Sunday, February 9, 2014

रिक्थको दुर्दशा

रिक्थको दुर्दशा

डा. महेशराज पन्त 

पाश्चात्त्य भावलाई हाम्रो भाषामा व्यक्त गर्नुपर्दा कहिलेकाहीँ अप्ठेरो पर्ने अनुभव मैले गर्दै आएको छु । बाबुबाजेदेखि आएको सम्पत्तिको अर्थमा चलेको अङ्ग्रेजीको हेर्इटिज् शब्दको अर्थविस्तर भई पछि त्यसले प्राचीनकालदेखिका, मुलुकले गर्व गर्न सक्ने मन्दिर दरबार आदि पनि बुझाउन थाल्यो । त्यही हेर्इटिज् शब्दको उल्थाको रूपमा नेपालीमा सम्पदा शब्द चलाइयो ।

परेवा तिथि बुझाउने शब्द प्रतिपत्को अर्को रूप प्रतिपदा भए जस्तै सम्पत्को अर्को रूप सम्पदा पनि लोकमा चलेको भए पनि सम्पदा शब्दले खालि पहिलेदेखि रहिआएको सम्पत्ति मात्र नबुझाई जुनसुकै किसिमको सम्पत्ति बुझाउने भएकोले हेर्इटिज्को अर्थमा सम्पदाले विवक्षित अर्थ बुझाउन सक्दैन जस्तो मलाई लाग्छ । हेर्इटिज्को अर्थमा मेरो विचारमा रिक्थ वा दाय शब्द चल्न सक्छ । बाबुबाजेदेखिको सम्पत्तिबाट पाइने अंशको अर्थमा दाय खास गरी चलेकोले हेर्इटिज्को अर्थमा मलाई रिक्थ शब्द नै उपयुक्त लाग्छ । यसैले यस लेखमा त्यही अर्थमा रिक्थ शब्दको प्रयोग मैले गरेको छु ।


नेपालका रिक्थको सुरक्षाको लागि २२ मुलुकका १ सय ४० भन्दा बढी विज्ञ भेला भई गएको मङ्सीर १४ गतेदेखि सभा शुरू भएको र त्यो सभा ५ दिनसम्म चलेको विषयमा छापामा पढियो । त्यो सभा युनेस्कोको काठमाडौँ अफिस, इकोमोस अर्थात् इन्टर्न्याश्अनल् कमिश्अन् अन् मन्युमन्ट्स् यान्ड् साइट् र नेपाल सरकारको पुरातत्त्व विभागको आयोजनामा भएको थियो । त्यस सभामा काठमाडौँ, ललितपुर र भक्तपुरका नगरपालिका पनि गाँसिएका थिए भन्ने पनि त्यही खबरबाट थाहा भयो (गोपीकृष्ण ढुंगाना, काठमाडौं उपत्यकालाई जीवन्त सम्पदा बनाउन सुझाउ, अन्नपूर्ण पोस्ट्, २०७०।८।१५।७, २ पृ.; सिम्पोजिअम् अन् अर्बन् हेर्इटिज्, द हिमालयन् टाइम्ज्, २०७०।८।१८।३, २ पृ.) ।

त्यस सभाको खबरमा युनेस्को र इकोमोसको नाउँ अगाडि आएकोले कतै उनीहरू दाता हुन् र हाम्रो पुरातत्त्व विभाग चाहिँ दानीय अर्थात् दान थाप्ने हो कि जस्तो मलाई लाग्यो । अखबारमा छापिएअनुसार भीषण भाषण गर्नेहरूमा विदेशीहरू नै खास थिए (टाइम् टु प्रिजर्भ्, द हिमालयन् टाइम्ज्, २०७०।८।१५।७, १४ पृ.) ।

