नेवा: स इन्टरनेट रेडियो

Saturday, January 26, 2013

सहिद शुक्रराज शास्त्री गणेशमान सिंहको दृष्टिमा



सहिद शुक्रराज शास्त्री गणेशमान सिंहको दृष्टिमा


सन् १९३७ -३८ तिर मैले शुक्रराज शास्त्रीलाई हडसन रोडस्थित माधवभवनमा एउटा विचित्रस्थितिमा भेटेको थिए |

फुल पहिला कि कुखुरा भन्ने वादविवाद भयो | हामीले फुल पहिला भन्यो कि शुक्रराज शास्त्रीले कुखुरा पहिला भनि साविद गरिदिनुहुन्थ्यो | अनि कुखुरा पहिला भन्यो कि होईन फुल पहिला भनि सिद्ध गरि हामिलाई हायलकायल पार्नुहुन्थ्यो |

गधापच्चिसे उमेर , साह्रै अपमानवोध भयो | जे जसो भने पनि उहाँ नै जित्ने | साह्रै रिस उठ्यो | कसरि यो बुढालाई निचा देखाउने ? एउटा उपाए सुझ्यो | उहाले बुढेशकालमा दोस्रो बिहे गर्नुभएको थियो र ,निचा देखाउन भनिदिए - "देश र जनताको सेवा गर्नु पर्छ भनि उपदेश दिएर हिड्ने मान्छेले ४२ वर्षको उमेरमा किन दोस्रो बिहे गरेको ? लाज छैन ......|"

गजब | उहाँ पटक्कै रिसाउनु भएन , मुसुमुसु हास्तै त्यहि भावमुद्रामा कुराकानी गरिरहनुभयो | उहाँलाई अनैतिक व्यक्ति भन्न सकेकोमा एक किसिमले वादविवादमा हारे पनि मैले जितेको अनुभव गरें |

केहि दिनपछि 'विश्वामित्र' पत्रिकामा शुक्रराज शास्त्रीले महात्मा गान्धीसग भेटेको खबर पढें | उहाँले गान्धीलाई आफ्नो देश मात्र स्वतन्त्र गर्ने होईन , नेपालमा भैरहेको अन्याय- अत्याचारको विरोध गरि प्रजातन्त्र स्थापना गर्नमा सहयोग मागेको र गान्धीले सहानुभूति दिएको कुरा खबरमा भनिएको थियो | मलाई यो खबर पढेपछि ठुलो पश्चाताप भयो | मलाई उहाँ प्रति श्रध्दा जाग्यो | मैले उहाँलाई भेटेर आफ्नो असभ्य व्यवहारका लागि माफी मागें | उहाँले भन्नुभयो - "यस्तो सानो कुरामा पनि माफी माग्ने ? तपाईको जस्तो बैंसमा त्यस्तो जोस हुनैपर्छ |"

म विस्वस्त हुन सकिन | उहाँले सिर्फ औपचारिकता निर्वाह गर्नलाई मात्र त्यस्तो भन्नुभएको होला भनि मनमा लागि रह्यो |

नेपाल फर्केको केहि समयपछि वि. सं. १९९५ मा शुक्रराज शास्त्रीलाई जेलमा राखेको खबर सुने | कुरा के थियो भने उहाँको अध्यक्षतामा नागरिक अधिकार समिति खुलेको थियो | त्यो समितिले फ्रिडम अफ स्वीचको कार्यक्रम बनाएर जनतालाई राजनीतिक चेतना दिने काम गरेको रहेछ | समितिको कार्यक्रमअनुसार हरेक दिन एकजनाले स्पीच दिने | आवस्यक भएमा गिरफ्तारी पनि दिने |

