Friday, November 30, 2012

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बरको महत्व



















राज श्रेष्ठ

सन् २००९ डिसेम्बरमा लेखिएको यो लेख आज २०१२ डिसेम्बर हुँदा पनि सान्दर्भिक लागेर यहाँहरु समक्ष पेश गरेको छु । - राज श्रेष्ठ
विवादमा परिन्छ, सहयोग रोकिन्छ, पद गुम्छ वा समर्थन फिर्ता हुन्छ भन्ने डरले लुम्बिनी र कपिलवस्तुको अस्तित्वमाथिको भारतीय अतिक्रमण सहनु भनेको देशले आत्महत्या गरे सरह हुनेछ। यस्तो संवेदनशील विषयलाई प्रत्येक जिम्मेवार निकाय, सरकारका पदाधिकारी र राजनीतिक नेतृत्वले समय मै बुझ्नु आवश्यक छ, अति आवश्यक छ।
लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोक स्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दीभन्दा केही वर्ष भैसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।
बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थलमध्ये एक, भगवान् बुद्धको जन्मस्थल, लुम्बिनीमा भारतको राष्ट्रिय गान बज्ने रहेछ भन्ने समाचार काठमाडौं उपत्यकामा प्रसारण हुने इमेज न्यूज एफ.एमले 2066 पुष ६ गते साँझ प्रसारण गरेको छ। उक्त रेडियो रिपोर्ट अनुसार बौद्ध धर्मावलम्बी पर्यटकहरू भारतको बाटो हुँदै लुम्बिनी भ्रमण गर्न आउँदा भारतीय पथप्रदर्शकहरूले लुम्बिनी भारतीय भूमि हो भन्दै भारतको राष्ट्रिय गान सुनाइदो रहेछ। लुम्बिनीलाई भारतीय भूमि मान्दै ती बौद्ध धर्मावलम्बी श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउने गर्दा रहेछन्। अशोक स्तम्भ अगाडि सम्मानपूर्वक भारतको राष्ट्रिय गान गाइंदा पनि यो भारतीय भूमि होइन, नेपाली भूमि हो भन्ने आँट लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गर्न सक्दा रहेनछन्।
घटना पुष १ गते बिहानको हो। थाई पर्यटकहरूको एक हुल अशोक स्तम्भ अगाडि श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउँदै रहेछन्। संयोगवश त्यहाँ पुगेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले यो भारतीय भूमि होइन, नेपाली भूमि हो, यहाँ भारतको राष्ट्रिय गान गाउन पाइँदैन, नेपालको राष्ट्रिय गान गाउन पर्छ भन्दै उनीहरूलाई नेपाली राष्ट्रिय गान गाउन बाध्य पारेछन्। ती धर्मावलम्बीहरूले माफी माग्दै अब फेरि नेपाल भ्रमणमा आउँदा नेपाली भूमिमा नेपालकै राष्ट्रिय गान गाउने बचन दिएछन्। सँगै उभिएर लुम्बिनी विकास कोषको कोषाध्यक्ष किंकर्तव्यविमूढ मूकदर्शक भएर हेरिरहेको थियो।
