नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Sunday, February 9, 2014

पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन


पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन
 
प्रा.डा. गोपाल शिवाकोटी 

सामन्ती केन्द्रिकृत राज्य विस्तार गर्ने राजा पृथ्वीनारायण शाहको २९२ औं जन्म जयन्तीलाई यस वर्ष पनि कथित नागरिक समारोह समितिको नाममा विभिन्न कार्यक्रमहरु गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथै उनको जन्मदिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने माग पनि दरबारले पोषण गरेका केही व्यक्ति तथा शक्तिहरुले गरेको देखिन्छ । यसै क्रममा स्वयं गणतान्त्रिक व्यवस्थामा मन्त्रीका रुपमा रहेका संस्कृति मन्त्री रामकुमार श्रेष्ठले राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने विडम्बनापुर्ण अभिव्यक्ति दिएर शाही शासनको औचित्य पुष्टि गर्ने प्रयास गरेपछि यो विषय पुनः विवादमा आएको छ ।

नेपालमा गणतन्त्रको स्थापना भएपछि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिन छोडिएको हो । सरकारी स्तरबाटै कटौति गरिएको यो दिनलाई सार्वजनिक विदा दिनुपर्छ भन्ने मन्त्री स्वयंले विचार सार्वजनिक गर्नुले उनले यस अघिका सरकारका निर्णयहरुलाई अवज्ञा गरेका हुन् वा कर्मचारी सरकारकै नीति परिवर्तन भई पुनः शाह वंशको सत्तालाई पुनःस्थापित गर्नका लागी गरिएको प्रायोजित प्रचार हो भन्ने कुरामा समेत आशंका उत्पन्न भएको छ ।


निश्चय नै हिजोका शाही सत्ता र दरबारको आडमा लाभ लिनेहरु तथा पश्चगामी र आफुलाई राजतन्त्रवादी भन्नेहरुले पृथ्वीनारायण शाहको कार्यलाई एकिकरण ठान्नु, यसलाई महत्व दिई शाही शासनका जनविरोधी कार्यहरुको औचित्य पुष्टि गर्नु, संघियताको विरुद्ध केन्द्रिकृत सामन्ती सत्ता पुनस्र्थापना चाहनु स्वाभाविक र उनिहरुको आचरण अनुकुलको मानिए पनि एकजना मन्त्रीबाट नै यस किसिमका अभिव्यक्ति हुनुले गम्भिर प्रश्न उठ्नु स्वभाविकै हो । अहिले पनि पृथ्वीनारायण शाहको कार्य एकिकरण थियो कि साम्राज्यवादी थियो भन्ने बारेमा बहस चलिरहेको अवस्थामा उनले एकिकरणको गरेको भनि देवत्व प्रदान गर्ने र महान व्यक्तिको रुपमा प्रस्तुत गर्ने काम पाखण्डपुर्ण हो ।

राज्यको पुनर्सरचना, गणतन्त्रको संस्थाकरण तथा सबै जाती–जनजातीलाई राष्ट्रिय मुलप्रवाहमा ल्याउने तथा सामन्ती अवशेषहरुलाई समाप्त गरि मुलुकलाई जनवादीकरणको अभियानमा मुलुक रहेको अवस्थामा पृथ्वीनारायण जस्ता व्यक्तिलाई महान् बनाएर पुजाआजा गरि देवत्व प्रदान गर्ने, जुन षडयन्त्रको रुपमा यो कार्य भएको छ, यसप्रति सचेत व्यक्ति र शक्तिहरुले सतर्क हुन समेत आवश्यक देखिएको छ । पृथ्वीनारायण शाहलाई जुन किसिमले प्रस्तुत गरिएको छ, वुद्धिमान, दुरदर्शी भएको भनि देखाउने प्रयास भएको छ ती सम्पुर्ण मिथ्यामात्र हुन् । पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।

उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।

काठमाडौ उपत्यकामाथिको आक्रमणसमेत एकिकरणको उद्देश्यले भएको थिएन भन्ने कुरा उनकै दिव्योपदेशले समेत पुष्टि गर्दछ । उनले फुलचोकी आएर काठमाडौ उपत्यकालाई हेर्दा यहाँ फलेको धान र सम्पदालाई देख्दा यो मुलुक जित्न पाए हुथ्यो भनि उनलाई लागेको भन्ने कुराले काठमाडौमाथिको आक्रमण एकिकरणको लागी नभएर धनसम्पत्ति प्राप्त गर्न र जोड्नका लागी नै भएको कुरा प्रमाणित हुन्छ । उपत्यकाको वैभव आफ्नो नियन्त्रणमा लिनका लागी कसैले युद्ध गर्दछ भने त्यसलाई एकिकरणको लागी भन्नु कतिसम्म पाखण्डीपुर्ण हो भन्ने कुरा स्वभाविक रुपमा बुझ्न सकिन्छ ।

पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।

यसैले किराँत, मधेस, कर्णाली लगायतका सबै क्षेत्रहरु र अझै उपत्यकासमेत आफुलाई पृथ्वीनारायण शाहका सन्तानले उपनिवेश बनाएको भनी ठान्दैछन् भने यसलाई कसरी एकिकरण भन्न सकिन्छ ? एकिकरण भनेको त अमेरीकामा जर्ज वासिङ्टनले १३ वटा राज्यलाई संयुक्त बनाउदा गरेको सम्झौतालाई लिन सकिन्छ । उनले ति राज्यहरुलाई समान हक दिएका थिए भने विस्मार्कले पनि विभाजित जर्मनलाई एक ठाउँमा ल्याउने काम गरेका थिए । एकिकरण समान इच्छा भएकाहरुलाई एक ठाउँमा ल्याई जित–जितको रुपमा राज्य स्थापित गर्ने कार्य हो । यो बन्दुक र शक्तिका भरमा अरुमाथि अभिपत्य स्थापित गर्ने विषय होइन ।

अहिले पनि नेपालको विस्तार काँगडासम्म भएको भनी दावा गरिन्छ तर नेपालको सो क्षेत्र एकिकरण भएको भए अंग्रेजसँगको सुगौलि सन्धिपछि त्यो क्षेत्रका मानिसहरुले विद्रोह गर्नुपर्ने थियो । तर त्यसो नगरी त्यस क्षेत्रमा रहेका २ लाख सेनासमेत अंग्रेजी सेनासँग मिलि सो क्षेत्र अंग्रेज अन्तर्गत सुदृढ गराउन लागिपरेकाले पनि यो एकिकरण नभएर साम्राज्य विस्तार मात्र थियो भन्ने प्रमाणित हुन्छ । पृथ्वीनारायण र उनका सन्तानहरुले राज्य विस्तारका क्रममा अनेक जाति, जनजातीमाथि आधिपत्य कायम गरि उनिहरुका संस्कृति र पहिचानलाई नै समाप्त गरिदिए अर्थात् शाही शासक वर्गको हुकुमत्वले गर्दा यी जाती जनजाती आदिवासी, धर्म आदिको पहिचान दबिन पुगेको थियो ।

यी सबै पहिचानलाई जर्वजस्ती केन्द्रिकृत गर्नका लागी ४ वर्ण ३६ जातको फुलबारी भन्नेजस्ता पाखण्डपुर्ण शब्दहरुको आवरणमा राष्ट्रिय पहिचानलाई नै थिच्ने र दबाउने काम भएको थियो । नेपालको राष्ट्र निर्माण जुन भनिन्छ यो राष्ट्रनिर्माण नभएर खुकुरीको बलमा अन्य राष्ट्रमाथि गरिएको दमनबाट बलात् एक ठाउँमा विलय गर्ने प्रयास मात्र थियो । यसको अन्तिम प्रयास महेन्द्र शाहले एक भाषा एक भेष, एक संस्कृतिको रुपमा ल्याउने अन्तिम प्रयास गरेका थिए । अहिले भएको पहिचानको संघर्ष यही गोर्खाली साम्राज्यवाद र विस्तारवादको प्रतिक्रियाको रुपमा बाहिर आएको हो ।

