Thursday, December 20, 2012

बृद्धलाई आश्रम बनाउने तिर हैन आश्रय दिने तिर लाग्नु पर्छ:दिलशोभा श्रेष्ठ

बृद्धलाई आश्रम बनाउने तिर हैन आश्रय दिने तिर लाग्नु पर्छ:दिलशोभा श्रेष्ठ
 

Rajanee Shrestha

बाबु हर्ष नारायण गोपाली र आमा लक्ष्मी माया गोपालीको कोखबाट २०१० सालमा जन्मिएकी दिलशोभा श्रेष्ठलाई सेवाकै कारण धेरैले चिन्ने मौका पाएका छन् । थानकोट इमाखेलमा जन्मिएकी दिलशोभा गरिब दूखी र असहायहरुको लागि साच्चै दिल भएकी हुनाले उहाँको सेवा सबैलाई अनुसरण गर्न योग्य छ । थानकोटको मंगालोदय माध्यमिक बिध्यालयमा शिक्षा हासिल गर्नु भएकी दिलशोभालाई भाइ र बहिनी हुर्काउने र पढाउने जिम्मेवारीले गर्दा कक्षा ५ सम्म भन्दा अध्ययन गर्न पाउनु भएन । बाबुआमाकी जेठी छोरी भएकोले दिलशोभालाई खान र लाउन दुख नभएपनि खेतिपातिको काममा व्यस्त हुँदै र बुबा आमाको सहयोगी बन्दै बाल्यकाल बित्यो ।

काठमाडौका पुष्करलाल श्रेष्ठसँग २०२८ सालमा प्रेम विवाह गर्नुभएकी दिलशोभा छोरा जन्माउन नसकेकै कारण श्रीमानले छोडेर हिडेको दिन सम्झेर दुख व्यक्त गर्नु हुन्छ ।
तीन वटी बहीनी र २ वटा भाई मध्ये सबै भन्दा जेठी दिलशोभा सम्पन्न परिवारमा हुर्किएकी दिलशोभा फेरी त्यो दिन सम्झदै भन्नुहुन्छ, "पेटभरी खान नपाएकै कारण जन्मिएको छोरा पनि एकछिन बाँचेर बित्यो, भएको परिवारलाई राम्ररी पाल्न नसक्नेलाई छोरा नै ठूलो भएकोले जवान भइसकेकी मेरी एक छोरी र मलाई जीउदै माया मार्नु भयो । "
१८ बर्ष सम्म सँगै बसेको श्रीमानले छोडेर गएको पिडालाई भुल्दै दिलशोभा भन्नु हुन्छ, "उहाँले छोडेर नगएको भए मैले पारिवारिक वियोगको पिडा थाहा नै पाउने थिइन र यसरी समाज सेवामा लाग्ने थिइन होला यहि घटनाले नै मलाई समाज सेवामा लाग्न प्रेरित गर्यो ।" २०४८ सालमा छोरीको विवाहका लागि दुवै जना मिलेर कमाएको ५ लाख रुपैया लिएर हिडेका पति हाल सम्म फर्केर नआएको दिलशोभा बताउनु हुन्छ ।

दिलशोभाले पति वियोग मात्रै सहनु परेन श्रीमानले छोडेर गएपछि बाँकी परिवारका केही सदस्यले उल्टै आफूले श्रीमानलाई निकालेको आरोप समेत आमा छोरीलाई लागेको सहनु पर्यो । यस्तो असह्य वेदना पोख्दै दिलशोभा भन्नु हुन्छ, "आमाछोरीले तीन पटक सम्म बिष सेवन गर्यौ तर कम असर गर्ने विष भएकोले आमाछोरी नै बेहोस सम्म भएर बिरामी मात्र पर्यौ मर्न सकेनौ ।" एक दिन त कडा विष खाने निर्णय गर्दै थियौ अचानक हामी आमाछोरीके हिदयमा परमेश्वरले हामी भन्दा अझ दुख पाएको मानिस देखाउनु भयो र तिनिहरुको सेवा गर्ने यो ह्रिदय दिनु भयो ।"
आफ्नो शेष पछि एक्लै हुन्छ्यौ भन्दै फकाएर छोरी शवनमलाई विवाह गरिदिएकी दिलशोभाले आफूलाई एक्लो भए भन्दै छोरीको विवाह पछि झन चिन्तामा डुब्न थाल्नु भयो।
आफ्ना बुबा हर्षनारायणको मानवीय सेवा नै ठूलो धर्म भन्ने प्रेरणाबाट आफू समाजसेवामा भने सानैदेखि इच्छा रहेको दिलशोभा बताउनु हुन्छ ।

