‘ब्रम्हाण्डका कुनै कुरा पनि आकस्मिक हुँदैनन्, बरु सबै बस्तु आफ्नो अस्तित्वका लागि अभ्यस्त हुन्छन् र दिव्य-प्रकृतिको आवस्यकता अनुसार विशेष प्रकारले संचालित भएका हुन्छन् ।’ डच यहुदी दार्शनिक बारुच स्पिनोजाले सोह्रौं शताब्दीको मध्यतिर नै यसो भनेका रहेछन् । उनको त्यो भनाइ अहिले मात्र नजरमा पर्‍यो । अन्यथा यस लेखोटको शीर्षक भिन्दै पो हुन्थ्यो कि ? तर त्यस्तो भएन । बारुचको दार्शिनिक हरफमा नजर नपर्दै जुरेको शीर्षकमै अडिने सोच लिएँ मैले ।

मेरा आकस्मिकता यसकारणले आकस्मिक हुन् भन्ठान्छु- कि तिनले जीवनमै अचम्मका छाप छोडेर गए। त्यो पनि एकदम अचानक । सोच्दै नसोचेका बखत । सायद ती आकस्मिकता यसकारणले आकस्मिक नहोलान् पनि भन्ठान्छु- कि दार्शनिक जो बने; महान, अद्भूत र अद्वितीय सोचका अभिव्यक्तिले त बने । तिनका प्रभावशाली कुराको प्रतिपक्षमा लाग्ने हिम्मत र ज्ञान दुबैको अभाव छ ममा । प्रतिवाद गर्न सक्दिनँ । फेरि मैले बुझेका आकस्मिकता नै बारुचले भनेकै- प्रकृतिले संचालन गरेको आवस्यक नियमिता भित्रै पर्ने कुरा हुन् कि ? जे होस् ! जीवनमा केही त्यस्ता घटना त घटे नै; जो छन् उल्लेख गर्न लायक । केही सामान्य । केही त प्रभावशाली र आकस्मिक पनि ।

कुरा स्कूले जीवनको हो । पाँचौं श्रेणीदेखि नै हुनुपर्छ; पैदल हिंडिन्थ्यो दैनिक । स्कूलतर्फ डोरिएका मुख्य तीनवटा गोडेटा थिए । सहपाठीहरूको झुण्डसित ओहोरदोहोर गर्दा दिनको करीब तीनघण्टा पाइला घस्रन्थे ती गोडेटामा । सबैभन्दा उत्तरी गोडेटोले सूर्यमण्डली हुँदै, माझ गोडेटोले सिमपाखो हुँदै र दक्षिणी गोडेटोले ईन्द्राइणी हुँदै हामीलाई स्कूलसम्म ओहोरदोहोर गराउँथे । तिनै गोडेटा र समयसित जोडिएका छन् अनेकौं सम्झना र शृंखलावद्ध आकस्मिकता ।

पहिलो- गिरीजा सर (नेवारीभाषाका महाकवि- गिरिजाप्रसाद जोशी), छन्द र रूमानी पन: गिरिजा सरसित गोविन्द र मेरो बढ्तै निकटता थियो । गोविन्द केही पृथक् खालका कृयाकलापमा रमाउँथ्यो । मलाई उसको त्यही पृथकता मनपर्थ्यो । म उसितै बढी हिंड्थेँ ।  महाकवि लक्ष्मीप्रसादबाट अत्यधिक प्रभावित थियो उ । काव्यका साथसाथ धुमपानमा पनि देवकोटापन्थी । छन्दमा कविता लेख्नमा अत्यधिक उत्साही । मलाई लाग्थ्यो-  उ कुनैदिन हाम्रो जमानाको महाकवि नै बन्ने छ ।