अहिलेको संघियता र पहिचान जातीय पहिचानको आन्दोलन वास्तवमा शाही साम्राज्यवादले खडा गरेको उपनिवेशिक स्थितिको विरुद्धको विद्रोह हो, यो राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय मुक्ति, जातीय मुक्तिको अभियान हो । उनले लमजुङ्गलाई झुक्याउने र तनहुँ बोनसको रुपमा लमजुङ्गलाई दिने आश्वासन दिएर साम्राज्य खडा गरेका थिए । यो लमजुङ्गका राजासँग गरेको सम्झौताले समेत उनको अभियान एकिकरणको अभियान नभई विस्तारवादी अभियान थियो भन्ने कुरा पुष्टी हुन्छ । उपत्यकामाथिको विजय पनि उनले छलछामपूर्ण तरिकाबाट गरेको देखिन्छ ।

किर्तिपुरको युद्धमा कालु पाण्डेको सैनिकहरुमा बढ्दै गएको प्रभाव र काठमाडौ जिते लमजुङ्गलाई तनहुँ दिनुपर्ने सम्झौता कार्यान्वयन नगराउनका लागी उनले नै कालुपाण्डेको युद्धमा हत्या गराएका थिए भनिन्छ । उनको युद्धमा देब्रे आखाँमा तीर लागेर फुटेपछि आफ्नो राज्यमाथि खतरा देखी भाइहरुलाई देश निकाला गर्ने, कालु पाण्डेको हत्या गर्नेजस्ता कार्य गराएका थिए । साथै किर्तिपुर विजय गराएपछि त्यहाँका जनतालाई आतंकित पार्नका लागी आफ्नो अधिनस्त स्वीकार गरिसकेका जनताको नाक र कान काटेकाले उनि कति क्रुर र नृस्रंस थिए भन्ने कुरा प्रमाणित गरेका थिए ।

यस्तै कान्तिपुर जित्न जयप्रकाशका भाई भतिजा र रानीहरुलाई पछि शासनमा सहभागी बनाउने भनि जयप्रकाश विरुद्ध लगाएकाहरुले कान्तिपुर विजयको एक वर्षजति पछि आफ्नो शासनमा भागिदारी माग्न थालेपछि यी सबै भाइभारदार तथा रानीहरुलाई हनुमान ढोका दरबारको एक बैठक कोठामा राखेर बाहिरबाट ताल्चा लगाई आगो लगाई सबैको एक चिहान पारेकाले पनि उनी कतिसम्म क्रुर थिए भन्ने वुझन सकिन्छ । उनले भक्तपुरका राजा आफ्नै मित बाबुलाईसमेत छोडेका थिएनन् ।

काठमाडौंलाई विजय गर्न १२ वर्षसम्म घेराबन्दी गर्नेजस्ता कार्यले जनतालाई सकसमा पारेर उपत्यका विजय गर्नुलाई यदि कसैले एकिकरण देख्छ भने त्यस्ता व्यक्तिहरुको विवेकलाई के भन्न सकिन्छ र ? पृथ्वीनारायणलाई महान बनाउन दिव्योपदेशका परराष्ट्र नीति, आर्थिक नीतिहरुको उल्लेख गर्ने गरिन्छ तर यो दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भिमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्धारा लेखाइएको दिव्योपदेशको संस्करणमात्र हो । पृथ्वीनारायणले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको उत्तरतर्फको बादशाह र दक्षिणतर्फको बादशाहको बारेमा उल्लेख भएको छ ।

पृथ्वीनारायण शाहले यो उपदेश सन् १७७५ भन्दा ३० वर्षपछि सम्म नेपालले राज्य विस्तार गर्दै रहेको थियो भने १८१४ मा मात्र बेलायती साम्राज्यको उपस्थिति यस क्षेत्रमा भएको अवस्था थियो । यस्तो अवस्थामा कसरी उनले आफुलाई तरुल भन्छन् अनि दुईटा ढुङ्गाबीचको तरुल भन्ने कल्पना गर्छन र उनको सन्तानले ४० वर्षसम्म राज्य विस्तार गर्दै रहन्छन् यसतर्फ विचार गर्नु जरुरी छ । यो उत्तर र दक्षिणतर्फको समद्रीय सिद्धान्त पृथ्वीनारायणको नभएर भीमसेन थापाका सल्लाहकार केयरसिंह बस्नेतको तत्कालिन परिवेशको सन्दर्भमा प्रतिपादित सिद्धान्त हो । यस्तै रणनीतिमा झिकिकटक गर्नु जाईकटक नगर्नु भन्ने कुरा पनि पृथ्वीनारायणको कुरा होइन । साम्राज्य विस्तार गर्दा जाईकटक नै गर्नुपर्दछ । झिकिकटक त आफ्नो प्रतिरक्षात्मक युद्ध नीति हो ।

