Wednesday, July 25, 2012

देव आनन्दको आत्मस्वीकृति

किशोर पहाडी

नीलो आकाशमुनि, भीमसेनस्थान अगाडिको ठूलो चोकमा गाउँका सबै मानिसहरू सुकुल ओच्छ्याएर बसेका छन्। एउटा सेतो जिप आउँछ। अगाडि सेतो पर्दा टाँग्छ। प्रोजेक्टर निकाल्छ। ठूलाठूला चक्का रिल निकाल्छ। अनि खर्रर्रर्र... आवाजसाथ प्रदर्शित हुन्छ, चलचित्र 'तेरे घर के सामने'।

 
"My life has been full of special moments and people, like thousands of sparkling jewels embedded in my mind in the form of precious memories."
-Dev Anand
 

मेरो स्मरणमा यस्तो छ पहिलो पटक देव आनन्दको चलचित्र हेरेको। त्यतिखेर चलचित्र अहिलेजस्तो सर्वसुलभ थिएन। चलचित्र हेर्न झन् हाम्रो गाउँ फर्पिङबाट त एक घण्टा गाडी चढेर 'सहर' पुग्नुपर्थ्यो। काठमाडौँलाई नेपालीमा 'सहर' र नेवारीमा 'येँ ' भनिन्थ्यो गाउँमा। गाडी चढी सहर गएर लामो लाइन लागेर टिकट किनी अथवा टिकट नहुँदा ब्ल्याकमा डबल पैसा तिरेर हेर्नुपर्थ्यो। त्यसो हुँदा भारतीय राजदूतावास अथवा सूचना विभागको गाडीले गाउँगाउँमा चलचित्र तथा डकुमेन्टी्र्र देखाएर गाउँलेलाई मनोरञ्जन प्रदान गर्थे।

यो करीब ४५ वर्षअघिको कुरा हो।

श्यामश्वेत 'तेरे घर के सामने'मा देव आनन्दले गाएको गीत अम्कै स्मरणमा छ, 'तेरे घर के सामने एक घर बनाउँगा, तेरे घर के सामने दुनिया बसाउँगा ...'। पछि बजारमा गोविन्द मल्ल गोठालेको उपन्यास 'पल्लो घरको झ्याल' प्रकाशित भएपछि मलाई किनकिन लागिरह्यो, यस उपन्यासको शीर्षक देव आनन्दको 'तेरे घर के सामने' सँग मिल्दोजुल्दो छ।

देव आनन्दले धेरै चलचित्रका पटकथा लेखेका छन्, त्यसैले उनी लेखनमा पनि सिद्धहस्त छन् भन्ने थाहा थियो। उनको मृत्युपछि मलाई उनको आत्मकथा 'रोमान्सिङ विथ लाइफ' पढ्ने मौका मिल्यो। त्यो पढ्दा उनी कुशल उपन्यासकार पनि बन्नसक्ने रहेछन् भन्ने विश्वास जाग्यो। किनभने उनले आफ्नो जीवनका अत्यन्त निजी प्रसंगलाई आफ्नो किताब 'रोमान्सिङ विथ लाइफ' मा लिपिबद्ध गरेका रहेछन् औपन्यासिकरूपमा, कौतुहल जगाउँदै। यो किताब पढ्दा थाहा हुन्छ, देव आनन्द एकदम रोम्यान्टिक स्वभावका कलाकार रहेछन्। उनको आत्मकथाको आदिदेखि अन्त्यसम्म रोम्यान्स नै रोम्यान्स छ। सुन्दर केटी देख्नै नहुने, उनलाई बोलिहाल्नुपर्ने, जिस्किहाल्नुपर्ने। एउटा प्रसंग छ, संघर्ष गर्दै गरेको अवस्थामा देव आनन्द बम्बईको लोकल रेलमा हुन्छन्। एक युवती चढ्छिन् अचानक। भिडमा बस्ने ठाउँ खोज्दाखोज्दै तिनी ठ्याक्कै उनी बसेको सिटअगाडि बस्छिन्। देव आनन्दकै भाषामा 'सुन्दर र अबोध। एउटा फक्रँदै गरेको फूलजस्तै ... ताजापनको मीठो सुवास अथवा मीठो चकलेटको बास्ना ... ...।'

