नेवा: स इन्टरनेट रेडियो

Thursday, June 20, 2019

कुन किसानको समस्या? करोडपति कि सर्वहारा?

कुन किसानको समस्या? करोडपति कि सर्वहारा?

(Source : Roshan Shrestha's Facebook Page)

हामीमाथी अधिकार, हक र न्यायको सवालमा झूठ थोपरिएको छ । किसानको समस्याको कुरा गर्दा सर्वहारा किसानको हवाला दिइन्छ, तर सर्वहारा किसानको लागि लक्षित सुविधाहरुले करोडपति किसान पोस्ने काम भइरहेको छ ।

जस्तो कि, किसान पिडित छ भनिन्छ, तर हेर्ने नै हो भने कतिपय किसानहरु मद्यम वर्गीय ब्यापारी भन्दा बिसौं गुणा धनसम्पत्ती थुपारेर मालिक बनेर बसेका छन् । यस्ता करोडपति किसानहरुको चंगुल र कुडाकर्महरु सतहमा आउनु जरुरी छ।

यदि त्यसो होइन भने, लौ त किसान मजदूर ब्यपारी लगायत सबै जनताहरुको सम्पत्ति विवरण सबै संकलन गरेर हेरौं त। क-कसले कति सम्पत्ति पुर्खौलीबाट आर्जन गरे? कति सम्पत्ति स्वास्नीको दाइजो बाट ल्याए? कसले कति सम्पत्ति आफै आर्जन गरे? क-कसले गुथिको जग्गा, दाजुभाइको जग्गा, सार्वजनिक जग्गा हडपेर धनी बने? क-कसले जग्गा किनबेच गर्दै नाफा हसुर्दै धनी बने? त्यसरी २०सौं पल्ट बेचेका क-कसका जग्गा वास्तवमा पुर्खौली जग्गा थियो वा गुथि जग्गा थियो? क-कसले आर्जन गरेका कति सम्पत्ति बैध स्रोतबाट आर्जन गरे? क-कस्ले कति सम्पत्ति आर्जन गरेवापत सरकारी कोषमा कर दाखिला गरे? यो सबै पारदर्शी लगत मा राखौं । यति गर्ने हो भने यो देशमा जाली फटाहाहरु सबै एक एक उदांगिने छ । भ्रष्टाचारी र तिनका मतियारहरु नांगिने छ ।
सम्पत्तीवाला तथाकथित किसानहरुको किस्सा सुन्ने हो? हामीले देखेका छौं - उनीहरुका घर बंगाला कस्ता छन् ।धनी किसानका अचेल दुइवटा घर हुनु त सामान्य जस्तै मानिन्छ । ३, ४, ५ वटा घर बनाएका किसानहरु छन्, जो एउटामा आफु बस्छन् बाँकि सबै बाहालमा दिएर अर्थोपार्जन गर्छन । घरबहालमा दिएर आम्दानी गर्ने घरधनी करोडपतिहरु किसान नै हो त?

कतिपय तथाकथित किसानहरु आफ्नो जग्गामा खेतीकिसानी गर्दैनन । उनीहरुको जग्गा निजी कारखाना, फ्याक्ट्री, गोदाम, इटा भट्टा, गिटी कारखाना, बालुवा कारखाना, ब्लक कारखाना, इत्यादि ब्यवसायलाइ लिजमा दिइराखेका छन । के यसरी लीज भाडा आम्दानी गर्ने जग्गाधनीहरु किसान नै हो त?
फ्याक्ट्री र इटा भट्टा जस्तो वातावरण प्रदुषक ब्यवसायलाइ जग्गा लिजमा दिएका कारण अति भयंकर क्षति भएको छ । ती जग्गाको उर्बर मलिलो अर्गानीक भिटामिन यूक्त माटो ‘टपसोइल’ सबै नष्ट भएको छ । जुन टपसोइल माटोमा हज्जारौं वर्ष तिनका पुर्खाले रगत पसिना सिंचेको थियो । पुर्खाको तिनै रगत पसिना आहारा खान पाएका सुक्ष्म जीवहरुको जीवनचक्र चलेको थियो, तिनै सुक्ष्म जीवले त्यो माटो मलिलो र उत्पादनशील बनाएको थियो । त्यस्तो अति गुणस्तरीय माटो निकालेर इट्टा बनाएर पोलेर खाने पापकर्म हो कि होइन? त्यो जग्गा अब किसानी काम नै गर्न नसकिने भएपछि आत्मघाती काम भयो कि भएन? यस्तो आत्मघाति पाप गर्ने जग्गाधनीलाइ किसान भन्न मिल्छ? कृषि उत्पादकत्त्व अत्याधिक रहेको माटोमा कतिपय कारखाना र फ्याक्ट्रीहरुले केमिकलहरु पोखाएर ध्वस्त पारेका छन् । त्यसरी फ्याक्ट्री राख्न दिएर १ रोपनी खेतमा ३ टन बाली फल्ने सुवर्ण माटोमा आज घाँस पनि उम्रन नसक्ने बनाउने ध्वंसक महापापी जग्गाधनीहरुलाइ किसान भन्न मिल्छ?