यो अंग्रेससँगको युद्धको लागी प्रतिरक्षात्मक युद्धको नीतिलाई पृथ्वीनारायणको टाउकोमा पगरी बाँधि देवत्व देखाउन खोजिएको छ । पृथ्वीनारायणले त बुद्धिनारायण राईविरुद्ध अंग्रेजसँग पूर्णियामा सम्झौता गरेका थिए । सिन्धुलीमा आएका अंग्रेज सेनालाई हराएका थिए । पृथ्वीनारायण शाह युद्धमा सबै खालका षड्यन्त्र गरि विजय प्राप्त गर्ने गर्दथे । यसैले यसलाई एकिकरणको रुप दिनु पृथ्वीनारायण शाहले उपनिवेश बनाएका जाती, जनजाती क्षेत्रमाथिको अन्यायलाई औचित्यसिद्ध गर्न खोज्नुमात्र हो । अहिले यो अभियान खास गरि पहिचानसहितको संघियता विरोधिहरु र मुलुकमा शाहवंशका ताबेदारी गरी फाइदा लिनेहरुको हो ।

अहिलेसम्म लेखिएको इतिहास पनि दरबारले लेखाएको हो र यी माथि उल्लेख गरेका कुराहरु केहि इतिहासमा देखिएका झलकमात्र हुन् । यसैले नेपालको इतिहास लेखिएमा शाहवंश के र कस्तो थियो भन्ने कुरा जान्न सकिने हुदाँ यस अवसरमा नेपालको इतिहासको पुनर्लेखन गर्नु, पुनः अनुशिलन गर्नुपर्दछ । केहि व्यक्तिले संवेदनशिल राष्ट्रियताको भावनालाई ब्ल्याकमेलिङ्ग गरि शाहवंशलाई पुनः देवत्व प्रदान गर्न र उनिहरुका जनताविरुद्धका अविवेकपुर्ण क्रुरतालाई ढाकछोप गर्ने जुन प्रयास गरिदैछ ।

यो गम्भिर विषय भएकोप्रति सचेत हुनुपर्दछ । केहि व्यक्तिले पृथ्वीनारायण नभएको भए नेपाल नै हुँदैनथ्योजस्ता तर्कसमेत अघि सारी नेपालको अस्तित्वसँग शाहवंशलाई जोड्नेजस्ता कार्य पनि गदै आईहरेका छन्, तर उनी नभएको भए कुनै अर्काे नारायणले यदि मुलुकको आवश्यकता भए एकिकरण पनि गर्दथ्यो र त्यो एकिकरणले नेपालको स्वरुप समेत फरक हुन सक्थ्यो । यो अहिलेको नेपाल भन्दा पनि समृद्ध र जनमैत्रि नेपाल बन्न सक्थ्यो भनि किन विर्सने ? राष्ट्रनिर्माता व्यक्ति नभएर जनता हुन् । व्यक्तिले पनि यसलाई उत्प्रेरित र नेतृत्व गर्दछ ।

एउटा अविवेकी क्रुर षड्यन्त्रकारी, युद्धपिपाशु, सम्पत्ति र सोखका लागी जे पनि गर्न चाहने व्यक्तिबाट उसै अनुकुलको राज्य बन्न सक्छ र बन्यो पनि । त्यसबाट मुक्ति पाउन दुई सय वर्षभन्दा बढी नेपालीले संघर्ष गर्नु परेको र विश्वकै अत्यन्त समृद्ध मुलुक कंगाल पनि यसै वंशको कारणले बन्न पुगेको कुरा पनि विर्सनु हुदैन ।
Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/20826----

No comments:

Post a Comment