नेवा: स इन्टरनेट रेडियो

Friday, August 24, 2012

यौन, पत्रकार र व्यक्ति !

Ananta Koirala 
Source : http://mediamanch.net/profiles/blogs/6389732:BlogPost:19136

पत्रकारहरूका बीच सधैं एउटा टिप्पणी हुने गर्छ- ‘अरूको समाचार आओस्, आफू समाचार नबन्नु।’ बिडम्बना, गएका एक दुई दिनमा नेपाली पत्रकारहरूका समाचारले भरिए सामाजिक सञ्जालहरू। प्रशस्त आलोचनाहरू पनि भए। हुन त यो भन्दा पहिले पनि पत्रकारहरूका बारेमा गरिएका टिप्पणीहरू सकारात्मक थिएनन्। कारण स्पष्ट छ: पत्रकारहरूले देखाउने व्यवहार। यो भन्दा पहिला चर्चामा आएका मुद्दाहरू पत्रकार हत्या, पत्रकारहरूले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्द वा उनीहरूले देखाएका दादागिरीका बारेमा थिए। तर यसपटक अलि फरक रूपमा पत्रकारहरूका यौनका विषयले बजार ततायो।

बिबिसी नेपाली सेवाका एकजना पत्रकारको फिलिपिनी महिलासँगको यौन सम्बन्धले सामाजिक सञ्जालमा तरङ्ग ल्यायो। यसको स्पष्टिकरण  नेपाली सेवाको फेसबुक पेज र बिबिसी नेपाली सेवाका सम्पादकको फेसबुक पेजमा
आयो। स्पष्टिकरणमा प्रष्टसँग उल्लेख गरियो कि यो हाम्रा कर्मचारीको नीजि जीवन हो र संस्थाले नीजि जीवनमा दख्खलअन्दाज गर्दैन। अर्को प्रसंग,  जनआस्थाले नेपालका ठूला नीजि तथा सरकारी मिडिया हाउसमा हुने गरेको महिला पत्रकारहरू माथिको यौन शोषणको बारेमा विभिन्न महिला पत्रकारहरूको हवाला दिँदै केही पत्रकारहरूको नामै किटेर समाचार प्रकाशित गरेको छ। यो विषयले पनि सामाजिक सञ्जालमा पत्रकारहरूका विरूद्ध बोल्नलाई प्रशस्त ठाउँ दियो। यो मुद्दामा पनि कान्तिपुर, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानका पत्रकारहरूको नाम स्पष्ट उल्लेख गरिएको छ र अहिलेसम्म कसैले स्पष्टिकरण दिनु परेको छैन।
यी मध्ये एउटा मुद्दा अदालतमा चलिरहेको छ। त्यसको बारेमा टिप्पणि नगरौं। अरू मुद्दाहरू पनि बिस्तारै अदालततिरै घसेटिएलान्। तर यहाँ गर्न खोजिएको कुरा चाहिँ व्यवसायिक र नीजि जीवनका बारेमा हो। नीजि जीवनभित्र के के पर्छन्? एकजना प्रहरी अधिकृतले आफ्नी श्रीमतीको हत्या गर्दा पत्रकारहरूले लेखेका समाचारलाई पनि सम्झिने हो कि ! सबैलाई नैतिकता, सुशासनजस्ता कुराहरूको व्याख्या गर्दै हिँड्ने पत्रकारहरूले चाहिँ अनैतिक हुँदा नि हुनुपर्छ कि पर्दैन नीजि जीवनमा? पत्रकारहरूले सामान्य नागरिक भन्दा बढि सुविधा पाएका हुन्छन्- सूचनाको सन्दर्भमा । तर जब नैतिकताको प्रश्न उठ्छ तब साधारण नागरिकभन्दा बढि उत्तरदायित्व पत्रकारको हुन्छ।

