नेवा: स इन्टरनेट रेडियो

Monday, March 3, 2014

धुन्धुकारीहरुको चंगुलमा दिलशोभा दिदि - एक पछि अर्को आरोप - खै त पुष्टी गरेको?

धुन्धुकारीहरुको चंगुलमा दिलशोभा दिदि - एक पछि अर्को आरोप - खै त पुष्टी गरेको?

डा. रोशन श्रेष्ठ, हाल अमेरिका

March 2, 2014 at 9:46pm

दिलशोभा दिदिमाथि लागेका आरोपहरु एकमात्र छैनन, थुप्रै छन । ती आरोपहरु एकपछि आर्को गर्दै क्रमैसित आए र पटाक्षेप हुँदै गए । पछिल्लो सेतोपाटिको खोजमुलक भन्न मिल्ने अमित ढकाल र किरण भण्डारीजुको रिपोर्टिङले अब यस घटनालाइ अपुरो अडियो रेकर्डको कारण हुन गएको 'मिसअण्डर्स्ट्याण्डिङ'को रुपमा विश्लेषण थपेको छ । म त्यसलाइ 'खुराफाति कुरो' भन्न रुचाउँछु । यद्यपि उक्त लेखले दिलशोभादिदि माथि साँगोपाँगो मुल्याङकन गर्न र एक हदसम्म पुर्वाग्रहरहित विचार पस्किन प्रयास गरेको देखिन्छ ।



घटनाक्रम यहाँसम्म विकास भइसक्ता आरोप लगाउनेहरु माथि कुन समयमा कुन आरोप कुन उद्देश्यले लगाइयो भनी छानविन नगरी तिनलाइ उनमुक्ति दिने हो भने दिलशोभा दिदिको चरित्रहत्या अभियानको विरुद्ध दर्हो प्रश्न उठाइ उहाँको सद्चरित्र र समाजसेवी छविमाथि धब्बा लाग्न नदिने अभियन्ताहरुमाथि निश्चितै रुपमा अन्याय हुन जानेछ । यी अभियन्तामाथि न्याय गर्नको निमित्त ती पीतपत्रकारीता गर्ने पत्रकारहरु, ती पुर्वाग्रही कर्मचारीहरु, ती षडयन्त्रकारी मतियारहरु आदि इत्यादिलाइ कानूनको दायरामा ल्याउन जरुरी छ । दयामायाका खानी दिलशोभा दिदि त आजभोली नै - 'भैगो नि त उहाँहरुले मलाइ आरोप लगाएर यति कुरा गर्ने मौका दिनु भयो, मेरो बारेमा थाहा नहुनेलाइ थाहा पाउने मौका मिल्यो, राम्रो नै भयो, यसैमा म खुशी छु, आरोप लगाउनेहरुलाइ पनि आवश्यक परे सेवा गर्न पाउँ भनी पुकार गर्छु । हैन ?' भनी भन्दिनु हुनेछ, हेर्दै जानु होला ।



यसैवीच दिलशोभादिदि सहि हो वा गलत भन्ने विवादका क्रममा थुप्रै नसोचेका कुराहरु देख्न पढ्न पाइयो । नेपालका केहि स्वनामधन्य बुद्धिजिवि, कर्पोरेट नेतृत्त्व र एनजिओ आइएनजिओ कर्मीहरु खुल्लेरै दिलशोभा दिदिको 'अक्षम्य गम्भीर अपराध', 'हठबादिता', 'दुर्भाग्यपूर्ण परिवन्द'का मसला उछाल्दै दिलशोभा दिदिको तेजोबध गर्न ओर्लेको देख्दा तिनका बौद्धिक निरिहतामा चुकचुक गर्नु पर्ने अवस्था देखियो । नागरिक न्यूज र तिनको भगिनी संस्था जस्तो हरकत गर्ने माइसंसार ब्लगले प्रस्तूत गरेको अडियो, फोटो, भिडियो भन्दा थप कुनै सान्दर्भिक र विश्वासयोग्य प्रमाण कसैले दिएको देखिएन । शब्द खेति गरेर सानो कुरामा पनि फुलबुट्टा भरेर ठूलो मुद्दा बनाउने तिनको कागजी क्षमता नहुँदो हो त ती कुराहरु कुनै ५ कक्षा पढेका सामान्य बिद्यार्थीले पनि पत्याउने थिएन होला । तिनले शब्द खेलाउन जान्ने आफ्नो क्षमता गलत ठाउँमा प्रयोग गर्दा दिलशोभा दिदि जस्ता उच्च सेवाको भावले लागि परेका मानिसमाथि किच्चड छ्यापेर आत्मरतिमा रमाउन चाहने स्वार्थितप्काका मानिसहरु हौसित भइ नाजायज आरोपहरु एकपछि अर्को गर्दै लगाउँदैछन । भलै ती आरोपहरु फिक्का हुने क्रम र प्रतिप्रश्नको जवाफ दिन नसकेर आरोप लगाउनेहरु नाजवाफ हुँदै जान परेको अवस्था पनि देखिएकै छ ।