यसअघि उहाँहरुले जनतालाई राजनीतिक चेतना दिन राजनीतिक भाषण नदिने , धर्मप्रान जनतालाई धार्मिक प्रवचन , पुराणका माध्यमबाट चेतनशील बनाउने सहमति अनुसार चतुर्मासका समयमा समितिका सदस्य मुरली पण्डितलाई कथा सुनाउने जिम्वेवारी दिएको थियो | मुरली पण्डित त्यस कार्यमा अति योग्य र दक्ष थिए | देशमा भएको धार्मिक स्वतन्त्रताबाट लाभ उठाई जनतालाई राजनीतक चेतना दिन खोजेको कुरा राणा सरकारलाई थाहा नभएको होईन तर धर्मप्राण जनताले धार्मिक क्रियाकलापमा गरिएको हस्तक्षेप सहेर बस्दैन , यो कुरा पनि उनीहरुले राम्ररी बुझेका थिए |

कार्यक्रमअनुसार असनको गणेशथान अगाडी मुरली पण्डितले कथा सुनाउन थाले | पण्डितको कथा सुन्न सर्बसाधारण जनता खानेकुरा पोको पारेरसम्म आउन थाले | पण्डितको कथा दिन प्रतिदिन लोकप्रिय हुँदै गयो | राजधानीमा त्यति भिड त्यस बेला नारायनहिटी दरबारमा राँगो ढाल्ने बेलामा मात्र हुन्थ्यो |

मुरली पण्डित राम र रावणको उदाहरण दिएर 'दुस्ट कर्म गर्ने सबै नाश हुन्छन,त्यस्ता दुस्टहरुको नाश गरि युग अगाडी बढिरहन्छ ' भनि देशको राजनीतिक अबस्था बुझाउने काम गर्दै गए | चार महिनापछि साङ्गे (पुराण सकिने दिनमा ) गरी मुरली पण्डितलाई जीपमा चढाई नगर परिक्रमा गराई उनको घर कालिमाटीसम्म जनाताले पुर्याउने भए | जनताबाट त्यति धेरै श्रद्धा र माया पाउने सम्भवत :त्यसबेला मुरली पण्डित पहिलो व्यक्ति थिए होलान | त्यस्ता व्यक्तिले पछी लोभलालचमा फसेर आफ्ना साथीहरुलाई थुनाउने , फाँसी दिलाउने घृणित काम गरे |

जनतामा आएको अति उत्साह देखेर नागरिक अधिकार समितिले हरेक दिन एक जना सदस्यले स्पीच दिने कार्यक्रम बनाएको थियो | भाषण दिनेहरुको नामावली तयार भयो | शुक्रराज शास्त्री , गंगालाल , मुरली पण्डित , केदारमान व्यथित ........| त्यसअनुसार पहिलो भाषण दिने पालो शुक्रराज शास्त्रीको थियो | उहाँले इन्द्रचोकमा गीताको प्रसिद्ध श्लोक 'नैन छिन्दति शस्त्रानी नैनं दहति:' अर्थात मनुस्यले नयाँ जन्म लिनलाई पुरानो जीर्ण शरीर छाडेर जानुपर्ने हुनाले यो शंसारमा शरीरको केहि महत्व छैन , त्यसैले शरीरको सार भनेको जीर्ण हुनुअघि नै सुकर्ममा लगाउनुपर्छ भनि जनतालाई जगाउन खोज्नुभयो | उहाँको भाषण अति दार्शनिक प्रकारको भएकाले सर्बसाधारणले राम्ररी बुझ्न सकेन | ज्यापुले गीतापाठ गर्यो भनी कानेखुसी पनि भयो |

उहाँको भाषण नबुझेर जनतामा अन्योल देखेर नवजवान गंगालाले आफुलाई थाम्न सक्नुभएन र आफ्नो पालो नै नआईकन भाषण दिन तम्सनुभयो | शुक्रराज शास्त्रीले भन्नुभयो - "मेरो भाषण साथि गंगालाललाई चित्त बुझेनछ क्यारे | तपाईंहरुलाई कस्तो लाग्यो ,मलाई थाहा छैन | हुन त साथि गंगालालको भाषण दिने पालो आज होईन, तैपनि उहाँको भाषण पनि सुनौ|"

