नेवा: स इन्टरनेट रेडियो

Sunday, January 19, 2014

एउटा नयाँ देश

एउटा नयाँ देश

कवि दास निलः
हो, मेरो जिजुले तिम्रो जिजुसँग
आफ्नो भूगोल हारेकै हो
हारेको त भूगोल मात्रै थियो
तर मेरो जिजुहहरुको घर लुटियो
संस्कृतिलाई निचोर्यो
भाषालाई खुम्च्याईयो
यहाँ सम्म कि
शताब्दिऔं दास बनाईयो

साना सना लगापात थियो
ठुलो चाक्लो बनाईदियो
पराक्रमी भनुं या तानाशाह
जे नाम दिए पनि
एउटा देश बन्यो

समय फेरि सकेको छ
घर आंगन, खेतबारी
बनपाखा, जंगल
हिमाल, पहाड, मैदान
खोलानाला, झरना, ताल
न तिम्रो, न मेरो
अब, हाम्रो भो
हो, हाम्रो नै हुनु पर्छ

तिमी तिम्रो जिजुको
जीतको उन्माद छोड
म मेरो जिजुको
हारको कुण्ठा छोडुँला
एउटा नयां संसार बनाऔं
जहाँ मेरो,
संस्कृति ननिचोरियोस्
भाषा नखुम्चियोस्
धर्म कुण्ठित नहोस्
न तिम्रै मात्र, न मेरै मात्र
अब,
ती सब हाम्रो भन्न सकुँ
मन भित्रै बाट
हाम्रै भन्न सकौं ।।

September 14, 2013 @Kapan Gumba

No comments:

Post a Comment