नेवा: स इन्टरनेट रेडियो

Thursday, December 16, 2010

कपिलवस्तु दिवस अभियान नेपाल समितिबाट लुम्बिनी र कपिलवस्तु क्षेत्रको सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सरकारसँग माग


भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ सुरु भएको कपिलवस्तु दिवस विश्व अभियानले डिसेम्बर १ २०११ देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । यसै सन्दर्भमा लुम्बिनी र कपिलवस्तु क्षेत्रका पुरातात्विक र ऐतिहासिक धरोहरहरुको सुरक्षा र संरक्षणको गम्भिर चासो व्यक्त गर्दै कपिलवस्तु दिवस अभियान नेपाल समिति निम्नलिखित मागहरु यथाशीघ्र पुरा गर्न नेपाल सरकारसँग जोडदार माग राख्दछ ।

१। नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गरिनु पर्दछ । चीन जापान म्यान्मार थाइल्यान्ड उत्तर र दक्षिण कोरिया र श्रीलंका जस्ता बौद्ध धर्मावलम्बीहरु अत्यधिक रहेका देशहरुमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई बौद्धहरुकै पवित्र तीर्थस्थलको रुपमा नेपाल सरकारले प्रचारप्रसारलाई तीव्र बनाउनु पर्दछ । ती देशहरुबाट पर्यटकहरुलाई विशेष सहुलियत दिई अत्यधिक संख्यामा बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमणका लागि आकर्षित गर्नु पर्दछ ।

२। लुम्बिनी र कपिलवस्तु क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको सुरक्षा र संरक्षणको विशेष व्यवस्था गर्नुपर्दछ । मायादेवी मन्दिरमा रहेको दानपात्र पटक पटक चोरी हुँदा समेत प्रहरी प्रशासनबाट कुनै कारवाही नहुँदा यस्ता गम्भीर प्रकृतिका अपराध बारम्बार दोहरिइ अपराधीहरुको मनोबल बढेको देखिन्छ । यसबाट बुद्धजन्मस्थलको पहिचान चिन्ह मार्कर स्टोनको सुरक्षामा समेत ढुक्क हुन नसक्ने अवस्था सिर्जना भएको छ भलै यसलाई बुलेटप्रुफ सिसाभित्र राखिएको किन नहोस् । त्यसैले लुम्बिनी र कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पुरातात्विक स्थलहरुको सुरक्षा र संरक्षण पर्यटक र तीर्थयात्रीहरुको सुरक्षाका साथसाथै अपराध कार्यमा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न नेपाल सरकारसँग विशेष सुरक्षाको माग गर्दछ ।

३। लुम्बिनी र कपिलवस्तु क्षेत्रको भौतिक पूर्वाधार पर्यटन मैत्री र सन्तोषजनक नभएको हुँदा पर्यटक तथा तीर्थयात्रीहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसैले यस क्षेत्रमा विश्वस्तरको पर्यटन सुविधा उपलब्ध गराउन आवश्यक भौतिक तथा पर्यटकीय पूर्वाधारको निर्माण अविलम्ब सुरु गर्नुपर्दछ ।

४। लुम्बिनी र कपिलवस्तुक्षेत्रको सर्वाङ्गिण विकास गर्न गठित लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिले गर्दा यस क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्न नसकेको प्रत्यक्ष देखिन्छ । कोषमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक स्वार्थबाट प्रेरित नभएका विशुद्ध अध्ययन र अनुसन्धानमा लागेका आस्थावान व्यक्ति नियुक्त गर्नुपर्दछ ।

५। भगवान् बुद्धको जन्मस्थलको रुपमा लुम्बिनीको महत्वपूर्ण स्थान भएजस्तै भगवान्ले २९ वर्षसम्म व्यतित गर्नुभएको कपिलवस्तुको महत्व पनि कम छैन । तर कपिलवस्तु क्षेत्र विकास पूर्वाधार चेतना शिक्षा आदि क्षेत्रमा पिछडिएको कारण लुम्बिनी भ्रमण पछि कपिलवस्तुको भ्रमणमा जाने पर्यटक तथा तीर्थयात्रीहरु त्यहाँको दुरावस्था देखेर दुखित हुने गरेकाछन् । कपिलवस्तु लुम्बिनीको पहिचान सँगै गाँसिएको हुँदा यहाँको पछौटेपनबाट अन्तरराष्ट्रिय जगतमा समेत नराम्रो सन्देश जान्छ । तसर्थ कपिलवस्तु र लुम्बिनीलाई एकीकृत विकास योजना अन्तर्गत संरक्षण र सम्वद्र्धन गरिनु पर्छ ।

६।नेपालको तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्नेमा शंका छैन । तैपनि भारतको उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्दै त्यहाँ निर्माण कार्य भइरहेको छ । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व छैनन् । यसको ठीक विपरित तिलौराकोटमा ती स्थलहरुको किटानकासाथ पहिचान गरिएको छ । तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने तथ्यलाई अझ सशक्त बनाउन नेपाल सरकारले छिट्टै अनुसन्धानविद् पुरातत्वविद् इतिहासकार तथा वैज्ञानिकहरुको टोली गठन गरी उत्खनन र अनुसन्धान कार्य अगाडि बढाइयोस् । उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरुको सुरक्षा गर्न विशेष सुरक्षा समेत अपनाइयोस ताकि ती अमूल्य वस्तुहरु सिमाना पारी चोरी निकासी हुन नपाओस् ।

राज श्रेष्ठ सार्क संयोजक
लक्ष्मण पुरी नेपाल संयोजक
कपिलवस्तु दिवस अभियान नेपाल समिित

No comments:

Post a Comment