Friday, November 1, 2013

नेपाल संवत् र दीपावली

नेपाल संवत् र दीपावली 
सविता प्रसाईं सापकोटा

Source : http://www.newsofnepal.com/bichar/2013/11/19572/

तिहार सबै नेपालीको अति नै मन पर्ने पर्व हो। यसै समयमा, नेपाली संस्कृतिको अमिट छाप भएको साथै नेपाली माटोमा नै जन्मिएको ‘नेपाल संवत्’ धूमधामसँग मनाउने तयारी पनि सँगसँगै चलिरहेको छ। नेपालमा प्राप्त ऐतिहासिक प्रमाणहरूमा शक संवत्, मानदेव संवत्, नेपाल संवत्, विक्रम संवत्, कलियुग संवत्, लक्ष्मण संवत् आदिको उल्लेख पाइन्छ। नेपालको वर्तमान चलनचल्तीको राष्ट्रिय संवत् उज्जैन (भारत) का राजा विक्रमादित्यले शत्रुलाई परास्त गरेको घटनाको स्मरणस्वरूप इ.पू. ५७ देखि शुरु गरेको हो। यो संवत्लाई प्रारम्भमा कृतवर्ष, मालव संवत्का नामले सम्बोधन गरिन्थ्यो। त्यस्तै शक संवत् पनि भारतीय शासक कनिष्कले विदेशीहरूलाई भारतीय भूमिबाट परास्त गरेकै गौरवपूर्ण घडीको सम्झनामा थालिएको मानिन्छ। यो संवत् सन् ७८ देखि शुरु भएको थियो। कलिगत संवत् धेरैजसो वंशावलीमा प्रयोग भएको पाइन्छ, जुन महाभारत युद्धभन्दा छ महिनाअगाडि शुरु भएको मानिन्छ। तर यो संवत्को प्रयोग वंशावली नै पिच्छे फरक छ। लिच्छविकालमा अंशुवर्माको समयदेखि यताका अभिलेखमा पाइने संवत् मानदेव द्वितीयले वि.सं. ६३३ तदनुसार शक सं. ४९८ र इ.सं. ५७६ मा शुरु गराएको मानिन्छ। सूमतितन्त्रअनुसार यसलाई ‘मानदेव संवत्’ भनिन्छ। प्राप्य प्रमाणअनुसार यो संवत् नेपालकै राजाले चलाएको प्रथम ऐतिहासिक संवत् हो। तर दुर्भाग्यवश लिच्छविकालपछि यो संवत्को प्रचलन अगाडि बढ्न सकेन। संवत् चलाउन कुनै ऐतिहासिक घटना घट्नु अनिवार्य मानिन्छ। यहाँ चर्चा गर्न लागेको विषय  ‘नेपाल संवत्’ वि.सं. ९३६ मा जन्मिएको हो। कीलहर्नले यसको प्रादुर्भाव इ.सं. ८७९ अक्टोबर २० तारिख बृहस्पतिबार जनाएका छन्। तर अन्य संवत् चलिरहेको अवस्थामा कुन् परिस्थितिमा अचानक यो नयाँ संवत् प्रारम्भ भयो भन्ने विषयमा आजसम्म पनि स्पष्टरूपमा निक्र्योल गर्न सकिएको छैन।


विदेशी विद्वान् डेनियल राइट, कर्कपैट्रिक, सिल्भाँ लेभी, लुसियानो पेटेक र नेपाली विद्वान् डा. डिल्लीरमण रेग्मी, धनवज्र वज्राचार्य आदिले नेपाल संवत् उत्पत्तिका सम्बन्धमा थुप्रै तर्कहरू पेस गरेका छन्। तर कुनैमा पनि खास तर्क र भरपर्दो प्रमाण फेला पर्दैन। गोपालराज वंशावलीमा भने राजा राघवदेवले संवत् चलाएको चर्चा छैन। वर्तमान इतिहासकार यो घटना राघवदेवको शासनकालमा भएको र उनैले यस संवत्को प्रचलन शुरु गरे भन्ने कुरामा एकमत छन्। तर राघवदेवले किन यही दनमा यो संवत् चलाए भन्ने बारेका प्रश्नहरू अझै निदान हुन सकेका छैनन्।

राजभोगमाला, केशर पुस्तकालय– वंशावली आदि भाषा वंशावलीमा भक्तपुरमा आनन्ददेव राजाले राज्य गरेको कुरा वर्णन गरिएको छ। साथै ललितपुर र तत्कालिक पूर्णवती वर्तमान इन्द्रचोक र यसको सेरोफेरोमा लिच्छवि राजा राघवदेवले राज्य गरेको र भक्तपुरमा आनन्ददेवले राज्य गरेका कुरा उल्लेख छ। शंखधरलाई यसको श्रेय दिलाउन खोज्नेहरूले यसैका आधारमा शंखधरले नै यो संवत् चलाएको स्वीकार्छन्। हाल उनलाई राष्ट्रिय विभूति पनि घोषणा गरिएको छ। तर इतिहासमा यो समयमा उपत्यकामा बेग्लाबेग्लै राज्य भैसकेको अवस्था थिएन। त्यसैले यो तर्क पनि अर्थहीन लाग्छ। संवत्को प्रचलन ज्योतिषी र व्यापारीको कारणबाट भएको देखिन्छ। अर्थात् सुन निकाल्न सक्ने साइत हेर्ने ज्योतिषी र पाएको धन खर्च गर्ने व्यापारी नै संवत् प्रवद्र्धनका कारण भएको कथा भाषा वंशावलीमा पाइनु, साथै राघवदेवका पालामा पशुपतिनाथमा संवत् चलेको कुरा मिल्नु, अनि पशुपति दक्षिण ढोका सामुन्नेमा प्रतिष्ठित संखधरको सालिकले संवत् र व्यापारी तथा राजाको संयोगको संकेत भने अवश्य दिएको छ।