एकदिनको कुरा हो; हाम्रा पाइला नियमित हिंड्ने गोडेटो छोडेर वज्रयोगिनी मन्दीरतर्फ मोडिएथे । मन्दीर नजिकै थियो गिरिजा सरको निवास । घरको मटानमा बसेका गिरिजा सरले त्यसदिन हामीलाई शार्दूलविक्रिडित छन्दको सूत्र लयवद्ध- (नानाना ननना ननान ननना नानान नानान ना) गाएर सिकाउनु भएथ्यो । त्यो छन्द-सूत्रको गुदी, मभन्दा छिट्टै गोविन्दले बुझेथ्यो । त्यसैले होला उसको मुखाकृतिभरि मथिङ्गलको ज्ञानमयी ढोका अकस्मात खुले झैँ भाव दर्शिएथ्यो । गिरिजा सरले पनि त्यही अनुमान लगाएरै हुनुपर्छ तत्काल भन्नुभएथ्यो- ‘गोविन्द राम्रो कवि बन्नेछ ।’ गिरिजा सर हुनुहुन्थ्यो बहुआयामिक व्यक्तित्वका धनी । कवि, उपन्यासकार, नाटककार र अझ धेरै । मेरो त आदर्श पुरुष । उहाँका वाक्य मेरानिम्ति दिव्यवचन । तर म छन्दमा बाँधिन भने मन नपराउने खाले । सायद ममा उतिबेलैदेखि थियो एकखाले मौन अराजकता । (अहिले पो यसो भनेको ! आफ्नो कमजोरी लुकाउने योभन्दा राम्रो उपाय के हुनसक्छ र ? खासमा म छन्दमा थिएँ केही कमजोर । बेछन्दे ।) सत्य हो ! पुराना सूत्रलाई नमानेर विद्रोह गर्ने स्वभाव ममा यद्यपि छ । केही कुरामा ढीठ र हठीपन पनि कायम नै छ । तर तिनलाई प्रष्टगरि बाहिर देखाउने स्वभावको अभावसमेत पनि अहिलेसम्मै उस्तै छ । भनौं- त्यो बेछन्देपन कतै न कतै कायम नै छ । त्यस्तै के कताको प्रभाव या अभावले हो; उतिबेला गिरिजा सरले- ‘गोविन्द राम्रो कवि बन्नेछ ।’ भनेबाट इर्ष्या जागेछ कि कसो ? लुकीछिलपी कविता लेख्न खोज्ने मैले त्यस दिनपश्चात कहिल्यै पनि छन्दमा लेख्ने प्रयास गरिनँ । केही अन्तराल बित्यो । गिरिजा सरसितको निकटता भने निरन्तर नै थियो । एकदिन कक्षाकोठामा पढाइरहेका सर अकस्मात गाउन थाल्नुभयो-

अपने रूख पर निगाह करने दो
खूबसुरत गुनाह करने दो
रुख से पर्दा हटाओ जान-ए-हया
आज दिल को तबाह करने दो

मैले बेलाबखत गिरिजा सरका रोमान्सका कथा नसुनेको होइन । तर त्यसदिन देखिएको उहाँको रुमानी व्यक्तित्व झन् अद्भूत र आकर्षक थियो । गिरिजा सरको कपाल काँधसम्म पुगेर घुमुर्किएको । जो थियो:- मैले फोटोमा देख्ने गरेको सेक्सपियरको स्वरुपभन्दा पनि आकर्षक । अझ गीतको आरोह अबरोहसँगै तल माथि बयली खेलेका उहाँका हात र मुद्रामयी उहाँका औंलासँगै देखिने हाउभाउ । चित्ताकर्षक । मानौं हाम्रा सर कुनै सिनेमाका कुशल अभिनेता । फेरि स्वरमा रहेको आकर्षण पनि रफिकै हाराहारीको । मधुर, लयात्मक, गुलाबी । भाव पनि तन्मयी र रूमानी । अनि गीतको हरफसँगै देखिने र छोपिने टम्म मिलेका दाँत । साथै मनको प्रफुल्ल भाव झुल्किने क्षितिज झैँ देखिएका उहाँका उज्याला अधर । र तिनले उच्चारण गरिरहेका गीतका हरफ-

रुख से जरा नकाब उठा दो, मेरे हुजूर
जलवा फिर एक बार दिखा दो, मेरे हुजूर

त्यही गीत सुन्दैगर्दा मेरो अन्तरमन अकस्मात तरङ्गित भएथ्यो र भनेथ्यो- ‘तेरो मूल विषय यही हो है- संगीत मात्र संगीत !’ म ठान्छु; त्यसै क्षणदेखि मेरो अन्तरमनले संगीततर्फको अनन्तयात्रा तय गरेको हो। साँच्चै भन्छु- त्यही दिनको प्रभावले एकदिन अकस्मात मैले नाडीको घडी बेचेँ र बेन्जो-बाजा किनेँ । त्यही बेन्जोको रीडमा मेरा देब्रे हातका औंला सलबलाए र मैले जीवनमै पहिलो धुन बजाएँ-

है अपना दिल तो आवारा
ना जाने किस पे आएगा

अहिले सोच्छु- त्यस दिन गिरिजा सरले गीत नगाएर ब्ल्याकबोर्ड छेउमा क्यानभास उभ्याउँदै कूची चलाएको भए ? के थाहा ? मेरो मन संगीततर्फ नमोडिएर अकस्मात क्यानभास र रङ्तर्फ पो मोडिने थियो कि ?

