नेवा: स इन्टरनेट रेडियो

Monday, April 20, 2015

"माँया ख्वा: स्वयेगु = आमाको मुख हेर्ने".

"माँया ख्वा: स्वयेगु = आमाको मुख हेर्ने"

डा. रोशन श्रेष्ठ, हाल संयुक्त राज्य अमेरिका

"अचेल 'मुख हेर्ने' परम्पराको मौलिक पक्षको जानकारी नभएकाहरु वा जानकारी भएतापनि त्यसलाइ जानाजान नजरअन्दाज गर्न चाहनेहरु यो पर्वलाइ 'किन आमाको मुख हेर्ने भनेको?' 'अन्य नाउँ राखौ - आमा दिवस भनौ, माता दिवस भनौ' भन्दैछन । त्यसो भन्नेहरु खासमा पश्चिमा संस्कारको 'मदर्स डे'बाट ज्यादा प्रभावित भएकाहरु हुन । 'मदर्स डे' या 'आमा दिवस' नै मनाउने हो भने पश्चिमाले तोकेको दिन नै रोजेर मनाए भइहाल्यो । किन यो चौलागा आमै (याने कि औसि) तिथि नै छानेर 'मदर्स डे' गर्नु पर्यो र? आखिर पश्चिमाको देखासिकि गरेर 'प्रेम दिवस' मनाउन त थालिएकै छ क्या रे । "


बर्षौसम्म 'आमाको मुख हेर्ने' भनेर यो दिन मनाइसकेपछि - 'मुख नै चाहि किन हेर्ने?', 'किन यस्तो भनेको?', 'अर्थोक नै भन्या भए हुन्थ्यो' भन्ने मनमा पो लाग्यो कि? यदि तपाइलाइ यस्तो लाग्यो वा महशुस भयो भने सम्झनुस कि तपाइको 'चेतना' खुल्दै जाने प्रक्रिया शुरु भएको छ । यदि तपाइलाइ 'यो प्रश्न केहि होइन, वाहियात कुरा हो, जे नाउँ भने नि के भो र? आमाको मुख हेरेर मिठो मिठो खानेकुरा खाने हो क्यारे, अरु त बाल मतलव' भन्ने लागेको छ भने तपाइ अझै सतहि शिक्षा र देखासिकिको संस्कारले बोदो बनाएको दिमागी कुहिरो मा नै रुमल्लिरहनु भएको छ ।

'मुख हेर्ने' वाक्यांश आमा र बुवाको दिवस मनाउँदा किन जोडिएको होला ? माता, पिता र गुरुलाइ देउता सरह मान्नु भन्ने बैदिक शिक्षा छ, तर आमा र बाउको मात्र मुख हेर्ने चाड हाम्रो समाजमा छ, गुरुको मुख हेर्ने चाड छैन । गुरुको पुजा गर्ने दिनलाइ गुरुपुर्ने भन्ने नाउँ दिएर मनाइन्छ । किन होला? यसभित्र रमाइलो रहस्य लुकेको छ । यस लेखमा उल्लेखित कुराहरु मैले २०-२२ वर्ष अगाडि देखि नै भन्दै आएको हो भन्ने मेरा नजीकका मित्रहरुमा शायद स्मरण हुनु पर्छ, छोटो टिप्पणीको रुपमा इमेल तथा बहस-चौतारीहरुमा पनि ५-७ वर्ष अगाडि लेखेको थिए । यसैलाइ यहाँ पुन: प्रस्तुत गरेको छु ।

वास्तवमा 'मुख हेर्ने' भन्ने वाक्यांश नेपालभासको (नेवारी भाषा होइन नेपालभास) को 'ख्वा: स्वयेगु' बाट उल्था भएको हो । 'ख्वा: स्वयेगु'को शाव्दिक अर्थ 'मुख हेर्ने' भन्ने लागेतापनि नेवार संस्कारमा यसको अर्थ 'मूख हेर्ने' नभइकन एक विशेष सगुन-पुजा संस्कार बुझिन्छ, जसमा 'सगुन सहित केहि मिठाइ, फलफुल, ड्रिंक्स र सानो जिन्सी उपहार सहित छोटो भेटघात गर्ने' गरीन्छ । यसरी भेटघाट गर्ने संस्कारमा पाहुना बनेर भेटघाट गर्न गएको ब्यक्तिले नै सबै सरसामान बोकेर जान्छ । र सगुन-पुजाआजा सक्किएपछि सरसफाइसमेत सगुन-पुजा गर्न आउनेले नै गर्नु पर्छ भन्ने मान्यता छ । याने कि सगुन-पुजा थाप्ने पक्षलाइ सकेसम्म कुनै पनि बोझ थोपरिनु हुन्न भन्ने 'ख्वा: स्वयेगु' चलनको मूल मर्म हो । सगुन-पुजा बाहेक अन्य देवदेविको पुजा वा टिकाटालो गर्ने चलन 'ख्वा: स्वयेगु' संस्कार भित्र पर्दैन ।