यसरी दुरुपयोग भएको जग्गाहरुको स्रोत खोज्दै जानुस त, अधिकांश जग्गा गुथिको जग्गा भेटिने छ । अधिकांश पापी जग्गाधनीहरु मोही किसान भेटिने छ । केहि केहि निजी किसान पनि भेटिने छ । सबैजसो यी किसानहरु गलत सुचना र सामाजिक दवाबका शिकार भएका छन् । तर आफुबाट के गलती भएको छ भन्ने चेतना अझै पलाएको छैन ।

गुथिको जग्गा आफै कमाएर खाउ, त्यसको बालीबाट निश्चित भाग गुथिलाइ बुझाउ भनेर किसानलाइ भोगचलन गर्ने पुर्खौली हक दिएको हो । यसै हकलाइ मोहियानी हक भनी गलत ब्याख्या र कुनियतपूर्ण नियम ल्याएर गुथिका अल्याख रोपनी जग्गाहरु नाश गरीएको छ । कतिपय धनी किसानले गुथिको जग्गा आफै खेतिकिसानी गर्नुको सट्टा अर्कै कोहि निमुखा सर्वहारा किसान खोजेर तिनीहरुलाइ खेतीबाली गराइराखेको छ । जब कि यदि उसले जग्गा कमाउन सक्दैन भने गुथियारलाइ फिर्ता दिएर अर्को कुनै किसानलाइ जग्गा कमाउने सुविधा दिनु पर्ने हो । तर पुर्खौली हक देखाएर धनी किसानहरु आफुले किसानीकाम गर्न नसकेपनि सर्वहारा किसानको निमित्त जग्गा उपलव्ध गराउन तयार छैनन । यस्तो चिन्तनलाइ शोषक चिन्तन मान्ने कि किसान चिन्तन मान्ने?
सर्वहारा किसानलाइ खेत कमाउन दिएका धनी किसानले सर्वहारा किसानबाट उठाएको बालीको आधा पनि गुथिलाइ बुझाउँदैन । खेती नै नगरी किसान बनेर कागजीरुपमा आफै मोही बनीरहने, बाली बुझाउने, तर जग्गा निमुखा सर्वहारा किसानलाइ कमाउन दिएर बीचमा बसेर नाफा खाने 'दलाल किसान' हरुलाइ किसान भन्न मिल्छ?

खेतमा पसिना बगाएर खेति किसान गरेर साँच्चिकैको किसान बनेकाहरुको पीडामा हामी संवेदनशील हुने हो । तर यस्ता किसानहरु निकै थोरै छन । खेतमा पसिना बगाउने किसानको लागि अहिलेको ब्यवस्था अनुसार 'उब्जेको अन्नअनाजमा १ तिहाइ बुझाउने' ब्यवस्था छ । यो ब्यवस्थाले यदि न्याय गर्दैन भने त्यसको समाधान खोज्न सकिन्छ । अहिले २ बाली अनाज, धान १ बाली, गहुँ १ बाली मानिन्छ, जस मध्ये, गहुँको बाली बुझाउनु पर्दैन । धानको बाली पनि १ तिहाइ बाली मात्र गुथियारलाइ बुझाए पुग्छ । जब कि पुरानो ब्यवस्थामा दुबै बालीमा २ तिहाइ बाली गुथियारलाइ बुझाउनु पर्थ्यो । यस हिसाबले गुथियारले पाउने बाली पहिलाको दाँजोमा ६ भागको ५ भाग कटौति भइसकेको छ । अर्थात पसिना बगाउने किसानको पक्षमा क्रान्तिकारी सुधार भइसकेको अवस्था छ, अझै सुधार गर्न आवश्यक भए त्यसको निमित्त खुल्ला छलफल हुनु पर्छ ।

जग्गाको उत्पादकत्त्व, श्रमको मुल्य, र अन्नअनाजको बजारी भाउ को बैज्ञानिक निर्धारण गर्न सकिन्छ । खेतीमा हुने खर्च, मेहनत, लगानी सबै कट्टा गरी उत्पादनबाट हुने खुद आम्दानी कति छ, त्यसको आँकलन गर्न सकिन्छ । त्यो खुद आम्दानी गुथियार र पसिना बगाउने किसान बीच आधा आधा बाँडिनु पर्छ । तर अहिले त्यसरी हिसाब भएको छैन, हचुवाको भरमा वर्षको एकपल्ट धानबाली एकतिहाइ दिने भनिएको छ ।

