नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Sunday, January 27, 2013

सहिदहरूप्रतिको कर्तव्य


सहिदहरूप्रतिको कर्तव्य 

शिवप्रसाद भट्टराई 

आˆनो देशको स्वाधीनता, संस्कृति र स्वअस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर आफूलाई लोकहितमा समर्पित गराउने व्यक्तिलाई नै 'सहिद' भनिन्छ । प्रत्येक वर्ष माघ महिनामा हामी यस किसिमका सहिदहरूको संस्मरण गर्दै सहिद दिवस मनाउने गर्दछौँ । एकतन्त्रीय राणा शासनलाई समाप्त पारी प्रत्येक नागरिकलाई स्वतन्त्र र स्वाधीन तुल्याउने दिशामा समर्पित भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ सर्वसाधारण सबैलाई उनीहरूको मौलिक हक दिलाएर स्वतन्त्र र स्वाधीन तुल्याउन अग्रसर थिए । उनीहरूले राणा शासनबाट भइरहेको शोषण, अन्याय र अत्याचारको खुलेर विरोध गरे । न्यायपूर्ण, समतामूलक र शोषणरहित समाजको स्थापनाका दिशामा आफूलाई क्रियाशील तुल्याए । यस कार्यमा अघि बढ्दा उनीहरू कुनै पनि किसिमको धम्की र प्रलोभनमा परेनन् । बहादुरीपूर्वक आˆनो लक्ष्यमा निरन्तर अघि बढ्दै गए । 

मानिसले अन्याय गर्नु पनि हुँदैन र अन्याय सहनु पनि हुँदैन भन्ने मान्यता उनीहरूको थियो । यसका साथै मानिसले आˆनो स्वार्थपूर्तिका लागि कहिल्यै पनि देश र जनतालाई हानि हुने किसिमको काम गर्नु हुँदैन । हामीले सधैँ उन्नतिशील कार्य गरेर देशलाई अघि बढाउनुपर्छ । यसका लागि सबैले परिश्रमपूर्वक काम गर्न पाउनुपर्छ । राष्ट्रले प्रत्येक नागरिकलाई यस दिशामा अग्रसर हुने स्वतन्त्रता प्रदान गर्नु पर्दछ । यसको अभावमा देशको चौतर्फी विकास हुनसक्दैन । प्रजातन्त्र र स्वतन्त्रताको अभावमा कुनै पनि नागरिकले आˆनो विकास आफैँ गर्नसक्ने समुचित वातावरण पाउन सक्तैनन् । यस किसिमका विचारहरूले नै उनीहरूलाई अघि बढ्न अग्रसर तुल्याएको थियो । यही कारणले आˆना क्रियाकलापहरूका माध्यमबाट सम्पूर्ण नेपाली समाजमा राष्ट्रिय चेतना जगाउने कार्यमा उनीहरू आजीवन समर्पित रहे । नेपाल आमाको असल छोरोको रूपमा आफूहरूलाई चिनाए । आफूलाई अमर तुल्याए । आˆनो जन्म र जीवनलाई सार्थक पारे । नेपाली इतिहासमा सदा संस्मरणीय र वन्दनीय व्यक्तित्वका रूपमा देखापर्न सक्षम भए । 

यस किसिमका होनहार राष्ट्रिय व्यक्तित्वहरूलाई राणा-शासकहरूद्वारा पक्राउ गरी उनीहरूलाई सर्वस्वसहित मृत्युदण्डको फैसला सुनाइयो । उनीहरूमाथि राजद्रोह र देशद्रोहको अभियोग लगाउने काम भयो । वास्तवमा उनीहरू राजद्रोही र देशद्रोही थिएनन् । आˆनो मातृभूमिमा बस्ने सबैको सर्वतोमुखी विकासका लागि नै उनीहरू अग्रसर भएका थिए । राणा शासकहरूको अन्याय, अत्याचार र उत्पीडन आदिको विरोध उनीहरूले गरेका थिए । यसले राणाशासकहरूको स्वार्थमा ठेस लाग्न पुग्यो र उनीहरूलाई अंश सर्वश्वसहित मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । त्यो दिन वि.सं. १९९७ माघ ६ गतेको दिन थियो ।

यसपछि वि.सं. १९९७ माघ १० गते राति शुक्रराज शास्त्रीलाई पचली -टेकू) को एउटा रूखमा झुन्डयाएर फाँसी दिइएको थियो । माघ १३ गतेका दिन धर्मभक्त माथेमालाई सिफलको एउटा रूखमा झुन्डयाएर फाँसी दिइएको थियो । यसपछि वि.सं. १९९७ माघ १४ गतेका दिन दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली ठोकेर मारिएको थियो । यही दिनलाई संस्मरण गर्दै हामी प्रत्येक वर्ष माघ १० गतेदेखि सहिद सप्ताह र माघ १६ गतेका दिन सहिद दिवस मनाउने गर्दछौँ । 