नेवार संस्कारमा यस्तो 'ख्वा: स्वयेगु' संस्कार बुवा र आमा लगायत धेरै अवसरमा गरिन्छ । जस्तो कि, बिहे भएको चेली (म्ह्याय् या ख्वा: स्वयेगु), भित्राइएको नयाँ बुहारी (भौया ख्वा: स्वयेगु) परदेश जान लागेको परिवार वा नातेदार (तापालय् वनीम्हस्यू ख्वा: स्वयेगु), कुनै टाढाको तीर्थमा पुगेर आएको नातेदार (तीर्थं लिहाँ व:गु ख्वा: स्वयेगु), कुनै ठूलो मिसन सक्काएको अवसर आदि हाल पनि लगभग सबै परिवारहरुमा जारी 'ख्वा: स्वयेगु' संस्कारका उदाहरणहरु हुन। यी सबै खालको 'ख्वा: स्वयेगु' परम्पराहरु 'माँया ख्वा: स्वयेगु' तथा 'बा:या ख्वा: स्वयेगु' सँग लगभग मिल्छ । यसैले गर्दा 'ख्वा: स्वयेगु' संस्कार नेवारसमाजको बिलकुल मौलिक संस्कार हो भन्ने कुरामा दुविधा छैन ।
'आमाको मुख हेर्ने' वा 'बुबाको मुख हेर्ने' दिनहरु चाडको रुपमा पछि मात्रै विकास भएको हो । राणाकालीन समयसम्म यो दिनलाइ औंसिको रुपमा सामान्य बिदा दिने, आमा बुबा नहुनेहरुले नुहाइधुवाइ र श्राद्ध गर्ने परम्परामै सिमित थियो । पञ्चायतकालमा पनि यसले ब्यापक चाडको रुप लिएको थिएन । तर सरकारी स्तरबाटै बिदा दिने क्रम निरन्तर भए पछि जागिरे तथा इज्जतदार कहलाइएका ठुलाठालुहरुले नेवार संस्कारकै सिको गरी मिठाइ, फलफुल र उपहार सहित 'आमाको मुख हेर्न' नाउँमा यो चाड मनाउने गर्न थालेका हुन । त्यहि देखासिकि बिस्तारीत र प्रचार हुँदै गएर अहिले यो राष्ट्रीय चाड झै सबै समाज र समुहमा ब्यापकता लिदै गएको हो । तपाइहरुको घरसमाजमा हजुरबा हजुरआमा पुस्ताका जिवित ब्यक्तिहरुसित सोधेर हेर्नु होला कि यो दिनमा पहिला पहिला के गरिन्थ्यो? नेवार समाज बाहेक अन्य समाजमा यो दिनलाइ पात्रोमा खोजेर छोरीबेटीहरु मिठाइ फलफुल र उपहार सहित आमा भेट्न आउँथे कि आउँदैन थिए? छोराहरुले जिवित आमालाइ पुजा गरेर सगुन र उपहार दिने चलन थियो? थियो भने छोराले 'आमाको मुख हेर्ने दिन'मा दिएको उपहारहरुको यादगार क्षणहरु गैर नेवार समाजमा कसैसित छ? यस्तो प्रश्नहरुको उत्तर खोजी गरे हामीले संस्कारहरुका इतिहास र विकासक्रम बुझ्न सजिलो हुन्छ ।
स्मरण रहोस 'ख्वा: स्वयेगु' संस्कार जिवित आमालाइ मात्र हो । स्वर्गवासी आमालाइ 'नकेगु' याने कि 'ख्वाउने' भन्ने बेग्लै संस्कार नेवार समाजमा छ । यो 'नकेगु' संस्कार प्राय स्नान दान दक्षिणा सहित एक विशेष पुजा गरेर गरिन्छ । यसलाइ खसभाषामा उल्था गरेर प्रयोग गर्नेहरुले 'आमा ख्वाउने' भनेर यदाकदा भन्छन, जुन सुन्दा असजिलो महशुस गर्नेहरु पनि छन । त्यसबाहेक स्वर्गवासी आमालाइ विशेष स्मरण गर्न मातातिर्थ पुगेर स्नान र पुजा गर्ने हुनाले यसलाइ मातातीर्थ आमै (औंसीलाइ नेपालभासमा आमै भनिन्छ) पनि भनिन्छ र जिवित आमा हुने मानिसले मातातिर्थमा गएर स्नान गर्नु हुँदैन भन्ने मान्यता छ ।
तर नेवार संस्कारमा गुरुको 'मुख हेर्ने' संस्कार छैन । नेवारको परम्परागत शिक्षा गुरुको माद्यमबाट नभइ कुलको माद्यमबाट हुन्छ । त्यसैले कुलपुजा धुमधाम मनाइन्छ, त्यो छुट्टै कुरा भयो । देखासिकि गरेर गुरुपुजा गर्नेहरुलाइ अपबाद मान्ने हो भने गुरुको पुजा गर्ने मौलिक परम्परा नेवार समाजमा मैले आजसम्म देखेको छैन ।
शब्दको भावार्थ र मान्यतालाइ बेवास्ता गरेर शव्दार्थमा मात्रै अलमलिँदा यस्तो समस्या हुने रहेछ भन्ने अर्को गतिलो उदाहरण 'मनू मखु मर्स्या ख:' भन्ने पनि हो । नेपाल उपत्यका छिरेका धेरै जसो मधेशीको ठूलो गुनासो हुन्छ कि 'हामीलाइ मनू मखु मर्स्या ख:' भन्छन भन्ने । किन कि नेपाल उपत्यका छिर्ने मधेशीहरु खसभाषा सिकेर जानेर आएका हुन्छन, तर नेपालभास जान्दैनन । (जान्न चाहे पनि मौका थिएन, छैन) । खसभाषामा उल्था गर्दा 'मनु' भनेको 'मान्छे' भन्ने अर्थ लाग्छ र त्यहि मात्र सबैले बुझे । जवकि नेपालभासमा मनुको प्रयोग 'चिनजानको पाहुना'को रुपमा हुन्छ । नचिनेको वा विनाजानकारी अपर्झट आइपुगेको मानिसलाइ 'मनू मखु' भन्नुको अर्थ 'आमन्त्रित पाहुना होइन' भन्ने अर्थ लाग्छ । तर सहि अर्थ नबुझिदिदा त्यसले लामोसमयसम्म गलत अर्थ नै बोकि रह्यो । यस्तो खालको गलत अर्थको बारेमा धेरैजसो नेवारहरु आफै पनि अस्पष्ट छन, किन कि नेवारहरु आफै पनि आफ्नै भाषामा प्रयोग हुने शब्दका गुढ अर्थ केलाउन सक्षम छैनन । चाहे जतिसुकै पढेलेखे भनेका नेवारहरु होओस, तिनले विश्वबिद्यालयहरुबाट संकलन गरेका प्रमाणपत्र, विशेषज्ञता तथा योगदानका पुरस्कारका ठेलीहरु जतिसुकै बाक्लो होओस, यदि उक्त नेवार नेपालभासमा बोल्न र लेख्न जान्दैनन, नेपालभासका लिपिहरु प्रयोग गर्न जान्दैनन, नेपालभासका ब्याकरण र शब्द विन्यासबारे अध्ययन गरेका छैनन भने तिनलाइ यस्तो कुराहरु थाहा हुने सम्भावना निकै थोरै छ । संसारका नानाथरी कुरा जानेर पनि मातृभाषाका कुरामा बिलकुल अनपढ गँवार इलिटरेट जस्ता रहेका नेवारहरु संसारभरी नै छरिएर रहेका छन । यस्तो हुनु स्वभाविक नै हो किन कि तिनले पनि बाल्यकालमा मातृभाषामा पढ्न पाएका कहाँ थिए र?