दोस्रो- धुवाँबाट निर्मित गोलाकार रिङ् र तिनलाई बुन्दै हिंड्ने ओठाकृति: लुकीछिपी हिन्दी फिल्म त हेरिन्थ्यो नै । अभिनेताले रवाफिलो पाराले सल्काएको चुरोटको प्रभाव औंलासम्म आउन भने बाँकी नै थियो । बरु शिक्षकले ब्ल्याकबोर्ड मुनी छोड्ने गरेका सेता चकका टुक्रा औंलाबीच चेपिने क्रम चाहिँ सुरु भइसकेको थियो । केही मित्रहरू त ५५५ कै चुम्बनमा फसिसकेका थिए । उनीहरू कहिले अमिताभ त कहिले रजनीकान्त पाराले चुरोट च्याप्दै गोडेटो काट्थे । एकदिन, दुईदिन, अनेकदिन । म भने त्यो दृश्य हेर्न मात्र अभ्यस्त । उनीहरू आफ्ना ओठ पानीबिनाको माछाको थुतुनोजस्तै बनाउँथे । धुवाँले बनेको गोलाकार आकृति हावामा बाङ्गिदै उड्थ्यो र छरिन्थ्यो । हावामा उड्दै गरेको धुवाँको गोलो, दिउँसो मैदानमा खेलेको रवरको रिङजस्तै देखिन्थ्यो । म दृश्य हेर्दै हाँस्थेँ । त्यो देख्दा लाग्थ्यो- ‘उनीहरूको कृयाकलाप फिल्मी र आधुनिक ! यो त सिक्नै पर्छ कि कसो ?’ फेरि अर्कोदिन लाग्थ्यो- ‘चुरोट त छुनै हुन्न । स्वास्थ्य पढाउने मिसले भनेको कुरा ठीक- ‘धुवाँले फोक्सोमा दाग बस्छ ।’ हरेकदिन मनमा आन्तरिक द्वन्द चल्ने क्रम रोकिएको थिएन । एकदिन अकस्मात मन उत्ताउलियो । सँगै हिंड्दैगरेको सहपाठीको हातमा भरखर सल्किएको ५५५ थियो । मैले हठात् खोस्दै एकसासमा दह्रो सर्को तानेँ । धुवाँ मुखमै थियो । त्यसले स्वासनलीतर्फ प्रवेश पाएकै थिएन । मित्रले त ममाथि अनौठा शब्दहरू पो वर्षाउन थाले- ‘मा…साले ! त्यत्रो रहर छ भने किनेर खानु थियो नि ! अर्काको मजालाई हरण गर्ने ?’ उसका वाक्यले मेरो फिल्मी र आधुनिक बन्ने उमंगको पारो खर्ल्याप्-खुर्लुप् ओह्रालो झर्‍यो । अनुहार ग्लानिले लल्याक्-लुलुक् भयो तर मस्तिष्कले आकस्मिक निर्णय लिन भने ढिला गरेन । धुवाँ फ्याँकिरहेको चुरोटलाई तत्काल धुजाधुजा पार्दै मैले भनेँ- ‘यी लाऽऽ तँ मा…सालेलाई पनि ! यो चुरोटको स्वाद तेरोनिम्ति अन्तिम भो ! म आजबाट जीवनभर नै चुरोट खाने छैन !’ त्यो दिन उसले तत्काल अर्को चुरोट सल्कायो सल्काएन ? हेक्का रहेन । मैले भने पच्चिसौं वर्षपछि मात्र आफ्नो पुरानो वाचा क्षणिक समयका लागि परित्याग गरेँ । त्यो पनि पुराना अमेरिकन ज्याज‍-स्टार न्याट किङ कोलको भनाइबाट प्रभावित भएर । उनलाई डाक्टरले चुरोट छोड्ने सल्लाह दिँदा भनेका रहेछन्- ‘चुरोट र गायन दुबै छोड्दिन; चुरोटको प्रभावले बनेको ओजिलो स्वरलाई नै मेरा फ्यानहरूले रुचाएका हुन् । म आफ्ना फ्यानले मन पराएको स्वर गुमाएर उनीहरूको चित्त दुखाउन चाहन्न ।’ न्याटको कुटनैतिक भनाइभित्रबाट ‘चुरोटले स्वरलाई राम्रो पो बनाउने रहेछ !’ भन्ने भाव निकालेछु मैले । करीब तीनवर्षसम्म धुवाँको संगत गरेपछि एकदिन पलेँटीमा गाउँदै गर्दा मस्तिष्कले अकस्मात सोच्यो- ‘आभास ! धुवाँ तेरोनिम्ति होइन ।’

