नेवा: स इन्टरनेट रेडियो

Monday, May 18, 2015

एउटा बूढो स्कूल मेरो सम्झनामा

एउटा बूढो स्कूल मेरो सम्झनामा
 
राज श्रेष्ठ

आफूले बाल्यकाल विताएको, पढन लेख्न सिकेको स्कूल भूकम्पले क्षति हुँदा आँखा त्यसै रसाउँदो रहेछ । आफूले छाडेको वर्षौ भइसक्यो तैपनि यो बूढो स्कूल बालबच्चाहरुलाई कखरा सिकाउँदै देशलाई योग्य नागरिक दिन कहिल्यै थाकेको छैन ।

Photo Credit : Kapil Dev Thapa
दरवार हाई स्कूल २०४२ सालको कुनै महिनामा (अहिले मैले सम्झन सकिन, वैशाख नै हो जस्तो लाग्छ ।) कक्षा १० को कक्षा कोठा एक तल्ला तल भासिएर गएको थियो । तल्लो तल्लामा संस्कृत मा.वि. रहेपनि सो भासिएको कोठा संयोगवस खाली नै थियो । त्यति बेला कक्षा कोठाको डेस्क र मेचहरु एकसँग अर्को गाँसिएका हुन्थे । हुन त कक्षा कोठाको अन्तिम लहरका दाँयातिरको एक चौथाई भाग मात्र खसेका थिए तर डेस्क र मेचहरु एक आपसमा जोडिएका हुँदा दाँया तिरका सबै डेस्क र मेचहरुमा बसेका विद्यार्थीहरु करीव २० फिट तल भासिन पुगे । कक्षा कोठाको बाँया तिर बिचमा आकारले निकै ठूला लाग्ने ढोका र कक्षा कोठा भित्र पस्ने बाटोले दाँया बाँयाका एक चौथाई डेस्क र मेचहरु मध्ये पछाडि रहेका भाग पनि सँगसँगै तल भासिन पुगेका थिए भने अगाडि बाँया तिर रहेका भाग भने सबूतै रहेका थिए । म र मेरा केही साथीहरु सोहि नभासिएको भागमा थियौं । त्यतिबेलाको सम्झना अझै पनि ताजै छ । 

बिहानको करीव पौने एघार बजेको हुँदो हो । यादव सर, अंकगणितको कुनै समस्या समाधान गर्न ब्लाकबोर्डमा चकले लेखिरहनु भएको थियो । भर्खरै घण्टाघरमा पौनेको घण्टी बजेको हुँदो हो । म बाँया पत्तिको पहिलो बेन्चमै थिएँ । अकस्मात मैले एकदम अनौठो किरकिर जस्तो आवाज सुनेँ । यादव सर एकदम पछि फर्कनु भयो । उहाँका विस्फारित आँखाहरु देखेर मैले पनि पछाडि फर्केर हेरें । पछाडि के देखेँ भन्दा कोठा भरी धुलोको मुस्लो भरिएको थियो । ती धुलोका मुस्लो भित्र मैले आकारले मात्र ठम्याउन सक्ने गरी साथीहरु डेस्क समाउदै तल झरिरहेका देखें । यादव सर र हामी एक चौथाई बचेकाहरु एकै सासमा ढोका हुँदै बाहिर निस्क्यौं । बार्दलीबाट मूल ढोका निस्कदैं गर्दा हामीले केदार सर भेट्यौ । स्कूलको बार्दली हुँदै हामी तल त्यो झरेको त्यो कोठा बाहिर तिर लाग्यौ । यसरी हामी आत्तिदैं भाग्दा अन्य कक्षाका शिक्षक र विद्यार्थीहरु पनि बाहिर तिर भाग्न लागे । 

तल संस्कृत मा.वि.को त्यो वर्षौ देखि प्रयोगमा नल्याइएको कोठाको ढोका खोल्न धेरै मिहिनेत गर्नु प¥यो । निकै बेरको प्रयास पछि कोठाको खियालागेका साँचो फुटाई ढोका खोलियो । धेरै साथीहरु घाइते हुनु भएको थियो । धुलोले गर्दा कोहि कसैको अनुहार चिन्न सक्ने स्थिति थिएन । तर गम्भीर रुपमा भने कोही पनि घाइते भएका थिएनन् । स्कूलका शिक्षकशिक्षिकाहरु सबै जम्मा भए । मेघराज सर त्यतिबेला उहाँ उपप्रधानाध्यापक हुनुहुन्थ्यो,  घाइते हुनबाट बचेका हामी सबैको नाम टिप्न लाग्नु भयो । एम्बुलेन्समा राखेर घाइते साथीहरुलाई अस्पताल तिर पु¥याइयो । 