त्यस सभाको विवरण पनि विदेशीले नै प्रकाश गराए (काइ वाइज, द काठ्मान्डु स्टेट्मन्ट् २०१३ः रिभिजिट्इङ् द डिवेट् अन् सेप्mगार्ड्इङ् लिभ्इङ् अर्बन् हेर्इटिज््, द हिमालयन् टाइम्ज्, २०७०।८।१५।७, १४ पृ.) । नेपालको सांस्कृतिक सम्पदाबारेको चासोमा यति धेरै राष्ट्रका संस्कृतिकर्मी पहिलो पटक भेला भएको कुरा पुरातत्त्व विभागका एक जना अधिकृतले बताए भनी खबर छापिएबाट पनि यस्ता सभा, सम्मेलनमा अन्त अन्त जस्तै हाँमा हाँ नै नेपाली पक्षले खासगरी मिलाएको अनुमान हुन्छ ।

मेरो परिभाषाअनुसार रिक्थभित्र मन्दिर, दरबार, कलाकृति, शिलापत्र आदि उत्कीर्ण लेख, लेखोट पुस्तक इत्यादि पर्छन् तापनि यस लेखमा अरू अरू रिक्थको दुर्दशाबारे होइन कि शिलापत्रको दुर्दशाबारे मात्र कलम चलाएको छु । मूर्ति र चित्रले जस्तो शिलापत्रले कलापारखीहरूलाई आकृष्ट नगरेकोले एक हिसाबले शिलापत्र सुरक्षित छन् भनी भन्नुपर्छ । यसैले यी गह्रुगा ढुङ्गा विदेशीका दलालहरूले बोक्न नसक्नु पनि हाम्रो देशको सौभाग्य हो (इतिहास–संशोधन ९ सङ्ख्या, वि.सं. २०१४) भनी शिलापत्रको सन्दर्भमा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१)ले लेखेका होलान् ।

यहाँ गल्लीगल्लीमा उपेक्षित अवस्थामा रहेका शिलापत्र पुरातत्त्व विभागको परिभाषाअनुसार रिक्थभित्र पर्छन् कि पर्दैनन्, मलाई थाहा छैन । रिक्थभित्र नपरे पनि पुरातत्त्व विभागका ८ शाखामध्ये एक स्मारक संरक्षण शाखाको परिधिभित्र त ती अवश्य आउनुपर्ने हुन् । काशीमा दशाश्वमेधघाटनिर जयपुरका राजा सवाई जयसिंह (राज्यकाल वि.सं. १७५६–१८००)ले बनाएको वेधशालाको विषयमा लेख्दा हाम्रो यहाँ अहिले इतिहास पढ्नेहरूले प्राचीन अभिलेखहरूलाई जुन रूपमा हेरी तिनलाई अनावश्यक जस्तो पारिदिएका छन्, त्यसै गरी काशीका ज्योतिषीहरूले त्यस वेधशालालाई पारेका थिए भनी वि.सं. २०१९ मा नयराज पन्त (वि.सं. १९७०–२०५९)ले लेखेका थिए (इतिहास–संशोधनको प्रमाण–प्रमेयको उपोद्घात ५ पृ.) ।

इतिहास पढ्नेहरूले प्राचीन अभिलेखहरूलाई अनावश्यक जस्तो परिदिएका छन् भनी लेखेको कुराको निहितार्थ के हो भनी मैले त्यसैताका सोद्धा उदाहरणको रूपमा काठमाडौँ ओन्देटोलमा नारायण मन्दिरअगाडि मूल सडकमा रहेको, मिति फुटिसकेको, राजा ध्रुवदेव र जिष्णु गुप्तको शिलापत्रतर्पm उनले औँल्याए । हुन पनि त्यो शिलापत्र बटुवा र सवारीहरूको धक्का प्रशस्त खाई सबैजसो अक्षर मेटिई अझै उभिइरहेछ (१ नं. फोटो) । शिलापत्रको यस्तो दुरवस्थावारे ससानो किताबै लेख्न नसकिने होइन ।

दुर्दशाको अर्को उदाहरणको लागि राजा वसन्तदेवको शकेसंवत् ४३५ तदनुसार वि.सं. ५७१ आश्विन शुक्लप्रतिपदाको शिलापत्रलाई औँल्याउन सकिन्छ । नेपालमा पाइएका अभिलेखमध्ये सनदरूपको पहिलो, यो शिलापत्र आजभन्दा १ सय ३३ वर्षभन्दा अगाडि नै भगवान्लाल इन्द्रजीले छाप्दा सबै अक्षर साबूत थिएनन् भने अहिले त त्यसको के कुरा गर्नु । अहिले त्यो शिलापत्र पूरै हेर्न पनि पाइँदैन, सिक्रीले बाँधी लहरै राखिएका ड्रमले त्यसको तल्लो भाग पूरै छोपिएको छ (२ नं. फोटो) ।

