नेवा: स इन्टरनेट रेडियो

Sunday, February 9, 2014

ठमेल भगवानबहालमा कानुनी लिखत

ठमेल भगवानबहालमा कानुनी लिखत


डा.महेशराज पन्त

आयताकार, चौडाइ भने ज्यादै नै कम भएका, लामा ताडपत्रमा नेवार राज्यमा कानुनी लिखत लेखिन्थे । यस्ता ताडपत्र नेसं १०३ तदनुसार विसं १०३९ देखिका पाइन्छन् र ताडपत्रमा पुस्तक लेख्न छोडी कागजमा लेख्न थालेको सयौं वर्षपछिसम्म पनि यस्ता लिखतचाहिँ ताडपत्रमै लेखिने गरेका थिए । ताडपत्रमा लेखिएका यस्ता लिखत नेवार राज्य गइसकेको झन्डै सय वर्ष पछिसम्मका पनि पाइएका छन् । कागजको चलनचल्ती भइसकेपछि पनि यस्ता लिखतचाहिँ खास गरी ताडपत्रमै किन लेखिने गरेका हुन् भन्ने प्रश्नले धेरै वर्ष यतादेखि मलाई पिरोलिरहे पनि मैले यसको ठीक जवाफ भेट्टाएको छैन । गुन्दै जाँदा केही वर्षअगाडिसम्म पनि हाम्रा अड्डाखानामा नेपाली कागजमै लेखिएका कानुनी लिखतको मात्र मान्यता हुने कुरा सम्झन पुग्छु र यसलाई कागजको चलनचल्ती भए पनि ताडपत्रमै कानुनी लिखत लेखिँदै गएको कुरासँग जोड्न मन लाग्छ । विशेष कारणले वा स्थायिताका लागि ताम्रपत्रमा लिखत कुँद्ने चलन भए पनि सस्तोको हिसाबले अर्थात् लागत कम पर्ने हुनाले ताडपत्रमा कानुनी लिखत लेख्ने आम चलन थियो ।



यस्ता लिखतको अनुशीलनबाट नेवार राज्यको कानुनी स्थिति बुझ्न निकै मद्दत मिल्छ । नेवार राज्यमा स्मृतिका आधारमा शासन हुन्थ्यो भन्ने कुरा त हामीहरूले सुन्ने गरेकै हो तापनि कुन कुन स्मृतिका आधारमा शासन हुन्थ्यो र धर्मशास्त्र र व्यवहारमा कति फरक पथ्र्यो भन्ने कुराचाहिँ किटेर भन्न अभैm सकिएको छैन । विभिन्न धर्मशास्त्रसँग यस्ता कानुनी लिखत दाँजेर हेर्दै गइयो भने यस्ता प्रश्नको उत्तर मिल्न सक्छ जस्तो मलाई लाग्छ । नेवार राज्यको कानुनी इतिहासको रचनामा यस्ता लिखतको अनुशीलन अपरिहार्य छ भन्ने मैले ठानेको छु । यस्ता लिखतको परिशीलनबाट नेवार राज्यको अर्थसम्बन्धी इतिहास बुझ्न पनि त्यतिकै मद्दत मिल्छ भन्ने पनि मेरो धारणा छ ।


नेपालको इतिहासको आकारमा अर्थात् आजभोलिको भाषामा भन्दा स्रोतमा ताडपत्रका लिखतको गणना हुन थालेको धेरै भएको छैन । विसं २०१२ मा नरहरिनाथले ताडपत्रका दुईओटा लिखतको पाठ (नेसं ४७८ मा पनि राजा नरेन्द्र मल्ल (तारपत्र), इतिहास–प्रकाश १ अंक, ९३–९४ पृ.) छपाएपछि त्यतातिर मानिसहरूको दृष्टि तानिएको हो । नेपाल र भोटमा धर्म प्रचार गर्न आएका पादरीहरूसम्बन्धी अभिलेख विसं २००८ मा लुछ्याह्नो पेतेकले छाप्दा रणजित मल्लले पादरीलाई भक्तपुरमा बेचेको घरको, ताडपत्रमा लेखिएको पुर्जाको पाठ पनि छपाएकाले (इल् नुओवो रामुसिओ २ ठेली, ईसं १९५३, २१९–२२० पृ.) ताडपत्रको पाठ छाप्नमा नरहरिनाथलाई लुछ्याह्नो पेतेकले उछिनेको देखिन्छ ।


