Sunday, March 2, 2014

दिलशोभा प्रकरण: केहि प्रश्नहरु -

दिलशोभा प्रकरण: केहि प्रश्नहरु -

डा. रोशन श्रेष्ठ, हाल अमेरिका

दिलशोभा दिदिमाथि लागेको आरोपले थिलथिलो बनाएको मथिंगल अझै शिथिल भइसकेको छैन । शुरुवातदेखि नै आगोसरि फैलिएको यो समाचारमा मेरो आँखा परुञ्जेलसम्म शायद ६-७ घण्टा बितिसकेको हुँदो हो, सर्वत्र 'ओ हो यस्तो पनि !!!' भन्ने भाव र 'यो समाचार सत्य नहोस' भन्ने प्रार्थना भन्दा बढी मैले कहिँ कतै केहि देखिन । मेरो बलवुताले भ्याएसम्मका स्रोतमा आँखा डुलाउँदापनि दिलशोभा दिदिलाइ लखेट्न चाहनेहरु र दिलशोभा दिदि लखेटिएको घटनाक्रम किनारामा बसी टुलुटुलु हेर्नेहरु मात्रै देखिए ।
मलाइ नेपाली समाजको त्यो अवस्थीतिले साह्रै पीडा दियो । र म आफै निम्न वाक्य ऐलान गर्दै अघि सरे - 'समाचारमा जे सुकै आएपनि उहाँको मार्फतबाट यौन दुराचार वा जिउ वेचविखन जस्तो काम कुनै हालतमा हुन सक्दैन भन्ने कुरोमा मेरो मन अडिग छ ।' तत्पश्चात धमाधम 'लाइक', 'शेयर', 'कमेन्ट','रिपोस्ट' र थप प्रश्नहरु आदिका क्रम बढ्दै गयो र समाचारको सत्यतामाथि जनस्तरबाट प्रश्न उठाइन थालियो । पत्रकारको दादागिरी र समाचार आतंकबिरुद्ध जनता जागरुक हुँदै गर्दा थप अन्तर्वार्ता, जानकारी, बिश्लेषणहरु पनि आउन थाले र धमाधम ती आरोपहरु जलन, इर्ष्या, षडयन्त्र र निकम्मापनको सम्मिश्रण नतीजा रहेको अब लगभग पुष्टी भइसकेको छ । आधिकारीक घोषणा हुन मात्र बाँकि छ ।

त्यसपछाडि अहिलेसम्ममा मैले यस्तो देेखे, मैले यस्तो सुने भन्दै हज्जारौ शब्दहरु उक्त प्रकरणको सेरोफेरोमा पोखिइसकेको छ । आपराधिक आशंकामा उठेका जटील प्रश्नहरु 'सरकारी छानविन पछि छिनोफानो हुनेछ' भन्ने आशामा मुल्तवि रहेका छन भने सरकारी छानविनले समेट्न नसक्ने विषयहरु जस्तो कि, नैतिकता, पारदर्शीता, समाजसेवा, मानवीयता आदिका कुराहरुमा घाघडान भनीने र आफुलाइ घाघडान भन्ठान्ने लेखकहरु धमाधम शब्दखेतिका उद्योग गर्दैछन । तर मैले उठाएको निम्न प्रश्नहरु भने फेसबुकका भित्ताहरुमा मात्रै 'लाइक'बटुलेर सुतिरहेका छन । ए शब्दखेतिका घाघडान खेतालाहरु हो, मेरो निम्न सरोकार र प्रश्नमा आँखा डुलाउनोस न एकपल्ट -