शकेसंवत् ५३५ तदनुसार वि.सं. ६७१ श्रावणशुक्लसप्तमीको, काठमाडौँ लगन ज्याबहालनिर मूल सडकमा घरको आडमा रहेको शिलापत्र ओन्देटोलको नारायणको शिलापत्रमा जस्तो ढुङ्गै चोइटिएर नगए पनि त्यसका अक्षर झन् झन् खिइँदै गएका छन् (३ नं. फोटो) । कालगतिले गर्दा यस्ता शिलापत्र खिइँदै चोइटिँदै जानुलाई हामी रोक्न सक्दैनौँ । तापनि जुन गतिले यिनको नाश भएर गएको छ, त्यसलाई धीमा पार्न भने अवश्य सकिन्छ ।

यस्ता रिक्थको रक्षा गर्ने अभिभारा बोकेको पुरातत्त्व विभागले यिनको रक्षा कसरी हुन्छ भनी साँच्चिकै चिन्ता गरेको खण्डमा घामपानीबाट बचाउन यस्ता शिलापत्रमाथि छत हालिदिने, अक्षर बढी खिइँदै नजाओस् भनी रसायन प्रक्रियाको प्रयोग गर्ने जस्ता काम गरी यिनको आयु लम्ब्याउन सकिन्छ जस्तो मलाई लाग्छ । लिच्छविकालका मात्र २ सय २० शिलापत्र भेट्टिइसकेका छन् । धेरै वर्षअगाडि पाटन दरवारको भण्डारखालमा तीनै शहर र वरपरका निकै शिलापत्र थुपारिने काम भयो । तर जुन–जुन ठाउँबाट ती शिलापत्र ओसारिए, तिनको कुनै चिनारीविना नै शिलापत्र थुपार्दा इतिहासको एक प्रकारले लोप गर्ने काम हुन्छ जस्तो मलाई लाग्छ ।

सुरक्षित अवस्थामा नरहेका शिलापत्रहरू यसरी उखेलेर जथाभावी थुपार्ने काम नगरी त्यही त्यही ठाउँमा नै विशेष सुरक्षापूर्वक राख्नुपथ्र्यो । अहिले त्यसरी उखेलिएका शिलापत्रमध्ये केही पाटन म्यूजियमको र केही छाउनी म्यूजियमको भित्तामा खोपा बनाएर राखिएका छन् । ने.सं. २६४ तदनुसार वि.सं. १२०१ को, काशीको आमर्दकमठका शैव योगीले नेपालका राजकुमारहरूलाई आÏना चेला बनाएको कुरा परेको, प्राञ्जल संस्कृत पद्यमा लेखिएको शिलापत्र म सानो छँदादेखि नै छाउनी म्यूजियममा तल्लो तलामा राखिएको थियो । त्यसलाई त्यहाँ कहाँबाट ल्याएर राखियो, त्यो कसैलाई थाहा छैन ।

जे भए पनि म्यूजियममा भित्रपट्टि राख्दा त्यो शिलापत्र पानी, घाम, बतास र चीसोबाट बढी जोगिएको थियो । त्यही शिलापत्र अहिले ढोकाबाट छाउनी म्यूजियमभित्र पस्नेवित्तिकै खुला ठाउँमा सानो चौको उठाई त्यसमाथि ठड्याई राखिएको देखिन्छ । त्यसले गर्दा पानी, घाम, बतास र चीसोले त्यो शिलापत्र बढी खिइँदै गएको छ । श्री ५ महेन्द्र (राज्यकाल वि.सं. २०११–२०२८)बाट पशुपतिमन्दिर र त्यसको पटाङ्गिनीको जीर्णोद्धार हुँदा पटाङ्गिनी फराकिलो पार्न त्यहाँ वरपर रहेका, लिच्छविकालदेखिका शिलापत्र र मूर्तिहरू उखेलेर छेउछाउमा राखिए । श्री ५ महेन्द्रले जीणोद्धार गर्नुभन्दा पौने शताब्दीजति अगाडि श्री ३ रणोद्दीप सिंह (शासनकाल वि.सं. १९३३–१९४२)ले वि.सं. १९३६ मा पशुपतिको मन्दिरको बाहिरी भित्तामा सिङ्गमरमर छाप्दा भित्तामा टाँसिएका ताम्रपत्र उखेलिएका थिए (महेशराज पन्त, संसारदेवीको प्रतिमा स्थापना गरी राखिएको ताम्रपत्र, पूर्णिमा १२२ अङ्क, ४५ पृ.) ।

