नेवा: स इन्टरनेट रेडियो

Saturday, November 29, 2014

पुरेतशील परिवेश

पुरेतशील परिवेश 

सङ्गीतश्रोता
(अन्नपूर्ण पोस्ट दैनिकमा २०७१ कात्तिक २२ गते शनिबार प्रकाशित ।)
 
 आजभन्दा ७४ वर्षअघिको इतिहासको सन्दर्भबाट कुरा सुरु गरौं । १९९७ सालको सहिद काण्ड धेरैलाई थाहा छ । त्यही काण्डमा लेखकहरू पनि जेलनेल परेका थिए भन्ने अलि कमलाई थाहा छ । जेल पर्ने लेखकहरूलाई लगाइएको अभियोग के थियो ? यो अझ धेरै कमलाई थाहा हुनुपर्छ । उनीहरूलाई थुन्ने कागजमा लेखिएको थियो– मुद्दा : राजकाज, अपराध : नेपाल भाषामा लेखेको । नेपाल भाषामा लेखेको अभियोगमा फत्तेबहादुर सिंह र योगवीरसिंह कंसाकारलाई सर्वस्वहरणसहित जन्मकैदको जाहेरी पर्‍यो भने चित्तधर हृदय र सिद्धिचरण श्रेष्ठलाई क्रमश: ६ वर्ष र १८ वर्ष कैदको सिफारिस गरियो । जुद्धशमशेरका जुनाफमा यसरी सिफारिस गर्ने इजलास थियो बालकृष्ण शमशेर जबरा अर्थात् नाटककार बालकृष्ण समको ।


यो राणाकालको कुरा थियो । राजनीतिक सत्ता जुद्धशमशेरसँग थियो, साहित्यको रखवारी बालकृष्णशमशेरले गर्थे । यतिखेर देशमा हिन्दु ब्राह्मणकाल चलिरहेछ । राजनीतिक सत्तामा हिन्दु ब्राह्मण छन्, साहित्यको ठेक्कापट्टाका कागज पनि खसभाषी ब्राह्मणहरूकै बाकसमा छन् । ज्ञानको सत्ता ब्राह्मणहरूले चलाइरहेका छन् । विज्ञताको उपाधि ब्राह्मणहरूले नै निधारमा लगाइरहेछन् । योग्यताको प्रमाणपत्र ब्राह्मणहरूकै झोलामा बढी छन् । नीति–निर्णयको हर्ताकर्ता पनि उनीहरू नै छन् । अपवादमा सत्ताको छेउछाउ पुगेका कतिपय गैरब्राह्मणहरूले पनि थाहै नपाई जनै भिर्न थालेका छन् । रमाइलो त के छ भने आफूलाई परिवर्तनको पक्षधर वा प्रगतिशील साहित्यको प्रतिनिधि मान्ने संस्थाहरूमा पनि बालकृष्ण शमशेरको सत्ता–चिन्तन जबर्जस्त छ । सो चिन्तनले खस नेपाली भाषाभन्दा फरक भाषालाई विखण्डनवादी वा राजद्रोही देख्छ । त्यस्ता भाषामा लेख्नु/बोल्नु वा तिनीभित्रको प्रगतिशील साहित्यको पक्षपोषण गर्नुलाई ‘अपराध’ ठान्छ ।