श्रीमानले छोडेर गएको केही बर्ष पछि नै आफु जस्तै अरु महिलाको पनि हित सोच्ने दिनशोभाले एस एस नामको गार्मेन्ट रेडिमेट कपडा कारखाना खोलेर दुख पाएका र एकल महिलाहरुले काम दिन थाल्नु भयो । कहिले मैन बत्ति बनाउने, कहिले आलुचिप्स दालमोठ जस्ता वस्तुहरुको उध्योग चलाउदै दिलशोभा आफैमा पनि निर्भर रहदै र अरु दुखिलाई पनि साथ दिदै अघि बढ्नु भयो । यस्तै उद्योगबाट आम्दानी गरेको पैसाले दिलशोभाले छोरी शवनमको विवाह कुनै सम्पन्न परिवारको भन्दा कम तवरले गर्नु भएन ।
छोरीको विवाह पश्चात विरहमा डुबेकी दिलशोभालाई एउटी साथीले सान्त्वना दिदै धनाढ्य र धेरै छोरा भएकी त्रीपुरेश्वरकी एक बुढी आमाको वेहाल र सन्तानले नै घृणा गरेको अवस्था देखाएपछि दिलशोभालाई छोरा हुने सबै आमा बाबुले सुख पाउदारहेनछन् भन्ने यथार्त बुझनु भयो । "करोडपति छोराहरुकी ती आमाको छिडीको चिसो कोठामा गन्हाउने अवस्थामा, परिवारले खाना ल्याएको पनि नाक थुनेर खाना हुत्याइदिने, उपचार त कत हो कता, यस्तो घटनाले म मर्माहित भए । मैले स्याहार सुसार गर्दै जाँदा त दुई बर्ष पछि ती आमा बलियो भएर आफै अस्पताल र चाहेको ठाँउमा जान सक्ने हुनु भयो । " दिलशोभा बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, बुढेसकालमा माया र प्रेम अनि तातो न्यानोले नै बुढाबुढीलाई बल प्राप्त्त हुँदो रहेछ । दिलशोभाले ती बृद्ध आमालाई मात्र हेर्नु भएन आउदा जाँदा बाटोमा रहेका अन्य ५ जना बृद्ध आमालाई पनि सकेको खान पिउन दैनिक दिनुहुन्थ्यो । दिलशोभाले स्याहार गर्दा गर्दै ती आमाको अन्तयोष्टि भयो ।