विस्तारै–विस्तारै अनि ताडपत्रको पाठ फाटफुट छाप्ने क्रम चल्यो । पाटन उकुबहालमा रहेका, ताडपत्रका यस्ता लिखतको छुट्टै पुस्तिका शिवदेव संस्कारित श्री रुद्रवर्ण महाविहारस्थित तालपत्र–अभिलेख भन्ने नाउँले हेमराज शाक्यद्वारा विसं २०३७ मा प्रकाशित भएपछि यस्ता ताडपत्रको विषयमा छुट्टै ग्रन्थ प्रकाशित गर्ने कामको सुरुआत भयो । राष्ट्रिय अभिलेखालयमा जम्मा हुन आएका ताडपत्रका यस्ता लिखतमध्ये ३३० ओटा शंकरमान राजवंशीद्वारा विसं २०४० देखि २०४४ भित्र भूमिसम्बन्धी तमसुक, ताडपत्र भन्ने पुस्तकका ४ भागमा प्रकाशित भएपछि ताडपत्रका लिखतको चेतना सर्वसाधारणमा बढ्न गएको छ । उकुबहालमा भएका, ताडपत्रका लिखतको जुन प्रकाशन हेमराज शाक्यद्वारा विसं २०३७ मा भएको थियो, तिनैको विशद परिशीलन गरिएको प्रामाणिक संस्करण बेर्नहार्त कोल्फर र हेमराज शाक्यले ईसं १९८५ तदनुसार विसं २०४२ मा डकुमेन्ट्स फ्रम द रुद्रवर्ण–महाविहार, पाटन भन्ने नाउँले प्रकाशित गरेपछि सो पुस्तक यस्ता लिखतको सम्पादनका विषयमा आदर्श हुन गएको छ ।


ताडपत्रमा लेखिएका, ४४०० भन्दा बढी लिखत मैले हेरेको छु । यस्ता लिखतमध्ये आधा जति अहिलेसम्म छापिई पनि सकेका छन् । म पनि झन्डै ३६ वर्ष यतादेखि यस्ता लिखतको प्रकाशन गर्दै आइरहेको छु । मेरो एक्लो प्रयासबाट मात्र पनि १३ सय जति यस्ता लिखत प्रकाशमा आइसकेका छन् ।


आजभोलि भगवानबहाल भनी कहलिएको, विक्रमशीलमहाविहार भन्ने संस्कृत नाउँ भएको, पुराना अभिलेखमा थंविहार वा थंबहिल किंवा यिनैका रूप भेदले चिनिने गरेको बहालमा राखिएका ताडपत्रका लिखतको एउटा पुस्तिका गएको महिनामा बजारमा आएको छ । थंबहिल विक्रमशील महाविहारसँग सम्बन्धित अप्रकाशित मध्यकालका ताडपत्रहरू भन्ने नाउँले निकालिएको त्यस पुस्तिकाको सम्पादन त्यही बहालका कुलपुत्र भागवत नर्सिंह प्रधानले गरेका हुन् ।


थंबहिल अर्थात् माथिल्लो बहिल भन्ने नाउँबाट ठबहिल हुँदै आजभोलि पूरै इलाका नै ठमेल भनी कहलिएको ठाउँमा रहेको यस बहालमा ताडपत्रका थुपै्र लिखत छन् भन्ने सुन्दै आइएको थियो । त्यही बहालकी कुलवधु रुक्मिणी वन्त प्रधानले झन्डै २९ वर्षअघि छापेको, त्यही बहालसम्बन्धी लेखमा यस विहारको संग्रहमा ६० भन्दा बढी पुराना ताडपत्र रहेका छन् (विक्रमशील महाविहारको ऐतिहासिक महव, कन्ट्रिब्युसन्स टु नेप्लिज स्टडिज १२ ठेली २ अंक, २०४२, १०६ पृ.) भन्ने लेखी त्यसको टिप्पणीमा ताडपत्रहरू सार्ने अनुकूल नमिलेको हुँदा यहाँ दिन सकिएन । पछि उक्त ताडपत्रहरूको पुस्तिकाकार संकलन निकाल्ने विचार गरिएको छ (ऐजन, ११४ पृ.मा २९ टिप्पणी) भनी लेखिएकाले त्यो पुस्तिका निकै आतुरीसँग पर्खिरहेको थिएँ । त्यस बहालको संग्रहमा रहेका लिखत वर्षौं वर्षसम्म पनि प्रकाशमा नआएकाले निराश पनि भइसकेको थिएँ । चिर प्रतिक्षित तिनै लिखतको पुस्तिका अहिले भागवत नर्सिंह प्रधानले निकालेकाले उनी अभिनन्दनीय छन् ।


