नेवा: स इन्टरनेट रेडियो

Monday, May 16, 2011

म बुद्धको शरणमा परेँ । शर्मिला खडका दाहाल कथा



म बुद्धको शरणमा परेँ ।

शर्मिला खडका (दाहाल)

कथा

लाग्छ यो समय कहिल्यै अतीत नबनोस् । छ वर्षपछिको कठोर तपस्याबाट प्राप्त भएको यो मिलनको घडी । प्रत्येक पल गन्दै प्रलापको भकारीमा भरिएका अनगिन्ति निष्ठुरी रातहरू । आज बन्धनमूक्त भएर छरिन चाहन्छन् । ती रातहरू आकाशमा तारा गन्दै बितेका अनिदा रातहरू । पृथ्वीको वल्लो छेउ र पल्लो छेउ । ती अनिदा रातहरूले तिमीमा यो संदेश पु¥याउन सक्लान् ? म आफै कल्पना गर्दथे । तर बिचरा ती निरीह रातहरू जाँदाजाँदै बाटैमा सूर्यका उज्याला किरणहरूले गन्तव्यविहीन हुन पुग्दथे । खै कसरी बिते ती रातहरू ? लाग्थ्यो बिहानको सूर्यले तिम्रो सदेश बोकेर साउती मार्न आइरहेको छ—‘हेर प्रिय हाम्रो मिनलको घडी एक दिन छोट्टिएको छ ।’ तिम्रो संदेश म उषासँगै लिन्थे अनि सन्ध्यालाई पठाउँथे —‘जाउ मेरो प्रियतमलाई ओछ्यानमा मेरो मीठो चुम्बनले स्पर्शगरी ब्युँझाई देउ ।’ भनेर । मेरा कल्पनामा ती निष्प्राण पलहरू आज कसरी ब्युँझेर एउटा सिगो यथार्थ बनेको छ । लाग्छ यो दृश्य हृदयमा समेटिरहूँ, लाग्छ यो समय छातीमा कोरिरहूँ । कतै मीठो संगीतको ध्वनिझै ‘शाब्दी’ तिम्रा उच्चारित शब्द लाग्छ गहना बनाएर शरीरमा सजाइरहूँ किन कि तिमी छौ र त म छु,, म छु र त तिमी छौ ।


हल्का पिंक रङ्गको मधुर प्रकाश अनि भित्तामा उही रङ्ग, झ्याल र ढोकामा उही रङ्गको पर्दा । तिमी आउनअघि म तिम्रै कल्पनामा यहाँ मीठो संगीतसँगै अनुभूतिको सागरमा पौडिरहेको हुन्थे । जीवन एउटा अनुभूतिको सागर त रहेछ नि । अनुभूतिभन्दा पर मैले केही देखेको छैन, भेटेको पनि छैन । त्यसैले मैले ती पलहरू यस ठाउँमा सेयर गरेकी छु तिम्रो अनुपस्थितिमा । हृदयमा कोरिएका तिम्रो चित्र कस्तो अमेट थियो । कसैगरी नमेटिने । जीवनको त्यो शाश्वता, त्यो अमर चित्र । म अनेकौँ पटक ठोकिन्थे त्यो चित्रमा, अनेकौँ पटक अल्झन्थे त्यो चित्रमा, अनेकौँ पटक बाडिन्थे त्यो चित्रमा । आज त्यो चित्र सजीव भएर उभिएको छ मभित्र । तिम्रो यो स्पर्श अनेकौँ लहर सँगसँगै बहिरहने छालजस्तै मेरो हदयमा उठ्तै, बस्तै गर्दैछ । दुई लहरहरू ठोक्किएको समय कतै अभिलेख गरेर राख्न पाए कस्तो हुन्थ्यो ? तिम्रा समझनाका पलहरू कसरी ब्युँझन्छन् एकएकगरी मभित्र । सम्झनाका अनगिन्ति छालहरू तरङ्गिदै भिजुयल हुन पुग्थे आधुनिक यन्त्रमा । ती मीठा शब्दहरू पढ्न आतुर मेरो हृदय कतिखेर निर्जिव यन्त्र सजीव भएर उभिन्थ्यो मेरो हृदयमा, दृश्य बनेर । अनि म ती दृश्यहरूमा हराउने गर्दथे । अदभूत आनन्दको एउटा लहर मभित्र ठोक्किएर हराउँदथ्यो । केही दिनसम्म म पौडिरहन्थे त्यही छालहरूमा र म आफै हराइरहेको हुन्थे । यसरी नै छालहरू ओहोरदोहोर गरिरहन्थे निर्जीव यन्त्रमा र हामी हराउने गर्दथ्यौँ कतै एकान्तमा । त्यो पल खै कसरी हरायो मभित्र ? अहिले तिमी छौ र त म छु अनि म छु र त तिमी छौ । ती प्रलापका रागहरू अब कतै नबजून, ती विलापका गीतहरू अब कतै नगुन्जिउन । अब यी मिलापका रागहरू, मिलनका अनुभूति मात्र कोरिनेछन् हाम्रो जीवनमा । अब अर्को मुनामदन लेखिनुपर्छ तडपन पछि मिलनको अदभूत कथा बनेर । समयलाई बिर्साउने त्यो कथा जहाँ संसारको सम्पूर्ण सुखानुभूति खाँदिएको हुनेछ ।

