नेवा: स इन्टरनेट रेडियो

Friday, May 24, 2013

नेपालमा थेरवादको स्थिति

नेपालमा थेरवादको स्थिति
 मुनीन्द्ररत्न वज्राचार्य



नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौंँ वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएपछि बौद्ध धर्म दुुई सम्प्रदायमा विभाजन हुन पुग्यो । एकथरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे । यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे ।
जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो । यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो । यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए । यस्तै अर्को महायान समुदायहरू बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढाए । यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो । जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे ।
नेपालमा सुरुदेखि नै थेरवाद हीनयान महायान सम्प्रदायहरूले ठाउंँ ओगटेको इतिहासमा उल्लेख छ । चिनियाँ यात्री व्हेनस्याङ्गले सातौँ शताब्दीमा आफ्नो यात्रावर्णनमा उल्लेख गरेअनुसार कपिलवस्तुका भिक्षुहरूका साथ विभिन्न कोलीय, शाक्य र वज्जित जाति काठमाडाँै उपत्यकामा प्रवेश गरेपछि नेपालमा थेरवादको विकास भएको हो । उनको यात्रा वर्णनअनुसार नेपाल उपत्यकाभित्र थेरवाद -हीनयान) र महायान धर्मावलम्बीहरू तीन हजारभन्दा बढी भएको अनुमान गरिएको छ । प्राचीन कालदेखि नै प्रशस्त बौद्ध विहारहरू निर्माण गरिएको ऐतिहासिक अभिलेखहरू यहाँ पाइन्छन् । बौद्ध धर्मअनुसार तीनवटा त्रिरत्नमा बुद्ध, धर्म र सङ्घमध्ये तेस्रो अङ्ग सङ्घअन्तर्गत विहारहरू पर्दछन् । बुद्ध धर्मको मूल विशेषता भन्नाले यसको सङ्गठन, सङ्घ र आश्रमिक स्वरूप हो । यसैले बौद्ध भिक्षु भिक्षुणीहरूको बसोबासका लागि विहारहरू निर्माण गरिएको हुन्छ । लिच्छविकालको शिलालेखअनुसार त्यसबेला आर्य भिक्षु सङ्घ रहेको बुझ्न सकिन्छ । स्वयम्भू ज्योतिरूप चैत्यको स्थापना भएदेखि नेपालमा बुद्ध धर्मको महìव बढ्दै गएको थियो । लिच्छविकालका राजा वृषदेवलाई 'सुगतपक्षपाती' भनी बुद्ध धर्मको अनुयायीको रूपमा मानिन्छ । साङ्घिक भनी भिक्षु सङ्घको सम्बन्धमा साँखुमा वि.सं. ७५० सालतिरको एउटा अभिलेख फेला परेको छ । यहाँको सङ्घले भिक्षुगणलाई विभिन्न सुविधाहरू दिने गर्छ । नेपालको इतिहासमा के कारण हो केही शताब्दीका लागि थेरवाद परम्परा लोप हुन गयो । थेरवादको मूल्य र मान्यता अनभिज्ञ हुन पुुग्यो । कर्मकाण्ड र मूर्तिपूजाको विशेषताको रूपमा महायानी सम्प्रदायको प्रभाव हुन पुग्यो । 