विसं १०९८ तिर अतीश दीपंकर श्रीज्ञान नेपाल आएका थिए । उनले यहाँका राजालाई आफू चढेर आएको हात्ती कोसेली चढाई तङ् भन्ने ठाउँमा विहार बनाउन आज्ञा मागे । राजाले मञ्जुर गरी विहार बनाउनका लागि आवश्यक सामग्री जुटाइदिए भनी भोटको वृत्तान्तमा लेखिएको छ (लुछ्याह्नो पेतेक, मेडिभल हिस्ट्री अफ नेपाल, ईसं १९८४, ४१–४३ पृ.) । भोटको भाषामा तङ् उच्चारण गरिएको ठाउँ हाम्रो भाषामा थं हो भनी भनिरहनु नपर्ला । नेपालमा थं भन्ने एउटा विहार छ, यो पहिलो विहार वा माथिल्लो विहार पनि कहिन्छ, यहाँ रहेको स्तुपमा साँझ आपसे आप बत्ती बलेको अतीशले देखेका थिए, त्यहाँ उनले पूजा गर्न भनी एउटा देवस्थल बनाएका थिए भनी विसं १२८३ मा नेपाल आई आठ वर्ष यहाँ बसेका भोटका भिक्षु धर्मस्वामीको जीवनचरित्रमा लेखिएको छ (जर्ज रोरिखद्वारा अनुदित बायोग्राफी अफ धर्मस्वामिन्, ईसं १९५९, ५५–५६ पृ.) ।


नेपालमा पाइएका, शतसाहस्रिका प्रज्ञापारमिताका पुस्तकमध्ये सबभन्दा पुरानो यही बहालमा छ । त्यो प्रज्ञापारमिता नेसं ४७८ तदनुसार विसं १४१५ मा सारिएको हो । (महेशराज पन्त, इटुंबहालको प्रज्ञापारमिता–खस–नेवार सम्पर्कको नतिजा, पूर्णिमा १३४ पूर्णांक, २०५–२०८ पृ.) । सिंहल अर्थात् आजभोलिको श्रीलंकामा डफ्फाका डफ्फा मानिस साथमा लिएर व्यापार गर्न जाने सार्थवाहसँग यस बहालको सम्बन्ध जोडिएको कुरा हामी सबैलाई थाहा छ । बौद्ध अवदानहरूबाट दीपंकर र सार्थवाहको सम्बन्ध देखिने कुरा पनि विज्ञहरूलाई थाहा नभएको होइन । सार्थवाह रूपको, हिँडिरहने चङ्क्रमणदेवता अर्थात् चकंद्यःको उपासना दीपंकरकै ध्यानमुद्रामा गरिने परिपाटी यस बहालमा चलेर आएको छ (मनबज्र बज्राचार्य, नेपाली संस्कृतिको परिधि, २०२८, ७१–७२ पृ.) । त्यसमाथि, प्रधान थर भएकाहरू अपवादस्वरूप शिवमार्गी हुने भए पनि भगवानबहालका प्रधानहरूचाहिँ बुद्धमार्गी भएको चाखलाग्दो छ । इत्यादि कारणबाट नेपाल खाल्डोका विहारहरूमा भगवानबहालको छुट्टै स्थान छ ।