तिम्रा यी कोमल औलाहरू अनि हत्केलाहरू । म घोरिन्छु तिम्रा मुलायम औला र हत्केलाहरूमा यसले मेरो विश्व थाम्नेछ —म सोच्छु । सायद तिमीले पनि त्यही सोचिरहेका छौ । कतै अविश्वासको ज्वारभाटा उम्लेर हाम्रो विश्वासको आणविक भट्टि भत्काउने त होइन ? जहाँ हाम्रा दुई मुटु धडकनरुपी उर्जा सञ्चय गरिरहेका छन् । म सतर्क बन्छु — सायद तिमी पनि । अमूक भाषाहरू हामीभित्र ओहोरदोहोर गरिरहेका छन् । यो ससार विश्वासैविश्वासको तत्वले बनेको छ । यो पञ्चभूत तत्व एक अर्काको विश्वासमा उभिएको छ । नत्र सूर्यले बिहान नहुन किन भुल्दैन ? हावाले अस्तित्व भत्काउन किन सक्दैन ? पानीले सिञ्चित गर्ने धर्म किन छोडदैन ? हो यसैले यो संसार विश्वासैविश्वासको धर्मयुद्ध लडिरहेको छ । के तिमी त्यो धर्मयुद्धको एउटा नायक होइनौ र ? हो तिमी एक नायक र म एक नायिका । आऊ त्यो धर्मयुद्धमा अर्को एउटा अध्याय थपौँ । मधुर मिलनको वस्त्र पहिरिएर एक अर्कामा हराउने प्रचेष्टा गरौँ । हामी जन्मदा पनि निर्वस्त्र थियौँ नि । हामीलाई जीवनको यही धर्मयुद्धले लाज, घिन, प्रेम, पीडा, अनुभूति सिकाएको हो । तिमी र म एउटा नयाँ अध्याय कोर्न सक्छौ । त्यो अध्याय नै अबको नयाँ धर्मयुद्ध हुनेछ । हामी बिन लादेन र ओसामा बिनझै लुकामारी गर्ने छैनौ । इजरायल र प्यालेस्टेनीको विपर्ययको रुपमा हुनेछ हाम्रो धर्मयुद्ध । समयले नयाँ इतिहास कोर्नेछ । त्यहाँ मुटु फुटाउने होइन जोडिनेछ । हरेक मुटुको ढुकढुकी एक हुनेछ । त्यो देश, जाति, धर्भ, धरातल सब जोडिएर एक हुनेछ । त्यहाँ कुनै क्षेत्रफलको परिधि हुनेछैन । त्यहाँ ृिजजस, बुद्ध पैगाम्बर, अल्लाह कोही हुनेछैन । त्यहाँ सिर्फ तिमी हुनछौ अनि म हुनेछु । भूगोल रेखाविहीन हुनेछ । भूगोलले अर्को सिद्धान्त जन्माइसक्नेछ । मानवीय हृदयको ढुकढुकी जोडिएको अर्को मानव तयार गर्नेछ प्रकृतिले के त्यो सम्भव होला ? दुई मानवको दुर्ई भावना, दुई मुटु, दुई आकृति जोडिएको नयाँ मानव सिर्जित हुनेछ । के तिमी यो कुरा विश्वास गछ्यौ ? हो म विश्वास गर्छु अबको विश्वमा दुई मानव एक भएर जन्मनेछ । किन कि त्यहाँ तिमी छौ र म छु अनि म छु र तिमी छौ ।