यसरी फैसला सुनाइएको चार दिन पनि पुग्दा-नपुग्दै उनीहरूलाई फाँसी दिने क्रम सुरु भएको थियो । यस्तो अवस्थामा पनि राणा शासकहरूसँग माफी मागेर उनीहरूका सामु घुँडा टेक्नुभन्दा आˆनो प्राणको आहुति दिन मन पराएर हाम्रा सहिदहरूले जसरी र जुन रूपमा रगतको बीउ रोपे त्यसैको परिणाम स्वरूप वि.सं. २००७ सालामा देशमा स्वतन्त्रता र प्रजातन्त्रको बोट उमि्रन पुग्यो । राणा शासकहरूको अन्याय र अत्याचार मात्र समाप्त भएन राणाशासन नै ढल्यो । यसरी प्राप्त भएको स्वतन्त्रता र प्रजातन्त्रको संस्थागत विकास गर्दै अघि बढ्ने क्रममा देशमा समय-समयमा विभिन्न किसिमका बिघ्न बाधाहरू सिर्जना गरियो । यो बिघ्न-बाधा हटाउने क्रममा धेरैले आˆनो जीवन बलिदान दिँदै आए । यसपछि वि.सं. २०४६ को जनआन्दोलनको क्रममा होस् वा २०६२-२०६३ को जनआन्दोलनको क्रममा नै किन नहोस् - यस किसिमका प्रत्येक आन्दोलनमा हाम्रो देशका अनेकौँ व्यक्तिले लोकतन्त्रको संस्थागत विकासका लागि आइपरेको स्थितिमा आˆनो जीवन बलिदान गर्नु परे पनि पछि पर्ने नगरेको अनेकौँ उदाहरण पाइन्छ । 

वास्तवमा लोकतान्त्रिक, न्यायपूर्ण र समतामूलक समाज स्थापना गर्ने सहिदहरूका सपना अझै पनि पूर्ण रूपमा साकार हुनसकेका छैनन् । यस अवस्थामा हामीले प्रत्येक वर्ष माघ महिनामा 'सहिद दिवस' वा 'सहिद सप्ताह' मनाएर मात्र सहिदहरूको सपना साकार हुनसक्ने विषय बन्न सक्तैन । सहिदहरूले सोचेको जस्तो नेपालको नवनिर्माण अझै हुनसकेको छैन । यसका लागि उनीहरूले देखाएको बाटोमा हामी सबै अग्रसर हुनसक्नुपर्छ । त्यो बाटो भनेको हामी सदैव प्रगतिपथमा अघि बढ्नु हो । 

देशका प्रति सबै मानिसमा समर्पणभाव देखिनुपर्छ । जसरी सहिदहरूले आˆनो वैयक्तिक स्वार्थको कुनै पर्वाह नगरी सबैको भलाइका लागि आफूलाई अग्रसर तुल्याएका थिए-त्यस किसिमको त्याग र समर्पणबिना देशको विकास सम्भव हुँदैन । देशको विकास नभएमा नागरिकहरूको जीवन सुखी र सम्पन्न बन्न सक्तैन । त्यसैले देशमाथि आइपरेको विघ्नबाधा हटाउन सबै नागरिकको ऐक्यबद्ध प्रयत्न हुनुपर्छ । शोषण, अन्याय र अत्याचारको बाटो समातेर जनतामा भय, त्रास र असुरक्षाको वातावरण फैलाई आˆनो स्वार्थ पूरा गरेर देशलाई नै खोक्रो बनाउनेहरूको सदैव विरोध गर्नुपर्छ । हामीले सदैव उन्नतिशील कार्य गरेर सहिदहरूको आत्मालाई हँसाउने प्रयास गर्नुपर्छ । यसो गर्न सकिएको स्थितिमा नै हामीले सहिदहरूप्रतिको आˆनो कर्तव्य पूरा गर्नसक्छौँ र सहिदहरूप्रति वास्तविक सम्मान पनि अभिव्यक्त गर्न पुग्छौँ । यस क्रममा कवि भूपि शेरचनको "सहिद रोलान् हामीले उन्नति गरेर नगए" भन्ने उक्तिलाई सदैव संस्मरण गरी जीवनभर यसलाई आत्मसात् गरी अघि बढ्नसकेमा नै हामीले हाम्रा सहिदहरूको वास्तविक सम्मान गरेको ठहरिने छ भन्ने यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन ।

Source : http://www.gorkhapatra.org.np/mag/muna.detail.php?article_id=448&cat_id=36

No comments:

Post a Comment