तिनीसँग जबर्जस्ती बोल्न थाल्छन् देव आनन्द। त्यसपछि रेलभित्रको प्रारम्भिक बोलचालमै देव आनन्द चर्चगेटमा रहेको तिनको घर हेर्न चाहन्छन् र तिनी ओर्लने ठाउँमै ओर्लन्छन्। तर, तिनले बाटोमा हिँड्दाहिँड्दै बलिष्ठ पाखुरा भएको आफ्नो ब्वाइफ्रेन्डबारे भनेर पछि टाढाबाट देखाएपछि देवले तिनलाई टाढाबाटै बिदाइ गर्छन्। ९-१० वर्षको अन्तरालमा उनी स्टार भइसकेपछि एउटा चलचित्रको प्रिमियर सोमा अटोग्राफको निम्ति लाम लाग्ने युवतीको भिडमा चर्चगेटकी तिनै युवती पनि हुन्छिन्। उनी बडो साहससाथ देवलाई चुम्छिन् र भन्छिन्, 'मलाई चिन्यौ? सम्झना छ? ... म निलोफर ...मेरो नाम त कहिल्यै सोधेनौ तिमीले? "

यस्तो खालका आख्यानात्मक प्रसंगहरू धेरै छन् यसमा। कलेजका मित्रहरूले उनलाई छाड्न नचाहेका, हरेक युवतीको आकर्षण केन्द्र बनेको आदि। उनी बम्बईको चलचित्र उद्योगमा पदार्पण गर्दा सुरैया त्यहाँकी एकदम ठूलो कलाकार, लोकप्रिय। तर, सुरैयाले उनलाई नयाँ कलाकार भनेर हेयको दृष्टिले हेरिनन्। बरु एक दिन भनिन्, 'थाहा छ तिमी कोजस्ता देखिन्छौ?'
'को?'
'कसैले भनेको छैन?'
'छैन।'
'ग्रेगरी प्याक।'

वास्तवमा देव आनन्दको अनुहार हलिवुडका तत्कालीन लोकप्रिय कलाकार गे्रगरी प्याककै जस्तो छ पनि। ...र विस्तारैविस्तारै देव आनन्दले ग्रेगरी प्याकको अभिनय गर्ने शैली पनि अँगाल्दै गएको देखिन्छ। टाउको अलिकति दाहिनेतिर झुकाउने अनि हात हल्लाएर संवाद बोल्ने शैली ग्रेगरी प्याकको भन्न सकिन्छ। किताबमा उनै प्याकसँग उनको भेट भएको प्रसंग पनि छ। सुरैयाको असल व्यवहारकै कारण होला, देव आनन्द उनलाई मन पराउन थाल्छन्। सुरैयाले पनि मन पराउँछिन्। तर भाँजो हाल्छिन् सुरैयाकी हजुरआमाले। यसको मुख्य कारण सुरैया मुसलमान र देव आनन्द हिन्दू। आफ्ना प्रेम प्रसंगहरूबाहेक किताबमा देव आनन्दले आफूले चलचित्र बनाउँदा कसरी नयाँनयाँ युवायुवतीलाई प्रवेश गराए भन्ने विस्तृत नालीबेली पनि छ। टिना मुनिम, ऋचा शर्मा, जिनत अमान, एकता, मनु गार्गी, जेकी श्राफ आदि कलाकारलाई प्रवेश गराउने देव आनन्द नै हुन्। पछि टिना मुनिमसँग भारतका उद्योगपति अनिल अम्बानीले बिहे गरे भने ऋचा शर्मासँग सञ्जय दत्तले।

