नेवा: स इन्टरनेट रेडियो

Thursday, December 20, 2012

पृथ्वीको अन्त्य!

The image in this post shows the planets in our solar system on December 21, 2012. Do they look aligned to you?

The positions of the solar system planets on the December 21 solstice (2012 December 21 at 11:12 Universal Time) Image credit: Solar System Live.

















पृथ्वीको अन्त्य!


दयानन्द बज्राचार्य


Source : http://www.nagariknews.com/opinions/98-opinion/50714-2012-12-20-04-19-46.html

केही समयदेखि भोलि अर्थात् २१ डिसेम्बर २०१२ मा पृथ्वीको अन्त्य हुनेछ भन्ने हल्ला विश्वभर चलिरहेको छ। यसबाट विश्वभरका कतिपय मानिस भयभित र आतंकित छन्। तर वैज्ञानिकहरू उक्त हल्ला निराधार भएको बताउँछन्। कतिपय देशका बासिन्दाले उक्त हल्लालाई गम्भीरपूर्वक लिएका र विश्वास गरेकाले ती देशका सरकारले आधिकारिकरूपमा उक्त हल्लालाई विश्वास नगर्न अपिलसमेत गरेका छन्। यसैबीच लामो समयदेखि अन्तरिक्ष विज्ञानको गहन अध्ययन/अनुसन्धानमा संलग्न प्रतिष्ठित अमेरिकी वैज्ञानिक संस्था नासाले उक्त हल्लाको कुनै वैज्ञानिक आधार नभएको भन्दै आधिकारिकरूपमा खण्डन गरिसकेको छ।
डिसेम्बर २१ मा पृथ्वीको अन्त्य हुने व्यापक हल्ला विशेषगरी इन्टरनेको माध्यमबाट विश्वभर फैलिएको हो। इन्टरनेटका लाखौँ वेभसाइटमा यही विषयलाई लिएर चर्चा गरिएको पाइन्छ। यसै विषयसँग सम्बन्धित अहिलेसम्म दुई सयभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्। त्यतिमात्र होइन, यसै विषयलाई लिएर हलिउडले एक 'साइन्स फिक्सन' चलचित्रसमेत निर्माण गरेको छ।
केही महिनाअघि २१ मुलुकका १६ हजार मानिससँगको सर्वेक्षणमा औसत आठ प्रतिशत मानिसले सन् २०१२ को डिसेम्बर महिनामा पृथ्वीको अन्त्य हुने हल्लाबाट आफूले भय र चिन्ताको अनुभव गरेको बताएका थिए। यस सर्वेक्षणअनुसार चीनमा २० प्रतिशत, रसिया, टर्कि, जापान र कोरियामा १३ प्रतिशत र संयुक्त राज्य अमेरिकामा १२ प्रतिशत मानिस यस हल्लाबाट भयभित र चिन्तित भएको पाइएको छ। अहिलेसम्म यिनै हल्लाबाट चिन्तित भएर एकजनाले आत्महत्या गरेको बताइन्छ। विशेषज्ञहरूअनुसार यो हल्ला विश्वभर व्यापकरूपमा फैलिनुमा सबैभन्दा ठूलो भूमिका इन्टरनेटको छ।
नेपालमा पनि यो हल्लाले चर्चा पाउन थालेको छ। केही दिनयता सञ्चारमाध्यममा यसबारे चर्चा गरिएको पाइन्छ। केही सञ्चारकर्मीले यसबारे सत्यतथ्य जान्न पंक्तिकारसँग टेलिफोन सम्पर्क गरेका छन्। मैले सबैलाई यो हल्लाको कुनै आधार नभएको र डिसेम्बर २१ मा केही हुँदैन भन्दै आएको छु। यो हल्ला एक त्रिशूलबाबा नाम गरेको साधुले २०६४ असार ८ गते नेपालमा ठूलो भूकम्प आउनेछ भनी गरेको हल्लाभन्दा केही फरक छैन। त्यतिबेला त्रिशूलबाबाको भविष्यवाणीबाट काठमाडौंका धेरै जनता आतंकित भएका थिए। भयका कारण कयौं मानिस भूकम्प जाने भनेको केही दिनअगाडिदेखि नै नसुतिकन रात बिताउन थालेका थिए। कतिपय मानिस भूकम्पबाट बच्न घरघरमा पूजा पाठ र भजनमा व्यस्त थिए। असार ८ गते बिहान सबेरै मन्दिर तथा पिठहरूमा अप्रत्यासितरूपले मानिसको ठूलो भिड लागेको थियो। उक्त दिन भूकम्पबाट बच्न हजारौं काठमाडौंबासी बिहानको झिसमिसे उज्यालोमा टुँडिखेलमा जम्मा भएका थिए। शायद कुनै स्थानीय बाबाबाट नभई विदेशबाट चलेको हल्ला भएर होला, त्रिशूलबाबाको भविष्यवाणीबाट जस्तो सन् २०१२ डिसेम्बर २१ मा पृथ्वीको अन्त्य हुने हल्लाले काठमाडौंका जनता त्यति धेरै आतंकित भएको देखिँदैन।