जनताले थपडी बजाएर स्वागत गरे | गंगालाले भन्नुभयो -

म तपाईहरुलाई के भनेर सम्बोधन गरुँ? एक लात हिर्कायो कि पुच्छर लुकाएर क्वाईक्वाई कराई भाग्नु हुन्छ | अनि त्यहि लातले हिर्काउने मान्छेले एक टुक्रा जुठो रोटि फ्याँक्यो भने पुच्छर हल्लाएर त्यसको पछिपछि लाग्नुहुन्छ | पशु भनौ भने दुई खुटा छ | हाम्रो आत्मसम्मान र आत्मनिर्णयको अधिकार जनद्रोही राणासरकारले ........|"

गंगालालको उत्तेजना र जोस बढ्दै गएपछि त्यस बेलामा पुलिस कप्तान चन्द्रबहादुरलाई साह्रै सजिलो भयो र लाठीचार्ज गराईहाल्यो | जनताले माहुरीलेझैँ छोपी गंगालाललाई मासंगल्लीबाट भगाइदिए | त्यसरीनै शुक्रराज शास्त्रीलाई पनि छोपेर-घेरेर चोखाछे गल्लीबाट उनको घरमा लगेर बाहिर ढोकामा ताल्चा लगाइदिए | गंगालाल् त्यसपछी भूमिगत भए | राणा सरकारले शुक्रराज शास्त्रीलाई भोलिपल्ट बिहान गिरफ्तार गर्यो |

उहाँको गिरफ्तारीपछि समितिको गोप्य बैठक बस्यो | गंगालाल भूमिगत भएकाले मुरली पण्डितलाई भाषण दिनुपर्छ भनियो | मुरली पण्डितले भने -"नेपालमा बसेर भन्दा हिन्दुस्तानमा बसेर राणाशासनविरुद्ध जनतालाई प्रभावशाली ढंगले उचाल्न सकिन्छ | त्यसैले मेरो प्रस्ताबमा समितिले बिचार गर्नु पर्छ |"

पण्डितले परोक्ष भाषामा भाषण दिन इन्कार गरेपछि चौथो नम्बरका केदारमान व्यथितलाई भाषण गर्न अह्राइयो | केदारमानले भन्नुभयो- "आफ्नो पालो नआइकन भाषण दिने गंगालाललाई कारबाही नगरुन्जेल म भाषण नै दिन्न |"

व्यथितले पनि इन्कार गरेपछी नागरिक अधिकार समितिले हरेक दिन एकजनालाई भाषण गराउने कार्यक्रम अघि बढ्न सकेन | यसको केहि समयपछि राणासरकारले शुक्रराज शास्त्रीलाई उनको पितालाई झैं अपमान गर्न मुरली पण्डित संग शास्त्रार्थ गराउने कोसिस गर्यो | पण्डित शास्त्रार्थ गर्न तयार भए | पण्डितले शुक्रराज शास्त्रीलाई जेलमा खबर पठाए | शास्त्रार्थ गर्ने बेलामा दुबैजना नहार्ने किसिमले गर्ने | पण्डितको खबर त्यागि रामलाल कलुवारले (जसले नागरिक अधिकार समितिलाई आफ्नो महाबौद्ध घरमा अफिस राख्न दिएका थिए र राजा त्रिभुवनले प्रजापरिसदलाई आर्थिक सहयोग नदिएका बेला चन्दा दिएर पर्चा बाँड्न सक्ने वातावरण तयार गरिदिएका थिए) शुक्रराज शास्त्रीलाई पठाएका थिए | त्यस बेला कलुवारले शुक्रराज शास्त्रीलाई भोटाहिटीका पुस्तक पसले भक्तबहादुर मार्फत खाना पठाउने गर्दथे | कलुवार २०३८ सालमा दिवंगत भइसके |

शुक्रराज शास्त्रीले पण्डितलाई यस्तो जवाफ पठाउनु भयो - "अरु कुरामा भए म केहि भन्दैनथें | यो त सिदान्तको कुरा पर्यो | त्यसैले कुनै किसिमको सम्झौता हुन् सक्दैन |"

यो जवाफ पाएपछि पण्डितले शास्त्रार्थ गर्ने प्रस्ताब फेरी कहिल्यै उच्चारण गरेनन | उहाँलाई राणासरकारले बरोबर भन्थे - "माफी माग तिमीलाई छोडिदिन्छौ |"

उहाँको जवाफ हरदम यहि हुन्थ्यो कि मैले के कसुर गरेको छु ? विनाकसुर किन माफी माग्ने?

