नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, July 25, 2012

बाजा बजाउँदै युवती

अमृत भादगाउँले

कालो फरिया (हाकु पटासी) मा सजिएर जोर डमरु बजाउँदै मञ्चमा उभिएकी सरिता डंगोललाई देख्दा दर्शक जिब्रो टोक्छन्। काठमाडौँ उपत्यकामा धिमे र बाँसुरी बजाउने युवतीको संख्या बढ्दै गए पनि डमरु बजाउनेहरू थोरै छन्। 'अनौठो मानेर हेर्छन्', सातदोबाटो ललितपुरकी डंगोल भन्छिन् 'दुवै हातमा डमरु बजाएको देख्दा रमाइलो मान्छन्।' कार्यक्रमहरूमा डमरु, धिमेलगायत बाजा बजाउँदा रित्तो हात फर्कनु पर्दैन, दर्शकको वाहवाहीसँगै पारिश्रमिक पनि पाइन्छ। 

महादेवको बाजा डमरु नेवार समुदायको जात्रा, पर्व र बिहे/ब्रतबन्धमा बजाइन्छ। पहिलेपहिले महिला यस्तो बाजा बजाउँदैनथे। डमरु बजाउने पुरुषसमेत कम हुँदै गएका बेला सरिताले गुरु मोहन व्यञ्जनकार र सञ्जय शर्माबाट सिकेकी हुन्।

'सन् २००५ मा हामी धिमे सिक्न गएका थियौँ' डीएभी सुशील केडिया विश्व भारती स्कुलकी शिक्षिकासमेत रहेकी डंगोल भन्छिन्, 'गुरुहरूले पुरानो बाजा डमरु लोप हुन लाग्यो भन्नु भएकाले सिकेका हाँै।'
त्यो बेला बहिनी मजुना र शर्मिला श्रेष्ठले एकसाथ डमरु सिके। व्यञ्जनकारका अनुसार १५ महिलाले डमरु बजाउन जानिसकेका छन्।
सांस्कृतिक कार्यक्रमहरूमा उनीहरू बजाउँछन्।

'हाम्रो बाजा हाम्रो गौरव हो', २९ वर्षीया डंगोल भन्छिन् 'परम्परागत नाचगान जोगाउने दायित्व पनि हामी युवाकै हो।'

सरिताले झैँ शंखमूल, काठमाडौँकी गीता महर्जनले पनि व्यञ्जनकारसँगै धिमे बजाउन सिकेकी हुन्। 'कक्षा ९ पढ्दैदेखि सिकेकी हुँ' २७ वर्षीया उनी भन्छिन्, 'हामी छ जना केटीले एकै पटक सिकेका थियौँ।'

काठमाडौँ उपत्यकाका जात्रा, पर्व, सांगीतिक कार्यक्रम, विवाह, व्रतबन्धजस्ता शुभ अवसरहरूमा सरिता र गीताजस्ता धेरै युवती बाजा बजाउँदै हिँडेका देखिन्छन्। परम्परागत पहिरनमा चिटिक्क सिँगारिएर धिमे र बाँसुरी बजाउने युवतीको संख्या बाक्लै देखिन्छ।

मध्यपुर थिमिःका नेवार संस्कृतिविद् गणेशराम लाछीका अनुसार काठमाडौँ उपत्यकाका टोल-टोलमा महिला वाद्यवादकको संख्या बढ्दैछ। थिमिः, भक्तपुर, कीर्तिपुर, मंगलबजार, काठमाडौँ जताततै बाजा बजाउनेको संख्या आशलाग्दो देखिन्छ।

'पहिलेपहिले महिलाले बाजा बजाउनु हुँदैन भनिन्थ्यो', उनी भन्छन् 'त्यो धारणा फेरिएको छ, परम्परागत संगीत आम्दानीको माध्यम पनि बन्दैछ।'

नेवारभित्र ज्यापु समुदायका धेरै महिला परम्परागत बाजातिर आर्कषित भइरहेका छन्। ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष जुजुभाइ डंगोलका अनुसार काठमाडौँको रिङरोडभित्र मात्रै ६३ वटा नेवार टोल छन्। विसं २०६१ सालबाट योमरी पुर्नेको दिन ज्यापु दिवस मनाउन सुरु गरेपछि धेरै महिला आफ्नो भेषभुूषासहित बाजा बजाउँदै जात्रामा देखिन थालेका उनले बताए।