सन् २०१२ डिसेम्बर २१ मा पृथ्वीको अन्त्य हुने कथाको आरम्भ मध्य अमेरिकाका प्राचीन बासिन्दा सुमेरियनहरूले पत्ता लगाएको भनिएको 'निबिरु' नामक ग्रह पृथ्वीतिर हुत्तिएर आइरहेको र यसले सन् २०१२ पृथ्वीसँग ठोक्किएर पृथ्वीलाई ध्वस्त पार्ने भन्ने विश्वासबाट भएको थियो। तर वैज्ञानिकहरूका अनुसार 'निबिरु' एक काल्पनिक ग्रहमात्र हो। यसको अस्तित्व अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन। यदि यस्तो कुनै ग्रह पृथ्वीतिर हुत्तिएर आइरहेको र ठोक्किने सम्भावना भएको भए वैज्ञानिकहरूले सजिलै थाहा पाउने थियो। त्यतिमात्र होइन, त्यस्तो ग्रह त हामीले अहिलेसम्ममा नांगो आँखाले समेत देखिन सकिने अवस्था हुन्थ्यो।
पृथ्वीमा यस प्रकारको महाप्रलय निम्तने मितिका लागि सुरुमा सन् २००३ को मे महिना तोकिएको थियो। उक्त मितिमा केही नभएपछि प्रलय हुने मिति मायान सभ्यताको क्यालेन्डरको अन्तिम दिन २१ डिसेम्बर २०१२ का लागि सारिएको थियो। तर वैज्ञानिकहरूका अनुसार जसरी हाम्रो भित्ते क्यालेन्डरमा अन्तिम दिन ३१ डिसेम्बर उल्लेख हुँदैमा संसारको अन्त्य हुने नभई अर्को नयाँ क्यालेन्डरको सुरुवात हुने हो त्यसैगरी एक मायान क्यालेन्डरको अन्त्यपछि पृथ्वीको अन्त्य हुने नभई अर्को क्यालेन्डरको सुरुवात हुने मात्र हो। नासाका वैज्ञानिकहरू मात्र नभएर मायान सभ्यतासम्बन्धी विज्ञहरूले समेत मायान सभ्यतामा पृथ्वीको अन्त्यबारे कतै केही उल्लेख वा चर्चा नगरिएको स्पष्ट पारेका छन्। वास्तवमा कुनै पनि क्यालेन्डरको आधारमा भविष्यवाणी गर्न नसकिने विज्ञहरूको भनाई छ।
विभिन्न ग्रहहरू एउटै रेखामा आएर डिसेम्बर २३ देखि २५ सम्म पृथ्वीमा पुरै अन्धकार छाउने हल्ला पनि चलेको छ। नासाका वैज्ञानिकहरूका अनुसार यो पनि आधारहीन हल्लामात्र हो। निकट भविष्यमा ग्रहहरू एउटै रेखामा आउने कुनै सम्भावना नरहेको नासाका ती वैज्ञानिक बताउँछन्। ग्रहहरू एउटै रेखामा आए पनि यसले पृथ्वीलाई कुने खासै असर पार्ने छैन। उदाहरणका लागि सन् १९६२, १९८२ र २००० मा पृथ्वीलागायत् अरू केही ग्रह एउटै रेखामा आएका थिए। तर यसले पृथ्वीलाई कुनै असर पारेको थिएन। हरेक डिसेम्बर महिनामा पृथ्वी र सूर्य 'मिल्की वे' नामको आकाश गंगा (ग्यालेक्सी) को मध्य भागको रेखामा पर्छन्। तर पृथ्वीमा त्यसको कुनै असर पर्दैन्।
सन् २०१२ मा सूर्यको गतिविधिमा असामान्य परिवर्तन आई सौर आँधी (सोलर स्ट्रोम) उत्पन्न हुने र त्यसले पृथ्वीलाई नष्ट पार्ने हल्ला पनि चलाइएको छ। वैज्ञानिकहरूका अनुसार सूर्यको गतिविधिमा नियमितरूपमा सामान्य परिवर्तन आउने गर्छन्। यस्ता परिवर्तनले अन्तरिक्षमा प्रक्षेपण गरिएका केही भूउपग्रहलाई मात्र सामान्य असर पार्ने वैज्ञानिक बताउँछन्। तर यस्ता असरलाई प्रभावहीन बनाउन अन्तरिक्ष इन्जिनियरहरू सक्षम भइसकेको नासाका पदाधिकारी बताउँछन्। नासाका वैज्ञानिकका अनुसार सूर्यको गतिविधिले पृथ्वीमा असामान्य र ध्वंसात्मक प्रभाव पारेको आजसम्मको खगोलीय इतिहासमा पाइएको छैन।