दिलशोभा दिदिमाथि संगठित आक्रमण जस्तो देखिने एक पछि आर्को गरी निस्केका आरोपको सिलसिलालाइ सामान्य रुपमा पुनरावलोकन गर्दा यस्तो देखियो ।

१) आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको - यो प्रथम सन्नसनीखेज आरोप थियो, तर अहिले यो आरोपको शब्दार्थ नै आरोप लगाउनेले दिन नसक्ने हैसियतमा पुगेको छ । दिलशोभा दिदिमाथि नकारात्मक दृष्टी राख्ने मानिसहरु समेत यो शब्दमा बहस गर्न चाहँदैनन । कुनै छानविन नहुँदै आरोप गर्नेहरु परास्त भएका छन ।

२) वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको - यो आरोप 'देह ब्यापार गर्यो' भन्ने मनसायको आरोप हो । उनले मागेको पैसा आफुले लिने नभइ सेवा गर्नेको घरखर्चको निमित्त मागिएको र क्यान्सरपिडित वृद्ध, जो बेला बेला बेहोस हुने गरेको,को घरमा नै बसेर हेरचाह गर्न पठाएको भनेपछि त्यसबारे पनि सबै चुप लागेका छन । दिलशोभामाथि नकारात्मक सोच राख्नेहरु अब यो कुरो पनि उठाउन चाहँदैनन ।

३) संस्थाको सम्पर्कमा आउने कतिपय महिलाहरुलाई अनैतिक काममा समेत लगाउने गरेको, जसको अडियो क्लिप पेश गरेका छौँ। त्यो अडियो नै दिलशोभाको कर्तुतको पर्दाफास हुनेछ। - यो आरोप लगाउनेहरु नै अहिले अडियो क्लिपलाइ गलत बुझेकोमा पश्चाताप गर्नतिर लाग्दै छन । तिनका पश्चातापले दिलशोभामाथि पुर्याएको नोक्सानको क्षतिपुरति हुन सक्तैन ।

४) धर्म परिवर्तनको आरोप - दिलशोभा आफनो परम्परागत धर्म त्यागेर नयाँ धर्म ग्रहण गरेकि हुन, त्यो उहाँको ब्यक्तिगत स्वतन्त्रतालाइ आधुनिक समाजमा कसैले औलो उठाउन मिल्दैन । बौद्धिक बहसमा यो मुद्दा छिरेकै छैन भने सामान्य बहसमा कोहि कोहि धर्मान्धहरु पुर्वाग्रह राखेर यो कुरो जोड्छन, जसको कुनै महत्व नै छैन । धर्म प्रचारको आरोप छद्म नाम हुने बाहेक अन्य कसैले लगाउन पनि सकेका छैनन ।

५) अनुमति नलिइ सञ्चालन गरेको - यो आरोपमा जुन निकायले अनुमति र अनुगमन दिने हो, उसले नै बालबच्चा पठाउन सिफारिश गरेको पत्र सार्वजनिक भए पछि अनुमति नलिइ सञ्चालन गरेको आरोप लगाउनेहरुको नैतिक धरातल नै खोक्रो भयो । कोहि कोहि नियम कानूनका अजासु, कागजी तथ्यांक र ब्यवस्थापनका खेलाडीहरु 'दर्ता नगरी चलाउन पाइन्छ?' भन्छन, तिनलाइ ती असहाय वृद्ध तथा टुहुरा बालबच्चाहरु पनि दर्ता नगरी त्यस्तो हालतमा पुगेका हुन भन्ने हेक्का छैन । उदार दिलले गर्ने सहयोग र सद्भावना दर्ता कुरेर बस्तैन भन्ने सामान्य ज्ञान नहुँदा त्यो 'दर्ता खोइ?' भन्ने प्रश्न जोक झै सुनिने कुरोमा उनेरुको हेक्का पुगे राम्रो ।

६) खाना, पानी, लुगाफाटा यथेष्ट नपुगेको, - सरकार आफैले पानी दिन नसक्ने ठाँउमा दिलशोभाले नुहाउन पानी पु्ग्ने बन्दोवस्त गरेन भनेर आरोप लगाउनु जस्तो हास्यास्पद कुरो केहि होला यो दुनियाँमा? दिलशोभा आफै निकै धनी र सम्पन्न भएर च्यारिटि चलाएको मानिस हैनन, जति आफुले सकिन्छ त्यति बाँडि चुडि गर्ने मानिस हो भन्ने जान्दा जान्दै यसरी पुग्दो खाना नदेको, राम्रो लाउन नदेको, नुहाउने पानी नभएको जस्तो आरोप लगाउनेहरुलाइ पाखण्ड-प्रदर्शन गरेको भन्दा बढी के भन्न सकिएला?