अचेल कपितय महिला छुट्टै ब्यान्ड बनाएर सांस्कृतिक कार्यक्रम देखाई आय आर्जन गर्दैछन्। 'एक दशकयता युवा आफ्नो कला संस्कृतिमा गर्व गर्न थालेको छन्', उनी भन्छन्, 'सांस्कृतिक जागरण भित्रिएको छ।'

महिलालाई बाँसुरी सिकाएर सांस्कृतिक जागरण ल्याउने कामको श्रेय यट्खा टोल, काठमाडौँका गुरु धर्म मुनिकारलाई जाने डंगोलले बताए। 'त्यसकै प्रभाव हो बाँसुरी बजाउने महिला बढेका छन्', डंगोल भन्छन्, 'उनीहरू निर्धक्क बजाउँछन्।'

धिमे, बाँसुरी र नौबाजा बजाउँदै युवतीहरू सामूहिकरूपमा बाहिर निस्कन थालेको पचासको दशकदेखि मात्रै हो। तर, नेवार महिलाले बाजा बजाउन सुरु गरेको तीसको दशकदेखि नै हो। सामाखुशीका गुरु न्हुच्छेमान डंगोलले २०३४-२०३५ सालमा आफ्ना दुई छोरी नानीश्वरी र तारालाई दुई वर्षसम्म धिमे र धुसा बजाउन सिकाएका थिए।

महिलाले बजाउनु हुँदैन भन्ने मान्यताले जरो गाडेको त्यो बेला उनले चर्को विरोध सामना गर्नुपर्‍यो। न्हुच्छेमानका छोरा न्हुच्छेबहादुरका अनुसार सांस्कृतिक जागरणका लागि त्यो ठूलो विद्रोह थियो।
नानीश्वरी र ताराको बिहेपछि बाजा बजाउने क्रम रोकियो। लामो समयपछि दत्तात्रय, भक्तपुरकी इन्दिरा लाछिमस्यु झुल्किइन् धिमे र नौ बाजा बजाउँदै। १२ वर्षको उमेरमै ०५१ सालदेखि उनले नौबाजा र धिमे बजाउँदै भक्तपुरका मठ मन्दिर घुम्न थालेपछि सांस्कृतिक जागरणले गति लियो।

इन्दिराले ०५५ सालमा अरु १० जना साथी जुलुङ लाछिमस्यु, रेश्मा श्रेष्ठ, लीना, कविता, क्रिजा, विना, दीपा, मञ्जु, मीरा र सविना मानन्धरलाई सिकाइन्। उनीहरूले एउटा समूह नै बनाए 'दत्तात्रय कल्चर ग्रुप'। गु्रपले ठाउँ-ठाउँ पुगेर बाजा बजायो।

बिस्तारै अरु युवती देखिन थाले। बौद्धमार्गी महिला पनि गुलाँ बाजा बजाउन थाले। इन्दिराबाहेक नौबाजा बजाउने अरु महिला देखिएका छैनन्। नौ बाजामा करखिङ, पास्त, धिमेचा, न्याखिङ, धाँचा, कोखिङ, नगरा, पचिमा र धाँ हुन्छ।

बाद्यवादनमा महिलाको उपस्थिति स्वागतयोग्य कदम हो। केही दशकअघिसम्म महिला थिएनन्। बाजा विशेषज्ञ रामप्रसाद कँडेलका अनुसार प्रदर्शनकारी कला नारी वर्जित भएकाले पहिले हिले महिला सहभागिता नभएको हो। 'देवीका हातमा डमरु देखिन्छ', उनी अनौठो मान्छन् 'व्यवहारमा चाहिँ महिलाले बजाउने अवसर धेरैपछि मात्रै पाए।'

कतिपय पुराना बाजा लोप भइसकेका छन्। कतिपय लोप हुँदैछन्। कँडेलका अनुसार बाजा संरक्षण गर्न महिलाको भूमिका महत्वपूर्ण हुन्छ। 'आमाले छोराछोरीलाई पनि सिकाउँछन्', उनी भन्छन्, 'महिलाले जानेको सीप पुस्तौँसम्म हस्तान्तरण हुँदै जान्छ।'

पुर्ख्यौली बाजा भनेकै भरमा संरक्षण हुन सक्दैन। त्यसबाट आय आर्जन हुन सक्यो भने मात्रै नयाँ पुस्ता लागिपर्छ। बाजा गुरु मोहन व्यञ्जनकार भन्छन्, 'व्यावसायिकरूपमा लैजान सके मात्रै त्यसलाई बचाउन सकिन्छ।'

