Monday, September 27, 2010

इन्द्रजात्रा, अर्थमन्त्री र बुख्याँचा (कान्तिपुरमा जे देखियो, आश्विन ५ २०६५)

Photo credit : Indrajatra, 2008 AD, http://aboutkathmandu.blogspot.com
इन्द्रजात्रा, अर्थमन्त्री र बुख्याँचा (कान्तिपुरमा जे देखियो, आश्विन ५ २०६५)

The very first of my early writings, written 2 years ago on the day of INDRAJATRA and published in NAYA PATRIKA DAINIK dated ASOJ 10,2065 (Sept 26,2008). This article expresses the sentiment of Newar people of Kathmandu valley. – Raj Shrestha.


मैले इतिहासमा पढेको थिएँ – लिच्छवी कालबाट अस्तित्व र प्रचलनमा आएको इन्द्रजात्रा मल्ल राजाहरुबाट ग्रहण र सम्वर्द्धन हुँदै नौला र मौलिक संस्कृति थप हुँदै आजको अवस्थामा आइपुगेको हो। अन्तिम मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीको प्रतिक स्वरुप कुमारी रथयात्रा प्रचलनमा ल्याए। शाह राजा पृथ्वीनारायण शाहले कान्तिपुरमा इन्द्रजात्रा कै दिन रक्तपातविहीन आधिपत्य जमाएपछि यहाँका जनतासँग यहाँका धर्म, संस्कृति र सम्पदाको संरक्षण गरिदिने वचन दिंदै कुमारीको हातबाट टिका ग्रहण गरेका थिए (वासुपासा)। जुन धर्म, वर्तमानमा इतिहास भै सकेका शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्रबाट समेत निर्वाह गरिएको थियो भने अन्तरिम कालमा राष्ट्राध्यक्षको रुपमा प्रधानमन्त्रीले समेत उक्त भूमिका निर्वाह गर्नुभएको थियो। इतिहासमा पहिलो पल्ट आज यसमा गतिरोध आएको छ।

आश्विन ५, २०६५। कान्तिपुरको ताजा स्थिति बुझ्न कीर्तिपुरबाट माइक्रोबस चढ्दै बल्खुसम्म र तत्पश्चात दुई खुटृाले हिड्दै टेकुसम्म पैदल नै हिड्नु पर्ने वाध्यता आइपरेको थियो, यो दिन। म सँगसँगै अरु यात्रुहरु पनि पैदल यात्रामा संलग्न हुन आइपुगे। बाटो भरि म सोच्दै आइरहेको थिएँ। हिजै जस्तो लाग्छ, कान्तिपुरको तर्फबाट हिसिला यमीलाई क्षेत्र नं. ७ का जनताले एक एक भोट दाइजोको रुपमा दिएका थिए। हिसिला यमीले भनेकी थिइन, “यमी”को अर्थ हो, “काठमाडौंलाई धेरै धेरै माया गर्ने”। अर्थात मैले बुझेको “यहाँको संस्कृति सम्पदालाई धेरै धेरै माया गर्ने, यहाँको भौतिक उन्नति चाहने”। एक युवा सहयात्री दुखी हुँदै भनीरहेका थिए, “के गर्नु परिस्थिति नै यस्तो आइपर्यो कि आफ्नै विरुद्ध उभिन पर्ने भो आज।”