बीसौँ शताब्दीतिर भारतमा पनि बुद्ध धर्मको पुनर्उत्थानमा यहाँँका नवयुवकहरू प्रभावित हुन पुगे । सबभन्दा पहिले भारतमा बुद्धधर्म पुनर्उत्थानकर्ताको रूपमा मानिने भिक्षु धर्मपालको निकटत्म सहयोगीमा कलकत्तामा रहेका शाक्य भिक्षु जगतमान बैद्यलाई बुद्धधर्मको विषयमा प्रभावित गरियो । नेपालमा थेरवादको उत्थानमा जगतमान बैद्य -जसको अर्को नाम धर्मादित्य धर्माचार्य)बाट प्रमुख प्रारम्भिक प्रयास गरिएको थियो । उनले नै बुद्धोपासक सङ्घ, बुद्धधर्म उद्धार सङ्घ, बुद्ध उपासिक, उपासिका सङ्घको स्थापना गरेका थिए । कलकत्तामा बसी बुद्धधर्म र नेपालभाषा पत्रिका निकालेका थिए । यस्तै हिमाली बौद्ध र बङ्गाली भाषाको बौद्ध भारत नामले पनि पत्रपत्रिका प्रकाशित भए । यस्तै, अङ्ग्रेजीमा पनि दि बुद्धिष्ट इन्टरनेसनल पत्रिका निकाले । यी पत्रपत्रिकामा थेरवादसम्बन्धी लेखरचना प्रकाशित गरी बुद्ध धर्मको उत्थानमा सहयोग गरेर पछि धर्मादित्य धर्माचार्य भारतबाट नेपालमा फर्किए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा धमांसाहूको सहयोगमा थेरवादअन्तर्गत किंडोलमा पहिलो विहार स्थापना हुन पुग्यो । यहाँं ने.सं. १०४८ सालदेखि बुद्धको जन्म, बोधिज्ञान र परिनिर्वाण भएका दिनलाई सम्झना गरी बुद्धजयन्ती मनाउने सुरुआत भयो । बौद्ध जागरणको प्र्रयासमा वि.सं. १९८१ सालमा नानीकाजी श्रेष्ठ नाम गरेका एक युवा ल्हासाबाट चार वर्षसम्म कठिन साष्टाङ्ग दण्डवत गर्दै नेपाल आएका क्यान्छेन लामाको धर्मोपदेशमा प्रभावित भई लामा भिक्षु बने । पछि फेरि कुशिनगर जानु भई महाप्रज्ञाको नामले थेरवादी भिक्षुको रूपमा प्रवजित भए । यस्तै, वि.सं. १९८४ सालमा कुलमानसिंह नाम गरेको एक धर्मभीरु पनि कर्मशीलको नामले प्रवजित भए । यस्तै, साहू दशरथ पनि महाप्रज्ञाको सहयोगमा भिक्षु धर्मालोकको नामले प्रवजित हुन पुग्यो । राणा शासनको कडा दमनको अवस्थामा पनि बौद्ध युवाहरू थेरवाद बुद्ध धर्ममा लागेका थिए । वि.सं. १९९४ सालमा ज्ञानमाला भजन खलः स्वयम्भूको स्थापना भएपछि बौद्ध भजन गाइ भगवान् बुद्धका शान्ति सन्देशहरू प्रचारप्रसार गरियो र जनमानसमा समाजमा भएका विसङ्गतिप्रति सचेत हुन अभिपे्ररित गरियो तर केही कट्टर पुरोहित ब्राहृमणहरूको चुकुलीमा राणा सरकारले बौद्ध धर्म प्रचार गर्‍यो भनेर ती भिक्षुहरूलाई देश निकाला गर्न आदेश दिए । त्यसबेला महिलाहरू पनि प्रवजित भएका थिए, ती प्रवजित हुनेहरूमा अनागारिक धर्मपाली, सङ्घपाली र रत्नपाली आदि थिए । वि.सं. २००१ सालमा देश निकाला गरिएको भिक्षुहरूमा धर्मालोक, प्रज्ञानन्द, सुवोधानन्द, प्रज्ञारश्मि, प्रज्ञारश, रत्नज्योति, अग्गधम्म, कुमार काश्यप आदि थिए । भिक्षु महाप्रज्ञा र भिक्षु अमृतानन्दलाई पहिले नै भोजपुरको जेलमा राखिएको थियो । पछि भिक्षु अमृतानन्द भारतमा निर्वासित भए । भिक्षुहरूको उद्धार र उनीहरूको राम्रो बसोबासको व्यवस्था गर्न वि.सं. २००१ साल मङ्सिर महिनामा भारतको सारसनाथमा महास्थवीर चन्द्रमणिको अध्यक्षतामा उपसभापति भदन्त आनन्द कौशल्यायन, सचिव भिक्षु अमृतानन्द, कोषाध्यक्ष मणिहर्षज्योति सहित ९ जनाको कार्यसमितिमा धर्मोदय सभाको स्थापना गरियो । भारत र श्रीलङ्काका बौद्ध भिक्षुहरूले नेपाली भिक्षुहरूलाई नेपाल फर्काउने प्रयास गरे । नेपाली बौद्ध भिक्षुहरू माथि भएको अन्यायपूर्ण देश निकालेको विरुद्धमा बुद्धिष्ट गुडविल काउन्सिल -बौद्ध शुभेक्षुक धर्मदूत मण्डल) मिसनका प्रमुख भिक्षु नारद महास्थवीर वि.सं. २००३ सालमा नेपाल आई तत्कालीन राणा प्रधानमन्त्री पद्मशमेशेरसँग भेटी नेपाली बौद्ध भिक्षुहरू नेपाल फर्किनका लागि आवश्यक वातावरण मिलाउन सुझाव दिनु भयो । त्यसैगरी, धेरै नेपालीहरूलाई प्रवजित गराउने महास्थवीर चन्द्र्रमणिको प्र्रयासले पनि नेपाली भिक्षुहरू नेपाल फर्किने काममा निकै सहयोग मिल्यो । भारतमा निर्वासित भिक्षुहरू नेपाल फर्किने वातावरण मिलेपछि थेरवाद बौद्ध धर्मलाई पुनर्उत्थान गर्न सबै बुद्ध धर्मावलम्बीहरूले अथक प्रयास गर्न थाले । वि.सं. २००३ सालमा भिक्षु धर्मालोकको प्रयासमा सर्वप्रथम नेपालको थेरवादी विहार आनन्दकुटी विहार निर्माण गरी श्रीलङ्काका भिक्षु नारद महास्थवीरबाट उद्घाटन गरियो । यस्तै, भिक्षु अमृतानन्दबाट पनि बुद्धधर्मको उत्थानमा सक्रिय भूमिका निर्वाहभएको थियो । बौद्ध धर्मप्रति महìव दिन नेपालमा सर्वसाधारणले वैशाख पूणिर्मा मनाउने भए । वि.सं. २००३ सालमा श्रीलङ्काबाट आएका बौद्ध शिष्टमण्डल नारद महास्थवीरबाट ल्याएका बुद्धका पवित्र अस्तिधातु देशभर जात्रा गरी आनन्दकुटी विहारमा रहेको चैत्यको गर्भभित्र राखियो । दुर्भाग्यवश सो अस्तिधातु वि.सं. २०५० साल असार २३ गते मध्यरातमा चोरी भयो । वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरले वैशाख पूणिर्माका दिन केबल बौद्ध कर्मचारीहरूलाई मात्र बिदा दिन व्यवस्था गरेको थियो ।