देश कै सबभन्दा पुरानो विद्यालयको कक्षा कोठा भत्किंदा त्यो राष्ट्रिय समाचार बनेको थियो । हप्तौ स्कूल बन्द गरिए । विज्ञहरुको टोलीले सम्पूर्ण भवनको अध्ययन गरी सकेपछि मात्र कक्षा सुचारु गर्ने तयारी भए । हामीहरुको कक्षा भने स्कूलको पछाडि ललितकला क्याम्पससँगै जोडिएको जग्गामा जस्ताको छानालाएर कक्षा कोठा तयार गरिए । त्यति बेला मैले सम्झे सम्म भवनको गारोहरु सबै ठिक अवस्थामा भएको तर ठूला ठूला काठ र फलाम प्रयोग गरी बनाइएका सिलिङहरु मक्किएको हुँदा त्यसको ठाउँमा कक्रिट ढलान गर्ने सुझाव अनुसार अहिलेको अवस्थामा दरवार स्कूलको पुनर्निमाण गरिएको थियो । तर बाहिरको बार्दलीको सम्बन्धमा भने कुनै परिवर्तन गरिएको थिएन । जुन अहिलेको भूकम्पबाट क्षतिग्रस्त बनेको छ । पुनर्निमाणको क्रममा जस्ताको छाना  राखी तेस्रो तल्ला थप गरी त्यहाँ प्राथमिक कक्षा सञ्चालन गरिएको थियो ।  अहिले पुस्तकालय रहेको भाग जुन भोटाहिटी तिर परेको छ त्यो भाग भत्केको छ । भोटाहिटी तिरको भाग तल पसल खोलिएको एक वर्ष पनि भएको थिएन । पुस्तकालय रहेको त्यो खण्ड पहिले मजलिसको घर भनेर चिनिन्थ्यो र मुख्य भवनबाट छुट्टै रहेको कुरा पुराना तस्वीरहरुमा देखिन्छन् । बार्दलीको भाग भने निक्कै क्षतिग्रस्त देखिन्छन् । भानुभक्तको शालिक सँगैको ठूलो वरण्डाका पिलरहरु पनि क्षतिग्रस्त देखिन्छ । 

मानिस आखिर कृतघ्न नै हुँदो रहेछ । अहिले हामी २०४२ साल ब्याचका साथीहरु कतिपय सरकारका उपसचिव सम्म भैसकेका छन्, राष्ट्रिय स्तरका प्रतिभा भैसकेका छन् र सफल व्यवसायी बनेका छन् । एसएलसी पास गरी सकेपछि मुश्किलले एक या दुई पल्ट त्यो स्कूलमा पदार्पण गरियो होला । परिवेशले थोरै सम्झना मात्र बाँकी थिए । तर एक दिन फेसबुकमा आफनो त्यही चिरपरिचित स्कूलको नाममा साथीहरुले ग्रुप खोलेका रहेछन् । 