संस्कृति संरक्षणका लागि ज्यापु समाजले महिलालाई पनि धिमे बाजाका साथै परम्परागत नृत्यहरू सिकाउँदै आएको छ। भक्तपुरका केही विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत बाजा सिकाउँछन्। जस्तो : वासु उच्च माविमा धिमे सिकाइन्छ भने थिमिको विनायक शिक्षा निकेतनमा विद्यार्थीलाई ड्रम बजाएर होइन, धिमेको तालमा पिटी खेलाइन्छ।  

दत्तात्रयदेखि इटालीसम्म

धिमे, बाँसुरी र नौबाजा बजाउने महिलाको प्रेरणास्रोत बनेकी इन्दिरा लाछिमस्युले इटाली, जर्मनी र अष्ट्रियाका सहरसम्म पुगेर आफ्नो कला देखाइसकेकी छन्।

'बाजाले नै मलाई घुमायो', उनी फुरुंग छिन्, 'विदेशमा कलाकारको एकदमै इज्जत हुँदो रहेछ।' नेपाली संगीतप्रति त्यहाँका दर्शक/श्रोता हुरुक्कै भएको उनको अनुभव छ।

काठमाडौँ विश्वविद्यालय संगीत विभागका संगीतज्ञ जर्मन संगीतकार गेर्ट माथिआस बेग्नरको संयोजनमा भक्तपुरका धेरै कलाकार विदेश पुगिसकेका छन्। महिला वाद्यवादकका रूपमा जाने अवसर इन्दिराले मात्रै पाएकी हुन्। त्यसो त काठमाडौँ, पोखरा, हेटौँडा, वीरगञ्ज, विराटनगरलगायत स्वदेशका धेरै सहरमा उनको दत्तात्रय कल्चर ग्रुपले खुबी देखाइसकेको छ।

भक्तपुरको दत्तात्रय मन्दिर आँगनमा हुर्किएकी इन्दिराका हजुरबुबा रत्नलाल र बुबा पञ्चलाल नौ बाजा, धिमे बजाउन पोख्त थिए। भजन गाउँथे। त्यसकै प्रभाव पर्‍यो उनमा। उनले घरमै नौबाजा सिकिन्।

यस्तैमा उनकै घरमा टोलका आठ युवालाई साँझपख संगीतज्ञ वेग्नरले धिमे सिकाउन थाले। अर्को कोठामा बसेर उनी त्यसको बोल कण्ठ गर्न थालिन्। एक दिन कक्षा सुरु हुनुअघि उनी धिमे बजाइरहेकी थिइन्, वेग्नर उनको लगाव देखेर मोहित भए।

'तिमी राम्रो बजाउँदिरैछौँ, तिमीले सिक्नुपर्छ' वेग्नरले भने। दाइ कृष्णगोपालले पनि साथ दिए। आठ महिनासम्म धिमे सिकेपछि १२ वर्षको उमेरमै दत्तात्रयदेखि सूर्यविनायक मन्दिरसम्म धिमे बजाउँदै हिँडिन् उनी। मान्छेले अनौठो मानेर हेरे। भिडमा कतिले कुरा काटे, छोरी मान्छे भएर पनि धिमे बजाउने! कतिले स्याबासी पनि दिए।

उनले आफू पढेको वासु उच्च माविमा एउटा समूहलाई धिमे बजाउन सिकाइन्। अनि एसएलसी सकिनेबित्तिकै फुटबल एम्पायर किशोर ढुकुचुसँग प्रेम विवाह गरिन्। दुई सन्तानकी आमा इन्दिराले परिवारकै सहयोगका कारण बिहेपछि संगीतमा निरन्तरता दिनसकेकी हुन्। उनी श्री प्राथमिक विद्यालय याछेंमा पढाउँछिन्।
उनलाई नेपाल सांस्कृतिक संघले धिमे बजाउने पहिलो महिला भनेर दस हजार नगदसहित सम्मान गरिसकेको छ । बाजा बजाउने महिला बढेको देख्दा उनी गद्गद् छिन्। भन्छिन् 'परम्परागत वाद्यवादनमा धेरै महिला आएकोमा खुसी छु।'

Source : http://www.nagariknews.com/saturday/43111-2012-07-07-08-58-13.html