हामीले देखेका छौं, गुथियारहरुले उठाउने १ तिहाइ धान बालीमा प्राय: किसानहरुले चलाखी गर्छन् । मलको समस्या, सिचाइको समस्या, हुरिबतासको समस्या, पानी नपरेको समस्या आदि अनेको समस्या तेर्साएर 'यसपाली त उत्पादन नै भएन हजुर' भन्दै उत्पादन लुकाउने देखि लिएर भित्र चामल पोटिलो नरहेको 'दक्षा-वा' भनीने कमसल धान अत्याधिक मिसिएको धान बुझाउने गरेको अनुभव ब्यापक छ । यस्तो हैरानीबाट कायल भएर कतिपय गुथियारले 'धान सान दिनु पर्दैन, तिम्रो इच्छाले जति दिने हो पैसा नै देउ' समेत भन्न परेको अवस्था हामीले यथेष्ट देखेका छौं । हचुवा नियम भएपछि यस्तो विकृती फैलिनु स्वभाविकै हो।

गुथिजग्गामा यस्ता विविध समस्याहरु भएतापनि गुथियारहरुले 'हामीलाइ बाली दिएको न्यायोचित भएन' भनेर संगठित आवाज उठाएको कतै सुनिएको छैन । गुथिजग्गाबाट आउने आम्दानी घटेको कारण गुथिकर्ममा आफ्नै निजि रकम सामाजिक कार्यमा खर्च गर्न गुथियारहरु बाध्य भएका छन् भने उल्टै समाजमा उनीहरुलाइ 'अर्काको श्रम चुस्ने, पसिना चुस्ने, शोषक'को रुपमा चित्रित गरेर मानसिक दवाबमा राखिएको छ । गुथियारहरुमाथि भएको यो अन्यायको हिसाब खोजिएको छैन । किन कि गुथियारहरु आयातित सिद्धान्तको वकालत गर्ने लफ्फावाजहरुबाट आतंकित छन् ।

गुथि जग्गा ओगटेर बसेका अधिकांश धनी किसानका सन्तानहरु अचेल बिदेशमा छन् । उनीहरु मोहीभाग बापत पाउने आधा जग्गा यथाशिग्र निजि बनाएर बेचबिखन गरेर बिदेशमा रहेका सन्तानका गोजी भर्ने प्रपञ्चमा रहेको बुझ्न सकिन्छ । स्वदेशमै सन्तान भएका धनी किसानहरु पनि मोहियानी हकबाट जग्गा छुटाएर उनीहरुको बेपार ब्यवसाय बढोत्तरी गर्ने मनशाय रहेको बुझ्न सकिन्छ । भन्न त उनीहरु भन्छन्, हामी पुर्खा देखि गरीआएको जग्गा हामीले नै कमाउने हो । ठिकै छ, त्यसरी कमाउने भए समस्या रहेन । तर त्यसरी कमाउनको लागि आधा जग्गा मोहियानी हक छुटाएर लालपुर्जा बनाउनु पर्ने चाहि किन? बुझाउनु पर्ने बालीमा भयंकर छुट भइ नै सकेको छ, अनि खेतिकिसानीमा आधुनिकता भित्राएर उत्पादकत्त्व बढाएर समृद्ध किसान बन्नुको साटो जग्गा लिजमा दिएर, मोहियानी हक लिइ भू-माफियालाइ जग्गा बेचेर, गुथियारहरुलाइ दानविकरण गरेर गुथिको आम्दानी स्रोत मासेर हिड्नु परेको किन?

करोडपति किसानहरुले ‘हामीले नै कमाउने’ भनेर भनेतापनि तिनीहरु हिलोमाटोमा खेलेर सक्रिय किसानी जीवन बिताउनेछन् भनी विश्वास गर्न गाहारो छ । मध्यमवर्गीय किसानहरुले भने आफ्नो ब्यवसाय पेशालाइ निरन्तर राख्दै खेती किसानी पनि निरन्तरता दिइरहेका छन । मध्यमवर्गीय किसानले झै कमसेकम बर्षको २ बाली आफै खेतमा मेहनत गरे पनि ‘लौ ठिकै छ’ मान्न मिल्छ । तर पनि गुथिजग्गालाइ रैकर बनाएर गुथिको स्रोत सुकाउने काम भने बन्द हुनु पर्छ । यसरी करोडपति किसानलाइ पारदर्शी बन्न बनाउन र जवाफदेहिताको आव्हान गरे त्यसलाइ 'सामन्ती विचार' ‘शोषक चिन्तन’ इत्यादि बेतुकका आरोप प्रत्यारोप गरेर काम छैन । करोडपति किसानहरुले सर्वहारा किसानको नकाव लगाएर अधिकारको कुरामात्र गरेर हुँदैन । सर्वहारा किसानको निमित्त छुट्टै न्यायोचित उपाय खोजीनु जायज हुने छ ।

कुरा बुझौं मुसुमुसु हाँसौ ।

No comments:

Post a Comment