पाटन उकुबहालमा नेसं १०३ तदनुसार विसं १०३९ देखिका लिखत पाइएकोमा यस भगवानबहालमा नेसं ३४० तदनुसार विसं १२७७ देखिका लिखत पाइएका छन् । यस्ता ६४ ओटा लिखत अहिले छापिएका र भगवानबहालमा ६० भन्दा बढी लिखत छन् भनी रुक्मिणी वन्त प्रधानले लेखेकीले त्यस बहालमा भएका सबै लिखत प्रकाशमा आएको देखिन्छ । यी ६४ ओटामध्ये एउटा भाँडाकुँडा र अरू सरसामानको लगत (४१ पृ.) र अर्कोचाहिँ रत्न मल्लहरूको नेसं ६१५ तदनुसार विसं १५५२ को सन्धिपत्रसँग मिल्ने खण्डित ताडपत्र (४४–४५ पृ.)लाई छोड्दा लेनदेनका जम्मा ६२ ओटा लिखत भगवानबहालमा रहेका देखिन्छन् ।


यी ६२ ओटा लिखतमध्ये विहारसँग सम्बद्ध पहिलो लिखत नेसं ४२७ तदनुसार विसं १३६३ माघ शुक्ल तृतीयाको (४–५ पृ.) र दोस्रो नेसं ४२७ तदनुसार विसं १३६४ चैत्र कृष्णसप्तमीको (४ पृ.) छ । यसो भए पनि यी दुवै लिखत भगवानबहालसँग सम्बद्ध नभई क्वथौविहार अर्थात् वर्तमान क्वाबहालसँग सम्बद्ध छन् । भगवानवहालको विशेष सम्बन्ध क्वाबहालसँग भएकाले (जानकर लाक, बुद्धिस्ट मन्सटरिज अफ नेपाल्, ईसं १९८५, ४०७–४०८ पृ.) ती लिखत भगवानबहालमा रहनुको अर्थ लाग्छ । भगवानबहालसँग सम्बद्ध पहिलो लिखत नेसं ४५४ तदनुसार विसं १३९० कात्र्तिक शुक्लपञ्चमीको (८ पृ.) र अर्कोचाहिँ नेसं ४८५ तदनुसार विसं १४२२ वैशाख कृष्णतृतीयाको छ (१२–१३ पृ.) । ती दुवै लिखतमा धर्मधातुमहाविहारका देवता गाधुह्रि भट्टारकको कुरा आएको छ । भगवानबहाललाई धर्मधातुविहार शब्दले धर्मस्वामीको जीवनचरित्र (बायोग्राफी अफ धर्मस्वामिन्, ५५ पृ.) मा चिनाइएको र धर्मधातुमहाविहारको संघमा शतसाहस्रिका प्रज्ञापारमिता चढाइएको कुरा भगवानबहालमा रहेको त्यस प्रज्ञापारमिताको पुष्पिकामा लेखिएको (पूर्णिमा १३४ पूर्णांक, २०५–२०८ पृ.) कुराको सम्झना यस प्रसंगमा हुन्छ ।


नेसं ५६० तदनुसार विसं १४९६ चैत्र शुक्लपञ्चमीको (१७–१८ पृ.), नेसं ५७७ तदनुसार विसं १५१३ फाल्गुन कृष्णद्वितीयाको (२३–२४ पृ.) र नेसं ५९४ तदनुसार विसं १५३१ आश्विन कृष्णदशमीको (२७–२८ पृ.) लिखतमा विक्रमशीलमहाविहार भन्ने नाउँ आएकाले विक्रमशीलमहाविहारका महापण्डित अतीशसँग गाँसिएको यस विहारको नाउँ पछि गएर विक्रमशीलमहाविहार नै हुनु चाखलाग्दो छ ।


नेसं ५४२ तदनुसार विसं १४७८ फाल्गुन कृष्णअष्टमीको लिखतमा यस विहारलाई विषमशीलमहार भनी चिनाइएको छ (१५ पृ.) । विषमशील यो शब्द विक्रमशीलको अपभ्रंश र महारचाहिँ महाविहारमा बीचमा २ अक्षर टुटेको रूप हो भनी भनिरहनु नपर्ला । यस कारण भगवानबहालमा भएका लिखतमध्ये विक्रमशीलमहाविहारको नाउँ पहिलो पटक नेसं ५४२ को यस लिखतमा आएको स्पष्ट हुन्छ ।