अहिले सोच्छु- ५५५ खातिर उहिल्यै ती मित्रले मलाई नसरापेको भए ? अनि त्यसदिनको पलेँटीमा गाएर उठेपछि मेरा अमूक फ्यानले अकस्मात ‘धुवाँले त तिम्रो स्वर नौलो र वजनदार भएछ ।’ भनेको भए ? के जान्नूँ ? म पनि कोलले झैँ कुटनैतिक पाराले फ्यान र चुरोट दुबैलाई एकसाथ ‘धन्यवाद !’ भन्दै गरेको पो हुने थिएँ कि ?

तेस्रो- उधारो दाम, चोर बाटा र पसले-बा: मूल गोडेटासित जोडिएका चोरबाटाले हामीलाई अनेक संकटबाट उम्काउथे । त्यसैले अभरपर्दा, हामी वैकल्पिक चोरबाटा प्रयोग गर्नमा उत्साही बन्थ्यौं । खासगरि समयमा उधारो तिर्न नसकेर तर्सँदा चोरबाटा नै हाम्रा उद्दारकर्ता बन्थे ।

खजुरी-बिस्कुट, मिश्री, पुष्टकारी, चना, भट्मास, बदाम । खाजाका अनेक रुप । अधिकांशका खल्ती भने प्राय शून्य । तर उधारो चल्थ्यो । सानागाउँको पोखरीकै डिलमा थियो चतुरेबाको पसल । चतुरेबाको खाता बाक्लो गाता भएको मयूरछाप कापीमा हुने गर्थ्यो । त्यस कापीको कुनै पानामा मेरो नाम पनि उल्लेख थियो । उधारो लिन जो हिचकिचाउथ्यो, सहपाठीका नजरमा लोभीमा दरिन्थ्यो । मैले आफ्नो नामको अगाडि ‘लोभी’ विशेषण थपिनु पहिल्यै खाता खोलेको थिएँ । सायद कसैको सिफारिसमा । नयाँ उधारोकर्ताले खाता खोल्नु परे चतुरेबाको नजरमा इमान्दार ठहरिएका कसैले साक्षी बसिदिनु पर्थ्यो । खातामा नाम लेख्दैगर्दा आफ्नो रकम नफसोस् भन्नेमा पूर्ण सजग हुन्थे चतुरेबा । भन्थे- ‘ट्याममा टिरेन भने, म टिम्रो बालाई भन्न आउँछ नि ! बुझ्यो टिम्ले ?’ उसबेलाका अविभावकहरू अहिलेजस्तो ‘टिफिन कल्चर’मा अभ्यस्त थिएनन् । त्यसैले घरको ताजा मकै-भटमास छोडेर उधारोमा मिस्टान्न खाने छुट दिने त कुरै भएन । र पनि किशोर-जिभ्रोले कहाँ मान्नु ? बरु बेलाबखत लामोहात गर्ने अवस्था आउँथ्यो होला । तर उधारो भने खाइन्थ्यो नै । मलाई हेक्कै भएन; मेरो खातामा पनि ३ रुपियाँ ३२ पैसा चढिसकेछ । अरुका खाता पनि खाली त कहाँ थिए र ? खाता बाक्लिएपछि चतुरेबाको पसल छल्दै चोरबाटो ताक्नु बाहेक अर्को विकल्प हुन्नथ्यो । सामुहिक सल्लाह गरे झैँ हाम्रो सम्पूर्ण झुण्डले चोरबाटो समात्थ्यो। त्यो नै दीर्घकालिन उपाय भने हुन्नथ्यो । दीर्घकालिन उपाय त घरको मूल सन्दूक अथवा बाको खल्तीमा लुकेको हुन्थ्यो ।