पुराना सम्झनाहरु ताजा हुँदै आए । कक्षा १, २ मा नेपालीका डिक्टेशन दिई दिई अक्षर राम्रो बनाउने भवानी मिस, यमुना मिस । तिलस्मी, रहस्यले भरिएका कथाहरु कौतूहलताले सुन्ने गथ्यौं मानरत्न सरबाट । स्काउटका प्रणेता बेडेन पावेल झै लाग्ने हरि सर । महिनै पिच्छे फि तिर्न जाँदा जम्का भेट भइरहने केदार सर । कक्षा खाली भएका वखत संधै कक्षा लिन आउने राजभक्त सरको पढाउने विषय हुन्थ्यो, बहादुर शाहको नेपाल विस्तार अभियान । पत्यार लाग्दो गरी दोहरिरहने नेपालको ईतिहास पनि कथा हाले झै गरी बुझाउनु हुन्थ्यो माधवी मिस । अक्षांश र देशान्तरका कुरा, पृथ्वीको भूगोलका कुरा सिकाउनु हुने राजाराम सर । सीपमूलक शिक्षाका कुरा कहिले भटमासको दूध, कहिले खिर त कहिले रंगीचंगी कपडाका सिलाई बुनाई पुष्पा मिस र चिनीहेरा मिस । कठिन नेपाली व्याकरणका प्रमिला मिस । अंग्रेजीका व्याकरणका डाइरेक्ट र इन्डाइरेक्ट स्पिचलाई आफ्नो सम्पूर्ण शक्ति लगाएर सिकाउनु हुने कायस्थ सर । ग्याँस, तरल र ठोस पदार्थका गुणहरु सिकाउनु हुने किरण मिस । दश बज्न दश मिनेट बाँकी वा बाह्र बजेर पन्ध्र मिनेटलाई अंग्रेजीमा कसरी भन्नु पर्छ भनी सिकाउनु हुने गुणकेशरी मिस । प्रयोगशालामा हावाको तापद्वारा प्रसार हुन्छ भनेर प्रयोगबाट पुष्टि गर्नु हुने विद्या मिस । तत्वका रासायनिक नामहरु, केमिष्ट्रीका फर्मुलाहरु ब्यालेन्स गर्न सिकाउनु हुने प्रमिला मिस । ओहम, एम्पियर र भोल्टको सम्बन्ध बुझाउनु हुने विजयध्वज सर । काठलाई सिजनिङ गर्न सिकाउनु हुने ईश्वर सर । दि इंगलिश रिडरलाई कन्ठै हुने गरी पढाउनु हुने मेघराज सर । भूपि शेरचनका कविता वाचन गर्दै कक्षा कोठा भित्र पस्ने यज्ञनिधि सर । वर्षातको मौसमलाई काव्यात्मक व्याख्या गर्दै प्रकृति पनि रोइरहेछ भनेर सिकाउने हाम्रा हेडसर सुवर्ण सर । 

वैशाख १२ को भूकम्पले फेरि एकपटक आफूलाई भूतकालमा ल्याइपु¥याएको छ । आफूले बाल्यकाल विताएको, पढन लेख्न सिकेको स्कूल भूकम्पले क्षति हुँदा आँखा त्यसै रसाउँदो रहेछ । आफूले छाडेको वर्षौ भइसक्यो तैपनि यो बूढो स्कूल बालबच्चाहरुलाई कखरा सिकाउँदै देशलाई योग्य नागरिक दिन कहिल्यै थाकेको छैन । सम्भवतः देशका ठूला नेता देखि कवि, कलाकार, साहित्यकार, प्राध्यापकहरु कुनै दिन यहीं कै आगनमा खेलेर हुर्केका होलान्, यहीं दीक्षीत भएका होलान् । तर दरवार स्कूल सबैले बिर्सिएका, जीर्ण शरीर बोकेर, आफूले सिकाएर ठूला मान्छे बनाएकाहरु कहिले उद्धार गर्न आउला, भन्दा भन्दै, पर्खदा पर्खदै वैशाख १२ को भूकम्पले ढलेको शरीर बोकेर अझै आशामा बाँचेको छ । 


मेरो संस्मरणमा मानरत्न सर 

अहिले जस्तो नर्सरी, केजी नपढ्दै घरमै दाईले कखग सिकाएर दरवार स्कूलमा कक्षा १मा भर्ना गरिदिएका थिए मलाई । स्कूलका बाल्यकाल बिताउँदाका वर्षसँगै सर मिसहरु मध्ये मानरत्न सरको सम्झना घरिघरि आउँछ । मानरत्न सरको पर्सनालिटि पनि गजब कै थियो ।  संधै कक्षाकोठामा बास्नादार तेलले कपाल चटक्क कोरिएका, सूट, टाईमा सजिएर पालिसले तलक्क तल्किने छालाजुत्ता लगाएर मेचमा शानसँग बसेका मानरत्न सर हाम्रालागि आदर्श व्यक्ति हुने गथ्र्यो । उहाँका ओजिलो स्वरमा तिलश्मी जादूले भरिएका कथाहरु खुब चाख लिएर सुन्ने गथ्र्यौं हामी । हरेक हप्ता शुक्रवारका दिन गीत गाउन लाउनु हुन्थ्यो । राम्रो स्वरले गीत गाउन सके सरको स्याबाशी पाउँथ्र्यौ ।