७) सरसफाइ नपुग भएको - आमाघरमा सरसफाइ खत्तम रहेको र ब्यवस्थापन लतालिङग रहेको, दिशापिसावको दुर्गन्ध र भीडभाड तथा अन्योलको वातावरण रहेको चित्रण त्यहाँ घुम्न जाने र स्वयंसेवा गर्न जानेहरुको कलमबाट पटकपटक पढीयो । मैले नोटीस गरें कि ती गुनासो गर्नेहरु जम्मै जसो सम्पन्न उच्च मध्यम वर्गका मानीसहरु, जो जिन्दगीमा अभावलाइ आफै नझेलेकाहरु, सडकमा जीवन बिताउन नपरेकाहरु, र अझ धेरै जसो त सरकारि विद्यालय समेत पढ्न नपरेका, महँगो निजि विद्यालयका उत्पादनहरु थिए । तिनले कहिल्यै भान्छामा खान खान बस्तै गर्दा सानो काखे नानीले त्यहि भान्छा आचि गरिदिएर खाएको खाना छोडेर आचि सफा गर्न हिड्नु परेको अनुभव होला? त्यस्तो घटना बालबच्चासहित सगोल बस्ने निम्न मध्यम वर्गका परिवारमा प्राय सामान्य अवस्थामा देखिन्छ । ती सरसफाइमा गुनासो गर्नेहरुले कहिल्यै 'खोक्दा र हाइ गर्दा पनि पिसाब वा दिसा पुर पुर निकाल्ने रोग लागेका' वृद्धहरु स्याहारेको वा एकै कोठामा बसोबास गर्न परेको अनुभव होला? हेर्नोस यी शास्वत अभावका अवस्थाले सरसफाइमा चाहेरै पनि धेरै सम्झौता गर्ने पर्ने हुन्छ । एक्लो दिलशोभा दिदिले ती सबै कुराहरु आफैले कसरी झेलेका होलान, कल्पना गर्नुस त?

८) रेकर्ड नभएको - दिलशोभाले पटक पटक सार्वजनिक रुपमै भन्दै आएको हो, म कहाँ बस्न सिफारिस चाहिन्न, नागरिकता चाहिन्न, कुनै औपचारिकता चाहिन्न, दु:ख पाएको मानिस त्यस्तो औपचारिकताको झमेला गर्न सक्ने वा जान्ने हुँदो हो त सडकमा फालिने थिएन होला । उनले रेकर्ड राखेको भए राम्रो हुन्थ्यो, तर उनको प्राथमिकता रेकर्डको औपचारिकताभन्दा पनि सार्थक र सहज सेवा हो भन्ने जान्दाजान्दै यस्तो आरोप लगाउने र त्यसको पछि कुद्नेले समाजसेवाको मर्म नै नबुझेको स्वाँठपना प्रदर्शन गरे त ।

९) सहयोगका सामान बेचिने गरेको - अभावमा सञ्चालन हुँदा र खपत हुनुभन्दा बढी प्राप्त सहयोगलाइ बेच्नु त सहयोग-ब्यबस्थापन नै हो । आमाघर सञ्चालनका भित्री चुनौतिबारे बेखबर इर्ष्यालु बच्चाहरुको भनाइमा आधारित यस्ता आरोपको कुनै तुक नभएको हुँदा दिलशोभाको बिपक्षमा रहेका बौद्धिकहरु समेत यो आरोपलाइ मुद्दा बनाउन तैयार देखिन्नन।

