नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Thursday, March 6, 2014

यी हुन् दिलशोभासँग फोनमा कुरा गर्ने वृद्धा

यी हुन् दिलशोभासँग फोनमा कुरा गर्ने वृद्धा

Source : Kansore Limbu (Photo and Text)
सोमबार मध्याह्न कालीमाटीस्थित राधिका मानन्धरको घर पुग्दा उनी हलचल गर्न नसक्ने अवस्थामा ओछ्यानमा थिइन् । कालीमाटी तरकारी बजारबाट कलंकीतिर जाने मोडैमा दायाँपट्ट एउटा गणेशस्थान छ ।

त्यसैको पछिल्तिरको घरको तल्लो तलामा मानन्धर बस्छिन् । उनी तिनै राधिका मानन्धर हुन्, जसलाई स्याहार्न ‘आमा घर’ की सञ्चालक दिलशोभा श्रेष्ठले एक महिला पठाएकामा ‘यौन दुराचार’ को अपुष्ट आरोप लगाइएको थियो ।



१६/१७ वर्षदेखि रक्तस्रावले थलिएकी मानन्धर पछिल्लो समय क्यान्सर लागेपछि हिँड्डुल गर्नै नसक्ने भएकी हुन् । उनको पाठेघरको मुखमा घाउ भएपछि शल्यक्रिया गरिएको छ । परिवारजनले देश/विदेशमा उपचार गराए पनि बुढ्यौली र रोगले च्यापेर उनी थलिएकी छिन् । गाह्रो गरी स्याँ-स्याँ गर्दै, पानी पिउँदै उनले यसरी बेलीबिस्तार लगाइन्, ‘कान्छा छोरा-बुहारी घरको माथिल्लो तलामा बस्छन् । दुवै व्यस्त छन् ।



उनीहरूलाई दुःख दिन मन नलागेर दिलशोभा आमालाई मेरा लागि राति सँगै सुत्ने कोही विश्वासिलो महिला पठाइदिनू भनेकी थिएँ । राति तल्लो तलामा म एक्लै हुन्छु, कसैले आएर घाँटी थिच्यो भने पनि छोरा-बुहारीले थाहा पाउँदैनन् । एकजना बोल्ने साथी चाहियो भनेर मैले काम गर्ने महिला मगाएकी थिएँ ।’

त्यसै सिलसिलामा ‘दिलशोभा आमाले विश्वासिलो छ, राति तपाईंसँगै सुत्छ, तपाईंको स्याहार र माया गर्छ’ भनेर धर्मकुमारी थापालाई पठाइदिएको मानन्धरले सुनाइन् । ‘धर्मकुमारी साँझ ७ बजेतिर आउँछिन्, मलाई औषधि पानी दिने, शौचालय लाने र मसँगै गफ गर्छिन्,’ आफू सुत्ने पलङछेउको सानो खाट देखाउँदै उनले भनिन्, ‘यही खाटमा सुत्छिन् ।’

एक वर्षअघि एक्लै घरमा बसिरहेका बेला चोरले वृद्धा मानन्धरलाई कुटेर लगाएको गरगहना सबै लगेको रहेछ । त्यसै बेलादेखि एक्लै बस्न डर लागेकाले उनले घरमा बसिदिने साथी खोजेकी थिइन् । धर्मकुमारीलाई पठाउनुअघि पनि दिलशोभाले आफूसँग गफ गर्ने साथीका रूपमा एकजना बूढीआमा पठाइदिएको मानन्धरले जनाइन् ।

ती बूढीआमा आफैं बिरामी भएकाले मानन्धरले नै औषधि उपचार गराएर तन्दुरुस्त बनाएकी थिइन् । निको भएपछि ती बूढीआमा तरकारी बेच्छु भन्दै मानन्धरको घरबाट गएकी रहिछन् । ‘यसै प्रसंगमा दिलशोभाले पहिलेको बूढीको कुरा नगर्नुस्, अहिले राम्रो मान्छे छ भन्नुभएको थियो,’ मानन्धरले सुनाइन्, ‘उहाँले नै फोनमा गणेश मन्दिरपछाडि पठाइदिन्छु, लिन आउनुहोला भन्नुभएको हो ।’