गम्भीर प्रश्न:
"सम्पूर्ण छानविन होओस् त, कसले त्यो आरोपपत्र खेस्रा गरे, कसले साफि गरे, कसले प्रशासनमा उजुरी गरे, कसले पत्रकारको हातमा उजुरी पुर्याए, कसले छाप्नको लागि पत्रिकाकार्यालय लगे, कुन सम्पादकले छाप्न अनुमति दिए, कसले छापेको आरोपको हवाला दिदै थप प्रचार गरी आगो सरी फैलाए, कसले प्रशासनसंयन्त्रलाइ तुरुन्तै कारवाहि गर्न उक्साए, कसले कारवाहि गर्ने कि नगर्ने भनी प्रशासनभित्र बहस चलाएर कारवाही तत्काल गर्नुपर्छ भन्ने वातावारण बनाए, कसले नियमन निकायलाइ प्रहरीसंग सहकार्य गराए, कसले छापा मार्ने आदेश दिए, कसले उद्धार गर्ने आदेश दिए, कसले उद्धार गरेर ल्याएकाहरुको निमित्त राख्ने सेल्टरको ब्यवस्था गरे, कसले उद्धार भनाउँदो घटनाको लाइभ कभरेज गरी घटनालाइ सनसनीपूर्ण बनाए - यसरी यो घटनामा संलग्न निकै धेरै मानिसहरु दिलशोभादिदिको बदनामी अभियानका मतियार बनेका छन ।" छानविनले ती जम्मै मतियारका भुमिकाहरु अभिलेखिकरण गर्न र तिनलाइ कानूनी दायरामा ल्याउन पर्छ कि पर्दैन? कि समाचार ल्याउने पत्रकारलाइ मात्रै बलिको बोको बनाएर बाँकि सप्पै षडयन्त्रका मतियारहरुलाइ सुनपानी छर्कन दिने?

सामान्य प्रश्न:
१) सडकमा अनाथ भइ बेसहारा मृत्यू कुरीरहेका बृद्धहरुलाइ सरकारले कहाँ कहिले कसरी उद्धार गरेको रेकर्ड छ र त्यो सरकार भनाउँदो निर्लज्ज कर्मचारीको जत्था हतार हतार उद्धार गर्न आमाघर आउनु पर्यो? के आमाघरको अवस्था सडकमा असरल्ल मृत्यु कुरेकाहरुको भन्दा खत्तम छ?

२) नयाँ नियम बनाएर नियमको हवाला दिन जान्ने उपबुज्रुकले त्यस्ता नियम बन्नु अगाडि देखि नै समाजसेवा गरीरहेकाहरुलाइ जानकारी दिने र नियमन गर्ने जिम्मेवारी तथा दायित्त्व छ कि छैन ?

३) दिलशोभा दिदिले स्पष्ट भन्नु भएको थियो, बालबालिका पाल्ने उहाँको विचार वा उद्देश्य थिएन शुरुवात ताका । तर सरकारी र गैर सरकारी जमातले नै उहाँलाइ जुम्ला पुर्याएर द्वन्द पिडित बालबालिकाको स्थीति स्थलगत भ्रमण गराए र त्यहाँको दुरावस्था देख्न नसकेर उहाँले ३० जना सम्म पाल्छु भन्ने भयो, तर पठाउने बेलामा धेरै बढी (५३ जना हो क्या र) पठाइदिनु भयो । यसरी अनाथ बालबच्चा हस्तान्तरण गर्दा सरकार कहाँ सुतेर बसेको थियो? नियमन गर्ने निकाय कहाँ थियो? के त्यो दिलशोभामाथि इमोशनल ब्ल्याकमेलिङ होइन?

४) 'जस्तो आफु उस्तै च्यापु' - भ्रष्टाचार गर्न मात्रै जानेका कर्मचारी, पत्रकार र पुलिस प्रशासनले एउटा हल्काफुल्का आरोपपत्र तेर्सिनेबित्तिकै कुनै छानविन नगरी मिडियामा ढ्वाङ फुकि, के के गरेजस्तो गरी उद्दार गर्न गइटोपल्नुले तिनीहरुको भ्रष्टाचारी चरित्र उदाँगो हुँदैन ?

५) हाक्काहाक्की यौन धन्दा चलाउने संगठीत गिरोह, भाडाका बच्चाहरु देखाएर बिदेशबाट पैसो मागेर एनजिओ चलाउने कागजि समाजसेवी, कालाबजारी गरेर, कर छलेर अरबपतिमा दरिने ब्यापारी, लिस्ट निकै लामो बन्ला जो हाम्रो समाजमा गलत काम खुल्लेआम गरीरहेका छन, त्यस्तामाथि कार्वाहि कतिको भएको छ, र त्यस्ता अपराधिहरुको जालोमा फस्न विवश भएकाहरुको उद्धार कतिको भएको छ? सरकार र प्रशासनको प्राथमिकता के हो? के आफ्नो निजि स्रोत र सहृदयीसहयोगमार्फत समाजसेवा गर्नेलाइ दु:ख दिने काम सर्कारी प्राथमिकता हो?