१०) औषधोपचार र वार्षिक स्वास्थ्य जाँच हुने नगरेको - हा हा, वृद्धहरुको औषधोपचार कति महँगो छ, आफ्ने बाबुआमाको औषधोपचार गर्न कठिनाइ भएर वृद्दसदस्य भएका लाखौ घरपरिवार तनावमा छन अचेल । वार्षिक स्वास्थ्य जाँच नेपालमा लक्जरी हो, विरामी परेर सिकिस्त हुँदा पनि डाक्टरको मुख देख्न नपाउने ठाममा यस्तो आरोप लगाउनु त मगज खुस्केको मान्छेले मात्र सक्तछ । दिलशोभा दिदि भन्नु हुन्थ्यो - कति आमाहरु ल्याएको बेलादेखि नै बिरामी, कति पछि पनि बिरामी हुन्छ, जँचाउन औषधि गर्न पैसा पुग्दैन, ४-५ जना डाक्टरसाहेबहरुले सितैमा जाँच्दिनु हुन्छ, आपत पर्दा उहाँहरुलाइ फोन गर्छु, कहिले फुर्सत नभएर आउन पनि सक्नु हुन्न । बिरामी पर्यो भने मलाइ सबभन्दा गाहारो हुने । यस्तो वास्तविकता पन्छाएर आरोप लगाउने र उचित हेरचाह हुनु पर्छ भन्नेहरु भने आफै जिन्दगीमा कहिल्यै कसैलाइ सेवा नगरेका स्वार्थी मानिस होलान भन्छु है म त । सेवा गर्न कति गाहारो छ भनेर बुझेका मानिस यस्तो आरोप लगाउनु अगाडि दशचोटी सोच्नेछन ।

११) बालबालिका परिवारसित सम्पर्क गर्न नदिएको कुरो - यो साह्रै खिच्चड कुरो । परिवार हुनेहरु आमाघरमा आउन जरुरत नै छैन, त्यसैले यो आरोप हावा हो । यदि हैन भने, परिवार भएका बच्चा आश्रयहीन भन्दै कसरी आमाघर ल्याइए, किन ल्याइए, कहिले ल्याइए, कसको मार्फत ल्याइए, त्यो छानविन हुनु पर्छ । उता परिवार हुने, यता अनाथ भनी दिलशोभाको घरमा बसेर मुफतमा खाना, पढाइ, बसाइ, कापीकलम, लुगाफाटा आदि ग्रहण गर्नु भनेको दिलशोभादिदि माथि ठाडै शोषण हो । ती बच्चाहरु अनाथ हुन भनी त्यहाँ ल्याउन सहयोग गर्ने सबैलाइ कारवाही गरी ती बच्चाहरु तत्काल निश्कासीत गरी उनको परिवारलाइ हस्तान्तरण गर्नु पर्छ । तर दिलशोभालाइ लखेट्न रुचाउने बौद्धिकहरु यो मामिलामा चुपचाप रहेका छन, किन तिनलाइ उद्दार गरेर परिवारको जिम्मा लगाउनुको सट्टा अर्को अनुमति नै नलेको, पुर्वाधार नै नभएको, मापदण्ड नै पुरा नगरेको संस्थामा जवरजस्ति प्रशासन यन्त्रको सहयोगमा लगियो भनेर कसैले प्रश्न उठायो? खुराफातिहरु?

१२) बोराका बोरा पैसा अन्त लगिएको - जसले समाजसेवा गर्न आफ्नो घरमा टन्न बहाल तिरिबसेका डेरावालहरुलाइ उठाएर पठाए, आफ्नो फस्टाउँदो होजियरी ब्यापार बन्द गरे, भएका गरगहना बेचे, तिनले बोरामा पैसा कोचेर अन्त लग्यो भन्ने कुरो पत्याउन त त्यो पैसासहितको बोरा सार्वजनिक नगरेसम्म पत्याइन्न । यस्ता स्याल हुइँयाहरुपछाडि थोरै पनि दिमाग भएका मानिस लाग्ने वाला छैनन ।

१३) बाहिरी आवरणमा सामाजिक काम गरेर अर्न्तराष्ट्रिय रुपमा ख्याती कमाए पनि भित्री वास्तविकता अपराधको रुपमा देखिन्छ, जसलाई अहिलेसम्म सम्वन्धित निकायले समेत अनुसन्धान गर्न सकिरहेको छैन - यो पूर्णत झूठ हो । उनको कुन कुन गतिविधि अपराध हो, त्यो अपराधले कस कसलाइ के के नोक्सान पुरायो? यसमा कसैले केहि तथ्य प्रमाण पेश गर्ने सकेको छ? अनुसन्धान गर्न नसकेको हैन, नगरेको हो भन्ने त रमेश खरेलको भनाइले नै पुष्टि गरीसक्यो । उनले कसैले अनुसन्धान गरिदिनु पर्यो भनी नभनेकोले कुनै अनुसन्धान नगरेको भनेर भन्दा म छक्कै परें । उक्त क्षेत्रको सुरक्षा ईञ्जार्जलाइ अरुले अनुरोध गरेपछि मात्रै अनुसन्धान गर्ने, आफै अघि सरेर गर्न नहुने भन्ने रहेछ , उनको गुण्डा नियन्त्रण वा अन्य कामहरु पनि अरुले आग्रह गरेकोले पो गरेको? यस्तो संवेदनशील सवालमा सत्यतथ्य छानविन गर्ने उनको कुनै पदीय, कानूनी, नैतिक र सामाजिक दायित्व छैन ? उनी रोबोट हुन र? हैनन भने उनले यी गलत आरोप लगाइ चरित्रहत्या गर्नेहरु कोबाट संचालित छन भनेर अनुसन्धान गर्नु पर्ने होइन र?