नेपालको आफ्नै भूमिमा देशको स्वाभिमानमाथि प्रहार हुँदा पनि कुनै प्रतिक्रिया बेगर निष्क्रिय बसिरहने ती पदाधिकारीले आफूलाई नेपालको नागरिक हुँ भन्न पनि लाज लाग्नु पर्ने हो। लुम्बिनी विकास कोषले कस्ता पानीमरूवालाई आफ्ना अधिकारीमा नियुक्त गरेका रहेछन्, सोच्दा पनि ग्लानी भएर आउँछ । ‘देख्दादेख्दै आफ्नै अगाडि आफ्नै भूमिमा पराई देशको राष्ट्रिय गान सुन्नु र त्यसलाई रोक्न केही नगर्नु’ योभन्दा लाजलाग्नु पर्ने कुरा अरू के हुन सक्दछ? लुम्बिनी विकास र व्यवस्थापनको सम्पूर्ण पक्षको दायित्व लिएर बसेको लुम्बिनी विकास कोषको यस्तो चालाले लुम्बिनीको विकास, सम्बर्द्धन र अन्तरराष्ट्रिय क्षेत्रमा भगवान् बुद्ध जन्मस्थलको रूपमा लुम्बिनीको प्रचार प्रसार कसरी सम्भव होला? प्रश्न उब्जनु स्वाभाविक हो। धन्न, त्यतिबेला कृष्णगोपाल श्रेष्ठले नेपाली हुनुको इज्जत धानेको रहेछ नत्र भने ती धर्मावलम्बी पर्यटकहरूलाई बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा छ भन्ने सुंइको समेत पाउने थिएनन्। स्मरण रहोस्, यूनेस्कोद्वारा विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनीलाई संयुक्त राष्ट्र संघले बुद्धजन्मस्थलको रूपमा मान्यता दिएको छ। यो सम्मानलाई जीवन्त राख्न लुम्बिनी विकास कोषले गर्नुपर्ने सामान्यभन्दा सामान्य कुराबाट पनि ऊ चुक्नु भनेको देशकै लागि ठूलो दुर्भाग्य भन्नुपर्दछ।
भारतीय पक्षले लुम्बिनीको अस्मितामाथि प्रहार गरेको यो पहिलो घटना भने होइन। अन्तरराष्ट्रिय जगतमा भारतले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र तथागत्ले आफ्नो जीवनको २९ वर्ष व्यतित गरेको कपिलवस्तु आफ्नै भूभागमा पर्दछ भनेर प्रचार अभियान थालेको धेरै अघिदेखि हो जसको फलस्वरूप अरू त अरू नै भनुँ छिमेकी देश चीनका पर्यटकहरू समेत बुद्ध भारतमा जन्मेका हुन् र कपिलवस्तु भारतमा पर्छ भन्ने भ्रममा परेका छन्। भारतले नेपालको सिमाना नजिक उत्तर प्रदेशको बस्ती जिल्लाको पिपरहवालाई प्राचीन कपिलवस्तु भनेर प्रचार गरिरहेको छ। पुरातत्वविद्हरूले शाक्यहरूको राजधानी प्राचीन कपिलवस्तु आधुनिक नेपालको तिलौराकोट हो भनेर प्रमाणित गरिसकेकाछन्। त्यहाँ गरिएका उत्खनन कार्यबाट प्राप्त पुरातात्विक बस्तुहरूको अध्ययनबाट उनीहरूले यस्तो निश्कर्ष निकालेका हुन्। वैज्ञानिक डेटिङ् प्रविधिबाट ती पुरातात्विक बस्तुहरू भगवान बुद्धको समयकाल ईशाको पाचौंदेखि छैठौं शताव्दी पूर्वको भएको पुष्टि गरिएकाछन्।
नेपाली विद्वानहरूले नेपालको पक्षमा रहेका पुरातात्विक र ऐतिहासिक तथ्यहरूलाई समय समयमा बडो जोडदार रूपमा उठाउँदै आएकाछन्। तीमध्ये बौद्ध मासिक पत्रिका आनन्दभूमिको २०६६ आश्विन, कार्तिक-मंसिर अंकमा प्रकाशित हरिश्चन्द्रलाल सिंहज्यूको लेख ‘Dirty Controversy about Kapilvastu‘ ले नेपालको पक्षमा रहेका तथ्यलाई जोडदार रूपमा प्रस्तुत गरेका छन्। उहाँको लेखको आधारमा रही, बुद्ध जन्मभूमि प्रतिको भ्रम चिर्न, भगवान बुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तुको अवस्थितिको बारेमा भारतीय पक्षबाट गरिएको दावी र नेपालको पक्षमा रहेका केही ऐतिहासिक तथ्यहरू प्रस्तुत गर्न चाहन्छु।