नेसं ५८२ तदनुसार विसं १५१९ द्विराषाढशुक्लचतुर्थीको लिखतमा भीष्मशीलमहाविहार (२५–२६ पृ.), नेसं ६०६ तदनुसार विसं १५४३ भाद्र कृष्णद्वितीयाको लिखतमा भिषश्रीमहाविहार (३५–३६ पृ.) र नेसं ६०७ तदनुसार विसं १५४४ वैशाख शुक्लद्वादशीको लिखतमा भिषमशीलमहाविहार (३६–३७ पृ.) भन्ने नाउँ आएको छ । तीन थरी ढंगले लेखिएका यी नाउँ एउटै विहारका नाउँ हुन् भनेर त विचारशील जोसुकै मानिसले पनि भन्न सक्छ । नेसं ५९४ तदनुसार विसं १५३१ आश्विन कृष्णदशमीको दिन करेसाबारी किन्ने जयसिंहभद्रको वतन विक्रमशीलमहाविहार (२७–२८ पृ.) र नेसं ६०६ तदनुसार विसं १५४३ भाद्र कृष्णद्वितीयाको दिन त्यौडटोलको घर किन्ने जयसिंहभद्रको वतन भीष्मश्रीमहाविहार (३५–३६ पृ.) र नेसं ६०७ तदनुसार विसं १५४४ वैशाख शुक्लद्वादशीको दिन चार रोपनी खेत किन्ने जयसिंहभद्रको वतन भीष्मशीलमहाविहार (३६–३७ पृ.) भनी दिइएकाले यी तीनै थरी मानिस एउटै हुन् भन्ने कुरामा शंका नभए जस्तै भीष्मशीलमहाविहार, भीष्मशीलमहाविहार र भीष्मश्रीमहाविहार विक्रमशीलमहाविहारकै अपभ्रष्ट रूप हुन् भनी भन्न सकिन्छ । यसैको थप दृष्टान्तका लागि नेसं ७४६ तदनुसार विसं १६८२ माघ शुक्लचतुर्थीको लिखतमा श्रीथंबहिरि भीष्माशिरमाहाविहार र नेसं ८५८ तदनुसार विसं १७९४ माघ शुक्लद्वादशीको लिखतमा भीष्मशिरमहाविहारस्थाने थाबहिरि (महेशराज पन्त, नेवार राज्यमा ब्राह्मण– नरदेवीका भट्टसम्बन्धी दुईओटा लिखत, पूर्णिमा १३३ पूर्णांक, २०६७, ३२ पृ.) भनी लेखिएकोले थंबहिरि वा थाबहिरिको पर्याय भई आएका भीष्माशिरमाहाविहार र भीष्मशिरमहाविहारलाई औंल्याउन सकिन्छ ।


स्थविरहरूले विनयका नियम थपेकोमा आपत्ति गर्दै धेरैजसो भिक्षु उनीहरूसँग छुट्टिँदा उत्पन्न महासांघिक संप्रदाय कालान्तरमा महायानमा समाहित हुन गएको थियो । नेसं ५७४ तदनुसार विसं १५११ भाद्र शुक्लषष्ठीको लिखतबाट थंविहारका थरपा अर्थात् स्थविर महासांघिक थिए (२३ पृ.) भन्ने थाहा पाउँदा थंबहिलसँग गाँसिएका अतीश दीपंकर श्रीज्ञान महासांघिक सम्प्रदायमा दीक्षित भएको कुरा सम्झन पुगिन्छ ।