मावलको हजुरआमाले ४० सालमा किनिदिनु भएको जग्गामा आमा र बुबाले घर बनाइदिएपछि हाल आमाघर भनेर चिनिने सोल्टीमोडमा दिलशोभा बस्दै आउनु भएको छ । भाडामा दिएको कोठा खाली गराएर दिलशोभाले बाटोमा रहेका वेवारिसे ५ जना बृद्ध आमाहरुलाई ल्याएर आश्रमको सेवा सुरु गर्नु भयो ।सेवामा मन लगाए अनुसार दिलशोभालाई आर्थिकमा बिस्तारै सहयोग हुन थाल्यो ।
छोरीको विवाह पछि आफ्नै मिहनेत र बुद्धिले उद्योगबाट राम्रो आर्थिक उन्नती भएको दिलशोभा बताउनु हुन्छ ।
केहि बर्ष अघि दिलशोभालाई आमाहरुको दाह सँस्कार गर्ने खर्च नहुँदा आफैले ती आमाहरुलाई दागबत्ति दिनु परेको घटनालाई दिलशोभा साह्रै दुखद घटना मान्नु हुन्छ । उहाँ भन्नुहुन्छ, "किरिया गर्न दिन खर्च थिएन आफैले स्याहारेको आमालाई आफैले दागबत्ति दिएर अन्त्योष्टि गर्नु पर्यो यो मेरो अविष्मरणीय क्षण हो ।"
दिलशोभाको समाज सेवा प्रतिको त्यागको कारणले धेरै संस्था तथा व्यक्त्तिहरुले प्रसंशा गर्न थालेका छन ।
यतिबेला दिलशोभाको आमाघरमा ५१ जना बृद्ध र ४९ जना टुहुरा बालबालिका रहेका छन् । भने गुर्जु धारामा अर्को आश्रम स्थल बनाएर ५ जना बृद्ध बाबाहरु पनि ल्याएर राख्नु भएको छ । सेवाको सुरुमा आफैले सबै खर्च धानेको बताउने दिलशोभाले अहिले सम्म अरुको पनि धेरै थोरै सहयोगमा बृद्ध बृद्धाहरुलाई पालनपोण गर्नु भएको छ ।कसैले चामल कसैले तरकारी कसैले भौतिक सामग्री दिएर तथा कसैले नगद दिएर सहयोग गरेर दिलशोभाको सेवामा सहयोग पुर्याएका छन् ।

२०४३ सालदेखि फेरी दिलशोभाले आमाघरभित्रै बालघर समेत स्थापना गर्नु भयो । यस बालघरमा विशेष गरि द्वन्द पिडित र बाबुआमा नभएका बालबाकिा बढी छन् । विभिन्न स्कुल मिलेर निशुल्क पढाइदिएको कारण बालबच्चाहरुले शिक्षा पनि आर्जन गर्न पाएका छन । अब बाल बच्चा थप्ने बिचारमा नरहेकी दिलशोभा भन्नु हुन्छ, "अब बालबालिका थप्ने योजना बनाएकी छैन तर बाटोमा अलपत्र परेको देख्दा भने म चुप रहन सक्दिन त्यस्ता असहायहरु जति भएपनि यो दिलशोभाको दिलमा अटछन् । मैले आँट गरेपछि परमेश्वरले पुर्याउनु हुन्छ ।"
बिस्तारै मिडियाहरुबाट प्रचार हुन थालेपछि अहिले भने धेरैले थाहा पाएर दिलशोभालाई सहयोग गर्न थालेका छन् ।
समाजसेवी दिलशोभालाई सेवा अघि बढाउन अझै समस्या रहेको छ । दिलशोभालाई धेरैले चिनेपछि नियमित रुपमा बृद्धहरु थपिदै गएकोले उक्त आमाघर मर्मत गर्नुपर्ने इन्भटर र स्याहार सुसारको लागि सहयोगीको आवश्यक्क्ता छ । हाल नर्भे सरकारले तलब दिएर दुई महिला सहयोगी राखिदिएको छ । तर पनि बृद्ध र बद्धा थपिदै गएकोले सहयोगीको अझै आवश्यक्ता रहेको दिलशोभा बताउनु हुन्छ ।
दिलशोभाको भावी सेवाको योजनाले सम्पूर्ण नेपालीलाई बाबुआमाको कर्तव्य र उत्तरदायित्व प्रति झस्काउन मद्दत गर्दछ । उहाँ भन्नुहुन्छ, "३ करोड नेपालीले एकै मन भएर संकल्प गरेमा नहुने के छ र ?अब नेपालको कुनै पनि कुनामा कसैका पनि बृद्ध आमाबाबु अलपत्र परेर बाटोमा बस्न नपरोस ।"