‘साख’ वा ‘साखवाल’ शब्दको अर्थ रुपियाँ पैसाको कारोबारमा पत्यार गरेको व्यक्ति ‘माथवर’, ‘तालिवर’, ‘साहु–महाजन’ भन्ने हुन्छ। उपत्यकामा पैसाको कारोबार गर्ने कोठालाई ‘साखः कोठा’ भन्ने चलन छ। संखधर एक व्यापारी हुन्। भारतीय व्यापारी वर्गमा विशेष गरी आर्थिक वर्षको समाप्ति आश्वीन औँसीमा हुन्छ। यस दिन उनीहरू अर्थिक वर्षको हिसाबकिताब समाप्त गरी लक्ष्मीपूजा गर्छन्। र कार्तिक सुदी १ देखि नयाँ कारोबार शुरु गर्छन्। यहाँ पनि नेवारी समुदायमा म्हपूजाको उत्सव गरी खुशी मनाउने चलन छ। जे होस्, कतै न कतै यसको तादात्म्यता देखिन्छ।

अहिलेसम्म प्राप्त अभिलेखहरूबाट यस संवत् उल्लेख भएको संवत् ४० को अभिलेख प्राप्त भएको छ। त्यस्तै सं. १४८ देखि यसलाई नेपाल संवत् भनेको देखिन्छ। प्रचलित चारवटै संवत् लेखिएको अभिलेखहरूमध्येमा सबभन्दा पुरानो पाटन सुनधारास्थित राजा धर्ममल्लकालीन हो। ने.सं. मध्यकालभरि राष्ट्रिय संवत्को रूपमा रह्यो। पछि उपत्यका विजयपश्चात् सरकारी प्रचलनमा यसको प्रयोग देखिन छाड्यो र शक संवत् नै प्रयोगमा आयो। यो संवत् पनि पृथ्वी वीरविक्रम शाहको राज्यकालसम्म चल्यो र वि.सं. १९६० मा श्री ३ चन्द्र शमशेरले गतेसहितको सौरमास गरेर विक्रम संवत्लाई सरकारी स्तरमा लागू गरे। तर अन्य कतिपय कार्यमा भने ने.सं.को प्रयोग निरन्तररूपमा भइनै रह्यो।

जनमानसमा यो संवत् ‘नेवार संवत्’ भन्ने धारणा छ भने नेवार समुदायले पनि यसलाई जातीय पहिचान भन्दै साम्प्रदायिकतामा सीमित पार्न खोजेको देखिन्छ। वास्तवमा यो संवत् शुरुआत गर्ने राघवदेव ठकुरी वंशी हुन्। संवत्सँग जोडिएका व्यापारी साख्वाल नेवार समुदायका मानिन्छन् र त्यस बेला नेवारी समुदायको बाहुल्यता थियो। पछि मध्यकालमा ने.सं. राष्ट्रिय संवत्को रूपमा प्रयोग भएको देखिन्छ भने उपत्यका मूलतः नेवारी समुदायको बसोबास भएको हुनाले नेवारी जातिको मात्रै संवत् भन्ने किसिमको भ्रम जनमानसमा फैलियो। वास्तवमा न त यो कुनै जातिसँग सम्बन्धित छ, न त कुनै क्षेत्रसँग नै। यस्तो भ्रमले नेपालको मौलिक संवत् हुनमा बाधा पुर्याइरहेको छ। अर्को तथ्य यो संवत् कुनै व्यक्ति तथा जातीय नाम नभई पूरै देशको प्रतिनिधित्व गरेर देशकै नामबाट चलेको छ। नेवारहरूले मनाई आएको परम्परागत म्हपूजा नेपाल संवत्को पहिलो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाकै दिन पर्छ। यस संयोगबाट म्हपूजालाई नेवारहरूले आफ्नो नयाँ वर्षको पहिलो दिन भएकोले चाडको रूपमा मनाई आएको हुनुपर्दछ भन्ने धारणा उब्जेको देखिन्छ।

संवत् प्रादुर्भाव गरे भन्ने विषयमा वादविवाद गर्नुभन्दा पनि हामीले देशको बदलिँदो वर्तमान परिप्रेक्ष्यमा, नेपाल सरकारले पनि सम्मान गर्दै ने.सं.लाई राष्ट्रिय संवत्को सम्मान दिएको अवस्थामा साथै राष्ट्रियता कमजोर भैरहेको अवस्थामा यसलाई विवादमा ल्याइरहनु जरुरी छैन। शक संवत् तथा विक्रम संवत् भारत भूमिमा जन्मिएको संवत् हो। तर त्यहाँका जनताले यो संवत्लाई लगभग विर्सिइसकेको अवस्थामा नेपाली माटोमा, नेपाली नामकरण भई जन्मेको नेपाल संवत्लाई बिस्तारै पूर्णरूपमा राष्ट्रिय संवत् बनाउन सकिन्छ। तर यसलाई कसैले पनि जातीय पहिचान तथा साम्प्रदायिकताको घेराभित्र राख्नुहुँदैन र सबैमा ‘हाम्रो’ भन्ने भावना हुन जरुरी छ।

No comments:

Post a Comment