नेवा: स इन्टरनेट रेडियो

Wednesday, March 11, 2020

कमर्सियल बैंकहरु कति सेवामुखी ?

राज श्रेष्ठ, पोखरा ।

कमर्सियल बैंकहरुसँगको मेरो अनुभव सँधै सुखद भने रहँदैन । केहि वर्षअघि एसआइबि बैंकको एक शाखाबाट आफ्नै एकाउन्टको स्टेटमेन्ट माग्दा प्रति पेज यति तिर्नुस् भन्दा स्वभावत म खुशी हुन सकिन। आफूले विरोध जनाएपछि भने स्टेटमेन्ट निशुल्क नै पाएँ ।

कामको सिलसिलामा बिहान १० बज्दा नबज्दै पोखरा चिप्लेढुंगा स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखामा दाखिल हुन पुगेँ । कोरोना भाइरसको देन हुनपर्छ, भित्र पस्नअघि सुरक्षाकर्मीले हत्केलामा राखिदिएको सेनिटाइजरको थोपाबाट भाइरसमुक्त भइयो । भित्र पस्नासाथ भौतिक सुविधासम्पन्न आधुनिक र चितिक्क परेको कार्यकक्ष त्यसमाथि आधुनिक साजसज्जामा सजिएका स्मार्ट कर्मचारी, हेर्दा व्यवस्थापन पनि त्यति नै चुस्त होलान् भन्ने अनुमान गर्न गाह्रो छैन । 

तीनवटा काउन्टर मध्ये एउटा काउन्टरमा लाइनमा बस्न पुगेँ । लाइन त्यति लामो थिएन । चारजना पछिको पाँचौं म नै हुनपुगें । चेक साट्न र रकम जम्मा गर्न एउटै लाइनमा बस्नु पर्ने थियो । एउटा काउन्टर क्लियरन्सको लागि छुट्याइएको थियो । मलाई आफू भन्दा अघिकाको कामसकिन धेरै बेर लागेको अनुभव भयो । अगाडि एकजना विदेशीको शायद लामो समय लाग्ने कारोबार थियो । त्यतिकै मा त्यो काउन्टरबाट सँगैको अर्को काउन्टरमा लाइनमा लाग्न हामी लाइनमा बसेकालाई भनियो । आफू भन्दा पछाडि बसेको फूर्तिसाथ अगाडि लाइनमा बसे पछि म र मेरो अगाडि बस्ने युवती ट्वाँ पर्‍यौँ । जे होस सकेसम्म एउटै काउन्टरबाट मात्रै चेक र रकम जम्मा गर्ने  गरी सेवाग्राहीलाई सेवा पुर्‍याउने बैंकको नीतिको मारमा हामी पर्‍यौँ।

कार्यालयबाट दुई घण्टाको समय मागेर आएको मलाई भने अर्को काम पनि पार लगाउनु थियो । काठमाडौंबाट पोखरामा सरुवा भैआईपुग्दा बैंक, बजारको ठेगाना मात्र परिवर्तन भएको होइन कि बर्षको एकचोटी मात्र बुझाए पुग्ने बिमा प्रिमियम बुझाउने राष्ट्रिय विमा संस्थानको रामशाहपथस्थित ठेगाना पनि अब पोखरामा खोज्न पर्ने भयो ।उस्तै नामले झुक्याउने राष्ट्रिय बिमा कम्पनीको कार्यालयलाई गुगल म्यापमा देखाइदिंदा पृथ्वीचोकको एक चक्कर लगाएपछि बल्ल नेपाल बैंक भवनको पहिलो तल्लामा संस्थानको कार्यालय भेटियो ।