एकल महिला भएर पनि यति ठूलो साहस गरेर समाजसेवामा समर्पित दिलशोभा आफ्नो शेष पछि पनि आमाघर कहिल्यै नमर्नेमा विश्वस्त हुनुहुन्छ । आफू पछि छोरी शवनम र ज्याईले हाल सम्म पनि आर्थिक अवस्थामा धेरै सहयोग गरिरहेको र आफ्नो जीवन पछि पनि संस्थालाई निरन्तरता दिनको लागि आफुहरु मर्न तयार रहने प्रण गरेको दिलशोभाले जानकारी दिनु भयो ।
उहाँलाई सेवासँगै चुनौती पनि थपिएको छ । आमाहरु चै दिलशोभाले लगिहाल्छिन भन्दै छोरा बुहारीले हेला गरेर रोटमा फालिदिने मन्दिरमा लगेर छोडिदिने वीर अस्पताल उपचार गर्न लाने भन्दै रोटमा ल्याएर छोडिदिने गरेको नीन्दनीय घटना प्रति भने दिलशोभा दुख व्यक्त गर्नुहुन्छ, कोहि आमा वेवारिसे देखेर ल्यायो पछि छोराहरुले धम्की दिने मेरो आमाको गहना सम्पत्ति देखेर ल्याएको आरोप लगाउने गर्छन । कुनै आमाहरु याँहा आएर बलियो हुँदै गएपछि फर्केर छोरा कँहा जाने र मेरो सम्पत्ति ले मलाई दिलशोभाले पालेकोले उसलाई नै सम्पत्ति दिन्छु भनेर माग्ने गरेकोले आफूलाई उनका छोराहरुबाट सम्पत्ति खान आमाहरु ल्याएको आरोप आएकोमा दिलशोभा चित्त दुखाउनु हुन्छ । दिलशोभाको आमाघरमा गरिब आमा मात्र हैन अरबौपति आमा पनि छोरा बुहारीले हेला गरेको भन्दै खुशिसाथ याँहा बस्न आउनु भएको छ । "केही आमालाई त आफ्नो बेइज्वत भयो भनेर छोराहरुले पछि फर्काएर पनि लगेका छन् । यस्तो बेला मैले नै फकाएर ल्याएको आरोप पनि लाग्यो, दिलशोभा भन्नु हुन्छ ।"

आमाहरुलाई एकतामा ल्याउन पनि दिलशोभालाई कहिले काँही गाह्रो पर्छ । कहिले सानो जात र ठूलो जातको विषयमा त कहिले के विषयमा आमाहरुबीच झगडा पनि हुने गर्दछ । "सम्झाउदा सम्झाउदा बल्ल ज्ञानी हुँन्छन्,उहाँ भन्नु हुन्छ ।"

सम्पूर्ण देश विदेशमा रहेका नेपालीलाई संदेश दिदै दिलशोभा भन्नु हुन्छ,"असक्त आमाबुबालाई राम्ररी पाल्नु भन्दा सबैको ठूलो दाइत्व हो, बाल्यअवस्थादेखि नै घरघरमा र स्कुलमा बाबुआमा हजुरबा हजुरआमालाई गर्नु पर्ने आदर माया र नैतिक शिक्षा अनिवार्य रुपमा सिकाउनु पर्छ, त्यस्तै शिक्षक शिक्षिका प्रति बालबालिका बढी आज्ञाकारी हुने भएकोले उनीहरुले अनिवार्य रुपमा नैतिक शिक्षा सिकाउनु पर्छ, यस्तो सेवा गर्न धन हैन मन चाहिन्छ, बाबुआमालाई मरेपछि श्राद्ध गर्ने बाचुन्जेल श्रद्धा गर्न सिक्नु पर्छ आश्रम बनाउने तिर हैन आश्रय दिने तिर लाग्नु पर्छ, दया देखाउने मात्र हैन माया गर्न सिक्नु पर्छ । "

No comments:

Post a Comment