पृथ्वीको अन्त्य हुने हल्ला चलाउनेहरू सन् २०१२ मा पृथ्वी साविकभन्दा उल्टो दिशामा घुम्ने र फलस्वरूप पृथ्वीको चुम्बकीय गुणमा नाटकीय परिवर्तन आउने बताउँछन्। उनीहरू यसरी उत्पन्न हुने चुम्बकीय परिवर्तनका कारण पृथ्वीको अन्त्य हुने हल्ला गर्छन्। तर वैज्ञानिकहरूका अनुसार पृथ्वी साविकभन्दा विपरित दिशामा घुम्ने भन्ने कुरा असम्भव छ। हो, हरेक चारलाख वर्षमा पृथ्वीको चुम्बकीय गुणमा केही परिवर्तन आउने गर्छ, तर यस्ता परिवर्तनले पृथ्वी र पृथ्वीमा बाँच्ने जीवका लागि कुनै प्रकारको नकारात्मक असर नपर्ने नासाका वैज्ञानिक बताउँछन्। त्यतिमात्र होइन, आगामी हजारौँ वर्षमा पनि पृथ्वीको चुम्बकीय गुणमा यस प्रकारको परिवर्तन आउने कुनै सम्भावना नभएको वैज्ञानिकहरू बताउँछन्।
सन् २०१२ मा कुनै ठूलो आकाशीय पिण्ड (मिटियर) पृथ्वीमा खस्ने र त्यसबाट उत्पन्न महाबिष्फोटले पृथ्वी ध्वस्त हूने हल्ला पनि चलाइएको छ। हो, यस्ता आकाशीय पिण्ड पृथ्वीमा समयसमयमा खस्ने गर्छन्। तर सामान्यतया यी पिण्ड स-साना पत्थर हुने गर्छन् र तिनले पृथ्वीलाई कुनै गम्भीर असर पार्ने गरेका छैनन्। पृथ्वीलाई क्षति पुर्यानउने प्रकारको ठूलो आकशीय पिण्ड सबैभन्दा पछिल्लो समय करिब साढे छ करोड वर्षअघि खसेको थियो, जसबाट त्यतिबेला ठूलो संख्यामा पाइने जनावर 'डाइनासोर' यस पृथ्वीबाट सदाका लागि लोप भएको थियो। हिजोआज अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले 'स्पेसगार्ड सर्भे' परियोजनाअन्तर्गत पृथ्वीमा खस्ने आकाशीय पिण्डको निरन्तर अवलोकन गरिरहेका छन्। उक्त परियोजनाको मद्दतले वैज्ञानिकहरूलाई कुनै पनि आकशीय पिण्ड पृथ्वीमा खस्नुअघि समयमै पूर्व जानकारी प्राप्त हुने गर्छन्। उक्त परियोजनामा संलग्न नासाका वैज्ञानिकहरूका अनुसार निकट भविष्यमा त्यस्ता कुनै आकाशीय पिण्ड पृथ्वीमा खस्नसक्ने सम्भावना देखिएको छैन।
यसरी अन्तरिक्षसम्बन्धी अध्ययन/अनुसन्धानका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित र भरपर्दो अमेरिकाको वैज्ञानिक संस्था नासाले स्पष्ट पारेअनुसार डिसेम्बर २१ मा  पृथ्वीको अन्त्य हुने भनेको हल्लाको कुनै वैज्ञानिक आधार छैन र त्यो दिन केही पनि हुने छैन। सबै ढुक्क र निश्चिन्त भए हुन्छ। चार अर्ब वर्षदेखि पृथ्वी स्थिर छ र आउँदो अबौँ वर्षसम्म पनि पृथ्वी स्थिर नै रहनेछ।
पृथ्वीको अन्त्य हुने भविष्यवाणी यसअघि पनि समयसमयमा नभएका होइनन्। तर यस्तो भविष्यवाणी विशेषगरी कुनै धर्म वा धार्मिक समूहसँग जोडिएको पाइन्छ। कतिपय प्राचीन हिन्दु ग्रन्थमा पनि एक ब्रह्माण्डको अन्त भई अर्को ब्रह्माण्ड निर्माण हुने कुरा उल्लेख छन्। केही आधुनिक ब्रह्माण्डशास्त्री पनि यस ब्रह्माण्ड एक दिन शून्यतामा विलिन हुने विश्वास गर्छन्। उनीहरूका अनुसार यो ब्रह्माण्ड स्थिर नभएर निरन्तर विस्तार भइरहेको छ। यसै क्रममा एक दिन यो ब्रह्माण्ड शून्यतामा परिणत हुनेछ। तथापि यो घटना आज भोलि नभई अबौँ वर्षपछि हुने घटना हुन्। त्यतिबेलासम्म मानिसले शायद आफ्नो बसाई पृथ्वीबाट अन्य ग्रहमा सारिसकेको हुन्छ। प्राचीन हिन्दु ग्रन्थमा उल्लेख भएजस्तै पौल स्टाइन्हार्ट र निल ट्युरोकजस्ता प्रतिष्ठित भौतिकशास्त्री पनि एक ब्रह्माण्डको अन्त्यपछि अर्को ब्रह्माण्डको उत्पत्ति हुनेमा विश्वास गर्छन्।

No comments:

Post a Comment