त्यसरी भागेर त कति दिन चल्थ्यो र ? सुवेदी गाउँको दोबाटो हुँदै सिमपाखातिर झर्दैगर्दा सोचेँ- ‘सन्दूकको चाबी र बाको खल्तीमा कुन सजिलो होला ? तर थाहापाएपछि प्राप्तहुने प्रतिकृया र विशेषण ?’ उफ्ऽऽऽ ! मैले लामो सास फेर्दा मेरा सहयात्री गणेशेको पसलमा बनेका ताजा पुष्टकारी चपाउँदै थिए । म एक्लै सिमपाखातर्फ लागेँ । ओरालोको मुखमा नपुग्दै मेरा आँखा भुईमा टल्केका तेजिला बस्तुमा अकस्मात अडिए ।  एक रुपियाँ, दुई रुपियाँ, तीन रुपियाँ । दुई-तीन पाइलाको अन्तरालमा छरिएका सिक्का बटुल्दै म चकित परेँ । फेरि उस्तैगरि ओह्रालो सकिनासाथको दोबाटोमा गाईको चित्र अंकित पहेंलो दशपैसा । एउटा, दुईटा र अर्को पनि । सँगै डाँफेको चित्र अंकित दुईपैसा । मान्छेको लोभ अनौठो हुन्छ । मेरा आँखा कसरी भुईंतिरै रुमल्लिएका ? त्यो दिन मात्र होइन । लामो समयसम्म । कतै फेरि भेटिन्छ कि ? तर त्यो नै थियो अद्वितीय आकस्मिकता । उधारो ३ रुपियाँ ३२ पैसा । हात परेको पनि ३ रुपियाँ ३२ पैसा नै । अनौठो उदेक् । तर कसरी ? उहिलेदेखि रहेको छु अनुत्तरित ।

अहिले सोच्छु- त्यसदिन दोबाटोमा त्यो आकस्मिकता नघटेको भए ? के थाहा ? हजूरआमाको सन्दूक अथवा बाको खल्तीमा पल्केको हात र आदतको मजबुरीले आजको मेरो संगीत पनि मेरै सिर्जनाको भरमा टिकेको हुन्थ्यो या अरु कसैको सिर्जना ताक्दै ?

चौथो- रञ्जना हल, ‘आदमी सडक का’  र सिक्काको नाच: एकदिन स्कूलबाट भागेर शहर पसियो । साथमा थियो उही गोविन्द । सिनेमाको रस जो बसेको थियो । पर्दामा जीवन्त मानव चित्रहरू सलबलाएका देख्दा अचम्म लाग्थ्यो । हिन्दी भाषाको पढाइ र ज्ञान त थिएन । र पनि कथा स्पष्ट बुझिन्थ्यो । बुझिन्थ्यो मात्र होइन ! फिल्म हेरेर फर्केपछि सहपाठीहरू बीच पलेँटी कस्दै हुबहु कथा वर्णन गरिन्थ्यो । उबेला उपत्यकामा रहेका हलहरू विश्वज्योति, जयनेपाल, अशोक, नवदुर्गा सबै चाहरी सकेको थिएँ मैले । कहिले नाताका काकाले त कहिले साख्खे मामाले परिचय गराएथे पर्दाको त्यो रमणीय संसारसित ।

रञ्जनामा भने पहिलोपल्ट प्रवेश भएथ्यो । फिल्मको पोस्टर हेर्दा संगीतकारको नाम पनि नछुटाइ हेर्थें म। नौशाद, एस. डी. वर्मन, सलिल चौधरी, आर. डी. वर्मन, मदनमोहन मनपर्दा नाम हुन्थे । त्यसदिन त परैबाट पोस्टरमा देखिएका शत्रुघ्न सिन्हाको चित्र मात्र हेर्ने फुर्सद भयो । मुस्लिम चरित्रका शत्रुघ्नको चित्र मुन्तिर लेखिएको थियो- ‘आदमी सडक का’ । हतारिँदै ब्ल्याकमा टिकेट किन्यौं ।

