नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Tuesday, August 4, 2015

ठूला मिडियामा किन अटेन काष्ठमण्डप ?

ठूला मिडियामा किन अटेन काष्ठमण्डप ?
गंगा बहादुर नेम्कुल
Source :  http://www.onlinechautari.com/2015/06/52086

मरुसतःया प्रतिरुप
Replicate of Kashthamandap

आज हामीले काठमाडौं भनेर चिनिदै आएको शहर काठमाडौं, जुन सहरको नाम काष्ठमाडप मन्दिरको देन हो । जुन शहरमा ८ सय ८८ वटा अन्तर्राष्ट्रिय महत्वका सम्पदा तथा स्मारक रहेको तथ्यांक छ । भुइँचालोले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रलाई भने धेरै नै नोक्सान पुर्याएको देखिन्छ । त्यहाँ लगभग ९० प्रतिशत सम्पदा पूर्णरूपमा क्षति भएको छ ।

बैशाख १२ को भुइँचालो यसकारणले पनि ‘महाभूकम्प’ सरह ठहरियो कि यसले देशका अधिकांश सांस्कृतिक सम्पदा विनाश गरिदियो । विनाशकारी भुइँचालोले गरेको सम्पूर्ण भौतिक विनाशमा सांस्कृतिक सम्पदाको अंश १० प्रतिशत पनि छैन होला तर यो नै त्यो महत्वपूर्ण अंश हो, जसले मुलुकलाई तुरुन्तै अन्तर्राष्ट्रिय संवेदनाको केन्द्रमा ल्याइदियो ।

प्रारम्भिक अध्ययनले देखाएअनुसार यो भुइँचालोले उपत्यकाभित्र मात्र कुल ३ सय २७ सम्पदामा क्षति पुगेको छ तर यो उपत्यकामा सूचीकृत सम्पूर्ण सम्पदाको ५० प्रतिशत पनि होइन ।

सम्पदा क्षेत्रमा भएको यो विशाल क्षतिपछि राज्य, सर्वसाधारण र यहाँसम्म कि मिडियाको समेत पूर्ण ध्यान धरहरामा गएर अडेको देख्दा भने उपत्यकावासीको मनमा अर्को पराकम्प गएको छ । यसले हाम्रो ‘सम्पदा चेत’ को दायरालाई पनि प्रष्ट्याइदिएको छ । भर्खर दुई सय वर्ष इतिहास बोकेको धरहरा नेपालको मौलिक सम्पदासमेत नभएको तथ्य सार्वजनिक भइसकेको छ । भुइँचालोले धरहराभन्दा पुराना, धरहराभन्दा महत्वपूर्ण र धरहराभन्दा ऐतिहासिक अरू धेरै सम्पदा ध्वस्त पारेको छ तर पनि हाम्रो ध्यान अझै पनि केवल धरहरामा किन केन्द्रित छ ? ठूला व्यापारी तथा सेलिब्रिटी धरहरा बनाउन जनता लाग्नुपर्ने बताइरहेका छन् । केही बैंकर धरहरामा ‘लगानी’ गर्ने घोषणा गरिरहेका छन् । मिडिया धरहराको भग्नावशेषलाई ‘भूकम्प सिम्बोल’ बनाइरहेका छन् । आखिर किन ?

राष्ट्रसंघीय निकाय युनेस्कोले नेपालको सातवटा सम्पदालाई विश्वसम्पदा सूचीमा राखेको छ । त्यो सातवटामा धरहरा पर्दैन । योबाहेक अर्को १५ वटा महत्वपूर्ण स्थललाई विश्वसम्पदा सूचीमा राख्न सरकारले आवश्यक पहल गरिरहेको छ । त्यो १५ वटामा पनि धरहरा पर्दैन ।

पर्यटन नेपालका लागि विदेशी मुद्राआर्जन गर्ने सबैभन्दा ठूलो उद्योग हो तर नेपालमा आजसम्म एउटै पनि त्यस्तो पर्यटक आएको छैन होला, जसको मूल उद्देश्य काठमाडौंको धरहरा हेर्नु हो । यति हुँदाहुँदै पनि विश्वभरि किन धरहरालाई नै भुइँचालोको प्रतीक बनाएर प्रचार गरियो ? जुन स्मारक अस्तित्वमा हुँदा त देशका लागि कुनै कामको विषय थिएन भने आज अस्तित्वविहीन भइसकेपछि के कामलाग्दो होला र ?