यी कोमल हृदयका उच्छ«वास प्रकृतिले गर्भास्थ गरेर नयाँ सिर्जना जन्माउनेछ । म यस कुरामा त्यति नै विश्वास गर्छु जति पूर्वबाट सूर्य उदाउँछ भन्ने कुरामा विश्वास गर्छु हाम्रो भौतिक शरीर पराभौतिक भएर हराउनेछ वायूमा अनि कणकण भएर छरिनेछ परिवेश वरिपरि । यो समय मधुर मिलनको समय खै तिमी के सोच्दैछौ म भन्न सक्दिनँ । सायद तिमी मलाई पढदैछौ । मेरो अनुभूतिको रसायनलाई तिम्रा अनुभूतिको रसायन मिलाउन भरमग्दुर प्रयास गर्दैछौ । किनकी तिमी पनि यो पल जीवित राख्न चाहन्छौ । कतै त्यो रसायन नमिलेर हावामा शून्य भएर हराउने हौ कि ? तिमीले अलिकति जिज्ञासा उघायौ ! मैले अलिकति उत्सुकता छरेँ ! तिमी हाम्रा भावनाहरू गोडमेल गर्न लाग्यौँ । कतै हाम्रो रसायन यतै छरिएका छन् कि ? यो पृथ्वी पनि त रसायनैरसायनको मिश्रणले बनेको हो नि । कतै हाम्रो रसायन पनि हाइड्रोजन र अक्सिजनको फयुजनबाट एच टु ओ बनेजस्तै बन्ने त होइन ? सृष्टिको सुरुआत नै त एच टु ओ बाट बनेको छ । धेरै समय अघि पृथ्वी आगोको गोला थियो । पछि अक्सिजन र हाइडोजन मिसिएर पानी बनेपछि जीवको विकास भएको छ । आजको मानव सभ्यता यही इतिहासको यथार्थ घोकिरहेको छ ।