‘मूल्याङ्कन’ पत्रिकामा केही समयअघि कवि अमर गिरीले चेतावनीको शैलीमा लेखेका थिए, ‘नेपाली वामपन्थ कम्युनिस्ट राजनीतिलाई जात, लिङ्ग, क्षेत्र आदिले खाँदै गरेको अवस्थाका बीचबाट हिंड्दैछ । यो नेपाली वामपन्थको उज्यालो भविष्यको सङ्केत होइन ।’ जात, लिङ्ग वा क्षेत्रको जागरणबाट तर्सिरहेको सत्ताको यो अभिव्यक्ति प्रगतिशील फाँटमा समेत संस्थागत हुन खोज्दैछ । जात, लिङ्ग वा क्षेत्र भनेर यस पंक्तिमा दलित वा जनजाति, महिला र मधेसलाई ‘कम्युनिस्ट राजनीतिलाई खाँदै गरेको’ राक्षसका रुपमा चित्रित गर्न खोजिएको बुझ्न गाह्रो छैन । सर्वहारावर्गीय विचारधारालाई आत्मसात् गर्नुपर्ने संस्थामा सत्ताधारी जात वा समुदायको विचारलाई केन्द्रमा राख्ने प्रवृत्ति हावी बन्दै गइरहेका दृश्य बढ्दै छन् ।

केही दिनअघि प्रगतिशील क्षेत्रको एक संस्थाको बैठक चल्दै थियो । बैठकमा प्रगतिशील साहित्यको इतिहासबारे छलफल गर्न पहिले १९ जना ‘विज्ञ’को नाम वाचन गरियो । तिनीहरूमा थिए– पौडेल, सुवेदी, अधिकारी, ज्ञवाली, भण्डारी, पाण्डेय, अर्याल, नेपाल, गौतम, त्रिपाठी, घिमिरे, भट्टराई, अवस्थी, पोखरेल, शर्मा । त्यसमाथि झिनो स्वरमा प्रश्न उठ्यो– महिला खोइ ? दलित खोइ ? गैरखसभाषी लेखक खोइ ? त्यसपछि ६ जनाको नाम थपेर २५ पुर्‍याइयो । थपिएकामा कनीकनी एकजना ब्राह्मण महिलाको नाम सुनाइयो । ‘खासमा सल्लाहकार’ भन्दै एकजना पहाडे दलितको उपनाम राखियो र एकजना मैथिलीभाषी नाम अन्तिममा थपियो । यी नामहरूमा परियार वा विश्वकर्मा, योञ्जन वा महर्जन, लाल वा यादव, चौधरी वा ठाकुर, चाम्लिङ वा चेम्जोङ, मुकारुङ वा गुरुङजस्ता थरको उपस्थिति किन शून्य छ ? अरु त अरु कार्की, बस्नेत, थापा, केसी, खड्का, क्षेत्री जस्ता थर पनि कतै उच्चारण भएनन् । प्रश्न फेरि दोहोरिएर उठ्यो । तर, प्रस्ताव जुन तहबाट आएको थियो, त्यहाँबाट ब्रह्मवाक्य फिर्ता हुने वा संशोधन हुने कुनै छाँट देखिएन ।

ब्राह्मण मुखारविन्दबाटै वाचित पवित्र ब्राह्मणहरूको नाममाथि प्रश्न गर्नु खतरनाक कुरा थियो । पुरेतशील प्रतिभाहरूका बीचमा मीठै बोलीवचन गर्नु ‘लाभदायक’ हुन्छ । आलोचना गर्नु जोखिमपूर्ण कृत्य हुन सक्छ । तर, प्रश्न उठिछाड्यो । तीतो प्रश्न गर्न संस्कृत वाङमयले पनि सिकाएकै छ । भारविले भनेकै छन्– ‘हितं मनोहारि च दुर्लभं वच: ।’ पुरेतजनलाई मन नपर्ने प्रश्न गरिए– यी विज्ञहरू छानिनाको आधार के हो ? उमेर हो कि ? जन्मजात थर हो कि ? वा अरु केही ? प्रश्न गर्नेहरूको तर्फबाट केही गैरब्राह्मण नामहरू लिइए । संस्थापन भने ती नाम स्वीकार्न तयार भएन । बैठक फेरि बस्नेगरी सकियो तर त्यसपछि अर्को बैठक नडाकिकनै कार्यक्रम गर्ने टुंगो भयो । सायद ‘वैश्य र शुद्रहरू’बाट ‘खतरा’ महसुस गरिएको हुनुपर्छ ।