देशका सबैजसो राष्ट्रिय दैनिकले भुइँचालोको प्रतीक झल्काउनुप¥यो कि धरहरालाई अघि सार्ने गरेको पाइन्छ । जेठ २६ गते राजधानीबाट प्रकाशित हुने दुई प्रमुख राष्ट्रिय दैनिक कान्तिपुर र नागरिकमा काठमाडौंको बबरमहलस्थित एउटा पर्खालमा लेखिँदै गरिएको एउटा चित्रको तस्बिर छापिएको थियो । दुवै पत्रिकाले क्याप्सनमा लेखे– लेखिँदै गरेको एउटा मन्दिरको चित्र । दुवै पत्रिकालाई थाहा थिएन कि त्यो कुनै मन्दिर होइन, काष्ठमण्डपको चित्र हो । कान्तिपुरको त लोगो नै काष्ठमण्डप हो, के उसलाई आफ्नै लोगोको समेत नाम थाहा थिएन ? जसले धरहरालाई ध्वस्त सांस्कृतिक सम्पदाको प्रतीक बनाए, उसलाई काष्ठमण्डपबारे थाहा छैन । कसरी भयो यस्तो ? के होला यसको कारण ?

काठमाडौंवासी त यसलाई ‘सांस्कृतिक पूर्वाग्रह’ ठान्छन् । मल्लकालीन सम्पदालाई छोडेर शाहकालीन सम्पदालाई महत्व दिने ‘महेन्द्रवादी’ सोचको निरन्तरता ठान्छन् यसलाई काष्ठमण्डपका रैथाने । यसका पछाडि एउटा विजित र अर्को विजयी देशको शासकीय मानसिकताले काम गरिरहेको आरोप पनि काठमाडौंवासीको छ । भलै यो आरोप यथार्थभन्दा पनि मनोवैज्ञानिक बढी होला तर यसमा पटक्कै सत्यता छैन पनि भन्न सकिन्न ।

आरोपका विभिन्न कोण होलान् तर काट्नै नसकिने एउटा सत्य के हो भने, धरहरा यसरी ध्वस्त सम्पदाको प्रतीक बन्न पुग्नुको पछाडि हाम्रो आफ्नै सांस्कृतिक चेतको कमी रहेको छ । यसभित्र कुनै षडयन्त्र वा सुनियोजित कामकुरो लुकेको छैन भने हामीले मान्नैपर्ने हुन्छ कि नेपाली जनतालाई सांस्कृतिक चेतना जगाउने काममा हामी अत्यन्त पछि परेकै हौं । राज्यका सबै निकाय र जनतामा समेत सांस्कृतिक चेतको ठूलो अभाव यसले प्रस्ट देखाएको छ । वास्तवमा यही सांस्कृतिक चेतको अभाव नै हो जसले गर्दा देशकै पहिचान भनिएका सम्पदा पनि ५६ सेकेन्डको एउटा झट्काले गल्र्यामगुर्लुम ढले ।

