नेवा: स इन्टरनेट रेडियो

Sunday, October 28, 2012

अमेरिकी सेनामा नेपाली उत्कृष्ट

मणि दाहाल, काठमाडौं, कात्तिक ११ 

अमेरिकी सेनाका कार्यरत नेपाली सरलकुमार श्रेष्ठ यस वर्षको उत्कृष्ट अमेरिकी सैनिक घोषित भएका छन्। 'द बेस्ट वारियर अफ दि इयर, २०१२' मा श्रेष्ठले गैरअधिकृत सैनिकतर्फको उपाधि जितेका हुन्। 'द बेस्ट वारियर अफ दि इयर'लाई अमेरिकी सेनाभित्रको 'सुपर वाउल' भन्ने गरिन्छ। सुपर वाउल अमेरिका सबैभन्दा ठूलो खेलकुद प्रतिस्पर्धा हो। 
अमेरिकी सेनाले ११ वर्षदेखि आयोजना गर्दै आएको प्रतिस्पर्धामा अधिकृत र गैरअधिकृतका लागि छुट्टाछुट्टै विजेता घोषणा गरिन्छ। 
काठमाडौँ, नक्सालमा जन्मेका श्रेष्ठ सन् २००९ देखि अमेरिकी सेनामा भर्ना भएका थिए। अहिले उनी सर्जेन्ट छन्। 
यस वर्षको अधिकृतस्तरको प्रतिस्पर्धा म्याथ्यु सेन्नले जितेका छन्। अमेरिकी सेनाको १२ वटै कमान्ड अधिकृत स्तर तथा गैरअधिकृत स्तरमा एक-एक जना प्रतिस्पर्धामा सहभागी थिए। श्रेष्ठ अमेरिकी सेनाको थार्ड स्पेसल फोर्स कमान्ड(एयरबर्न)मा कार्यरत छन्। 
स्पेसल फोर्सका सात शाखाको प्रतिस्पर्र्धा 'सोल्जर्स अफ दि इयर, २०१२' बन्दै श्रेष्ठ 'द बेस्ट वारियर अफ दि इयर'का
लागि छानिएका थिए। स्पेसल फोर्स कमान्ड अमेरिकाले शान्ति, द्वन्द्व र युद्ध जुनसुकै बेला परिचालन गर्छ। अमेरिकी सेनाको वासिङ्टन डीसीमा आयोजित अमेरिकी सेनाका बैठकमा अमेरिकी सेनाका भाइस चिफ अफ द स्टाफ जनरल लोयड जे अस्टिन तृतीयले श्रेष्ठलाई उक्त उपाधि प्रदान गरेका हुन्। 
यसअघि अक्टोबर १५-१८ सम्म भर्जिनियास्थित अमेरिकी सैनिक शिविर फ्रान्ट ली सो प्रतिस्पर्धा चलेको थियो। 
त्यसमा प्रतिस्पर्धीबीच सहरी युद्धकला, विभिन्न विषयमा अन्तर्वार्ता, शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा, युद्ध अभ्यासमा क्षमता प्रदर्शन गरेका थिए। 
प्रतिस्पर्धाको अनुगमनकर्ता अमेरिकी सेनाका मेजर सर्जेन्ट रेमन्ड एफ चेन्डलरले 'टोटल सोल्जर्सको अवधारणाअनुसार प्रतिस्पर्धा भएको' अमेरिकी सेनका आधिकारिक वेबसाइटमा जनाएका छन्। 
'हामी शारीरिक साथसाथै मानसिक दबाबमा दिने गर्छौँ। दबाबको अवस्थामा पनि उनीहरूको रचनात्मक तथा महŒवपूर्ण सोच प्रयोग गर्न लगाउँछौँ,' बेवसाइटसँग उनले भनेका छन्, 'जोसुकैले यसलाई पूरा गरेर जुन स्थान प्राप्त गरे पनि गर्व गर्नुपर्छ।'
पाटन संयुक्त क्याम्पसका राजनीतिशास्त्र प्राध्यापक रमेशकुमार श्रेष्ठका एक्ला सन्तान श्रेष्ठ सन् २००६ मा अध्ययनका लागि अमेरिका पुगेका थिए। 
अमेरिकाको नेब्रोस्का राज्यस्थित वेलभ्यु विश्वविद्यालयमा कम्प्युटर नेटवर्किङबारे अध्ययन गर्दैगर्दा २१ वर्षको उमेरमा सन् २००९ सेप्टेम्बर १५ मा अमेरिकी सेनामा भर्ना भएका थिए। कम्प्युटर इन्फर्मेसन साइन्समा ब्याचलर श्रेष्ठ अधिकृत बन्न यस विषयको थप अध्ययन गर्न चाहन्छन्। श्रेष्ठले उपाधि जितका लागि पत्नी एलिसाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 
अमेरिकी सेनाको वेबसाइटअनुसार एलिसाले प्रतिस्पर्धाको तयारीमा कोचको भूमिका निर्वाह गरेको बताएका छन्। उनले भनेका छन्, 'राति लामो समयसम्म जागा बसेर युद्ध अभ्यासको अध्ययन तथा कार्यमा सहयोग गरिन्।' 
श्रेष्ठ 'मिलिटरी एसेसन भ्यालिड टु नेसनल इन्ट्रेस्ट (माभ्नी)' नियम र र्कायविधि अनलाइनमा पछ्याउँदै भर्ना भएका थिए। उनी अमेरिकी सेनाबाट तीनपटक अफगानिस्तान खटिएका थिए। 
अमेरिका जानुअघि पाटन संयुक्त क्याम्पसबाट कम्प्युटर विज्ञानका स्नातक गरेका थिए। 
दोस्रो विश्वयुद्ध लडेका बुढा हजुरबा सुन्दरकुमारको युद्धको कथा सुन्दै हुर्केका सरलको सेनामा लामो इतिहास छ। काठमाडौँको मुरुटोलमा बस्ने उनका पुर्खा मल्ल सेनाका थिए। 
कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खालीविरुद्ध लडाइँमा सहयोग गर्न उनको पुर्खा पठाएको थियो। तर, लडाइँको रणनीतिको विषयमा स्थानीय सेनासँग विवाद भए पनि त्यो समूह काठमाडौँ नफर्की दक्षिणतर्फ हानिएको थियो। हाल भारतको विहार राज्यको बेतियामा बस्दै आएको उनका पुर्खालाई बहादुर शाहले फेरि काठमाडौँ फर्काएका थिए। काठमाडौमा उनीहरू मुरुटोल बस्दै आएका थिए।

Source : http://www.nagariknews.com/society/nation/48152-2012-10-27-03-43-23.html

No comments:

Post a Comment