प्रश्रितमार्गका सहयात्रीहरु
राज श्रेष्ठ, कीर्तिपुर


धर्म निरपेक्षता विनाको लोकतन्त्र कल्पना पनि गर्न सकिदैन । राज्यको कुनै धर्म हुँदैन, राज्य त जुनसुकै धर्मावलम्वीहरुका लागि पनि साझा हुन्छ । पंडित नेहरुले स्वतन्त्र भारतलाई धर्म निरपेक्ष राख्दा राज्यबाट धर्म पृथक हुन् भन्ने बुझेरै राखेका थिए । यस्तो अकाट्य सत्य हुँदा हुँदै पनि आफूलाई समानता, लोकतन्त्र र बहुलवादी समाजका हिमायती ठान्नेहरुले कसरी धर्म निरपेक्षताको विरोध गर्न सकेका होलान् ? उनीहरुमा यत्रो विरोधाभास किन ? राज्यको धर्म निरपेक्षतालाई चुनौति दिइन्छ भने यस्ले ल्याउने दुस्परिणामको आभास उनीहरुलाई छैन भन्न कसरी मिल्ला ?
प्रश्रित मार्गका अर्का सहयात्रीहरुमा सबभन्दा ठूलो जमात खस युवाहरुको छ । हुन त यिनै वर्गका अझ ठूलो जमात धर्म निरपेक्षलाई नै समर्थन गर्दछन् । तैपनि नेपाली समाजमा डरलाग्दो रुपमा एउटा यस्तो अनुदारवादी खस युवाहरुको जमात तयार हुँदै छन् जस्लाई न त राज्य धर्म निरपेक्ष होस् भन्ने चाहन्छन्, न देश संघीयतामा जाओस भन्ने नै । सम्भ्रान्त यी युवाहरु आफूले खाईपाई आएको सुविधाको उपभोग सिमान्तकृत अर्का युवाहरुले पनि गरोस् भन्ने पटक्कै चाहँदैन । र नेपाली राजनीति र सरकारी सेवामा आफ्नो वर्चश्व चिरनिरन्तरकाल सम्म यथावत नै रहोस् भन्ने चाहन्छ ।
लेख्दा दुःख लाग्छ, नयाँ पुस्ता पुराना पुस्ता भन्दा उदार, स्वतन्त्र र न्यायप्रेमी हुनु पर्ने हो । तब त देशले उन्नति गर्छ, यूरोप र अमेरिका मात्र किन एसियाका विकसित देशहरु यस्तै भाइचाराले त विकासको चुलिमा पुगेका छन् । अन्र्तजातीय त के कुरा अन्तरदेशीय, अन्तरमहादेशीय विवाह समेत सम्भव भैसकेका छन् । भूमण्डल सबै एउटै गाउँ भैसकेको छ । तर दुर्भाग्य नेपालमा यस्को ठिक विपरित नयाँ पुस्ता अनुदार देखिन्छन्, धर्मको सम्बन्धमा, अधिकारको सम्बन्धमा, भाषाको सम्बन्धमा । यस्मा मेरो एउटै विनय पूर्वक अनुरोध यति नै छ । प्रश्रित मार्गका सहयात्रीहरु हो, देश अर्को धार्मिक द्वन्दमा नफसोस् । अस्तु ।
No comments:
Post a Comment