ती ताम्रपत्र अहिले पशुपतिगोस्वाराको भण्डारमा सन्दूकभित्र थन्किएर रहेका छन् । अझ धेरै अगाडिको कुरा गर्ने हो भने काठमाडौँका राजा प्रताप मल्ल (राज्यकाल वि.सं. १६९८–१७३१)ले वि.सं. १७२० मा भक्तपुरमा हमला गर्दा त्यहाँका कलाकृति लुटेर ल्याई उनले आÏनो दरबार सजाएका थिए (भोलानाथ पौडेल र धनवज्र वज्राचार्य, इतिहास–संशोधन ५१ क्रमागत संख्या, ११–१३ पृ.) । ठाउँठाउँमा रहेका शिलापत्र आदि पुरातत्त्व विभागले उखेलेर ल्याई म्यूजियमहरूमा थन्काएको देख्दा यस्ता पुराना कुराको सम्झना सहसा हुन्छ । आपूmले राखेको शिलापत्रको रक्षा होओस् भनी कुनै कुनै शिलापत्रमा लेखिएको पनि नभेटिने होइन ।

उदाहरणको लागि प्रताप मल्लको साँखुको ने.सं. ७७५ तदनुसार वि.सं. १७१२ आषाढ शुक्ल सप्तमीको शिलापत्रमा यो शिलापत्र कसैले बिगा¥यो वा अन्त लग्यो भने करोड पञ्चमहापातक लाग्छ (गौतमवज्र वज्राचार्य र महेशराज पन्त, अभिलेख–संग्रह ३ भाग, १४ पृ.को नेवारीको उल्था) भनी लेखिएको छ । त्यही कुरा उनको, त्यही मितिको, काठमाडौँ भीमसेनस्थानको शिलापत्रमा पनि दोह¥याइएको छ (उही, १६ पृ.) । एक ठाउँबाट अन्यत्र शिलापत्र लग्दा पनि पाप लाग्ने तात्कालिक जनधारणा थियो भन्ने कुरा प्रताप मल्लका यी लेखबाट स्पष्ट हुन्छ भनी भनिरहनु नपर्ला ।

करोडौँको बजेट भएको पुरातत्त्व विभागले यस्ता प्राचीन अभिलेखलाई मूल ठाउँबाट नहटाई यिनको भौतिक सुरक्षाको लागि काम गर्न थाल्नु जरूरी भइसकेको छ । होइन भने १८ सय वर्ष यतादेखि नयराज पन्तका शब्द उधारो लिई भन्दा वर्षा घाम बतास शीतहरुका खप्तै कडा यातना बस्ने पत्थर (कसले भन्थ्यो, पूर्णिमा ३६ पूर्णाङ्क) हाम्रै पालामा पूरै दुर्बोध्य हुन्छन् भन्दा बढी बोलेको नठहरिएला । एकातिर शिलापत्रहरूको भौतिक सुरक्षाको कुरा छ, अर्कोतिर हामीले जतिसुकै रक्षा गरे पनि कालक्रमले खिइँदै जाँदा भगवान्लाल इन्द्रजी (प्रकाशन मिति वि.सं. १९३७), सेसिल वेन्डल (प्रकाशन मिति वि.सं. १९४३), सिल्ंिव लेवि (प्रकाशन मिति वि.सं. १९६५)ले लिच्छविकालका शिलापत्रबाट जुन पाठ पढे, त्यो पाठ अहिले ती ती शिलापत्रबाटै पढ्दा पनि सबै ठाउँमा दुरुस्त आउँदैनन् ।