फुटकर प्रश्न:
१) मानिसको अन्तिम सम्पत्ति भनेको उसको सार्वजनिक इज्जत र अस्मिताको मर्यादा हो । 'यौन दुराचार' भन्ने शब्दले जनाउछ कि सम्बन्धित मानिस आफै दुराचारमा संलग्न हो, तर फोन गरेर टाकटुक मिलाउनेवालीको रुपमा आरोपित गर्दा त्यो 'यौन दुराचार' कसरी भयो? यति सामान्य ज्ञान पनि नभएका कारण एक निर्दोष महिलाको सार्वजनिक इज्जत र अस्मितामाथि त्यो सम्पादक र पत्रकारहरु मार्फत हुन पुगेको जघन्य अपराधका कारण तिनलाइ पत्रकारीतामा आजिवन प्रतिबन्ध लगाउने कि नलगाउने? त्यो बेवकुफ सम्पादक र पत्रकार त अझै 'हामी निर्दोष' भन्ने आशयको लेख छापेर हिड्याछन रे ।

२) यस्ता पत्रु पत्रकारलाइ च्यापेर पत्रिकालाइ सार्वजनिक ब्यक्तित्त्वमाथि हिलो छ्याप्दै कमाइ खाने भाँडो बनाउन चम्बु प्रकाशकहरुले तिनलाइ जागिरबाट निकाल्लान त? निकालेन भने पनि तिनको पत्रिका खुरु खुरु पैसो तिरेर किन्ने नेपाली जनतालाइ के भन्ने नि? के नेपाली जनता यस्तै झूठमूठ र खुराफाति कुरो पढ्न आफ्ने पैसो खर्च गर्न रुचाउने लम्पटहरु हुन? हैनन भने सार्वजनिक रुपमा यी पत्रिका जलाउने, यी पत्रिका बेचबिखन गर्ने लोभि ब्यापारीको उछित्तो काढ्ने, यी पत्रिकाका प्रकाशक, समाचारदाता, पत्रकारहरुलाइ सार्वजनिक बहिष्कार गर्ने किन सक्दैनन त? नेपाली जनता किन यस्तो भालुभुत्ते भएको?

३) पैसो तिरेर किनेर पढेको समाचारले गलत समाचार दिन्छ भने त्यो सच्चाइ माग्ने काम उपभोक्ता अधिकार भित्र पनि पर्छ । कै उपभोक्ता अधिकार संरक्षण मञ्च वा संस्थाहरु बोलेको? खै अन्य सरोकार समुहहरु बोलेको? समाजसेवीमाथि मनगढन्त आरोप लाग्दा खै समाजसेवीहरु बोलेको? क्रिश्चियन धर्मावलम्बीमाथि आरोप लाग्दा देशका ४ हजार गाविससम्मै छरिएर रहेका चर्च संस्थानहरु खै बोलेको? नेवार चेलीमाथि मनगढन्त आरोप लाग्दा खै नेवार संघ संस्थाहरु, आदिवासी जनजाति महासंघहरु बोलेको ? बालउद्दार, वृद्दउद्दारमा लागेका मानिसमाथि मनगढन्त आरोप लाग्दा खै बालअधिकार मञ्च, सिविन, इन्हुरेड, के के के के नामधारि अधिकारकर्मीहरु बोलेको? के तिमारु सपैलाइ सहि कुरो बोल्न पनि 'डलर' नकोचेसम्म बोली नफुट्ने हो? पातकिहरु? (अब मैले थाहा पाउनु अगाडि नै बोली सक्या भए मेरो प्रश्न फिर्ता लिन्छु है)