यो सन्दर्भले के पुष्टि गर्छ भने भाषा–साहित्यमा एकाधिकार जमाइराखेको खास समुदाय वा वर्ग यतिखेर आफ्नो सत्ता जोगाउन खोज्दैछ, अर्को वर्ग भत्काउन खोज्दैछ । यसको प्रभाव प्रगतिशील फाँटमा चर्को देखिएको छ । प्रगतिशील नामको पछ्यौरा ओढेर पुरेतशील परम्परा जोगाउने ध्याउन्ना वामवृत्तमा पनि बलियो देखिनु अहिलेको सबैभन्दा चिन्ताको विषय हो ।

पछिल्ला दुई दशकमा नेपालमा राज्यद्वारा उत्पीडित विभिन्न जाति, भाषा, लिङ्ग, क्षेत्रको मुक्तिको स्वर चर्को सुनिएको हो । दलित, आदिवासी–जनजाति, मधेसी, महिलाको जागरण इतिहासमा यही कालखण्डमा सबैभन्दा बढी देखियो । तर, उनीहरूको मुक्तिको आकांक्षालाई विधिवत् लिपिबद्ध गर्ने काम अझै भइसकेको छैन । संविधान लेखनको चरण उत्तराद्र्धतिर लाग्दै गर्दा मुक्ति खोज्ने र विभेदमा टिकेको सत्ता जोगाउन खोज्नेबीचको खिचातानी बढिरहेको हो । त्यसको तरङ्गले साहित्यको किनारालाई पनि भिजाइरहेको छ । पुस्तकहरूमा, पत्रपत्रिकाका लेखोटहरूमा, साहित्यिक जमघट वा विमर्शहरूमा र कतिपय संस्थागत छलफलहरूमा शक्ति र मुक्तिको द्वन्द्व देख्न सकिन्छ । गार्गीहरू प्रश्न गरिरहेका छन्, याज्ञवल्क्यहरू धम्काइरहेछन् । चित्तधरहरू नेवारी बिम्ब खेलाइरहेछन्, बालकृष्ण शमशेरहरू जुद्धशमशेरकहाँ उजुरी गरिरहेछन् ।

भनिन्छ– मुसाका लागि बिरालोभन्दा खतरनाक अर्को जनावरै हुँदैन । मुसेचित्तका पुरेतशील गणलाई लाग्दो हो– अरेभाइ ! हाम्रो ब्राह्मणमय मुसाराजमा एक होइन, अनेक बिरालाहरूले ‘ढाडमा’ टेकिरहेका छन्, टाउकैमा हान्छन् कि क्या हो ? क्षेत्रीहरू चाल मार्दैछन्, वैश्य र शुद्रहरू म्याउम्याउ गरिहेछन्, अनि वर्णव्यवस्थाको छानामुनि नपर्ने जनजाति नामका ‘वनबिराला’हरू पनि पूजाकोठामा पस्न खोज्दैछन् । खस पुरेतहरू यतिखेर एक मात्र खतरनाक शत्रु दलित, मधेसी र जनजातिलाई देखिरहेका छन् । आफूलाई याज्ञवल्क्य ठान्नेहरूले यति चाहिं बुझे हुन्थ्यो– अहिलेकी गार्गीलाई धम्क्याएर रोक्न सकिन्न । साहित्य जगत्का पुरेतजीहरूले सम्झे हुन्थ्यो– आजको भगत सर्वजीतलाई कुटपिट गरेर लखेट्न सम्भव छैन । अनि आजका बालकृष्ण शमशेरहरुले उजुर गर्दैमा चित्तधरहरूको लेखन रोक्न सम्भव छैन ।

(अन्नपूर्ण पोस्ट दैनिकमा २०७१ कात्तिक २२ गते शनिबार प्रकाशित ।)

No comments:

Post a Comment