प्राचीन कपिलवस्तुको राजधानी आधुनिक नेपालको तिलौराकोट नै हो भन्ने अन्य आधारहरू पनि प्रशस्त पाइएकाछन्। चीनिया पदयात्री तथा बौद्ध भिक्षुहरू फाहियान र हुयानसाङ्ग कपिलवस्तुको भ्रमणमा आउँदाको उनीहरूको यात्रा वर्णनबाट कपिलवस्तुको भौगोलिक अवस्थिति र लुम्बिनीबाट कपिलवस्तुको राजधानीको दूरीको बारेमा थाहा हुन्छ। उनीहरूले कपिलवस्तुबाट हिमालयको हिमश्रृंखलाहरू स्पष्ट देख्न सकिने र यो भागिरथी नदीको किनारामै अवस्थित छ भनेर दूरी समेत किटान गरी लेखेकाछन्। आधुनिक तिलौराकोटको अवस्थिति, यहाँबाट स्पष्ट देखिने हिमश्रृंखला र बाणगंगा नदीको किनारामा रहेको हुँदा चिनिया यात्रीहरूले वर्णन गरेको कपिलवस्तु सोह्रै आना यही हो भन्ने पुरातत्वविद्हरूको ठहर छ। यहाँ भएका उत्खनन कार्यहरूमा भारतीय पुरातत्वविद् पि. सि. मुखर्जीबाट उन्नाइसौं शताव्दीको अन्त्यतिर प्राप्त भएको प्रमाणहरू, प्राचीन दरवारका भग्नावशेषहरू र नेपाल सरकार पुरातत्व विभाग र रिस्शो विश्वविद्यालय जापानबाट संयुक्त रूपमा गरिएको उत्खनन्बाट प्राप्त प्रमाणहरूबाट समेत निश्चित रूपमा तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने प्रमाणित भैसकेको छ।
तर पुरातात्विक पृष्ठभूमिमा आधारित ऐतिहासिक तथ्यलाई बँग्याई भारतीय पक्षले उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने दावी गर्दै आएको छ। भारतीय दावीमा भारतीय पुरातत्वविद् के एम श्रीवास्तवबाट उत्खनन गरिएको पिपरहवा क्षेत्रमा पाइएको भनिएको भगवान् बुद्धको अस्थिधातु रहेको स्तुप र भग्नावशेष संरचनालाई राजा सुद्धोदनको दरवारको रूपमा प्रस्तुत गरिएको छ। उत्तर प्रदेश सरकारले पिपरहवामा पाइएको भग्नावशेषलाई प्राचीन दरवारको स्वरूप दिन निर्माणकार्य समेत गरेकाछन्। पिपरहवामा ‘राजा शुद्धोदनको दरवार’,'भगवान बुद्धले २९ वर्ष बिताएको स्थल’ भनेर ठूला ठूला बोर्ड टाँगिएको छ। उत्तरप्रदेशको नौगढ जिल्लालाई कपिलवस्तु नामाकरण गरिएको छ भने केही स्थानलाई सिद्धार्थ जनपथको नाम दिइएको छ। उत्तरप्रदेश टुरिज्म डिपार्टमेन्टले २९ डिसेम्बरदेखि ३१ डिसेम्बरसम्म कपिलवस्तु बुद्ध महोत्सव भनेर मनाइरहेको छ। यसको प्रत्यक्ष असर धार्मिक पर्यटनमा देखिन थालेको छ। लुम्बिनी विकास कोषका अनुसार यो वर्ष लुम्बिनी र कपिलवस्तु भ्रमणमा आएका पर्यटकहरूको संख्यामा कमी देखिएको छ। यसको कारण भारत हुँदै नेपाल भित्रिने बौद्ध धर्मावलम्बी पर्यटकहरूलाई भारतीय पथप्रदर्शकहरूले बुद्धजन्म स्थल कपिलवस्तु भन्दै पिपरहवामा निर्माण भएको नक्कली कपिलवस्तुतर्फ लैजाने र प्राचीन कपिलवस्तु नेपालको तिलौराकोटलाई उल्टो नक्कली कपिलवस्तु भनेर नेपालतर्फ जान निरूत्साही बनाउने गरेको हुँदा यस्तो प्रभाव देखिएको लुम्बिनी विकास कोषका माधवप्रसाद आचार्य भन्नुहुन्छ। यसबाट प्रष्ट हुन्छ कि भारतीय पक्षले सुनियोजित रूपमा पिपरहवालाई प्राचीन कपिलवस्तु प्रमाणित गर्न खोजिरहेको छ। भगवान् बुद्धको जन्म भारतमा भएको हो र प्राचीन कपिलवस्तु आधुनिक उत्तर प्रदेशको पिपरहवा हो भनेर अन्तरराष्ट्रिय स्तरमा भारतले प्रचार प्रसार गरिरहेको छ।