यति जानकारी थाहा भएपछि शायद अब तपाइले बुझ्नु भयो होला किन 'आमाको मुख हेर्ने' भनिएको रहेछ? कुन स्रोतबाट यो संस्कार प्रसारित भएको रहेछ भन्ने कुरा नबुझे यो प्रश्न रहस्यमय नै लाग्छ । तर यो साधारण कुरा हो । अचेल 'मुख हेर्ने' परम्पराको मौलिक पक्षको जानकारी नभएकाहरु वा जानकारी भएतापनि त्यसलाइ जानाजान नजरअन्दाज गर्न चाहनेहरु यो पर्वलाइ 'किन आमाको मुख हेर्ने भनेको?' 'अन्य नाउँ राखौ - आमा दिवस भनौ, माता दिवस भनौ' भन्दैछन । त्यसो भन्नेहरु खासमा पश्चिमा संस्कारको 'मदर्स डे'बाट ज्यादा प्रभावित भएकाहरु हुन । 'मदर्स डे' या 'आमा दिवस' नै मनाउने हो भने पश्चिमाले तोकेको दिन नै रोजेर मनाए भइहाल्यो । किन यो चौलागा आमै (याने कि औसि) तिथि नै छानेर 'मदर्स डे' गर्नु पर्यो र? आखिर पश्चिमाको देखासिकि गरेर 'प्रेम दिवस' मनाउन त थालिएकै छ क्या रे । यदि देखासिकि नगर्ने हो भने 'ख्वा: स्वयेगु' संस्कारको नक्कल गर्ने मात्र हैन कि यसको मौलिकतामा रहेको सुन्दर पक्षहरुलाइ मनन गर्दै यस्तो बिराट र विवेकि संस्कारलाइ संस्थागत गर्ने समुहको भाषा, संस्कार, चालचलन र सभ्यताका यावत पक्षहरुलाइ पनि सम्मान गर्न सिकौं । त्यहाँ बाट नै तपाइको चेतनशिल दिमागीपथको यात्रा शुरुवात हुने छ 

No comments:

Post a Comment