प्रिमियम बुझाउन नेपाल बैंक कै नाममा भौचर काटिएको हुँदा तल्लो तल्लामा रहेको नेपाल बैंकको कार्यालय भित्र पसेँ। कक्ष ठूलो र आधुनिक थियो । सेवाग्राही बस्न आराम कुर्सी देखि खानेपानी र एलईडि टेलिभिजन सहितको फराकिलो कक्ष भित्र भने मानिसहरु उल्लेख्य स‌ंख्यामा थिए । टोकन नं. बोलाउला भनेर पर्खी बसेका सेवाग्राही यहाँ अधीर देखिन्थे । डिस्प्लेस्क्रिन मा भर्खर २२ नं. देखाउँदै थिए आफ्नो भने ४३ नं. पालो पर्खिन पर्ने भयो । अझ थपिदैं गए ६२ नं. पुगिसक्यो तर काउन्टरमा भने उहि २२ नं. डिस्प्ले भईराखेको थियो । एउटै काउन्टर मात्र खुला गरिएपछि पालो पर्खने सेवाग्राहीहरु हतासमा देखिन्थे । कहिले आफ्नो पालो आउने हो ठेगान थिएन । देखाउनका लागि त चारवटा काउन्टर थिए । 

गम खाँदै हेर्दा त आजको दिउँसो १ बज्दा पनि पालो आउला जस्तो लागेन । यतिकै मा दुईजना वृद्धवृद्धाको जोडी काउन्टर तिर लागे । उनीहरुलाई पनि टोकन लिन लगाइएपछि मेरो अघिल्तिरको कुर्सीमा आफ्नो पालो पर्खन लागे ।मानिसहरु थपिने क्रम जारी थियो । म भने अधीर भै सकेको थिएँ । 

अघिल्तिर गएर खचाञ्जीलाई अनुरोध गरेँ - "भीड बढी रहेको छ , एउटा काउन्टरबाट मात्र सेवा प्रवाहित हुँदा अति नै सकस भयो ।त्यसमाथि वृद्धहरु समेत छन् ।एउटा अर्को काउन्टर पनि खोल्न पाए छिटो पालो आउने र सेवाग्राहीलाई सुविधा हुने थियो ।"
"स्टाफ कम छ त्यसैले प्रबन्धकज्यूलाई नै भन्नु होला ।"
जवाफमा यस्तो पाएपछि म प्रबन्धक भेट्न पुगेँ । फेरि जवाफ उस्तै आयो ।
"स्टाफ कम छ । विदामा छ । दुईवटा काउन्टर त खुलै छ नि ।"
"ए हो र ।"
तर एउटा काउन्टर त सुनचाँदी धितोको लागि रहेछ । अर्थात चेक साट्न जाने र रकम जम्मा गर्न जानेहरुलाई एउटै ड्याङमा कोचिएर राखिएको पो रहेछ ।
"म्याडम, एउटा चेक साट्न वा केहि रकम जम्मा गर्न तपाईंको शाखामा दिनभर कुर्न न त मसँग समय छ, न कुनै रुचि नै ।"

टोकन त्यहिं च्याति म निस्केँ । बिमा कार्यालयमा विस्तार लाएँ । त्यतिञ्जेल सम्ममा मेरो आफ्नै कार्यालयबाट फोन आइसकेको थियो ।

यो समस्या सेवा लिन कमर्सियल बैंक पुग्ने हरेक व्यक्तिको भोगाई हो । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंक लिमिटेड त प्रतिनिधि बैंक मात्र हुन् । केहि अघि एसबिआई बैंक न्यूरोडमा कामविशेषले जाँदा यति धेरै भीड थिए कि मानौं कुनै बजार हो । अझ त्यहिं प्रति पेज स्टेटमेन्टको शुल्क तिर्नु पर्ने बैंकहरुको नीति देख्दा त उदेक लागेर आउँछ ।

चारवटा काउन्टर देखाउन कै लागि अनि एउटै काउन्टरमा सबै सेवाग्राहीलाई झोस्ने बैंक कसरी सेवामुखी हुन सक्ला ?

No comments:

Post a Comment