१४) बुढाबुढी बालबच्चालाइ गाली गरेको - यो आरोप बुढाबुढी र बालबच्चालाइ कहिल्यै नस्याहारेको आत्मकेन्द्रीत मान्छेले लगाउने आरोप हो । दिलशोभा दिदिले भन्नुभएको थियो - ओ हो कुनै वृद्ध त यस्तो फोहर अवस्थामा रहेको हुन्छ,तिनलाइ सरसफाइ गर्न कस्तो गाहारो, डुङ डुङ गनाएपनि नुहाउन नै नमान्ने, तातो पानी दिन्छु भन्दा पनि नमान्ने । अनि त जबरजस्ति गर्नु पर्छ, कोहि कोहि त नुहाइदियो भनेर ह्वाँ ह्वाँ रुएर गाली गर्ने, २दिन सम्म नबोली बस्ने हुन्छ, फेरि बिस्तारै फकाउनु पर्छ । बच्चाहरु पनि, कोहि कोहि साह्रै झगडालु हुने र अरुलाइ दु:ख दिने । सानोमा सबै त्यस्तै हो नि हैन, विचरा, उसको आमाबाबु भएन भए पो के गर्न हुन्छ के गर्न हुन्न थाहा पाउँछ । थाहा नै छैन उसले अरुलाइ दु:ख दिएको, अनि त कहिलेकाहि गाली पनि गर्ने, ल । - के ४०-५० जना बालबच्चा गाली नगरी एक्लै हुर्काउन सम्भव छ ?

१५) इनार भएको ठाउँमा बच्चा सुताएको - यो पनि कुनै आरोप हो? उनको घरमा ठाउँ नहुँदा नहुँदा पनि बच्चा र वृद्धहरु पठाएको पठाएइ गरेपछि यस्तो नतीजा निस्केको हो भन्ने त्यति सामान्य ज्ञान पनि छैन? कोहि कोहि बौद्धिकले 'क्षमताभन्दा बढी नसक्ने भए सक्दिन अन्त लानुस भन्न सक्नु पर्थ्यो' भन्ने तर्क गरेको देखे, त्यो तर्क जायज नै हो, तर दिलशोभा दिदि सहायताको याचना मागेपछि नाइ भन्नै नसक्ने चरित्रको पर्नु भयो । र उहाँकोमा आएका मानिसहरु पनि प्राय: अन्त सिडियोको सिफारिस, नागरिकता आदि कागजि प्रवन्ध मिलाउन नसकेर परित्यक्त भएकाहरु हुने भएकोले उहाँ हम्मेसी सहयोग माग्नेलाइ फिर्ता नपठाउने गर्नु हुँदो रहेछ । त्यो मानवीय पक्षको दाँजोमा यो आरोप त कति सन्दर्भहीन छ, भनी साध्य छैन ।

१६) बालबच्चाहरु सडकमा सुत्ने बच्चा नभएपनि ‘रोडमा सुतेको बच्चालाई ल्याएर पालेँ’ भनेको - यस्तो आरोपलाइ भन्छ 'सबै कुरो छोडेर पुच्छरमा हात', यी कुरा गर्नेले अब अरु यौन दुराचारको आरोप र माथि उल्लेखित आरोपहरु जसले भने त्यसले पुष्टि गर्ला रे, अनि यो चाहिं गम्भीर आरोप रे । दिलशोभाले कतै कुनै ठाउँमा ‘रोडमा सुतेको बच्चालाई ल्याएर पालेँ’ भनेको होला, तर उनले शुरुवात देखि नै र धेरै ठाउँमा द्वन्दपिडित बालबच्चालाइ पाल्न थालेको भनेर भनेकि छिन । को द्वन्दपिडित हो वा होइनन भनेर उनी आफै छानविन गर्ने नभइ, कसैले यो पनि द्वन्दपिडित हो, यसको कोहि हेरिदिने छैन, साह्रे विजोग भयो दिलशोभा, लौ न हेरिदिनु पर्यो भनेपछि उनी ती बालबच्चा अंगाल्न तम्तयार हुन्थिन । यसैक्रममा कोहि कोहि सडकमा यत्तिकै लडिरहेको भनेर ल्याएका पनि छन होलान । यो आरोप लगाउनेले उनले ‘रोडमा सुतेको बच्चालाई ल्याएर पालेँ’ भनेको बाहेक अन्य अन्तर्वार्ता पनि सुनेको होलान नि त? कस्तो पुर्वाग्रही सोच । छि !