भारतीय दावी कति झुठो छ भन्ने कुरा हामी श्रीलंकाली विव्दान प्रो.पेरेराको पुस्तकमा उहाँका भनाईबाट थाहा पाउँछौ। प्रो. पेरेरा भन्नु हुन्छ कि प्राचीन कपिलवस्तुको खोजीकार्य उत्तरप्रदेशको पिपरहवामा भगवान् बुद्धको अस्थिधातु रहेको स्तुप पत्ता लागेपछि तीव्र रूपमा बढेको हो। शुरूमा पिपरहवालाई नै केन्द्रमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको थियो। तर राजा शुद्धोदनको दरवार भनिएको भवनका भग्नावशेषहरू पछि निर्माण गरिएका नयाँ संरचना भएको पत्ता लाग्यो। त्यसपछि पुरातत्वविद्हरूले नेपालको तिलौराकोटमा उत्खनन शुरू गरे र यहाँ उनीहरूले दरवारका भग्नावशेषहरूको साथै अन्य प्रमाणहरू प्राप्त गरे र तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको प्रमाणित भयो। पिपरहवामा पाइएको भग्नावशेष वास्तवमा एक प्राचीन बौद्ध विहार मात्रै हो भन्नेमा पुरातत्वविद्हरू सहमत भए।
यसै बीच केही वर्ष अगाडि ‘भारतीय विद्वानको भनाई- भगवान् बुद्ध उडिसामा जन्मिएका हुन्’ भन्ने भारतको अर्को दावी आयो। अङ्ग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा छापिएको उक्त समाचार अनुसार भारतीय विद्वानहरूले तर्क गरेका थिए कि भगवान् बुद्धको समयमा बोलिने पाली भाषा, जुन अहिले प्रचलनमा छैन, उडिसामा कुनै बेला बोलिने गर्दथ्यो तर नेपालमा कहिल्यै पनि बोलिंदैनथ्यो। यसैलाई आधारमानी उनीहरूले उडिसाको कपिलेश्वर भन्ने ठाउँ प्राचीन कपिलवस्तु हुनुपर्छ भन्ने तर्क प्रस्तुत गरेका थिए। तर सम्बन्धित विषयका नेपाली विद्वानहरूले ऐतिहासिक तथा पुरातात्विक प्रमाण पेश गर्दै भारतीय दावी पूर्णतया झुठो हो भनी दावी गरेका थिए भने नेपाली छापा मिडियाले पनि यस्को चर्को विरोध गरेपछि भारतीय दावी त्यसै हराएको थियो।
यसको साथै अन्य प्रमाणको आधारमा तिलौराकोट वरपर ६२ पुरातात्विक महत्वका स्थानहरूको पहिचान गरिएको छ। प्रमुख स्थानहरूको कुरा गर्दा कुदान (तिलौराकोटबाट ४.५ कि.मी. दक्षिण) जहाँ भगवान बुद्धले आफ्ना पिता शुद्धोदनलाई बुद्धत्व प्राप्त भएपछि प्रथम पटक भेटेका थिए, क्रकुछन्द बुद्धको जन्म तथा परिनिर्वाणस्थल गोटिहवा (तौलिहवाबाट ३ कि.मी. दक्षिणपश्चिम), कनकमुनी बुद्धको जन्म तथा बुद्धत्व प्राप्तिस्थल निग्लिहवा (तौलिहवाको ७ कि.मी. उत्तर), शाक्यहरूको सामुहिक वधस्थल सगरहवा, कनकमुनी बुद्धसँग सम्बन्धित औरराकोट (तौलिहवाको १० कि.मी. उत्तरपूर्व), भगवान बुद्धको मावलीघर देवदह (लुम्बिनीको ५४ कि.मी. पूर्व) र रामग्राम जहाँ भगवान बुद्धको अस्थिधातु रहेको स्तुप छ, आदि स्थानहरू तिलौराकोटको आसपासकै क्षेत्रमा रहेकाछन्। भारतीयहरूले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरू कुनैको पनि अस्तित्व रहेका छैनन्। यसको ठीक विपरित तिलौराकोटमा उक्त स्थलहरूको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ।