हल भित्र छिर्दा टिकेट चेक गर्नेले आँखैमा पर्नेगरि टर्चको उज्यालो हामीतिर नचायो र बस्ने इशारा गर्‍यो । सुस्तरी पाइला चाल्दै सीटमा बस्यौं । पर्दामा यशुदासले अभिनय गरेको भिक्स-चक्कीको विज्ञापन चल्दै थियो । त्यसलगत्तै फिल्म सुरु भयो । हाम्रा तनमन पर्दातिरै केन्द्रीत भए । कथाले बिस्तारै उत्कर्ष लिँदैगर्दा पर्दामा ठूलो अक्षरको ‘मध्यान्तर’ झुल्कियो । बाहिर निक्लेर चना चपाउँदै गर्दा गोविन्दले मतिर हेर्दै भन्यो- ‘ओइ, घर फिर्ने गाडी भाडा त नपुग्ने रै’छ ।’ जोसैजोसले खर्चँदा हिसाबकिताब भएछ गोलमाल । दुईजनालाई चाहिने भाडामा एक रुपियाँ कम भइसकेछ । खर्चको जिम्मा लिएको गोविन्दले घोरिँदै उपाय निकाल्यो- ‘हाफ-टाइम’पछिको कथा अलिकति मात्र हेरौं र हिंडेर घर जाऊँ !’ हिंड्ने कुराले मलाई रिङटा छुट्ला झैँ भयो । त्यो पनि एकनासले हिंड्दासमेत तीनघण्टा लाग्ने लामो बाटो । अब गर्ने के? नपुग भाडामै गाडीमा फिर्ने आँट गरौं कि ? गाडीवालाले कम भाडा दिनेको कठालो समात्दै वेइज्जत गरेका दृश्यका भुक्तभोगी हामी । आखिर गोविन्दको उपाय निर्विकल्प भयो । हामी फेरि हलमा छिर्‍यौं । टिकेट जाँच्नेले उसैगरि टर्च बाल्यो । हामी उसैगरि सीटमा पुग्यौं । फिल्मले नयाँ मोड लिँदै थियो । मेरो कानमा अकस्मात एउटा छुनमुने आवाज ठोक्कियो- किरिरिरिरि छुनुनुन्न छ्याप् !!! आवाजको पिछा गर्दै कसैले नेवारीमा भन्यो- ‘काऽऽऽ कुटु वन:’ । छामछामछुमछुम गर्दै उ मेरो दाहिनेपटीको खाली भागसम्म आइपुग्यो । पछाडीबाट एकसाथ केही आवाज ओइरिए- ‘ऐऽऽ फेटु, फेटु ! सुङ्क च्वँ ! डिस्टब यामते !’ उ चुपचाप निहुरँदै फर्कियो र आफ्नो सीटमा बस्यो । पर्दाको दृश्यमा उज्योलो बढ्दा खुट्टा छेउमा मैले केही टल्केको देखेँ । त्यो टल्कँने बस्तुलाई सुस्तरी जुत्ताले छोपेँ । त्यतिबेला पर्दामा साइकिल चलाउदै गीत गाइरहेका थिए शत्रुघ्न सिन्हा । शत्रुघ्नतिर हेर्दै मैले आफ्नो हात आफ्नै खुट्टातिर बढाएँ र जुत्ताले थिचेको टल्कँने बस्तु हत्केलामा ल्याएँ । देखेर चकित परेँ- ‘एक रुपियाँ’ । तुरुन्त गोविन्दलाई कोट्याएँ- ‘ओइ, मैले एक रुपियाँ भेटेँ !’ उस्ले दह्रोगरि मसित हात मिलायो । हामीले उन्मुक्त बन्दै पूरै फिल्म हेर्‍यौं। मलाई अझै सम्झना छ; महाबौद्धको गल्लीबाट बस-पार्कतर्फ लाग्दा हाम्रा ओठ उमंगले चलायमान थिए-

कोइ काम नहीं है मुस्किल
जब किया इरादा पक्का
मैं हुँ आदमी सडक का

अहिले सोच्छु- त्यसदिन नाच्दै गरेको सिक्का मेरै सामुमा नरुक्दो हो त ? के थाहा ? मैले आकस्मिकताहरू माथि यसरी सोच्ने नै पो थिइन कि ?

Source : http://aavaas.net/Silot/?p=952