१७) कमाउ धन्धाको रुपमा बालबालिका आश्रय - यो आरोप दिलशोभा दिदिमाथि ठाडै लगाउने हिम्मत त कसैको भएन तर अरु कमाउ धन्दा गर्नेहरु देखाएर दिलशोभादिदिलाइ पनि 'उस्तै उस्तै हो' भनेर देखाउने दुष्प्रयास गरिएको छ । तिनले एक बालकले 'टुकराज' नाम भनेकै आधारमा यस्तो गहन आरोप लगाए । जब कि त्यो बालक आफै दिलशोभालाइ धोखा दिइ आफ्नो परिवार छँदा छँदै द्वन्दपिडितको नाउँमा मौका लुट्न आएका फटाहा हुन भन्ने पुष्टी उनकै कुराबाट भएको छ । तिनीहरुले प्रयोग गर्ने 'टुकराज' जस्ता 'दलाल'हरुलाइ तिनीहरुले नै गाँउमा दिनरात 'लौ न टुकराज दाइ हामीलाइ पनि काठमाण्डौ लगिदिन पर्यो' भनेर चाकडी गरेर हैरान बनाएपछि 'टुकराज'हरुले तिनलाइ यता सिफारिश गरेको हुनु पर्छ भन्ने मेरो बुझाइ रहयो, यो दिलशोभा माथि धोखेबाजी हो र उनले प्रदान गरेको सुविधाको अपचलन हो । तर्कै त हो, यदि टुकराजको नाउँमा टेकेर कमाउ धन्दाको आरोप लगाउन मिल्छ भने टुकराजकै नाउँमा टेकेर धोखेवाजी र सुविधाअपचलनको प्रत्यारोप लगाउन किन नमिल्ने ?

१८) बालबालिका बिदेश गैरकानूनी तरीकाले बिदेश पठाइयो - यो आरोप पनि 'यौन दुराचार' जस्तै जघन्य आरोप हो । २ जना बालबालिका बिदेश पुगेको साविति बयान दिलशोभा दिदिले दिइ नै सकेको छ, भने ती कुन कानूनमा टेकेर बिदेश गएका हुन कसैले छानविन गर्यो? छानविन गरेको छैन भने गैर कानूनी भनेर आरोप लगाउनुको कुनै तुक छ? दिलशोभा दिदि आफ्नो शरणमा आएको बालबच्चालाइ हम्मेसी अन्त पठाउन नचाहने, र पठाउँदा उद्दार हुन्छ भन्ने विश्वस्त हुनु भयो भने फेरी पठाउन पनि तयार हुने, यस्तो सरल चरित्र उहाँको निम्ति नै घातक हुन्छ भनेर मैले पनि सुझाव दिएको हो, अन्य थुप्रैले पनि आफुले दिएको सुझावहरु उचित सुनवाइ नभएको गुनासो गर्नु हुन्छ । त्यो छुट्टै कुरा गरुँला । तर विदेशमा गयो भने राम्रो हुन्छ, उद्दार हुन्छ भन्ने आम नेपालीको सोच जस्तै उहाँको पनि सोच रहेको हुँदा बिदेशबाट बच्चा लाने प्रस्ताव आउँदा उहाँले सहजै स्वीकृति दिनु भएको होला भन्ने मेरो अनुमान हो । हामीसितको भेटमा पनि उहाँले 'बाबुआमा गुमाउनु परेको बालबच्चाहरुलाइ यस्तो राम्रो ब्यवस्थीत नियमकानुन भएको ठाउँमा कसैले पाल्छु हुर्काउछु भन्यो भने त उनीहरुको जिन्दगी नै बन्छ नि हैन?' भन्नु भएको थियो । बालबच्चा हस्तान्तरण पछाडिका जटील नियमकानून तथा आपराधिक जालोहरुप्रति उहाँ असचेत हुनुहुन्थ्यो । यी सबै पक्षहरु केलाएर आरोप लगाएको भए पो, 'दुइ जना बिदेशमा छ भन्यो, ल हेर यिनले त बिदेशमा पनि बेच्दो रहेछ'- यस्तो पनि आरोप लाउने तरीका हुन्छ?