त्यतिबेला ऋषि म र विदूर खुब मिल्ने साथी थियौं । हरेक हप्ता कुन गीत गाउने, गीत कसरी कन्ठस्थ गर्ने भन्ने समस्याले गर्दा हामीहरुले एक दिन सल्लाह ग¥यौं । हप्तान्तका लागि भनेर एउटा एउटा गीत कन्ठस्थ गर्ने सरल विधि हामीले निकाल्यौं । योजना बमोजिम विदुरले कुमार बस्नेतको त्यतिबेलाका चर्चित लोकगीत “तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते, अरुलाई सोध्या’छ भन्दिनु” कन्ठस्थ गरे । ऋषिले दीप श्रेष्ठको आधुनिक गीत “कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिनं” कन्ठ गरे । मैले डैनी डेङ्जोङ्पाको “चिसो चिसो हावामा, त्यसै मन बरालिन्छ” कन्ठ गरेँ । अब भने हामी ढुक्क भयौं । कक्षा खालि भएको बेला अरु सर मिसहरुले गीत गाउन बोलाउँदा पनि हामी निस्फिक्री हुन्थ्यौं । कुनै डर थिएन, एउटा एउटा गीत जो कन्ठ पारिएकै थियो, भर्स बिर्सेला भन्ने कुनै चिन्ता नै थिएन ।

एक दिनको कुरा हो, मानरत्न सरको मुड बिग्रिएको दिन प¥यो । विदुरको गीत गाउने पालो थियो । लेग्रो तान्दै विदुर “तिम्रो बाउलाई सलाम छ” के गाएका थिए, “भयो बाबु, भयो । आफ्नो सिटमा जाऊ ।” सरले झपार्दै भन्नु भयो । ऋषिले “कति कमजोर रहेछ भाग्य” को दोस्रो लाईन गाउनै पाएन । मैले “चिसो चिसो हावामा” के भनेको थिएँ, “जाऊ । बाबु जाऊ” सरले उर्दी जारी गर्नुभयो । “संधै एउटै गीत सुन्दा सुन्दा कान पाकिसक्यो ।” मानरत्न सर जंगिन थाल्नुभयो । वास्तवमा अरु साथीहरुले पनि हाम्रो सिको गर्दै आफ्ना लागि एउटा एउटा गीत रिजर्व राखेका थिए ।

“अब अर्को शुक्रवार नयाँ गीत गाउने, सबैले याद गर ।” हाम्रो लागि दुर्भेद्य दुर्ग नै सावित हुने कुरा थियो, नयाँ गीत कन्ठ गर्नु पर्ने । नयाँ गीत कुन गाउने होला भनेर हामीलाई पिरोल्यो । उपाय पनि निस्किहाल्यो । विदुरले नारायण गोपालको “आँखा छोपी नरोऊ भनी भन्नु प¥याछ” गीत गाउने भयो । ऋषिले दिप श्रेष्ठकै “बितेका कुराले केहि चोट लाग्छ” रोजे । मैले पनि डैनी डेङजोङपाकै “मनको कुरालाई बाँकी नराख” रोजें । त्यतिबेलाको सम्झनामा लहरिदैं जाँदा अहिले पनि हाँसो उठ्छ । 

मेरो संस्मरणमा उपत्यका व्यापि गणित विषयक हाजिरीजवाफ प्रतियोगिता

कुरो धेरै पुरानाे हो । त्यतिबेला हाईस्कूल ब्यापी गणित विषयक हाजिरी जवाफ प्रतियोगिता हुने गर्थ्यो । म कक्षा ९ को विद्यार्थी थिएँ । म सहित अरु चारजना साथीहरु कमलेश्वर जोशी, बीजेन्द्र कृष्ण सिंह, तिमिला शाक्य हामी चार जना स्कूलको तर्फबाट भाग लिन पुग्यौं । हामीले प्रारम्भिक चरणहरु सफलताका साथ पार गर्दै सेमिफाइनल चरणको प्रतियोगितामा सेन्टमेरिज स्कूलसँग जम्काभेट हुन पुग्यो ।

मलाई याद छ, पहिलो प्रश्न सेन्टमेरिज स्कूललाई रोमन अंक XLVI को ईन्डोअरेबिक संख्या कति हो भन्ने सोधिएको थियो । उत्त्तरमा दश हजार पाँचसय यस्तै केही अायो, जुन गलत सावित भयो । हामीले यस प्रश्नको सही उत्तर ४६ दिएर अंक बढायौं । त्यस पछिका प्रश्नहरुको सही उत्त्तर दिदैं हामीले सेन्टमेरिज स्कूललाई टक्कर दिदैं गयौं । 