... र जिनत अमान? अमान त देव आनन्दले नेपाल आएर नेपालकै कथामा बनाएको पहिलो चलचित्रकी पहिलो नायिका। देव आनन्द एक पटक नेपाल आउँदा तत्कालीन नेपालमा देखिएको हिप्पी संस्कृतिलाई लिएर उनले चलचित्र बनाए, हरे रामा हरे कृष्णा। त्यस चलचित्रमा नेपाल, विशेषतः काठमाडौँ उपत्यकाका विभिन्न दृश्य प्रयोग गरेर उनले विश्वसामु नेपालको राम्रै पाटो प्रदर्शन गरे भन्ने लाग्छ।

यो चलचित्र प्रदर्शन हुँदा म त्रिभुवन आदर्श विद्यालय, फर्पिङमा कक्षा १० मा पढ्थेँ। मित्र सर्वज्ञरत्न तुलाधरले यस चलचित्रको गीत 'डबडिबाडबा...डबडिबाडबा... डबाडबाडबाडबाडबा... हरे रामा हरे कृष्णा...' कक्षा कोठाको काठको टेबुललाई तबलाजस्तै बजाएर बडो सुरसाथ गाउँथे। यसको 'दम मारो दम ' तथा 'कान्छा रे कान्छा रे' गीत त्यतिखेर खुबै लोकप्रिय भएको थियो। यो चलचित्र बनाउँदाको विस्तृत कथाका लागि किताबका करिब ५ परिच्छेद खर्चेका छन् उनले। तत्कालीन राजा महेन्द्रले उनलाई चलचित्रको कथा लेखनदेखि छायांकनमा समेत विभिन्न व्यवस्था गरी सहयोग गरेको प्रसंग छ। यसै चलचित्रको सन्दर्भमा एक ठाउँमा उनले भक्तपुरवासीबारे लेखेका छन्, 'वामपन्थी प्रभावित क्षेत्र तथा भारतविरोधीको बाहुल्य भए पनि त्यहाँ मुमताजको एक नृत्य छायांकन गर्दा मानिसहरू बडो रुचिसाथ भाग लिन आए। पूरा सहरै यसै मिसनमा लागेजस्तो लाग्थ्यो। स्कुलबाट केटाकेटी, कार्यालयबाट मानिसहरू मुमताजसँग तीन दिन बिदा मनाउन आएजस्ता देखिन्थे।'

'हरे रामा हरे कृष्णा' वास्तवमा बडो राम्रो चलचित्र साबित भएको थियो। यसबाहेक 'ईश्क ईश्क ईश्क' र 'जोनी मेरा नाम' पनि उनले नेपालमा छायांकन गरी निर्माण गरेका थिए। 'रोमान्सिङ विथ लाइफ'मा लाहोर (त्यतिखेर भारतकै) सरकारी कलेजबाट बीए पास गरेपछि सानो काँधे झोलामा आफ्ना थोरै चिजबिज बोकी रेलको तेस्रो दर्जामा चढेर सपनाको सहर बम्बईतिर यात्रादेखि चलचित्र 'मिस्टर प्राइम मिनिस्टर' रिलिज हुन्जेलसम्म जीवनका अनेक उतारचढावका कथा छन्।

इतिहासमा निकै महत्व राख्ने घटनाहरूसँग पनि बेलाबेला साक्षात्कार गरिएका छन्। जस्तो, महात्मा गान्धीको हत्या, कलाकार गुरुदत्तले विष खाएर आत्महत्या गरेको, दाइ विजय आनन्दको मृत्यु, राजदरबार हत्याकाण्ड आदि। राजदरबार हत्याकाण्डबारे लेखेका छन्, 'राजा वीरेन्द्र र उहाँकी रानी, राजपरिवारका अन्य धेरै सदस्य आफ्नै युवराजद्वारा मारिए। पछि युवराजले आफैँलाई गोली ठोके। राजपरिवारमा त बचेका अधिराजकुमार ज्ञानेन्द्रमात्र रहेछन् जो घटनाका समय भाग्यवश त्यहाँ थिएनन्। शाही परिवार यसरी भुस्कुट पारिएको घटनाले मेरो मस्तिष्कमा वेदनाको एउटा लहर फैलियो। म त ज्ञानेन्द्रलाई नयाँ राजा भएपछि तत्कालै सानो समवेदना सन्देशमात्र पठाउन सक्थेँ। पछि त्यहाँको सरकारले चलचित्रमा मेरो योगदानका लागि मलाई सम्मान गर्ने बेलाचाहिँ उहाँसँग दुःख व्यक्त गरेँ। अनि २००५ को जुलाईमा पशुपतिनाथको मन्दिर गएर राजा वीरेन्द्रको शवदाह गरिएको ठाउँ हेरेर बसिरहेँ। मेरा आँखाबाट एक थोपा आँसु चुहियो र नदीमा दिवंगत राजाको पीडासँगै मिसियो।'