प्रश्न उठछ- के यही मुद्दाका कारण कुनै एक पत्रकारको हत्या भएको भए त्यसबेला एउटा पत्रकारको हत्या सामान्य नागरिकको जस्तो मात्र हुन्थ्यो होला त? पक्कै पनि हुन्थेन। म कसैको पनि हत्याको पक्षको वकालत गर्दिनँ तर नेपालमा अहिलेसम्म हत्या भएका मध्ये कति प्रतिशत पत्रकारहरू समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा मारिएका छन्? हत्या हुँदा चाहिँ पत्रकारको जीवन हुने नैतिकताका कुरा आउँदा चाहिँ एउटा व्यक्तिको नीजि जीवन हुने काइदा के हो? अंशबण्डामा झगडा, घर-जग्गाको झगडा, प्रेमी-प्रेमिकाको झगडाका कारण हत्या हुँदा पनि एउटा पत्रकारको हत्या ठहरिन्छ भने किन नैतिक बेइमानी चाहिँ नीजि बन्छ? सहानुभूति र सुविधा पाउने बेलामा चाहिँ व्यवसायीक हक र हितका ठूला ठूला नारा घन्काउने अनि जवाफदेहिता र उत्तरदायित्वका कुरा आउँदा चाहिँ नीजि जीवन हुने दोहोरो मापदण्ड भएन र? पत्रकारिताका पण्डित, वरिष्ठहरू वा पत्रकार महासंघले यसको निर्धारण गर्नु पर्छ कि पर्दैन? यौन मानिसको न्यूनतम आवश्यकतामा पर्ला तर यसका निश्चित सिमा पनि हुन्छन्। चाहे महिला पत्रकार हुन् वा पुरूष, दुवैले आफ्ना सिमा उल्लंघन गर्नु भनेको समस्या निम्त्याउनु हो।

मुद्दाको बिर्सन नहुने अर्को पाटो के पनि हो भने यसरी छरपस्ट भएर यौन शोषणका समाचारहरू किन आइरहेछन् दिनप्रतिदिन? कतै महिला पत्रकारहरूको महत्वकांक्षा पनि मिसिएको छ कि? नत्र किन यौन शोषण भएको १/२ वर्ष नबिति यस्ता कुराहरू बाहिर आउँदैनन्? पत्रकारिता पेशालाई नै निडर र साहषिक पेशा मानिन्छ। त्यसो हो भने कुनै पनि हाकिमले या सम्पादकले आफूमाथि यौन शोषण गर्छ भने किन पहिल्यै दिन वा एक हप्ता वा एक महिनामै यी घटनाहरू बाहिर आउँदैनन्? महिला पत्रकारहरूमाथि उठ्न सक्ने यस्ता प्रश्नहरू पनि छन्। हाकिमको निगाह, काममा सहुलियत, अफिसमा राम्रो पोष्ट पाउनकालागि पहिले जे पनि गर्ने अनि हाकिमले आफ्नो ठाउँमा अर्कोलाई हेर्न थालेपछि मात्र यस्ता घटना बाहिर ल्याउने हो भने यसको कुनै अर्थ र तूक छैन। आफूले सुविधा पाउञ्जेल चुप लाग्ने र आफ्नो सुविधा अर्कोले उपभोग गर्ने भएपछि विरोध गर्ने हो भने न पत्रकारिताको व्यवसायिक आचरण सुध्रिन्छ न त पीडितले उचित न्याय नै पाउँछन्।
अन्त्यमा, यो पक्कै पनि सामान्य मुद्दा होइन। यसले एउटा पत्रकार मात्र हैन समस्त पत्रकारिता क्षेत्रलाई दुर्गन्धित बनाएको छ। सबैले बेलैमा सचेत नहुने हो भने यसले ल्याउने परिणाम पत्रकारिता क्षेत्रकैलागि प्रत्युत्पादक हुनेछ। अहिलेसम्म चलचित्र पत्रकारहरूले कुनै मोडल वा संघर्ष गर्दै गरेकी नायिकाबाट फाइदा उठाएका समाचारहरू बाहिर आएकै छैनन्। त्यो अर्को डरलाग्दो पाटो खुल्न बाँकी नै छ। सम्बन्धित निकाय र सरोकारवालाहरूको बेलैमा ध्यान जाओस् ।

यहाँबाट साभार गरिएको। Source :http://mediamanch.net/profiles/blogs/6389732:BlogPost:19136