आऊ हामी पनि हाम्रो आत्मिक प्रेमको रसायन तयार गरी जैविक प्रक्रियाद्वारा कुनै नया रसायनको फर्मूला तयार गरौ । इतिहासले अर्को भावना, अनुभूति र प्रेमको फयुजनबाट नयाँ तत्व प्राप्त गर्नेछ । त्यो सृष्टिको लागि पानीझै बहुमूल्य हुनेछ । के तिमी त्यो कुरा लाई विश्वास गर्छौ ? अहिले मेरो अनुभूतिको भन्डारमा नयाँ नयाँ सिद्धान्त प्रतिपादन भइरहेको छ । किन कि त्यहाँ तिमी छौ र म छु म छु र तिमी छौ । दुई अमर आत्मा कहिल्यै नहराउने समयको गतिमा उडिरहेको छ नयाँ सिद्धान्त अवतरण गर्न । एउटा नयाँ अनुष्ठानको तयारीमा हुनेछौ हामी । त्यो अनुष्ठानको समाप्ति केमा छ ? के तिमी ब्याख्या गर्न सक्छौ ? अब्याख्यातित यो अनुष्ठानको सफल आरोहणका लागि हामी व्यग्र हुनेछौ । सयाँै दिनको प्रतीक्षाको योजनालाई हामी तुरुन्त समायोजन गर्न सकिरहेका छैनौ । एउटा ठूला धरातललाई एक हातको दुरीमा जोडन सकिरहेका छैनौ । एउटा लामो बिछोडको पीडालाई तुरुन्त मिलनको सानो अँकुशमा जोडन सकिरहेका छैनौ । त्यसैले त हामी स्थिर छौ र चेतनशून्य छौ । त्यो चेतनालाई ब्युझाउन हामीले हामीभित्रै उर्जा सिर्जना गर्नसक्नुपर्छ । त्यो चेतना कसरी प्रक्षेपण हुन्छ सायद दृष्टिबाट हुन्छ । किनभने भगवान शिवजी अनुभूतिलाई साकार रुप दिन तेस्रो दृष्टि प्रयोग गर्थे रे । हो हामी एकअर्काका अनुभूतिहरू गहिरा ताल मार्फत दृष्यमा परावर्तित गरिरहेका छौ । तर अनुभूति प्रकट गर्न तेस्रो दृष्टिको आवश्यक पर्दछ । हामी तेस्रो दृष्टि सिर्जना गर्न तल्लिन हुनेछौ । तेस्रो दृष्टि सिर्जन ागर्न अघि म अलिकति हाम्रो पृष्ठभूमि उत्खनन गर्न चाहन्छु । नेपालीको भाग्य विदेशिनु पीडा छैठीेले हामीलाई जन्मदै निधारमा लेखिदिइसकेको हुँदो रहेछ । के गर्नु घरको मूली बाउ नै फटाहा, रक्सिया र निकम्मा भएपछि अरुको के लाग्छ र ? आमाले के गर्ने सक्छिन् र ? उल्टै रक्साहा लोग्नेले आफनो छोराछोरी मारेर निसन्तान बनाउला भनेर जोगाउँदै उनलाई हैरान । हाम्रोे भाग्य त्यस्तै भयो । राजनीतिरूपी बाउ निकम्मा र बदमाश भएपछि नेपाली भाग्य फुटेको हाँडी जस्तो भयो । निकम्मा बाउका अभागी छोराछोरीहरू अरूकोमा जुठा भाँडा माझ्नु बाहेक अरू विकल्प के हुन्छ र ? छोराछोरीको भोको पेट, पत्नीको नाङ्गिएको शरीर, उडेको घरको छानो बाहेक उसले सपनामा अरू कुरा सोच्नै सक्दैन । त्यही विडम्वनाको शिकारले रन्थनिएर तिमी विदेशीयौ । आधा दर्जन वर्ष मैले उही फटाहा बाउलाई सक्दोसराप गरेर बिताएँ — ‘हेर तिमीलाई हजारौँ मजस्ता विरहणीको पाप लाग्छ । जो आफनो सम्पूर्ण यौवन यसरी अलाप विलाप र प्रलापमा बिताइरहेका छन । तिमी राम्रोसँग आफ्नो घर सम्हाल । छोराछोरीलाई उचित मार्गदर्शन देऊ । यसरी घरलाई टुक्राउने, फुटाउने, मौका परे घरको श्रीसम्पत्ति लुकाउँदै बेच्ने नगर । तिमीलाई हजारौँ आत्माको श्राप लाग्छ । कम्तिमा सर्वज्ञाता ईश्वरसँग त डराउ ।’ तर उसलाई मेरो प्रलापले के छुन्थ्यो । हवाइट हाउस, व्लाक हाउसको बानी लागेको उसलाई म र मेरो ईश्वरको पुकाराले के छुन्थ्यो र ?उसलाई परापूर्वकालदेखि नै आफ्नै आदत र बानीमा लट्ठिने नशा लागिसकेको थियो ।

एकाएक म वर्तमानमा ब्युझिएँ । किनकिन तिमी मबाट टाढा भएको महसुस भयो मलाई । किन यस्तो भयो ? मैले थाहा पाउन सकिनँ । म त तिमीलाई सम्पूर्ण रूपले आफूमा समर्पित गर्न चाहन्थेँ । तर तिमी यसरी टाढिनुको कारण मैले बुझिरहेकी थिइनँ । म त तिमीमा हराउन चाहन्थेँ । के मेरो प्रेममा कुनै खोट थियो ? के मेरो समर्पणमा कुनै अभाव थियो ?तिमी निस्पृह रहनुको तात्पर्य ? मैले तिम्रो भाषा बुझिरहेको छुइनँ कि तिमी मेरो भाषा बुझिरहेका छैनौ ? म भन्न सक्दिनँ एउटा लामो समय छोट्टिएर छोटो भएको समय । तिमी किन टुक्रयाइरहेका यो समयलाई पनि । म बुझन सकिरहेको छुइनँ । एक छिनपछि तिमी उठेर गयौ । तिमी आफ्नो लगेजमा केके खोज्न थाल्यौ । अहिले तिम्रो हातमा एचआइभी पोजिटिभ प्रेस्क्रिप्सन थियो ।