केही समयअघि हिँड्डुल गर्न सकुन्जेल घरमा एक्लै बस्न दिक्क लागेर दिलशोभाको ‘आमाघर’ मै गएर बसेको मानन्धरले सुनाइन्, ‘अहिलेसम्म ४ पटक आमाघर बस्न गएँ । एक/दुई दिन बसेपछि छोराहरू लिन गइहाल्थे, अनि र्फकन पथ्र्यो । मलाई अलि सरसफाइ चाहिन्थ्यो, भद्रगोलमा पकाएको खानेकुरा म खाँदिनथेँ । दिलशोभा आमाले आफैं छुट्टै पकाएर मलाई खुवाउनु हुन्थ्यो । असाध्यै माया गर्नुहुन्थ्यो । मेरो कारणले उहाँले यत्रो ठूलो लाञ्छना सहनुपर्‍यो । मैले यो बुढेसकालमा कत्रो पाप गरेछु ?’

’यौन दुराचार’ का लागि महिला पठाएको ‘नचाहिँदो आरोप’ लगाइएकामा मानन्धरले निकै गुनासो गरिन् ।
दिलशोभामाथि ‘यौन दुराचार’ को आरोपमा आफ्नो समेत नाम मुछिएपछि रोजीरोटी नै गुमेको धर्मकुमारीले बताइन् । ‘अनावश्यक लाञ्छनाले गर्दा चरित्रहत्या त भयो/भयो, दैनिक गुजारा गरिरहेको जागिरसमेत गुम्यो । यसको क्षतिपूर्ति कसले दिन्छ ? मेरी छोरी कसले पढाउँछ ?’ राधिका मानन्धरलाई सहयोग गर्न आफूलाई दिलशोभाले पठाएको बताउँदै थापाले भनिन्, ‘माघ १६ गतेबाट मासिक १५ सय रुपैयाँ पाउने गरी मानन्धर आमाको स्याहार गर्न आउन थालेकी हुँ ।’

काभ्रे, नालाकी थापाले हालको घटनाबाट आफू विक्षिप्त भएको उल्लेख गर्दै भनिन्, ‘छोरी पढाउने बाध्यताले पनि म दिनरात काम गर्न चाहन्थेँ । बिहान-बेलुका आमाघरमा खाना बनाउने, दिउँसो सेक्युरिटी गार्डको काम गर्ने र राति मानन्धर आमाकहाँ आएर सुत्ने गर्थें ।

आमाघरमा बिहान-बेलुका खाना पकाएको ५ हजार तलब छ । अहिले पनि म त्यहाँ खाना पकाइरहेकै छु । दिउँसो १० देखि ५ सम्म सामाखुसीको एक्ट टु सेक्युरिटी सर्भिसमा महिनाको ८ हजार रुपैयाँमा गार्ड बस्थेँ । त्यो अफिसबाट मलाई आमाघरनजिकै रहेको एक बिजुलीबत्तीको सोरुममा सेक्युरिटी गार्डमा खटाएको थियो ।
पत्रपत्रिकामा मेरो फोटो र नाम आएपछि सेक्युरिटी गार्डको अफिसले तिमीजस्तो मान्छेलाई हामी जागिर दिन सक्दैनौं भनेर निकाल्यो । ६ वर्षदेखि खाइरहेको मेरो आठ हजार तलब आउने जागिर फागुन १७ गतेबाट खुस्कियो ।’

थापाले भनिन्, ‘१७ वर्षकी छोरी कीर्तिपुरमा होस्टल बसेर सहिद स्मारक उच्च माविमा कक्षा ११ मा पढ्दै छे । उसको होस्टलको ६ हजार पाँच सय र कलेजको फी -शुल्क) गरी मासिक आठ हजार बुझाउनुपर्छ ।
मैले त्यही सेक्युरिटी गार्डको अफिसबाट ल्याउने आठ हजार रुपैयाँबाट छोरीको फी तिर्ने गर्थें । यो घटनाले मेरो मात्रै होइन, मेरी छोरीको भविष्यमा समेत असर पर्ने भयो ।

छोरी सात महिनाकी हुँदा श्रीमानले अर्की श्रीमती लिएर हिँडे । अनेक दुःखकष्ट सहँदै छोरी पढाउँदै यहाँसम्म आएँ । १६/१७ वर्षको जवानीमा समेत यस्तो लाञ्छना कसैले लगाएको थिएन ।

अहिले ४० वर्षको उमेर यो के सुन्नुपर्‍यो, साह्रै दुःख लागेको छ । मेरो इज्जतमाथि खेलबाड गर्नेहरूमाथि कारबाही होस्, त्यही चाहन्छु ।

No comments:

Post a Comment