जे भने पनि एउटा देश बन्यो (रविन्द्र मिश्रलाई जवाफ - पृथ्वी नारायण शाह नभएका भए भन्नेहरुका लागि)
(ईतिहास उत्खनन)
फेसबुक चाहर्दै थिएँ । आफूलाई बैकल्पिक शक्ति भनिन रुचाउने पार्टीका नेता, पत्रकारिताबाट राजनीति तर्फ बामे सर्दै गरेका एक महाशय समाचार शैलीमा भट्याउँदै थिए । सिन्धुलीगढीमा अंग्रेजलाई नहराएको भए ? मुसलमान सेनालाई नहराएको भए ?
भाषण सुन्दै रनक्क हुने । एन्टी विचारहरु दगुरादगुर तछाडमछाड गर्दै टाउका तिर दगुरे । (रुसी लेखक मिखाइल लर्मोन्टोभको लेखन शैली)
एकछिन गम खाएँ । सोच्न थालें । विद्यालयीय शिक्षामा नयाँ शिक्षा लागू भैसकेपछि नेपाली भाषाको पाठ्यपुस्तक "महेन्द्रमाला" पढेर हुर्केका अधबैसें पुस्ताका नेताहरुबाट आउने विचारहरु यस्तै यस्तै हुँदा हुन् । एक भाषा एक भेषको निरंकुश तन्त्रमा हुर्किनुको दृष्टिभ्रम हुनुपर्छ ईतिहासमा नालायक कहलिएका प्रतापसिंह, रणबहादुर, राजेन्द्र, सुरेन्द्र जस्ता राजाहरुलाई पनि उनीहरुले गरेका राज्यविस्तार र समाज सुधारका सानातिना कार्यलाई पनि महान भन्दै गुणगान गर्न यो पुस्ता पछि पर्दैनन् । (भोटसँगको युद्ध) । यिनीहरु राजा महेन्द्रलाई चाहि आधुनिक नेपालको जग बसाल्ने राजा भन्न अलि हिचकिचाउँदो रहेछन् जबकि पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्ने र उनलाई एकताको प्रतिक मान्ने राष्ट्रवादको उदय चाहिं राजा महेन्द्र कै शासनकालमा भएको थियो ।
So what सिन्धुलीगढीमा अंग्रेजलाई नहराएको भए ? मुसलमान सेनालाई नहराएको भए ? यस्ता हाइपोथेटिकल तर्क राख्छन् यी बुद्धिजिवीहरु । खै के सोच्छन् यी महाशयहरु ? के सम्पूर्ण भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, बर्मा, थाइलैण्ड, मलेशिया, सिंगापुर लगायत आधा भूगोलका शासक अंग्रेजले गोर्खालीहरुसँग हारेका हुन् ? के मध्यकालीन भारतका सम्पूर्ण भूभाग कब्जा गर्ने मुसलमान मुगलहरु हारेका हुन् ? उनीहरुले नचाहेका मात्र हुन् ।
प्रमाण चाहियो ? सन् १८१५ को सुगौली सन्धी जुन सन्धीले एकतिहाइ भूमि गुमाएर आधुनिक नेपालको सिमाना तय गर्यो ।
अर्को प्रमाण पनि चाहियो ? भारतमा मुसलमानहरुको हुकुमत रहुञ्जेल नेपाल उनीहरुको भयकर आक्रमणबाट बच्न सकेका छैनन् । बंगालका सुल्तान समशुद्दिन इलियासको हमलाबाट भगवान पशुपतिनाथ तीन टुक्रा भएका थिए । स्वयम्भू चैत्य तहसनहस भएका थिए । पृथ्वी नारायण शाहको शासनकाल सम्म आइपुग्दा भने भारतमै मुगल साम्राज्य कमजोर भैसकेको थियो। दिल्ली सल्तनतबाट अन्तिम मुगल सम्राट बहादुरशाह जफरलाई अंग्रेजहरुले बर्माको रंगुनमा निर्वासनमा पठाइसकेका थिए । त्यसैले मुसलमानहरुको भयंकर हमला लिच्छवीकाल र मल्लकालमा जस्तो पृथ्वीनारायण शाह र त्यसपछिका उनका वंशजहरुको शासनकालमा हुन सकेन । गोरखाली सेनाले अल्लाउद्दीन खिलजी, समशुद्दिन इलियास वा गयासुद्दीन तुगलक जस्ता मुसलमान शासकका सेनाहरुसँग कहिल्यै भिड्नु परेको थिएन । त्यसैले भारतबाट उखेलिने क्रममा रहेका मुसलमानहरुलाई हराएँ भनेर घमण्ड नगरे हुन्छ । अंग्रेजहरुले मुसलमान मुगलहरुलाई परास्त गरेर मात्र नत्र पृथ्वीनारायणका वंशजहरुको पनि तिरहुत सिमरौनगढ राजा हरिसिंह देवकै जस्तै नियति हुने थियो ।
फेरि अर्को प्रमाण । चिनिया सेना नुवाकोट वेत्रावतीसम्म आइपुग्दा नवजात राजा गिर्वाणयुद्धलाई रातारात मकवानपुर पुर्याइएका थिए ।
यदि लिएकै भए पनि कस्तो हुन्थ्यो होला ?