गाढा निलो कोट, टाई र छिर्केमिर्के फ्रकमा सजिएका सेन्टमेरिज स्कूलका छात्राहरु निकै हतोत्साही देखिन्थे उनीहरुले पाउनु पर्ने अंक जुन हामीले खोसेका थियौं । हामीले बढोतरी हासिल गर्दै गयौं । उनीहरुले पनि त्यस पछिका कुनै पनि प्रश्नलाई खेर जान दिएनन् ।

तर अन्तिम ३ प्रश्नको भने हामीले सही उत्तर दिन सकेनौं । त्यतिबेला मलाई याद छ,एउटा प्रश्न पाईकोे मान राखेर गर्नु पर्ने सोधिएको थियो । हामी सबै ९ कक्षामा पढ्ने विद्यार्थी पाईको विषयमा पढ्न पाठ्यक्रम मै थिएन । त्यतिबेलाको पाठ्यक्रम अनुसार कक्षा १० मा मात्र पाई को बारेमा पढ्न पर्थ्यो । यसरी हामी २ अंकले हार्यों । हामीलाई गाइड गर्ने शिक्षक धनन्जय यादव सरले हाम्रो समूहमा कक्षा १० का एक जना विद्यार्थी नराखेकोमा ठूलो पछुतो मान्नुभयो ।

यस हाजिरीजवाफ प्रतियोगितको तयारीका लागि अपसनल म्याथ पढाउनु हुने शिक्षक द्वारिकामान मानन्धर सर र त्रिचन्द्र कलेजबाट भर्खरै बिएस्सी सक्याएर हामीलाई पढाउन अाउनु हुने प्रमिला पोखरेल मिसले abscissa र ordinate को स्पेलिङहरु acute angle र Obtuse angle हरु उहाँहरुकै कार्यकक्षमा सिकाउनु भएको मलाई अहिले सम्म सम्झना छ ।

यही प्रतियोगितामा जनसेवा मा वि पा‌ंगा पनि फटाफट जित्दै सेमिफाइनलमा कन्या आवासिय मा वि लैनचौरसँगको अत्यन्त प्रतिस्पर्धात्मक भिडन्तमा १ अंकले पराजित हुन पुग्यो । पछि फाइनलमा कन्या आवासिय मा विले सेन्टमेरिजलाई हरायो । कन्या आवासीय मा वि की एक जना छात्रा सोहि वर्षको एसएलसी बोर्ड परीक्षामा चौथौं स्थान र कन्याहरुमा प्रथम स्थान हासिल गर्न सफल भईन । पछि अमृत क्याम्पसमा तिनी म भन्दा एक वर्ष सिनियर थिईन् ।

त्यतिबेला यो प्रतियोगितामा हामी दर्शक दिर्घाबाट गणितका प्रश्नहरुको फटाफट जवाफ फर्काउने जनसेवा मा वि का प्रतिभाशाली विद्यार्थीहरुको सम्झना हुन्छ जसले त्यतिबेलाका नाम कहिलिएका आवासिय बोर्डिङ स्कूलहरुलाई आच्छुआच्छु पार्थ्यो ।

हुन पनि हामीले नाम कहलिएका बोर्डिङ स्कूलहरुलाई अन्तिम समय सम्म होसहवास जो उडाई दिएका थियौ‌ ।


आर सि टी अर्थात रानीपोखरी कर्नर टीम


साफ च्याम्पियनसिप २०१८ बंगलादेशमा नेपाली टिमलाई एकपछि अर्को सफलता प्राप्त भइरहँदा मलाई भने आफ्नो स्कूले जीवनको मध्यमाञ्चलव्यापी विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सम्झना उँछ । त्यतिबेलाका सशक्त टिमहरु बुढानिलकण्ठ स्कूल र जेपिस्कूलसँगको कडा प्रतिश्पर्धा जितेर हाम्रो स्कूलले च्याम्पियनसिप कप उचाल्दा हाम्रो खुशीको सीमा हुँदैनथ्यो । यसको श्रेय अग्लो पातलो जीउडालका स्काउट शिक्षक हरिसर, जो अतिरिक्त क्रियाकलाप शिक्षक पनि हुनुहुन्थ्यो, उहाँलाई जान्छ । कप जितेको उपलक्ष्यमा भोलिपल्ट स्कूल विदाको घोषणा गरिन्थ्यो । सिसाको फ्रेम भित्र सजाएर राखिएको कप हेर्न हामीहरु झुम्मिन्थौं ।  

