियो | अहिले आएर त्यस्तै हतारको शिकार भयो नागरिक दैनिक |



यौन शव्दले पत्रिका चाँडो र धेरै बिक्छ भन्ने मानसिकता बोकेका पत्रकारहरु सस्तो पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै दिलशोभालाई यौन प्रकरणमा मुछिएको समाचार प्रवाह गर्यो | केपी ढुंगानाको नामबाट प्रसार भएको त्यो समाचारलाइ थप बल दिन उनले अर्को लेख लेखे | आफुले गरेको कामलाई बल दिने काम त सबैले गर्छ | उनलेपनि त्यही गरे | त्यसैगरी प्रतिक प्रधानले सम्पादकीय लेखेर त्यस समाचारको पुष्टि गरे | तर शोध र अनुसन्धान भने चाहिं गरेनन | मात्र एकतर्फी टेपको भरमा यौन धन्धामा लागेको आरोप लगाउँदै समाचार प्रसार गरे | यदि शोध र अनुसन्धान गरेको भए पक्कैपनि दिलशोभा यौन दुराचारको आरोपबाट बच्ने थिइन् होला | अनि त्यस्तै नागरिक दैनिकपनि प्रशंसाको पात्र हुने थियो होला | जसरी केहि दिन अघिमात्र चुरे दोहन सम्बन्धि समाचार प्रकाशित गरेर मेरो मन जितेको थियो | तर अब त्यसमा पनि सत्यता कति छ भनेर सोच्नु बाध्य भएको छु |

आमा घरको व्यवस्थापन, त्यहाँ आउने दान, अनुदान र चन्दाको दुरुपयोग आदि भए नभएको त अनुसन्धानले देखाई हाल्छ | त्यहाँ कतिपय कमी कमजोरीहरु छन् भन्ने देखिएको पनि छ | मैले मेरी आमाले सप्ताह लगाउने रहर गर्दा बरु त्यो पैसाले आमा घरमा दुइ छाक खाना खुवाइयो भने सप्ताहको भन्दा निकै धेरै धर्म कमाइन्छ भनेर मनाउन सफल भएको थिएँ | त्यो रहर अझै पुरा भएको छैन, त्यो बेग्लै कुरा हो | मैले त सोचेकोमात्र हो | तर टाढाबाट होस् या त्यहिं पुगेर होस् आमघरलाई सहयोग गर्ने मनकारीहरुको कमि छैन | अझै लर्को लागेको छ | ति र त्यस्ता मनकारीहरुको मनमा पक्कै दुख लागेको छ जसरी मलाई दुख लागेको छ | फेरी ति सहयोगीहरुको हक र अधिकारपनि हो आफ्नो सहयोगको कसरी उपयोग भएको छ भनेर जान्न खोज्नु | भलै कतिले यसप्रति ध्यान दिंदैनन दिएका छैनन् त्यो बेग्लै कुरा हो |
तर यसको मतलव कसैसँग कुरा गरेको एकतर्फी आवाजलाइ आधार मानेर यौन दुराचारीकै आरोप लागाउनु भनेको पूर्णतया गैर जिम्मेवारीपन हो | देशको मूलपत्रिका मानिने नागरिक दैनिक जस्तो पत्रिकाले समाचार प्रवाह गर्न गरेको हतारले एक जना निस्वार्थी समाजसेवीको चरित्रमा लागेको धब्बा धुन अब कसले अघि सर्ने ? नागरिकको एक माफिले पुग्ला ? सोझी र मनकारी दिलशोभाले त लौ माफी देलिन रे | तर जनमानसमा परेको छाप कसरी धुने ?

यस्तै कारणले तर्सिएर अब अन्य समाजसेवीहरुपनि संचार माध्यमबाट टाढै बस्न रुचाउने छन भन्दा अतिशयोक्ति नहोला |

सरकारले घुँडाबाट आँसु चुहाएर त्यहाँका बालकहरुलाई 'उद्धार' त गर्यो | तर अचम्मको कुरा के भने बार्है महिना बार्है काल सडकमा नांगेझार भएर खातेको रुपमा हुर्की रहेका हज्जारौ बालकहरु छन् | तिनको 'उद्धार' मा सरकारको आँखा पर्ने दरकार किन नभएकोहोला ? या कहिले पर्ने हो ? कि आमाघरभन्दा सडकछाप हुनु नै जाति हो भन्ने सरकारको सोचाई छ | त्यसो हो भने त केहि भन्नु छैन |

सारांशमा समाचार बनाऔं तर हतार नगरौ | अशोभनीय काम नगरौं | रिसर्च एण्ड रिपोर्टको सिद्धान्तलाइ अपनाऔं |

No comments:

Post a Comment