१९) सुधार गर्न भनेर सरकारले दिएको सुझावको बेवास्ता - यस आरोपको सन्दर्भमा सर्वप्रथम त सरकारि अधिकृतहरुले झूठ बोलेको प्रमाणित भइसकेको छ । उनीहरुले बारम्बार सुधार गर्न भनेको दावि गरे, अनि पछिल्लो पल्ट कहिले त भन्दा खेरी '३ बर्ष अगाडी रे'। जबकि दिलशोभा दिदि ५ वर्ष अगाडि एकपल्ट हेर्न आएको र त्यसपछि कहिल्यै नआएको भन्नु हुन्छ । त्यस्तै सरकारी निकायले सुझाव वा निर्दैसन दिएको कुनै लिखित प्रमाण पनि छैन रहेछ । जुन निकायले दर्ता नगरी चलाउनु गम्भीर अपराध भन्छ तर सुधार गर्ने दिएको निर्देशन 'लिखित' नराख्नु चै 'गम्घीर अपराध' भएन? फटाहाहरु?

२०) दर्ता गर्ने भनेको तर दिलशोभाले नटेरेको - यो जस्तो हावादारि आरोप के होला र? दर्ता नभएको संस्थामा बालबच्चा पठाउन सिफारिश किन गरेको नि? बालकल्याणको सिफारिसमा तीन, कालिकोट, हुम्ला, मुगु लगायत सिडिओ,गाविस, जिल्ला बालकल्याण समितिको सिफारिसमा तीस जनाभन्दा बढी बच्चा राखेको कुरा असत्य हो? वृद्धहरु स्याहार्न सरकारी सहयोग दिँदा दर्ता नगरी सहयोग दिन मिल्दैन भनेर दर्ता गराए जस्तै बालबच्चा पठाउन सिफारिस गर्दा पनि दर्ता नभइ सिफारिश गर्न मिल्दैन भन्न पर्दैन थ्यो? कि दर्ता नभएको संस्थासित पत्राचार गर्ने अधिकार कर्मधारीलाइ छ? छ भने ती कर्मचारीहरु दर्ता नभएको खुफिया संस्थामा संलग्न रहेको हुन सक्ने आशंकामा छानविन थाल्नु परो, छापा मार्नु पर्यो नि त । खाली पानी माथि ओभानो बन्ने? लम्पटहरु?

२१) आर्थिक सहयोग पारदर्शी नभएको - नियमनहो हिसावले आर्थिक सहयोग पारदर्शी बनाउनु पर्ने नियम संसारभर नाफारहित संस्थाहरुको निमित्त पहिलो शर्त हो । त्यसैले सफा नियतले आएको यो आरोप प्रति दिलशोभा दिदि र उहाँको शुभचिन्तकहरुले धन्यबाद दिनु उपयुक्त हुन्छ । तर नेपाल, जहाँ नाफारहित संस्थाको नाममा ब्यापक भ्रष्टाचार हुन्छ, त्यहाँ यो पारदर्शीता पनि भ्रष्टहरुको निमित्त मागीखाने भाँडो बन्ने निश्चित छ । 'तपाइको संस्थालाइ यत्रो पैसा आउने रहेछ, हामीलाइ पनि अलि अलि हेरिदिनु पर्यो, हाम्रो मानिसलाइ काममा लगाइदिनु पर्यो' जस्ता प्रतक्षय अप्रत्यक्ष दबावहरु आउने गर्छ । त्यस्तो दुषित वातावरण छ, यदि त्यो दुषित वातावरण हटाउन नसक्ने हो भने बरु सहयोगहरु पारदर्शी नभएकै जाति ।

२२) डलरखेतिको आरोप - यो सस्तो आरोप हो । यस्तो उद्दार संस्था चलाएर डलरखेति हुन्छ भने आरोप लगाएर किन बसीरहेको? बरु आजै उद्दार संस्था खोलेर डलर खेती गर्न थाले भो नि त, नेपाललाइ नि फाइदा, संस्था चलाउनेलाइ नि फाइदा, उद्दार हुनेलाइ त फाइदा नै भयो । पशुपति परिसरमा मात्रै पनि उद्दा भइमाग्न बसेका बग्रेल्ति बृद्धहरु छन, त्यो नगरेर किन आरोप लगाएर बस्ने?