एउटा हाइपोथेटिकल प्रश्न । नेपालले गुमाएका भूभागमा बस्ने नेपाली मूलका जनतालाई सोधौं । उनीहरुलाई मतदान दिने अधिकार दिऔं । चयन गर्न लगाऔ । ग्रेटर नेपाल कि भारत ।
जसरी सदियौं देखि नेपाल नेपाल नै रहे । गोपालवंशी, किरातकाल, लिच्छवीकाल, मल्लकाल र शाहकाल । शासकहरु आए गए । भूभाग घट्छन् बढ्छन् ।
नेपाल नेपाल नै रहन्छ । जसरी आसाम आसाम नै दार्जिलिङ दार्जिलिङ नै र गढवाल गढवाल नै रहे । तिब्बत तिब्बत नै रहे । काठमाडौं काठमाडौै नै जनकपुर जनकपुर नै रहन्छ । जसरी बम्बे मुम्बइ र कलकत्ता कोलकाता नै रहे ।
खोक्रो राष्ट्रवादले भोको पेट भर्दैन ।
नेपाली अभाषीहरुका लागि हिन्दी कुन चाँहि पराइ भाषा भो र । नेपाली, हिन्दी वा अंग्रेजी । के फरक पर्छ र ?
शासक बदलिंदैमा भाग्य बदलिंदैन । दोस्रो दर्जाका नागरिक हुनु नै छ भने शासक जो सुकै आओस् के फरक पर्छ र ?
सगरमाथा र लुम्बिनी जहाँ रहे पनि तिनको महत्व घट्दैन । मानसरोवर तिब्बतमा छ । कैलाशपर्वत तिब्बतमा छ । ति आस्थाका धरोहरहरु विश्वमा जहाँ रहुन के फरक पर्छ र ? बुद्ध नेपालमा जन्मिउन वा भारतमा के फरक पर्छ र ? दलाई लामाले एक ठाउँमा भनेका थिए । तिम्रो भनेर अधिकार जताउँदैमा संधै तिम्रै भई रहन्न । ति सारा मानवजातीका हुन् । घमण्ड नगरे हुन्छ ।
आजको नेपालको वास्तविक अनुहार हो यो ।
यहाँ कसैलाई अपमान गर्न खोजिएको नठानियोस् । हाइपोथेटिकल प्रश्नको हाइपोथेटिकल जवाफ मात्रै हो ।
नेपालको एकीकरण कि गोर्खा राज्यको विस्तार (डा. बाल गोपाल श्रेष्ठको फेसबुक पेजबाट साभार)
इतिहास नपढी गोयबल्स शैलीमा पृथ्वीनारायण शाहले नेपालको "एकिकरण" गरे भनेर घाँटी फाट्ने गरी चिच्याई हिँडे पनि प्रामाणिक इतिहासले यसलाई सावित गर्ने कुनै आधार कतै छैन ।
पृथ्वीनारायण शाहले "एकिकरण" शब्दको उच्चारण गरेको समेत कतै छैन । गोरखालीहरुको मकसद् गोर्खा राज्य विस्तार बाहेक केहि थिएन । पछिसम्म पनि गोर्खा शब्द मै उनीहरु गौरव गरी हिड्थे ।
उदाहरणको निम्ति गणतन्न्र आउनु भन्दा अगाडि पंचायतकालीन नेपालको राष्ट्रगान "श्रीमान गम्भीर"लाई लिन सकिन्छ जुन राष्ट्रगान गोर्खे महाराजधिराजको स्तुतिगान र प्रशस्ति बाहेक केही थिएन ।
सन् १९६७ मा राजा महेन्द्रको शासनकालमा आएर मात्र यस राष्ट्रगानमा "श्रीमान् गम्भीर गोरखाली" को ठाउँमा "श्रीमान् गम्भीर नेपाली" बनाइएको थियो । "हामी गोरखाली भाइ साराले" वाक्याशंलाई "हामी नेपाली साराले" मा फेरिएको थियो ।
यो राष्ट्रगानको दाेस्राे परिच्छेदको एक हरफ यस्तो पनि थियो— "राखौं कमान, भारी वीरताले, नेपालमाथी सधैं नाथको, श्री होस् ठूलो हामी गोरखालीको ।" याे हरफले नेपालमाथि गोरखालीहरुको प्रभुत्व र हैकम जमाउने अहंकार प्रस्तै रुपमा बोलेकाे छ । पछि यस गानबाट दाेस्राे परिच्छेद पूरै हटाएर गाउने गरिएकाे थियाे । (हेर्नुस फोटो)
जे भने पनि एउटा देश बन्यो । यही देशमा जन्मियौं पनि अब यहिँ मर्नु नै छ ।
कवि दास निल: को एउटा कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
एउटा नयाँ देश
कवि दास निलः
हो, मेरो जिजुले तिम्रो जिजुसँग
आफ्नो भूगोल हारेकै हो
हारेको त भूगोल मात्रै थियो
तर मेरो जिजुहहरुको घर लुटियो
संस्कृतिलाई निचोर्यो
भाषालाई खुम्च्याईयो
यहाँ सम्म कि
शताब्दिऔं दास बनाईयो
साना सना लगापात थियो
ठुलो चाक्लो बनाईदियो
पराक्रमी भनुं या तानाशाह
जे नाम दिए पनि
एउटा देश बन्यो
समय फेरि सकेको छ
घर आंगन, खेतबारी
बनपाखा, जंगल
हिमाल, पहाड, मैदान
खोलानाला, झरना, ताल
न तिम्रो, न मेरो
अब, हाम्रो भो
हो, हाम्रो नै हुनु पर्छ
तिमी तिम्रो जिजुको
जीतको उन्माद छोड
म मेरो जिजुको
हारको कुण्ठा छोडुँला
एउटा नयां संसार बनाऔं
जहाँ मेरो,
संस्कृति ननिचोरियोस्
भाषा नखुम्चियोस्
धर्म कुण्ठित नहोस्
न तिम्रै मात्र, न मेरै मात्र
अब,
ती सब हाम्रो भन्न सकुँ
मन भित्रै बाट
हाम्रै भन्न सकौं ।।
No comments:
Post a Comment