एकदिन जेलको नाइकेले उहाँलाई 'गधा' भन्यो | उहाँले हाँसेर त्यसो भए तपाई के घोडा ? भन्नु भयो | फाँसीको दिनमा त्यो जेलनाइकेले रोएर माफी माग्यो | उहाँले भन्नुभयो -"केहि छैन ,तपईलाई त्यो दिन रीस उठिराखेको थियो ,रीस उठेको बेलामा जिब्रो चिप्लिन्छ | स्वभाविक हो |"

तर पनि जेल नाइकेको चित्त सान्त शान्त भएन | पश्चाताप गर्दै भन्यो - "म मुर्ख र निच मान्छे नभएर मैले यस्तो निज काम किन गरि राख्थे होला |"

कलकत्तामा उहाँले मलाई माफी दिनु भएको औपचारिकता निर्वाह गर्नलाई मात्र होइन , साँच्चै माफी दिनु भएको हो भन्ने मेरो मनमा पर्यो | मनमा ठुलो सन्तोष भयो |

सेकेन्ड टाइम मैले उहाँलाई सिंहदरबारमा देखेको थिएँ ,त्यो पनि साह्रै बिचित्र परिस्थितिमा फैसला सुनाउन सिंहदरबारको फुटबल ग्राउन्डमा उहाँलाई ल्याइएको थियो | पाल टाँगीएको थियो | जंगी र निजामति कर्मचारीहरुले ग्राउन्ड  टन्न भरिएको थियो | शुक्रराज शास्त्रीलाई एक्लै हामि बसेको ठाउँबाट निकै टाढा उभ्याएर राखिएको थियो | हाम्रा अगाडी राजपरिषद्का कार्यकर्ताहरुलाई उभ्याएर राखेको थियो | दाहिनेपट्टि रक्तपात मण्डलीका मान्छेहरु | जुद्धशमशेर बसेको लाइनमा त्रिभुवन सरकार , मोहनशमशेर, महेन्द्र सरकार बसिराखेका थिए | उनीहरुको पछाडी पधमशमशेर र अरु दरवारिया मानिसहरु थिए | धेरै अगाडिको कुरा भएकोले राम्ररि भन्न सकिन्न | महेन्द्र सरकार एकजना मात्र टाउको निहुर्याएर बसिरहेको देखिन्थ्यो | जुद्धशमशेरले आफ्नो ठाउँबाट उठेर सभालाई सम्बोधन गरे - "भाइभारदारहरु ! आज मैले तिमीहरुलाई किन बोलाएको थाहा छ? हिन्दुस्तानका निचा जातका सोसलिस्टहरुको इसारामा हाम्रो गाथगद्धी ताकिरहेका देशद्रोहीहरुलाई के-कस्तो दण्ड दिनुपर्ला भनि राय लिन बोलाएको हु |"

एकछिन मौन बसेर शुक्रराज शास्त्रिप्रति औंला ठड्याउदै उत्तेजित भएर उनले भने - "यसको बीउ उ त्यो ज्यापू शुक्रराज हो | गान्धीसंग सल्ला - साहुती गरेर गान्धीको इसारामा परि ब्यापक जनसमर्थन भएको वैधानिक तरिकाले स्थापना भएको हाम्रो शासन पल्टाउन त्यो ज्यापूले यो सबै काम नाइके भएर गरेको हो | हुन त यी देशद्रोहिहरुले के लछार्न सक्थे र | देशद्रोही किराहरु | यी कीराहरुले झन्डै हीरा बिगार्न लागेका , तर सकेनन | यी कीराहरुले गर्न नै के सक्छन र ?"