वि.सं. २००७ सालमा जब नेपालमा राणा शासनबाट मुक्त भई प्रजातन्त्रको थालनी भएपछि, यहांँका नेवारहरू स्वतन्त्ररूपमा थेरवाद बुद्ध धर्ममा ढल्किए । राजा त्रिभुवनले नारायणहिटीमा सर्वप्रथम राजकीय सम्मानका साथ महापरित्राण गरियो । नेपालमा लोप हुन लागिरहेको थेरवाद बुद्धधर्मले फेरि उत्थान हुने सुअवसर पायो । वि.सं. २००८ साल जेठ ७ गते राजा त्रिभुवनबाट वैशाख पूणिर्माका दिन सार्वजनिक बिदाको घोषणा गरियो । यस्तै, राजा महेन्द्रबाट वि.सं. २०१२ सालमा लुम्बिनी सवारी भई लुम्बिनीमा रहेको मायादेवीको मूर्तिमा दिइरहने बलि प्रथालाई निषेधित गरायो । यस्तै, २०१४ सालमा उनकै शासनकालमा चतुर्थ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरी विश्वमा नेपालको बुद्धधर्मको महìव र विकासबारे प्रचारप्रसार हुन मद्दत हुन पुग्यो । वि.सं. २०२३ सालमा संयुक्त राष्ट्र सङ्घका महासचिव महामहिम उथान्तबाट लुम्बिनी भ्रमण गर्नु भई लुम्बिनीको अवस्थालाई हृदयङ्गम गरी लुम्बिनीको विकास गर्न नेपाल सरकारलाई आहृवान गरियो । नेपालमा विस्तारैविस्तारै थेरवाद बुद्ध धर्मको विकासका लागि यहाँंका भिक्षु गण, साहू-महाजन र अरू धर्मपे्रमीहरू लागे । विभिन्न स्थानमा विहारहरू स्थापना गर्ने, पुस्तक, पत्रपत्रिकाहरू प्रकाशित गर्ने, परियत्ती शिक्षाको कक्षा चलाउने, परित्राण गर्ने, भिक्षुहरू वषर्ावास बस्ने, कथिनोत्सव मनाउने र नयाँ भिक्षुहरूलाई प्रवजित गराउने जस्ता काम हुन पुगे । थेरवादी बुद्धधर्मको विकासका लागि विभिन्न प्रयासहरू हुन थाले । भिक्षु अमृतानन्द महास्थवीरबाट 'धम्मपद' लाई विभिन्न भाषा नेवारी, नेपालीमा प्रकाशित गरिएकोले बुद्धका अमृतवचन अध्ययन गर्न सुगम हुन पुग्यो । कतिपय भिक्षु तथा विद्वान्हरूले पालीभाषामा लेखिएका अनेक थेरवादी बौद्ध ग्रन्थहरू नेवारी र नेपालीमा अनुवाद गरियो । यसरी ग्रन्थ अनुवाद गर्नेहरूमा अमृतानन्द महास्थवीर, ज्ञान पूणिर्क महास्थवीर र दुण्डबहादुर बज्राचार्यको नाम उल्लेखनीय छ । यस्तै, सुरुमा थेरवादअनुरूप विहारहरूमा किण्डोल विहार, आनन्दकुटी विहार, श्रीघः विहार, गणमहाविहारको स्थापना गरेका थिए । यी विहारहरू भिक्षुहरूको बसोवास र धर्म देशना गर्ने केन्द्रस्थलको रूपमा रहन गयो । हाल नेपालमा थुप्रै थेरवाद विहारहरू उपत्यका बाहिर पनि स्थापना भइसकेका छन् । वि.सं. २०३८ मङ्सिरमा अश्वघोष महास्थवीरबाट संघाराम विहार स्थापना गरी नयाँ नयांँ युवाहरूलाई प्रवजित गराउने व्यवस्था गरियो । यस्तै, कीर्तिपुरमा रहेको श्री कीर्तिपुण्य महाविहारको स्थापना भिक्षु प्रज्ञानन्द महास्थवीर र सुदर्शन महास्थवीरको प्रयासबाट हुन पुग्यो । यस्तै अनागारिक धम्मावतीको अथक प्रयासबाट महिला भिक्षुनीहरू अर्थात् अनागारिकाहरूको निवासका लागि धर्मकीर्ति विहारको स्थापना गरियो । यस विहारमा महिलाहरू बुद्धधर्ममा लाग्न निकै सहयोग मिलेको छ । बानेश्वरस्थित विश्व शान्ति विहारको स्थापना ज्ञानपूणिर्क महास्थवीरको प्रयासमा भएको थियो । यस विहारमा सबै बुद्ध धर्मप्रति श्रद्धा राख्ने केटाहरूलाई प्रवजित गराइन्छ भने केटीहरूलाई ऋषिणी प्रवज्या दिने व्यवस्था मिलाइएको छ । यस्तै, यहाँस्थित सबै बालबालिकालाई १० कक्षासम्म सरकारीस्तरका र बुद्ध धर्मसम्बन्धी पढाइ गर्ने व्यवस्था छ ।