अब समय आइसकेको छ – नेपाली मिडिया, चाहे त्यो छापा होस् वा रेडियो, भारतको यो मिथ्या प्रचारलाई जवाफ दिनै पर्ने बेला भएको छ। अहिलेसम्म नेपालले सरकारी स्तरबाट विरोध प्रतिक्रिया दिन नसक्नुलाई अन्तरराष्ट्रिय जगतले नेपालकै कमजोरीको रूपमा लिनेछन्। तसर्थ नेपाल सरकारले औपचारिक रूपमा नै नक्कली लुम्बिनी र नक्कली कपिलवस्तुको विरोधमा आवाज उठाउनै पर्ने भएको छ। संयुक्त राष्टू संघीय निकाय यूनेस्को जसले लुम्बिनीलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरेको थियो,उसले नेपालको पक्षमा अन्तरराष्ट्रिय स्तरमा आवाज उठाउनु पर्दछ। आफू विवादमा परिन्छ वा भारतको विरोध गरे आफ्नो रोजगारी नै गुम्छ कि भन्ने भयले लुम्बिनी विकास कोषका पदाधिकारीहरूले यस्तो संवेदनशील मुद्दालाई चुपचाप भारतले जे गरे पनि प्रतिक्रियाविहीन भएर बस्नु भनेको समय नपुग्दै मृत्युशय्यामा सुत्नु बराबर हो भनेर बुझ्नु आवश्यक भैसकेको छ। आफूसँग भएको ऐतिहासिक र पुरातात्विक प्रमाणलाई अस्त्र बनाउँदै पुरातत्वविद्, इतिहासकारहरूले मैदानमा उत्रिनु परेको छ। नेपाल पर्यटन बोर्डले नेपाल भगवान् बुद्धको जन्मस्थल हो भन्ने मान्यतालाई कायम गरी राख्न विश्व पर्यटन जगतमा ‘लुम्बिनी नेपालमा छ र कपिलवस्तु नेपालको आधुनिक तिलौराकोट हो, भारतको पिपरहवा होइन’ भन्ने जस्ता स्पष्ट अडान राख्न सक्नुपर्दछ। लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्ड दुबैले भारतले उत्तरप्रदेशको पिपरहवामा निर्माण गरिरहेको कपिलवस्तु झुठो हो भनेर अन्तरराष्ट्रिय जगतसँग निडर भएर भन्न सक्नुपर्दछ। विवाद उठ्छ भनेर भारतले खडा गरेको नक्कली कपिलवस्तुको बारेमा एक शव्द पनि नबोल्ने प्रवृत्ति अब यी दुबै निकायले त्याग्नु पर्दछ। होइन भने, धार्मिक पर्यटनको एक ठूलो हिस्सा नेपालले गुमाउने छ र बौद्ध धर्मावलम्बीहरूको ठूलो सङ्ख्या लुम्बिनी र कपिलवस्तुको भ्रमणमा आउन छाडी दिनेछन् भने केही वर्ष पछि बुद्ध जन्मेको देश भनेर नेपालको नाम विश्वले बिर्सिदिनेछ।
विवादमा परिन्छ, सहयोग रोकिन्छ, पद गुम्छ वा समर्थन फिर्ता हुन्छ भन्ने डरले लुम्बिनी र कपिलवस्तुको अस्तित्वमाथिको भारतीय अतिक्रमण सहनु भनेको देशले आत्महत्या गरे सरह हुनेछ। यस्तो संवेदनशील विषयलाई प्रत्येक जिम्मेवार निकाय, सरकारका पदाधिकारी र राजनीतिक नेतृत्वले समय मै बुझ्नु आवश्यक छ, अति आवश्यक छ।

No comments:

Post a Comment