सबै मौन थिए | प्रजापरिषदको समुहमा खासखुस कुरा चल्यो | 'राजालाई हातमा लियो, अब कसैको खैरियत छैन |'-यस्तो निराश विचारले सबैको अनुहार अँध्यारो भयो | प्रजापरिषद्का केहि नेता र कार्यकर्ताहरुले राजाबाट धेरै आशा लिएका थिए | कसैले समर्थनमा नबोलेकाले जुद्धशमशेरले फेरि जंगीएर भने -"यिनीहरु को हुन्, थाहा छ ? यिनीहरु हाम्रो चिहान खन्न आएका रक्तपात मण्डली हुन् | रक्तपात मण्डली भनेको के हो भने श्री ५ महाराजले कुनै न कुनै बहाना बनाएर हामि सबैलाई बोलाएर यहुदिहरुलाई जस्तै' एकै ठाउँमा राखेर करेन्ट पास गरेर खरानी पारेजस्तै पार्ने षड्यन्त्र .......|"

सबैलाई निरासाको लहरले छोप्यो 'राजालाई अघिसम्म हीरा भन्यो | अब ज्यानमारा र षड्यन्त्रकारी | राजालाई नै बाँकी नराख्ने भएपछि अब कसैको खैरियत नहुने भयो'- हामीलाई यस्तै बिचारले छोप्यो |

राजा र युवाराजहरुको अनुहार हेरेर म बडाबडाइरहे | साथीहरुले चुप लाग' भनि गाली गरे | अचानक सभामा ठुलो खैलाबैला मच्चियो | सबैले गर्दन तन्काएर शुक्रराज शास्त्रिलाई हेर्न थाले |


"एक्लै बोलिरहनु उचित भएन महाराज | यति धेरै भाइभारदारहरूका बीचमा एक्लै बोलिरहन सुहाएन,सुहाएन महाराज |"

शुक्रराज शास्त्रीको कुरा सुनेर सबैले जिब्रो टोके | घोर अपमान | जुद्धशमशेरको जीवनमा यसरि सवालजवाफ गर्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्थ्यो | दाह्रा किटेर जुद्धशमशेर भकभकाउदै भन्न थाले - "ए ज्यापू | तँ धेरै नेप्रिन्छस ? हँ ? ए ज्यापू ? तँ मात्तिएको हो ? एज्यापू ? तँलाई घोडाले कुल्चाएर मारिदिन्छु ..........|"

सिंह गर्जे झैं शुक्रराज शास्त्रीले भन्नु भयो - "मर्न तयार छु सरकार, तर इन्साफ चाहिन्छ | को देशद्रोही हो भन्ने कुरा हामिलाई बताउने मौका दिनु पर्छ | अनि यो सभामा उपस्थित भाइभारदारहरूले फैसला गरुन कि को देशद्रोही हो | यत्रो सभामा बोलिरहनु ........|"

रिसले थरथर कामेर जुद्धशमशेर 'ए ज्यापू | तँ मात्तिएको ? हँ ? ए ज्यापू .......|' बाहेक केहि भन्न सकेन | शुक्रराज शास्त्रीले फेरी भन्नुभयो -"मात्तिएको होइन महाराज, इन्साफ मागेको | को देशद्रोही हो, चिनाउने अवसर पाउनु पर्छ भनेको |"

म शुक्रराज शास्त्रीको , जुद्धशमशेरको , अनि त्रिभुवन सरकारको अनुहार पालैपालो हेर्थे | उहाँले सवालजवाफ गरिरहँदा पद्दमशमशेरले आफ्नो मुखमा प्याटप्याट पिटेर 'चुप लाग' भनि इसारा गरिरहेको दृश्य साह्रै रोचक थियो | पद्दमशमशेरको त्यो हाउभाउ देखेर मैले ममा स्फूर्ति आएको अनुभब गरें | उहाँको निर्भीकता देखेर ठुलो जोस उम्लेर आएको पनि अनुभव गरें |

सभामा पाँचजनाले आफ्नो राय दिए | जुद्धशमशेरको ज्वाई प्रतापनर सिंहले आफ्नो ठाउँबाट उठेर 'क्यापिटल पनिसमेन्ट' भन्यो | सोमनाथ सिग्देलले दुई हात जोडी निधारमा राखी निहुरेर भन्यो - "शास्त्रअनुसार दण्ड दिनु पर्छ |"

शास्त्रअनुसार भनेको के हो ?