थप प्रश्नहरु:
१) दिलशोभा दिदिको आमाघर दर्ता भएर शुरु भएको होइन सबैलाइ थाहा थियो, कुनै समय सरकारी सहयोग दिने तारतम्य मिलाउँदा दर्ता नगरी सरकारी सहयोग मिल्दैन भनेपछि केहि स्वयंसेवीहरुको सहयोगमा दर्ता गरेको र त्यो बेला वृद्धहरुको हेरचाह मात्रै हुने भएको हुँदा त्यति नै मात्र अनुमति लिएको थियो अरे । पछि उनलाइ सरकारी गैर सरकारी निकायहरुले नै द्वन्दपिडित बालबच्चाको जिम्मा लगाएका हुन अरे, ती नियमकानून जानेका खुराफातीहरुले दर्ता नभएको संस्थालाइ बालबच्चा हस्तान्तरण गर्दा त्यो जान्ने बुझ्नेको नजरमा 'गम्भीर अपराध' नहुने, तर नियम कानून नजाने तापनि स्वच्छ मनले सेवा गर्छु हेरविचार गर्छु भनेर ग्रहण, पालनपोषण र शिक्षादिक्षा दिनेको काम 'गम्भीर अपराध' हुने? यो कुरोमा ती बालबच्चा हस्तान्तरण गर्न सहयोग गर्ने नेता, सामाजिक कार्यकर्ता, सरकारी गैर सरकारी कर्मचारी देखि बालबच्चा ल्याउन सहयोग गर्ने त्यति धेरै मानिसहरु किन नबोलेका हुन? के तिनले तिनका कारण प्रत्यक्ष अप्रत्यक्ष समस्या शृजना गरेर एक समाजसेवीलाइ फसाइँदा बोल्न पर्छ भन्ने सामान्य मानवीय चेत पनि छैन ?

२) पटक पटक बीर अस्पतालको इमर्जेन्सी, प्रहरी कार्यालय, टोल वडा सुधार समिति आदि थुप्रै निकायमा अनाथ असहाय रहेका बृद्द र बालबच्चाहरु तिनलाइ हेर्ने सम्बन्धीत मानिस कोहि नभइ बिलखबन्दमा पर्दा खेरी दिलशोभा दिदिलाइ फोन गरी गरी 'लौ दिलशोभा यहाँ एकजना साह्रै अनाथ यत्तिकै परिरहेको छ, लिन आइदिनु पर्यो, हेरि दिनु पर्यो, केहि दिन राखि दिनु पर्यो' आदि भनी तिनका आमाघरमा राख्न लाने गरेको साँचो हो कि हैन? ती आधिकारीक निकायहरुले त्यसरी अनाथ असहायहरु पठाउँदा मापदण्ड र कानूनि आधार बारे किन कहिल्यै नसोधेको? मापदण्ड र कानूनी आधार नभएको त्यस्तो ठाउँमा पठाउने ती निकायहरुलाइ कार्वाही गर्नु पर्छ कि पर्दैन? कार्वाही कसले गर्ने हो?

३) दिलशोभा दिदिको आमाघरको फोटो खिचेर, बालबच्चा र वृद्दहरु देखाएर हामीले यस्तो समाजसेवा गरेका छौ भन्दै डलर माग्ने मगन्ते एनजिओहरुले पटक पटक खुराफाति कर्म गरेको दिलशोभा दिदि आफैले पत्तो पाउनु भएको थियो । ती खुराफातिहरुले स्कुल गएको बेला, दिलशोभा दिदिको नजर पछाडि र अन्य कुनै पनि मौकामा बालकहरुलाइ आर्थिक र अन्य प्रलोभन देखाइ दिलशोभा दिदिबारे अण्टसण्ट बक्न लगाइ रेकर्ड गरेर प्रोपोगाण्डा मच्चाउन सक्ने सम्भावना प्रति ध्यान पुगेको छ कि छैन ? त्यस्तो प्रोपोगाण्डा मच्चाएर दु:ख दिनेहरुलाइ कार्वाही गर्ने आधार, कार्यक्रम र सँजायका प्रावधान के के छ ? कसले यो काम गर्न थालेको छ?

2 comments:

  1. यथार्थमा अाधारित तर्कयुक्त प्रश्नहरू जुन घटना प्रसंगले उब्जिएका थिए, तिनीहरूलाई क्रमश: शैलीयुक्त ढंगले राखिदिएर पाठकअलाई ज्यादै क्रितज्ञ बनाउन सफल हुनुभएकोमा हार्दिक धन्यवाद

    ReplyDelete
  2. It is nice to see people like yourself writing up in support of Dil Shobha Didi.

    ReplyDelete