भुइँचालो आउँदा धरहरा ढल्नु त स्वाभाविक नै थियो किनकि त्यसको उचाइले नै उसलाई भुइँचालोको झट्का थेग्न दिँदैन । नब्बे सालमा पनि ढलेकै थियो, अहिले पनि ढल्यो, यो पुनःनिर्माण भयो भने अर्को भुइँचालोमा पनि त्यो ढल्छ नै । धरहरा काठमाडौंको ‘माटो सुहाउँदो’ संरचना होइन । न यो काठमाडौंको मौलिक वस्तु नै हो । पाँच तले घर बनाउन नहुने काठमाडौंको जमिनमा नौ तले धरहरा कसैले बनाउँछ भने उसले काठमाडौंलाई बुझेकै छैन भन्दा फरक नपर्ला । अस्वाभाविक उचाइका कारण धरहरा त ढल्यो तर त्यसको साथसाथै काठमाडौंका तीन चार तले होचा मन्दिर पनि ढले । किन ढले त ती ?

होचा मन्दिर ढल्नुको प्रमुख कारण थियो, त्यसलाई समयानुकूल जीर्णोद्धार नगरिनु । बेला–बेला जीर्णोद्धार गरिएका मन्दिर र सम्पदा ढलेनन् । जस्तो कि भक्तपुरको पचपन्न झ्याले दरबार, पाटनको दरबार, कृष्ण मन्दिर आदि । जति ढले जीर्णोद्धार नगरिएका सम्पदा ढले । अब प्रश्न उठ्छ, यी सम्पदाको जीर्णोद्धारचाहिँ किन भएन त ? किन यसमा काम भएन ? आउने उत्तर यही हो– धरहरा । जसले धरहरालाई नेपालको नम्बर एक सम्पदा ठान्ने गर्छन्, उसले यी मन्दिर जीर्णोद्धार पनि गर्नुपर्छ भनेर जान्नु पनि कसरी ? त्यो चेत कहाँ उनीहरूसँग ? धरहरालाई नेपालकै एकमात्र सम्पदा ठान्नुबाटै थाहा हुन्छ, उनीहरूको सांस्कृतिक चेतना नै अहिलेसम्म परिपक्व भइसकेको छैन । जो नेपालको पहिचान बोक्ने सम्पदा हो, जो नेपालको इतिहास बोल्ने सम्पदा हो, जो देशमा पर्यटक भित्र्याउने सम्पदा हो, ती सम्पदाको महत्व बुझ्ने चेतनाकै कमी हामीसँग रहेको देखियो ।

धरहरालाई जसले भुइँचालोको प्रतीक बनाए, उसले पनि धरहराको सांस्कृतिक महत्ताभन्दा पनि त्यसको उचाइ हेरेर यस्तो गरेको भान हुन्छ । धरहरा साँच्चै त्यति नै ठूलो सम्पदा हो भन्ने लागेको भए त्यहाँ सर्वसाधारणलाई चढ्न किन दिइयो ? पार्क र पोखरी सञ्चालन गरेजस्तै धरहरा सञ्चालन गर्ने ठेक्का किन व्यापारीलाई दिइयो ? राष्ट्रिय महत्वका सांस्कृतिक सम्पदा संरक्षण गर्ने जिम्मा राष्ट्रको हो कि व्यापारीको ? रातो जति राम्रो भनेजस्तै अग्लो जति ठूलो भन्ने बालमनोविज्ञानमा आधारित भएर धरहरालाई भुइँचालोको प्रतीक बनाएको देखिन्छ ।

यसपालिको भुइँचालोले हामीलाई निहीत यो सांस्कृतिक चेतको कमीलाई पनि खुलस्तै उजागर गरिदिएको छ । सांस्कृतिक चेत भौतिक निर्माणका सन्दर्भमा मात्र होइन, आफ्नो सांस्कृतिक सम्पदालाई चिन्ने सन्दर्भमा, आफूलाई चिन्ने सन्दर्भमा र आफ्नो मुलुकलाई चिन्ने सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । अब गरिने पुनर्निर्माणमा सांस्कृतिक सम्पदाको मात्रै निर्माण होइन, यो सांस्कृतिक चेतको पनि निर्माण गर्नु जरूरी छ ।

No comments:

Post a Comment