फुटबल प्रतियोगितामा आफ्नो टिमको हौसला बढाउन हामीहरु हुलका हुल बाँधेर महाराजगंजस्थित प्रहरीप्रशिक्षण रहेको खेलमैदानमा जान्थ्यौं । फाइनलमा धेरै पटक बुढानिलकण्ठ स्कूलसँग दरवार हाईस्कूलको जम्का भेट हुन्थ्यो । मलाई सम्झना भएसम्म बुढानिलकण्ठ स्कूलले हाम्रो स्कूललाई कहिल्यै जित्न सकेन । खेलमैदानमा निक्कै आक्रामक र कन्फिडेन्ट रुपमा प्रस्तुत हुने यो स्कूलले खेल जित्न भरमग्दुर प्रयास गर्थे । तर दरवार स्कूलका खेलाडीहरु पनि कम थिएनन् । चुम्बक जस्तो गोलकिपर र बलियो डिफेन्सले हरबार उनीहरुलाई निराश पार्थे । मिडफिल्डरको पासलाई स्ट्राइकरले छक्याउँदै उनीहरुको गोलपोष्टमा बल छिराउँदा हामीहरु खुशीले ग्राउण्डमा तीन हात उफ्रन्थ्यौं । 

एकपल्टको कुरा हो । फाइनलमा उही चिरपरिचित बुढानिलकण्ठ स्कूलसँग हाम्रो भिडन्त भइरहेको थियो । हामीहरुमाझ एउटा हल्ला चल्यो । युवराज दीपेन्द्र खेल हेर्न आइबक्सेको छ रे । हामीहरु बीच चिसो पस्यो । खेलमैदानमा ज्यान फालेर प्रतिश्पर्धी टिम खेलिरहेका थिए । द्वन्द निक्कै घमासान भयो । हामीहरु सास थामेर हेरिरहेका थियौं । पहिलो हाफ सकिन केहि बेर मात्रै थियो । नभन्दै हाम्रा स्ट्राइकरले उनीहरुलाई छक्याउँदै एक गोल ठोके । हामीहरु अत्यन्त उत्साहित भयौं । तर अब पुरै अर्को हाफ बाँकी नै थियो । प्रतिस्पर्धीले अत्यन्त डरलाग्दा आक्रमण गर्न थाले । तर खेल सकिन लाग्दा सम्म पनि हाम्रा गोलकिपर र डिफेन्सले ती आक्रमणहरुलाई कडा प्रतिकार गरिरहे । अन्त्यमा रेफ्रिको लामो सिटीसँगै हामीहरु फेरि जित्यौं । हामीहरु बाटा भरि नारा जुलुस गर्दै फर्क्यौं । 

भोलिपल्ट एउटा अनौठो खबर हामी साथीभाईहरुमाझ हुरी झैं फैलियो । कानै कान यस्तो भयो रे भन्ने हल्ला सुनियो । यो हल्लामा कति सत्यता थियो यसको जाँचपडताल कुनै हिसाबबाट पनि सम्भव थिएन । सुनियो युवराज दीपेन्द्रको नेतृत्वमा बुढानिलकण्ठ स्कूलबाट एउटा ग्याङ दरवारस्कूलका खेलाडीहरुलाई भकुर्न आइपुग्यो रे । राती जबरदस्त ग्याङ फाइट भयो रे । दरवारस्कूल ग्याङले बुढानिलकण्ठ स्कूल ग्याङलाई राती खेतै खेत बुढानिलकण्ठ सम्मै लघारे रे । 

दरवार स्कूलका ती प्रतिभाशाली खेलाडीहरु पछि नेशनल लेभल कै टीममा अनुबन्धित पनि भए । आर सि टी अर्थात रानीपोखरी कर्नर टीममा अधिकांश खेलाडी दरवार हाई स्कूलका खेलाडीहरु नै थिए । त्यतिबेला फुटबल टिममा नाम कहलिएका आरसिटी, फ्रेण्डस् क्लब कुपण्डोल, मनाङ मर्स्याङ्दी, ब्यायज यूनियन संकटा, महेन्द्र पुलिस क्लब, त्रिभुवन आर्मी क्लबका फुटबल प्रतियोगिता हेर्न रंगशाला भरिभरि खेल प्रेमी जम्मा हुन्थे । त्यतिबेलाको फुटबल खेल निक्कै लोकप्रिय थियो ।

 
All photo credit : Kapil Dev Thapa








No comments:

Post a Comment