
जनताबाट सोझै निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति मात्रै जनता प्रति साँचिक्कै अर्थमा उत्तरदायी हुन्छ भन्ने तथ्यलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्र मानिएको भारतले प्रमाणित गरिदिएको छ ।
भ्रष्टाचार विरुद्ध कडा कानुन र विदेशी बैंकहरुमा राखिएको धनराशी राष्ट्रियकरण गर्ने प्रमुख माग सहित भारतीय योगगुरु रामदेवले शुरु गरेको अनसनमा एकलाख जनताले ऐक्यवद्धता जनाएका थिए । मध्यरातमा प्रहरी हस्तक्षेपछि समर्थकहरुमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर अनसन स्थलबाटै रामदेवलाई गिरफ्तार गरी उनको आश्रम हरिद्वार पुर्याइयो ।
विपक्षीहरुले आरोप लगाए अनुसार प्रधानमन्त्री मनमोहन िसंहले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको परामर्शमा यो कदम चालेकाछन् । हुनपनि प्रधानमन्त्री िसंह जनताप्रति भन्दा बढी सोनिया गान्धीप्रति उत्तरदायी छन् । भारतमा पनि जनताबाटै सोझै निर्वाचित प्रधानमन्त्री भएका भए िसंहले एकलाख जनताको आवाजलाई उपेक्षा गर्न सक्ने हिम्मत राख्न सक्ने थिएनन् । आफूलाई प्रधानमन्त्री बनाउने कांग्रेस आईकी अध्यक्ष र सांसदप्रति नै उनको प्रमुख जिम्मेवारी हुनु कुनै आश्चर्य होइन ।
नेपालले पनि यो घटनाबाट पाठ सिक्नु पर्दछ । नेपाली जनताले कहिल्यै पनि आफूप्रति उत्तरदायी सरकार र प्रधानमन्त्री इतिहासमै कहिल्यै पनि पाएनन् । कारण स्पष्ट छ अहिले सम्मको कालखण्डमा हामीले कहिल्यै कुनै प्रधानमन्त्री सिधै छान्न पाएका छैनौं । सांसद र सभासद हामीले चुनेर पठायौं । उनै राजनीतिक पार्टीका सांसदहरु मध्येबाट प्रधानमन्त्री चुनिए मन्त्रीहरु चुनिए । मन्त्रिमण्डल बनिसक्दा सम्म उनीहरुले जनतालाई भुलिसकेका हुन्छन् । जनताले सोझै चुनेका व्यक्ति नै सरकार प्रमुख बन्ने व्यवस्था भए अहिलेको जस्तो प्रधानमन्त्री को बन्ने भन्ने राजनीतिक पार्टीहरुको हानाथापबाट नेपालले मुक्ति पाउने थियो ।
अरव विश्वमा युवाहरुले बेरोजगारी र भ्रष्टाचार समाप्त गर्न थालेको त्यहाँको राज्यसत्ता विरुद्धको प्रदर्शन अझै रोकिएको छैन । स्प्रिङ क्रान्तिको पछिल्लो कडीको रुपमा यमनका राष्ट्रपतिको सउदी अरव स्वनिर्वासनपछि जनता सडकमा उर्लेर खुसी मनाइरहेका छन् । भारतमा योगगुरु रामदेवको समर क्रान्तिको नेतृत्व गरेर भ्रष्टाचार विरुद्धको लडाईले नेपालका युवाहरुलाई यस आदिम देशमा अन्धविश्वास कुरीति बेथिति बेरोजगारी र भ्रष्टाचार विरुद्धको आन्दोलनमा नेतृत्व लिन झकझकाइरहेको छ । उठ ए युवाहरु धेरै सुती सक्यौ उठ विन्टर क्रान्तिको नेतृत्व लिन ।
No comments:
Post a Comment