Indrajatra, Kathmandu in 1910 A.D.
टेकुबाट माथितिर गुणकामदेव मार्ग हुँदै जैशीदेवलबाट वसन्तपुर प्रवेश गर्दा सडक भरी अवरोध र मुढा, टायरको कालो धुँवाले वातावरण दुषित बनाइरहेको थियो। वसन्तपुर दरवार क्षेत्र वरपर युवायुवति देखि भिन्नभिन्न उमेर समूहका व्यक्तिहरु भेला भएका थिए। समूह समूहमा भिन्दाभिन्दै टिका टिप्पणी आ–आफ्ना धारणा प्रस्तुत गर्न नै व्यस्त थिए अधिकांश मानिसहरु। कुमारीघर भित्र केही युवाहरु चिन्तित अनुहार लिएर बसिरहेका थिए। उनीहरुका मन भाँचिएका थिए भने मुटुभरी आक्रोशले भरिपूर्ण थिए। आक्रोशित मुद्रामा भन्दै थिए, उनीहरु, “जीवित देवी कुमारीको दर्शन गर्न विदेशी पर्यटकबाट मात्र वर्षेनी लाखौं रुपैया राजश्व संकलन हुन्छ, सरकारले त्यस्को केही प्रतिशत रकम मात्र हामीलाई छुट्याइदिएको भए प्रशस्तै हुन्थ्यो।” तर कुरा रकमको मात्रै थिएन। पन्द्रह हजार रुपैया छुट्याइ सकेको थियो, अर्थ मन्त्रालयले। मुख्य कुरा अन्तर स्वाभिमानमा परेको चोटको थियो जुन आज सडकमा छताछुल्ल भएको छ। आफ्नो जातीय स्वाभिमानको लागि धर्म, वर्ग, राजनीतिक आस्थालाई एकछिन बिर्सेर उपत्यकावासी आदिवासी नेवार समुदाय, सरकारले मीतव्ययीताको नाममा इन्द्रजात्रा समापनको बजेट कटौती गरेपछि, आफ्नो धार्मिक आस्थामाथि अतिक्रमण भएको अनुभव गर्दै विरोध स्वरुप भेला भएका थिए, त्यहाँ। एकतर्फी युवाहरुको जमात सञ्चार माध्यम प्रति आक्रोश पोख्दै थिए।
कान्तिपुर जलिरहँदा पट्यारलाग्दो देश, विदेशका समाचार पस्किने सञ्चार माध्यमको निष्पक्ष समाचार सुन्दासुन्दा वाक्क लागिसकेका दर्शकहरुमा म आफै पनि थिएँ भने संस्कृतिविद् र सरोकारवालाहरुको अन्तर्वाता र यस सम्बन्धी समाचार सम्प्रेषण गर्न एक, दुई टेलिभिजन च्यानल र रेडियोहरुले कुनै कसर बाँकी राखेका थिएनन्। नभन्दै एक टिभी च्यानलको गाडीमा समाचार संकलनको क्रममा युवाहरुको आक्रोश ढुंगा भएर बजि्रन पुग्दा भने नरमाइलो अनुभव भयो। वास्तवमा साँझ हुँदा नहुँदै करीव करीव सम्पूर्ण सञ्चार माध्यमबाट प्रमुखताका साथ यस समाचारलाई स्थान दिई सकेको थियो।

एक पत्रिकाले यस आन्दोलनलाई राजावादी भनेर आरोप लगाउँदा त्रु्कद्ध बनेका एक जमात वसन्तपुर मै उक्त पत्रिका जलाउँदै, नारावाजी गरीरहेका थिए। कुमारीघर नजिकैको ठूलो मन्दिरमा दंगा प्रहरीको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित जनसमुदाय र प्रहरी निक्कै संयमित रुपमा बसेका देखिन्थे। केही पर एक बुजुर्ग व्यक्ति कुमारीघर सँगै टाँगिएको “हाम्रो मौलिक संस्कृतिको संरक्षण गरौं” भनेर लेखिएको टुल तिर देखाउँदै वरपर उभिरहेका युवाहरुलाई प्रश्नवाचक दृष्टिले हेर्दै ती महाशय भन्दै थिए, “मौलिक संस्कृतिको अर्थ के हो? थाहा छ तपाईहरुलाई? हाम्रा धार्मिक र सांस्कृतिक चाडपर्वलाई मौलिक स्वरुपको जगेर्ना नगरी मनाएको हुँदा नै हामीले आज यो समस्या भोग्नुपरेको हो। संस्कृतिको स नबुझ्नेहरु संस्कृति मन्त्रालय र गुठी संस्थानमा छन। राज्यसँग हाम्रो सम्झौता थियो, धार्मिक चाडपर्वको सम्बन्धमा। लिच्छवी, मल्ल र शाहकाल हुँदै आजसम्म आइपुग्दा राज्यसत्ता बदलिए पनि हाम्रो सम्झौता टुटेका थिएनन्।” ती महानुभावले इतिहासको ती कालखण्डसँग हाम्रो परिचय गरायो जुन हामी मध्ये शायदै कसलै पढेका होलान्।