नेपालमा हाल करिब ठूला तथा साना गरी ९६ वटा थेरवादअन्तर्गतका विहारहरूको स्थापना भइसकेको छ । यस्तै वि.सं. २०६३ सालसम्ममा नेपालभर थेरवाद बौद्ध भिक्षु, श्रामणेर र अनागारिकहरू जम्मा ४५१ जना छन् । तीमध्ये कतिपय भिक्षु, श्रामणेर र अनागारिकहरू विदेशका विहारमा अध्ययन गर्ने र त्यहीँ सेवाका लागि बसेका छन् । हाल नेपालका बौद्ध विहारहरूको सञ्चालन बौद्ध भिक्षु, उपासक र उपासिका साहू महाजनको सहयोगमा मात्र चलेको छ । नेपालको थेरवाद बुद्धधर्मलाई जीवन्त दिन थेरवाद बौद्ध समुदायका भिक्षु, अनागारिक, उपासक-उपासिकाहरू विहार निर्माण गर्ने, सङ्घसंस्था स्थापना गर्ने, अध्ययन अध्यापनका कार्यहरूमा लाग्नाले यसका लागि ठूलो सहयोग मिलेको छ । बौद्ध विहारमा धर्म देशना दिने मात्र होइन विभिन्न किसिमको शिक्षा दिनुको साथै देशमा विद्यमान संस्कारलाई सरलीकरण गर्नमा हाल थेरवाद बौद्ध भिक्षुहरूद्वारा बौद्ध संंस्कारअनुरूप बौद्ध विहारमा केटाहरूलाई प्रवज्या दिने र केटीहरूलाई ऋषिणी प्रवज्या दिनेजस्ता सांस्कारिक काम गर्दै आएका छन् । नेपालमा थेरवाद बौद्धको स्थान निकै महìवपूर्ण हुँदै आएको छ । नेपाल विश्वका कतिपय अन्तर्राष्ट्रिय बौद्ध सङ्घको सदस्यअनुरूप विश्व बौद्ध भ्रातृत्व सङ्घको सदस्य रहेको छ । नेपालमा थेरवाद बुद्ध धर्मको उत्थानका लागि नेपाल भिक्षु महायान सङ्घको स्थापना गरिएको छ । यस्तै, नेपालले वि.सं. २०४६ सालमा दोस्रो पटकको पन्ध्राँै विश्व बौद्ध सम्मेलन गरी सकेको छ । नेपाल बुद्ध धर्मको केन्द्रस्थल भएकोले र यहाँ विभिन्न बौद्ध जनजाति रहेका छन् । थेरवाद बुद्ध धर्ममा नेवार जाति मात्र नभएर, अरू विभिन्न जाति ब्राहृमण, क्षेत्री, शेर्पा, तामाङ, मगर, गुरुङ, थकाली र थारूसमेत थेरवाद बौद्ध भिक्षु बनेका छन् । नेपाल बुद्धको जन्मभूमि हो तर यहाँ भने बुद्धको जन्मभूमि सुहाउँदो बुद्ध धर्मको विकास हुन सकिरहेको छैन । यसको लागि सरकारका तर्फबाट पनि बुद्धधर्मको विकासका लागि सक्दो प्रयास गर्नु जरूरी
छ । 
मधुपर्क, चैत २०६७  
source: http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=1173&cat_id=38

No comments:

Post a Comment