२३) कर्मचारी नराखी आफै चलाउन खोजेको आरोप - घटनामा संलग्न कर्मचारीहरु संगीता तामाङ र अप्सरा गुरुङको भुमिकाले नै यो आरोपको धेरै हदसम्म जवाफ दिन्छ । मनग्य आर्थिक स्रोत र मन लगाएर काम गर्नेहरु उपलब्ध हुँदो हो कर्मचारी राखिन्थ्यो होला, कर्मचारी किन नराखेको भनेर प्रश्न सोध्नेले जति कर्मचारी चाहिने हो, तिनलाइ म स्पोन्सर गरिदिन्छु भनेर कहिल्यै प्रस्ताब गर्यो कि? त्यस्तो प्रस्ताव अस्वीकार गरेको यदि हो भने यो आरोपमा वजन छ, नत्र त कुरो उहि हो - प्रश्नको लागि प्रश्न।

२४) ढंग नपुराइ काम गरेकोले परिवन्दमा परेको आरोप - यो आरोपमा आंशिक सत्यता रहेको ठान्दछु म, तर आंशिक मात्रै है, किन कि परिबन्दमा परेको नभै परिबन्दमा पार्नको लागि षडयन्त्र रचेको कुरो छर्लङ्ग छ । ढंगको मामिलामा भने अरु मानवीय पक्षहरु नजरअन्दाज गर्न मिल्दैन । बिहान ३ बजे देखि उठेर त्यतिका धेरै मानिसको निमित्त एक एक कचौरा तातो सुप वा खोले मात्रै ख्वाउन पनि कति धेरै काम हुन्छ? खाना पकाउन, सरसफाइ देखि अन्य मिलाउनु पर्ने कामहरु कति हुन्छ? त्यति धेरै काम एक्लै गर्दा ढंग पुगेन भनेर काखी बजाउनु बुज्रुकहरुको नैतिकताले दिन्छ?

यो प्रकरणमा यति धेरै पक्षहरुमा प्रकास पारी सकेपछि अव मैले निचोड केहि लेख्नै पर्दैन होला । घटनामा संलग्न संगीता तामाङ र अप्सरा गुरुङ रहस्यमय तरीकाले मेडियाको स्क्रुटिनिमा परेका छैनन । तिनीहरुको पनि प्रेस सम्मेलन भयो भने थप कुरोहरु थाहा हुँदै आउँला । त्यस्तै गरी आमाघरमा छापा मारिएको भनिएको बेला निर्देशन गर्दै गरेका बिदेशी नागरीकको बारे पनि कुनै कुनै पत्रिकाले रिपोर्ट गरेका छन । बालबालिका कसरी आमाघर आइपुगे भन्ने कुरोमा पनि केहि प्रकास नपुगेको, साथै म पनि आश्वस्त हुन नसकेको, पक्षहरु छन । द्वन्दपिडितका नाममा टाठाबाठाले तिनका नजिकका बालबालिकालाइ काठमाँडौमा राखेर निशुल्क पढ्ने बस्ने ब्यबस्था मिलाएको आशंका यदि सत्य हो भने दिलशोभा दिदिको सदाशयतामाथि त्यो महाधोखा हो, यस्ता विषयहरु आगामी दिनमा प्रष्ट हुँदै जाला ।

र अर्को प्रमूख कुरा, दिलशोभा दिदिलाइ समयमा नै सहि सुझाव दिनेहरु पनि मनग्य नै देखिए, तर सुझावहरु प्राय: वेवास्ता भएको देखियो । म मात्र हैन धेरैको त्यस्तो अनुभव रहेछ । सुझाव दिनेहरुको साझा चरित्र भनुँ कि के हो, सुझावप्रति वेवास्ता गरिदियो भने पछि पछि सरोकार नराख्ने हुँदो रहेछ । यस्तो अवस्थाले दिलशोभादिदिले नै शुभचिन्तकहरु गुमाउँदै जानु पर्ने अवस्था आउने, तर उहाँजस्तो मानिसको खुट्टा तानेर समाजमा कहिलिएको मानिस बन्ने धुनमा रहेकाहरु भने नयाँ नयाँ षडयन्त्रको खोजिमा दिनरात लागि पर्ने हुँदो रहेछ । दिलशोभा दिदिले मेरो यो लामो लेख पढ्नुहोला भन्ने विश्वास त छैन, तपाइहरु मध्ये कसैले यसलाइ प्रिन्ट वा कुनै संभव माध्यमबाट दिलशोभा दिदि समक्ष पुराइदिनु भए आभारी हुने थिएँ । 

No comments:

Post a Comment