घुम्दै एक जमात युवाहरुको एक समूहमा मेरो आँखा गयो। एक युवक अन्य युवकहरुलाई सम्झाउँदै थिए। कालो चश्मा र खैरो इष्टकोट लगाएका हेर्दै सम्भ्रान्त परिवारका जस्ता देखिने ती युवा कुनै राजनीतिक नेता सरह पोज दिंदै भाषण दिइरहेका थिए, “म राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता हुँ। हिजै हाम्रा अध्यक्षज्यूले वक्तव्य निकालेर तपाईहरुको आन्दोलनलाई समर्थन गर्नु भएको छ। हामी तपाईहरुलाई साथ दिन्छौं। तपाईहरु पनि हामीलाई साथ दिनोस्, एउटै मुद्दामा, हिन्दू राष्ट्रको मुद्दामा।” स्पष्ट थियो, सांस्कृतिक मागलाई राजनीतिक स्वरुप दिन खोजिएको थियो। ती नेवार समुदायका युवाहरुले पनि त्यसरी नै जवाफ फर्काए, “तपाईहरुको नैतिक समर्थनको लागि धन्यवाद। तर यो नेवारहरुको आफ्नै आन्दोलन हो। नेवारहरु नेपाली कांग्रेस, एमाले, माओवादी सबै छन्। यसलाई राजनीतिक रुप नदिनुस्।” त्यसपछि ती युवाहरु आफ्नो बाटो लागे। “यस्तो बेला चलखेल हुनसक्छ, हामी सतर्क हुनुपर्छ। राजनीति मै जाने हो भने त हाम्रै नेपाः राष्ट्रिय पार्टी नै पनि छ नि। तर हामी विभाजित हुनुहुदैन।” मेरा कानले ती युवाहरुका दूरदर्शी कुरा सुन्न भने चुकाएनन्।

दिन ढल्दै गइरहेको थियो। म भने वसन्तपुर कुमारीघर वरपर नै चक्कर लगाइरहेको थिएँ। जमघट पातलिनुको बदला झनझन बाक्लिदैं गइरहेको थियो। विदेशी पर्यटक हातमा क्यामेरा लिई कुनै समारोहलाई पर्खिरहेका जस्ता देखिन्थे। यत्तिकैमा एक हुल “कंगाल अर्थमन्त्रीको लागि अर्थ संकलन” भन्दै कुमारीघर अगाडि गोलाकार घेरामा पैसा संकलन गर्न लागे। “दाजुभाईहरुबाट पाँच पाँच रुपैया र दिदीबहिनीहरुबाट चुरा, धागो हाम्रा नालायक अर्थमन्त्रीको लागि” भन्दै ताली र हाँसोको मिश्रणबाट वातावरणमा रौनकता छाइरहेको थियो। हातमा क्यामेरा, टिभी क्यामेरा लिएका थुप्रैले यी समयलाई आफ्ना क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे। कुमारीघर अगाडि बेवारिसे छोडिएका कुमारी, गणेश र भैरवका रथ वरपर असंख्य नरनारीहरुका जनसागर बीच थुपै्र संख्यामा विदेशी पर्यटक समेत रमाइलो मानी यस दृष्यलाई कैद गरिरहेका थिए। केही युवाहरु त अगि देखि नै अर्थमन्त्री बाबुराम भटृराईको बुँख्याचा बनाउन पनि लागि सकेका रहेछन्। अगि नै संकलित चुरा, धागो, ब्लाउज सारी आदिबाट महिला प्रतिरुप अर्को बुँख्याचा बनाउन लागिपरेका छन्, अर्को समूह। एक पर्यटक पहिलो बुँख्याचाको बगलमै चढेर हाहा र हुहु गर्दै हात हल्लाउँदा सारा जनसमुदायमा हाँसोको फोहरा नै निस्केको थियो। सायद ती पर्यटक इन्द्रजात्रा भनेको यही हो भन्ठान्दा हुन, बिचरा ती पर्यटकलाई के थाहा यो त त्यही इन्द्रजात्रा मनाउन नपाएको झोंकमा नेवार समुदायले विरोध स्वरुप निकालेको विरोधको शैली हो भनेर। सँगै उभिएर रमिता हेरिरहने दुई युवकको कुराकानीमा मेरो ध्यान आकृष्ट भयो। एक युवक भन्दै थिए, “हैन ललितपुर, भक्तपुर र कीर्तिपुरवासीहरुले त केही विरोधका कार्यक्रम नै गरेनन्। हामी यहाँ यत्रो विरोध गरिरहेकाछौं, कमसेकम हाम्रो नैतिक समर्थन छ भनेर एउटा वक्तव्य त निकाल्नुपर्ने हो।” यो सुनेर अर्को युवकले जवाफ दियो, “भक्तपुर र कीर्तिपुरबाट फोन आइसकेको छ। उनीहरु भोलि आउने रे। ललितपुरको त खै केही थाहा पाइएन।” “यिनीहरुलाई पनि चुरा, पोटे पठाउनु पर्ने भो, अब त।” पहिलो युवक निराश हुँदै भने। “जनआन्दोलनताका हामीलाई चुरापोटे पठाएको होइन उनीहरुले।” “हेटौडामा पनि विरोध शुरु भयो रे।” अर्कै व्यक्तिबाट थप एक सूचना प्रवाहित भयो।