"शास्त्रअनुसार भनेको राजाको निन्दा गर्ने,राजालाई गालि गर्ने, राजाकहाँ भएको गुप्ती कुरा बाहिर प्रकाश गर्ने, यस्तालाई जिब्रो काटी देशनिकाला गर्नुपर्छ | राजाको ढुकुटी फोर्न ? राजासंग विरोध - बिगार गरेर चल्ने, शत्रुहरुलाई उचाली - वहालाई राजासंग वैरभाव गराउने, यस्ताको सर्वस्वहरण गर्नुपर्छ | मुडनु ,निधारमा डाम्नु , गधामा चढाई सहरबाट निकाला गर्नु नै ब्राह्मणको मृत्युदण्ड हो भन्ने ............|"

शुक्रराज शास्त्रीले बीचैमा भन्नु भयो - "शास्त्रमा भनेको छ जनतालाई यातना दिएर शोषण गर्नेलाई पनि दण्ड दिनुपर्छ |"

कसैले जवाफ फर्काएन | जुद्धशमशेरले त्रिभुवन सरकारसंग सोधे - "सरकारबाट हुकुम बक्सिनुपर्यो ,यी देशद्रोहीलाई के सजाय दिनु पर्यो ?

"के गर्ने ? मडरनाइज्ड गर्ने | अरु के गर्ने ?"

"के को मडरनाइज्ड कस्तो मडरनाइज्ड गर्ने 

फेरी एकपटक सभामा खल्लीबल्ली मच्चियो | अब कोहि पनि नमर्ने भयो | मडरनाज्ड भनेको युरोपमा जस्तै पर्चा छर्नेलाई दुई-चार महिना कैद गर्ने ? हाम्रो मनमा यस्तै लाग्यो | छिनमा आशा , छिनमा निराशा | त्रिभुवन सरकारले मडरनाज्ड गर्ने भनेपछि हामि धेरै आसावादी भयौ |

मोहनशमशेरले कन्सिडेरेशन हुनुपर्छ भने | के को कन्सिडेरेशन ? एकछिन मौन बसेपछि पनि सरकारबाट हुकुम नभएकोले 'यिनीहरुलाई अहिले लग' भनि जुद्धशमशेर सभाबाट उठेर गए | हामीबीचमा करिब दुई घन्टासम्म मडरनाइज्ड गर्ने भन्ने विषयमा विभिन्न अर्थ निकाली छलफल चलिरह्यो | हामीमा उत्साह थियो | एक्कासी फेरी हामीलाई बोलाइयो | फटाफट सजाय सुनाइयो | बाटोमा (सजाएको विवरण नेपालको जनआन्दोलन वि.सं.१९९७ देखि २०४६ मा हेर्नुहोला) जनताको अपार भीड भएकाले हामीलाई तत्काल जेल चलान नगरी केहि दिन सिंहदरबारमै राखियो | मैले टंकप्रसाद आचार्यलाई 'गजब गर्नुभयो सभापतिज्यु,तपाईले हाम्रो साह्रै इत्जत राखिदिनुभयो' भन्दा उहाँले मेरो व्यंग्यलाई बुझेर गम्भीर हुँदै भन्नुभयो - "हो,म बयल भइदिएँ | शुक्रराज शास्त्री दिग्दिगन्त हुनुभयो | उहाँले सवालजवाफ गरिरहँदा त्यहि कुरा मेरो घाँटिसम्म आउँथ्यो तर तँ बाहुन भएर बचिस भनेको एउटा वाक्य सम्झेर लाचार भइदिएँ | घाँटिसम्म आएको कुरा मुखले फोड्न सकिन|"

कुरो के थियो भने टंकप्रसाद्जीलाई झुक्याएर समातेर ल्याएपछि सिंहदरबारमा (हाल पुरानो रेडियो नेपाल) बयान लिन ल्याएको बेला उहाँले बबरशमशेरलाई भन्नु भयो - "यो गालि बन्द गर्नुहोस् | दुनियाँदारका छोराहरुलाई मिलिटरी लगाएर समात्नु , मिलिटरीहरुको घेराभित्र राखेर यसरि जथाभावी गालि गर्नु बहादुरी होइन | तपाईले आफ्नो गालि बन्द गर्नुभएन भने हामि पनि त्यही भाषामा गालि गर्न सुरु गर्छौ |"