देव आनन्द आफैँ भन्छन् भूमिकामा, 'आत्मकथा लेख्नु एकदम कठिन हुन्छ किनभने यो लेख्दा तिमी आफू र आफ्नो वरिपरि भएका घटना दुवैप्रति इमानदार हुनुपर्छ।' यसर्थमा उनी आफ्नो आत्मकथामा इमानदार छन्। उनले आफ्नो पहिलो यौन सम्बन्धबारे खुलेर लेखेका छन्। एउटा गेस्टहाउसमा बस्दा एक अपरिचित युवतीसँग मित्रतापछि उनकै कोठामै भएको संसर्ग। त्यस घटनाको वर्णन उनले खुलेर तर अश्लील नलाग्ने गरी लेखेका छन्। उनले आफ्नो बाबुलाई तीता शब्दहरू ब्ोालेको प्रसंग पनि इमानदारीसाथ लेखेका छन्। कमजोर आर्थिक अवस्थाको कारण बीएपछि पढाउन बाबुले उनलाई पढाउन सकेनन्। आफू चलचित्रको नामी कलाकार भइसकेपछि भने, 'म बैंकमा क्लर्क बन्दिनँ भन्दा तपाईँले वास्ता गर्नुभएको थियो? म लाहोरमै साहित्यमा मास्टर्स गर्छु भन्दा तपाईँले मेरो कुरा सुन्नुभयो? ... 'जसले तपाईँसँग रेलभाडाका लागि समेत पैसा लिएन कसरी तपार्इँ यसो गर् उसो गर् भनेर सिकाउनुहुन्छ जब म यहाँ लाखौँ बेरोजगारको लहरमा मिसिई संघर्ष गर्न आएको थिएँ?' 'त्यतिखेर म गरिब थिएँ', भन्न त भने बाबुले तर उनले तीता शब्द प्रयोग गरेको गर्‍यै गरे। यसमा एउटा चित्त नबु‰दो कुरा छ, उनले पत्नी मोना (कल्पना कार्तिक) सँग बिहेअघि चलचित्रमा खेलेको, प्रेम गरेको, बिहे गरेको, छोराछोरीको जन्मसम्मको प्रसंग छ। त्यसपछि उनले पूरै किताबमा पत्नीलाई बिर्सेका छन्। यताउता गएको, देशविदेश चाहारेको, सुन्दर युवतीहरू भेटेको अनि तिनीहरूलाई नै लिएर कथाका प्रारूप तयार पारेको, तिनीहरूलाई नै लिएर चलचित्र निर्माण गरेको आदि प्रसंग छन्। तर, अहँ देवसँग उनकी पत्नी कतै घुम्न गएको देखिएन। उनको जीवनमा पत्नीको भूमिकाबारे कतै उल्लेख छैन। मलाई त कल्पना कार्तिक अहिले ज्युँदै छिन् कि दिवंगत भइसकिन् भन्ने पनि थाहा थिएन। चलचित्र निर्देशक एवं साहित्यकार प्रकाश सायमीलाई सोध्दा थाहा भयो, ज्युँदै रहिछन्।

Source : http://www.nagariknews.com/saturday/42800-2012-06-30-04-09-37.html