केहीछिनपछि नै दुई बुँख्याचालाई अघि अघि लाउँदै नारा लाउँदै जुलुस विस्तारै टेकु तिर प्रस्थान गर्न थाल्दछ। साँझको पाँच बजीसकेको छ। म पनि उक्त जुलुस पछ्याउँदै अब त गन्तव्य तिर प्रस्थान गर्नु पर्यो भनेर पाइला बढाउन थालें। मन्दिर वरिपरि बसीरहेका दंगाप्रहरीहरु ती जनसमूहका क्रियाकलाप चासोका साथ हेरिरहेका थिए। अहिले सम्म जनसमूह पनि प्रहरीमाथि कुनै अप्रिय व्यवहार नगरी शान्त बसीरहेका थिए। तर टेकु आइपुग्दा नपुग्दै नेशनल टे्रडिङ्ग अगाडि भने स्थिति तनावपूर्ण थियो। थप जुलुस गइसकेपछि भने ढुंगा हानाहानको कार्य शुरु भइहाल्यो। म आफू भने यो समूहको साथ छोड्दै सीधा काठमाडौं नगरपालिका तिर हान्निदैं म्याराथोन दौड लगाइहाले। आफूलाई कीर्तिपुर घर जो पुग्नु थियो। काठमाडौं नगरपालिका कार्यालय रहेको यो टेकु क्षेत्र फोहोर संकलन केन्द्र पनि हो। पैदलबाट कुलेश्वर निस्कनुपर्ने थियो मलाई। “पृथ्वी मै स्वर्ग पनि छ, पृथ्वी मै नर्क पनि छ।” कुन विद्वानले भनेका थिए मलाई सम्झना छैन। तर यो क्षेत्रमा आइसकेपछि पुराण धर्मग्रन्थमा वर्णित नरकलोकको साक्षात अस्तित्व पनि छ भन्ने कुरामा मलाई विश्वास लाग्न थाल्यो। निस्सासिने दुर्गन्ध, नरक सदृश्य वातावरण, भाउन्न भएर मूर्च्छा पर्ला जस्तो। यो बाटो कहिल्यै आउनु नपरोस् भन्ने लागिरह्यो मलाई। कुलेश्वर निस्कदैं बल्खु सम्मको यात्रापछि कीर्तिपुर जाने माइक्रोबस फेलापर्यो। थकान, भोक र तीर्खाले चूर भइसको थिएँ म। घर आइसकेपछि टेलिभिजन च्यानलमा फ्लासन्यूजमा आँखा गयो। नेवार समुदायका प्रतिनिधिहरु र अर्थमन्त्री स्वयम् अर्थमन्त्रालयमा वार्तामा संलग्न हुने तयारीमा रहेछ। अनायस मेरो मानसपटलमा विजुली चम्किए जस्तै एक विचार चम्कियो। मलाई लाग्दै थियो, यो प्रकरण पूर्णरुपमा देशको संस्कृतिसँग सम्बन्धित छ। देशमा एक संस्कृति तथा पुर्ननिर्माण मन्त्रालय पनि छ। जस्को नेतृत्व संस्कृति तथा पुर्ननिर्माण मन्त्रीज्यूले गर्नुहुन्छ। संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न जहाँ प्रशासनिक संयन्त्र सहितको जिम्मेवार पदाधिकारीहरु पनि हुनुहुन्छ। अर्को तिर उपत्यकाको चाडपर्व संचालन गर्न आर्थिक सहायता गर्ने निकाय गुठी संस्थान पनि छ जस्ले आफ्नो सम्पूर्ण दायित्व पूरा गरिसकें भनेर भन्छ। काठमाडौंको पुतलीसडकस्थित नागरिक लगानी कोष अवस्थित व्यापारिक भवन जहाँबाट वार्षिक लाखौं रकम उठाउँछ, गुठी संस्थान। उपत्यकाको हजारौ रोपनी जग्गाबाट कर उठाउँछ। रैकर जग्गामा परिणत गर्न थुप्रै पैसा तिर्न पर्छ जग्गाधनीहरुले गुठी संस्थानलाई। ती रकमको शतांश पनि खर्च गर्न सक्दैन उपत्यकाको जात्रा र पर्वहरुलाई भने यो संस्थानको औचित्य के? संस्कृतिको स उच्चारण नगर्ने संस्कृति तथा पुर्ननिर्माण मन्त्रालयको औचित्य के?

राज श्रेष्ठ

टाउन प्लान, कीर्तिपुर

No comments:

Post a Comment