बबरशमशेरले दाह्रा किटेर रिसले थरथर काम्दै भने -"बचिस | तँ बाहुन भएर बचिस | तँलाई काटेर मासुको एक - एक टुक्रा गिद्ध, चिल र स्याललाई खुवाउने थिएँ | बचिस |बाहुन भएर बचिस |"

टंकप्रसाद्जीले भन्नुभयो - "मलाई मार्ने निश्चित भएकाले किन दबेर बस्ने भनि निर्भीक र निडर भएको हुँ तर 'बाहुन भएर बचिस' भनेको घटनाले म मर्दिन भन्ने भावना आएकोले म बयल भइदिएँ | मेरो बहादुर सिंहदरबारको स्कुलमा (त्यसबेला) मात्र सीमित भयो | शुक्रराज शास्त्री दिग्दिगन्त हुनुभयो |"

मैले शुक्रराज शास्त्रीलाई अन्तिमपटक लासका रुपमा देखें | शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको कारण जुद्धशमशेरको अपमान गरेकोले हो | उहाँलाई राणाहरु अलग बसेर सजाए तोकेका थिए | माघ १० गते हामीलाई भद्रगोल जेलमा लगियो र उहाँलाई सेन्ट्रल जेलमा | माघ ११ गते बिहान ११ बजेतिर जेलका चौकिदार हाम्रो कोठामा आए | त्यसबेला मुक्तिलाल झा भन्ने चौकिदार थिए | उनले जेलमुक्त भइसकेपछि पढेर वकिल पेसा गरेका थिए | अहिले उनि छैनन् | उनलाई नेवारी कुरा पनि राम्ररी बोल्न आउँथ्यो |

के गरि राखेको ?

त्यसै बसिराखेको

झ्यालबाट बाहिर हेर्नुभएन ?

किन के भो र ?

एकपटक हेर्नुस न |

उनले साह्रै जिद्दी गरेकाले साथीहरुको जीउमा चढेर पालैपालो हामीले झ्यालबाट हेरयौ |

त्यो रुखमा सेतो रंगको एउटा शरीर झुण्डीराखेको देख्नुभयो ?

अँ देखें , त्यो के ?

त्यो शुक्रराज शास्त्रीको लास हो |

चौकिदारको कुरा सुनेर उहाँको पोलाहा (प्रजापरिसद्लाई गिरफ्तार गराउने मध्ये एक) भाइ वाक्पतिराज (रामजी) छाती पिटेर रुँदै बर्बराउन थाले - "हाय भैया, आप हमको छोड्के कहाँ चले गये ? मेरे भैया ने कल मुझसे १ रुपियाँ का डबल लिया था | उसने वह पैसे खर्च नहीं किये होंगे | जलानेवाले लास में क्यो डबल रक्खें | पैसे को क्यों जलायें | वे डबल उनके जेव मे होना चाहिये | चौकिदार साब | मुझें डबल पैसा ला दिजीये |"

चौकिदारले रिसाएर कुता भनि मुखमा थुकिदिए | उनले भने - "सुन कुकुर, मर्नु अगाडी तेरो दाजुले के भन्यो : तैले गरेर मेरो प्राण गयो |"

भद्रगोल जेलबाट देखिने ठाउँमा उहाँलाई फाँसी दिनुको अर्थ हामिलाई तर्साउनु थियो | उहाँको लासलाई तीनपटक परिक्रमा गरी उहाँका पिता माधवराज जोशीले राम्ररी उद्गार पोख्नुभयो - "स्याबास बेटा, स्याबास | तुमने हम सबका इत्जत रखा | मै बहुत खुस हुँ बेटा | सबको तुम जैसे बेटा मिले |"

सबै मान्छे छक्क परे र भन्न थाले - "यो मान्छे (शुक्रराज) त त्यसै तर्यो |

साभार :योद्धा, वर्ष १ अंक १ 

२८ कार्तिक २०५३

सर्वोच्च नेता गणेशमान सिंहको विचार पुस्तकबाट (सम्पादक जीवनचन्द्र कोइराला )

No comments:

Post a Comment