भगवानबहालमा रहेका यी ६४ ओटा लिखतमध्ये २२ ओटा त्यही बहालका वा अरू–अरू बहालका भिक्षुहरूका लेनदेनसम्बन्धी लिखत हुन् । भिक्षुहरूका लेनदेनसम्बन्धी थुपै्र लिखत पाटन उकुबहाल (डकुमेन्ट्स फ्रम द रुद्रवर्ण–महाविहार, पाटन) र पुचोबहि अर्थात् अक्षेश्वर महाविहार (हेमराज शाक्य, अक्षेश्वर महाविहार पुचो छगु अध्ययन, २०५२) मा पनि भेट्टिएका छन् । ग्रेग्ररी सोपेनको वैदुष्यमय कृति बुद्धिस्ट मंक्स एन्ड बिजनेस म्याटर्स (ईसं २००४) भन्ने पुस्तकको परम्परामा नेपालका यस्ता लिखतको परिशीलन हुनुपर्छ भन्ने मलाई लाग्छ ।


नेसं ६०२ तदनुसार विसं १५३८ माघ कृष्णएकादशीको दिन यक्ष मल्ल परलोक (महेशराज पन्त, नयाँ ठ्यासफु, पूर्णिमा १३८ पूर्णांक, २०६९, १४६ पृ.) भएपछि उनका छोरा रत्न मल्लले नेसं ६०४ तदनुसार विसं १५४१ वैशाख शुक्लएकादशीको दिन काठमाडौं जितेका हुन् (धनबज्र बज्राचार्य र अरू, इतिहास–संशोधनको प्रमाण–प्रमेय, २०१९, १३६ पृ.) । यहाँका सामन्तलाई सिद्ध्याई वा कज्याई यहाँ आफ्नो अधिकार जमाउनुभन्दा अगाडिदेखि अर्थात् आफ्ना बाबुकै पालामा नेसं ५९६ तदनुसार विसं १५३२ पौष वृmष्णषष्ठीको दिन उनले त्यौडटोलमा घर किनेको (२८–२९ पृ.) र त्यसको अढाइ महिना बितेपछि नेसं ५९६ तदनुसार विसं १५३३ चैत्र पूर्णिमाको दिन वटुका एकजना मानन्धरलाई पैसा सापटी दिई उनको घर बन्धकी लिएकाले (२९–३० पृ.) उनी काठमाडौंमा पहिल्यैदेखि लहसिएको देखिएको छ ।


पूराविद्याको अन्वेषण गर्न चाहिने उपयुक्त शिक्षा नेपालमा नचलेकाले मूल धारका विद्वान्हरूले र वंशगौरव वा सोखले अभिभूत अरू मानिसहरूले इतिहाससम्बन्धी अरू–अरू आकर अर्थात् स्रोतको परिशीलन राम्रोसँग गर्न नसके जस्तै ताडपत्रका लिखतको पनि उचित उपयोग तिनीहरूको हातबाट भएको देखिएको छैन । यसको उदाहरणका लागि हेमराज शाक्यले अलग्गै निकालेको, उकुबहालका ताडपत्रको पुस्तिकालाई बेर्नहार्त कोल्फर र उनै हेमराज शाक्यले मिलेर निकालेको पुस्तकसँग दाँजेर हेरे मात्र पनि पुग्छ । यसैले भगवानबहालका लिखतसम्बन्धी यस पुस्तिकामा दिइएको पाठ सकल ताडपत्रबाट पूरै सावधानीसँग नउतारिएकोमा हामीले त्यति पिर मान्नुपर्दैन । साँच्ची भन्ने हो भने विश्वविद्यालयका प्राडाले वा पुरातव विभागका अधिकृतले पढेका पाठको दाँजोमा यस पुस्तिकामा प्रकाशित पाठ कता हो कता विश्वसनीय छ ।


कुनै–कुनै लिखतका Ïयाक्सिमिलीको आकार निकै घटाएर दिइएकाले तिनको पाठ पढ्न गाह्रो भए पनि धेरैजसोको प्रकाशित पाठ भने Ïयाक्सिमिलीसँग दाँजी सच्याउन सकिन्छ र शुद्ध्याइएको पाठका आधारमा तिनाको विशद परिशीलन गर्न सकिन्छ । यसैले भगवानबहालको भण्डारबाट बाहिर आएका ती लिखतको अभिभारा कुलपुत्रको काँधबाट अब बहुश्रुत ऐतिहासिक अर्थात् थरी–थरीका विषयको ज्ञान भएका इतिहासकारको काँधमा सरेको छ ।

Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/21965-2014-01-29-00-37-14

No comments:

Post a Comment