भगवान्लाल इन्द्रजी र सेसिल वेन्डलको लागि लिइएका, शिलापत्रका रविङ अर्थात् शिलापत्रमाथि कागत राखी मसी दलेको रोलर त्यसमाथि घोटी निकालिएको छापा अहिले कहाँ छन् मलाई थाहा छैन । सिल्ंिव लेविको लागि लिइएका छापा भने मैले प्यारिसको राष्ट्रिय पुस्तकालयमा लेविसंग्रहमा देखेको छु । त्यसबाट कमसेकम लेविले संग्रह गरेको जति शिलापत्रको छापाबाट १०० वर्षभन्दा अगाडिको शिलापत्रको अवस्था थाहा पाइन्छ र तदनुसार पाठ पनि पढ्न सकिन्छ । सिद्धिहर्ष वज्राचार्य (वि.सं. १९३६–२००९)को २ पुस्ताले वीरपुस्तकालयको संग्रहको लागि लिएका छापा अहिले राष्ट्रिय अभिलेखालयमा छन् ।

ती छापाबाट जति पाठ आउँछन्, मूल अभिलेखबाट अहिले आउँदैनन् । नयराज पन्त र रामजी तेवारी (वि.सं. १९७३–२०४०)ले लिएका छापाको हकमा पनि त्यही कुरा लागू हुन्छ । अरू त के कुरा गर्नु, मेरो आÏनै कैशोर वयमा र जवानीमा संशोधन–मण्डलमार्पmत लिइएका छापाबाट जति पाठ आउँछ, त्यति पाठ अहिले मूल शिलापत्रबाट उतार्न सकिँदैन । यस कारण जति छापा पाइन्छ, तिनको Ïयाक्सिमिलि छपाउनु पनि जरूरी भइसकेको छ । एकातिर भौतिक सुरक्षा नहुँदा शिलापत्रहरूको दुर्गति भएको छ त अर्कोतिर सुरक्षा गर्दा गर्दै पनि बुद्धि पु¥याउन नसक्दा तिनबाट काम लिन नसकिने भएको छ ।

उदाहरणको लागि शङ्खमूल सिकबहिको उमामहेश्वरको मूर्तिको पादपीठ अहिले पुरेकोले त्यहाँ वुmँदिएको शकेसंवत् ४९५ तदनुसार वि.सं. ६३० को अभिलेख छोपिन गएको छ । यसै गरी पाटन सुनधाराको, अंशुवर्माको मानदेवेसंवत् ३४ तदनुसार वि.सं. ६६७ प्रथम पौक्ष शुक्ल द्वितीयाको शिलापत्र भित्तामा टाँस्दा त्यसको बायाँपट्टिको माथिल्लो भाग अर्को रचनाको फैलावटले छोपिएकोले केही हरफका अक्षर छोपिन गएका छन् (४ नं. फोटो) । काठमाडौँ यंगालहिटीमा पानीको आहाल जमी त्यहाँका कलाकृति र मिति फुटिसकेको, राजा भीमार्जुनदेव र जिष्णुगुप्तको तथा राजा नरेन्द्रदेवको मानदेवेसंवत् ६७ तदनुसार वि.सं. ७०१ भाद्रशुक्लद्वितीयाको शिलापत्र डुबिरहेछन् । तिनको उद्धारको लागि कसैको चासो छैन ।

यी त नमूना मात्र हुन् । काठमाडौँ उपत्यकालाई नै जीवन्त सम्पदा बनाउने उद्देश्यले भेला भएका विज्ञहरूको दृष्टि शिलापत्रको सुरक्षातिर पनि जानुपर्र्नेे हो । तर शब्दद्वारा होइन कि कामद्वारा यस्ता अभिलेखलाई उनीहरूले अनावश्यक जस्तो बनाइदिएका छन् भनी भन्दा बढ्ता बोलेको ठहरोइन ।

Source : http://www.rajdhani.com.np/en/2012-06-26-14-07-48/19577--

No comments:

Post a Comment