मभित्रको वर्लिन पर्खाल गल्यार्मगुर्लम ढल्यो । मेरो आस्था विश्वास त्यही पुरियो । एउटा ठूलो अनुष्ठान प्रारम्भ नभई समाप्त भइसकेको थियो । तिमी चेतनाशून्य उभिरहेका थियौ । संवादविहीन तिम्रा आँखाहरू निष्प्राण देखिन्थे तर तिम्रो हृदयको तार कताबाट मेरो हृदयमा कनेक्शन हुन आइपुग्यो तिम्रो ढूकढूकी भन्दै थियो ‘शाब्दी मलाई माफ गर । म अपराधी हुँ । मैले विवश भई आफैलाई बेच्नुप¥यो । तिमीहरूको खुसीको लागि । क्रेडिट क्रन्चले अमेरिकालाई निलेको थियो । अभावमा मैले अरू केही देखिन तिम्रो खुसीको लागि मैले आफनो अस्तित्व बेचेँ । मलाई माफ गर ।’

म कसरी विश्वास गरु ? के तिमी त्यो समयको क्षतिपूर्ति तिर्न सक्छौ ? म प्रतिप्रश्न गर्छु ऊ सँग । अघिका ती भावना र अनुभूतिका रसायन पोखिएर खै कता हराए कता ! म सोच्थे तिमी छौ र त म छु म छु र त तिमी छौ । तर होइन रहेछ त्यहाँ तिमी नहुनुको पीडा मलाई बिझाइरह्यो । म चाहन्थेँ तिम्रो उपस्थिति सूर्यको किरणमा भेटिरहूँ, म चाहन्थे तिम्रो स्पर्श जूनको जुनेलीबाट पाइरहुँ, म चाहन्थे तिम्रो मुस्कान फुलका थुगाहरूमा टिपिरहुँ तर तिमी नहुनुको पीडा फूलको काँडाहरू बिझाइरहयो मलाई । रगतपच्छे मेरो आत्मा अब कुनै विरहको ध्वनी निकाल्न सकिरहेको थिएन । एउटा महायुद्ध उद्घोष नभई समाप्त भइसकेको थियो । किनभने त्यहाँ न त तिमी थियौ न त म थिएँ । त्यो समय एउटा मरुभूमिमा परिणत भइसकेको थियो । शुष्क हावा बाहेक अरू केही थिएन । अघिको मेरा भावनाहरू सबै तातो वाफ बनेर उडिसकेका थिए । एउटा मधुर मिलनको खुसीहरू मरुभूमिको क्याक्टस बनेर मलाई बिझाउन थालेको थियो । खै म कसरी विश्वास गरु ? त्यो आस्थाको मूर्ति कसरी ढल्यो । अफगानीले बुद्धकोमन्दिर ढालेझै । त्यो विश्वासका् धरातल कसरी विखन्डित भयो —महाप्रलय आएझै । म आफैभित्र टुक्रिए । अब त्यो कुन रसायनले जोडिएला ? मधुर मिलनको खुसी एउटा ठूलो सुनामीले क्षणभरमा नै तहननहस भयो । सबै भावना र इच्छाहरू भताभुङ्ग भए । शून्यमा हराउनुको अर्को विकल्प थिएन । मेरो आँखामा बािधएको प्रेमको पट्टि हटिसकेको थियो । तिमी मेरो अगाडि तिरस्कृत प्रेमीको प्रतिमूर्ति बनेर अजम्वरी पाइसकेका थियौ । तिमीले कतै आफ्नो वचावको लागि दुर्योधनलेझै कछाड लगाएका भए म कति खुसी हुन्थे । तर तिमी निर्वस्त्र थियौ । तिमीले बचावको एउटा त्यान्द्रो पनि राखेका थिएनौ । मेरो हृदयमा आगो बलिरहेको थियो । मेरा नेत्रबाट तिनै आगो लेसर किरण बनेर तिम्रा शरीरमा बर्सिरहेका थिए । मैले आफूभित्र भएको सबै शक्ति तिमीमा खनाइसकेको थिएँ । तिम्रो तिरस्कृत प्रतिरूप म फेरि हेर्न चाहन्नथेँ । अब मभित्र कुने तत्व बाँकी थिएनन् । म खाली खाली शून्य थिएँ । कतै बुद्धको ध्वनी मेरो कानमा गुन्जियो ‘बुद्धम् शरणम् गच्छामि’ । म बुद्धको शरणमा परेँ ।