नेवा: स इन्टरनेट रेडियो

Tuesday, January 29, 2013

कदर भएन जिउँदो सहिदको


कदर भएन जिउँदो सहिदको

प्रस्तुति : मधुसुधन भट्टराई


Ram Hari Sharma
२४ असोजमा मुलुकले एउटा त्यस्तो व्यक्ति गुमाएको छ, जसले देशको स्वतन्त्रका लागि शासकविरुद्ध कदम उठाउने जोखिम मोले । तर, उनको त्यो कदमकै वेला जनतालाई भने बोल्नसमेत छुट थिएन । जतिसुकै शारीरिक यातना पाए पनि उनले आफ्नो यात्रा रोकेनन्, बरु जनतामा राजनीतिक चेतना जगाउने कामको सुरुवात गरे । मुलुकमा जनताका अधिकार खोसेर एकतन्त्रीय शासन लादेका राणाको शासनविरुद्ध सबैभन्दा पहिला संघर्षको सुरुवात गरेका थिए । ३० जेठ १९९३ मा एकतन्त्रीय राणा शासनको विरोधमा 'प्रजा परिषद्' पार्टीको स्थापना गरेर प्रजातन्त्र स्थापनाका लागि आन्दोलन सुरु गर्ने ती व्यक्ति हुन् रामहरि शर्मा । उनलाई नेपाली राजनीतिमा 'जिउँदो सहिद' भनेर चिनिन्छ । 

३० जेठ १९९३ मा काठमाडौंको झोन्छेस्थित सहिद धर्मभक्त माथेमाको घरमा गोप्य रूपले शर्माको सक्रियतामा टंकप्रसाद आचार्य, दशरथ चन्द मिलेर 'प्रजा परिषद्' नामक पार्टी स्थापना भएको थियो । त्यसपछि उनीहरू राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि लागिरहे । रामहरि शर्मासँग सँगसँगै राजनीति गरेका कांग्रेस पूर्वमहामन्त्री कुलबहादुर गुरुङ नेपालमा जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न शर्माको अतुलनीय योगदान रहेको बताउँछन् । नेपालको राजनीतिमा प्रजातन्त्रका लागि भएको आन्दोलनका 'अभियन्ता'का रूपमा शर्मालाई लिनुपर्ने तर्क गुरुङको छ । 'रामहरि शर्मा मुलुकमा प्रजातन्त्र स्थापनाको सुरुवात गर्ने अभियन्ता हुन,' गुरुङ भन्छन्, 'जुनवेला जनतालाई बोल्न छुट थिएन । आफ्नो अधिकारबारे शासकले गरेको कामका विरुद्ध कुरा उठाए त्यसले जघन्य शारीरिक यातना पाउँथ्यो । त्यस्तो वेला उनले जनतामा राजनीतिक चेतना जगाउने कामको सुरुवात गरेका हुन्, उनको काम सराहनीय थियो ।'

भदौ १९९७ सालमा सभापति टंकप्रसाद आचार्य, उपसभापति दशरथ चन्द र महामन्त्री शर्मा रहेको प्रजा परिषद्ले राणाहरूको विरोधमा जनतालाई जागृत गर्न भन्दै काठमाडौंमा अत्यन्त गोप्य तरिकाले व्यापक पर्चासमेत वितरण गरेको थियो । यतिसम्म कि राणाले आफूहरू विरुद्धको आन्दोलन गर्ने प्रजा परिषद्मा संलग्न हुनेहरूको बारेमा धेरै प्रयासका बाबजुद दुई महिनापछि मात्र पत्तो पायो । पत्तो पाएलगत्तै २ कात्तिक १९९७ मा राणाहरूले उनीहरू विरुद्ध व्यापक धरपकड सुरु गरे । त्यस समयमा भारतमा रहेका सभापति टंकप्रसाद आचार्यलाई पनि राणाले पक्रेर काठमाडौं ल्याए ।
टंकप्रसाद आचार्य, रामहरि शर्मा, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई काठमाडौंबाटै राणाहरूको निर्देशनमा पुलिसले पक्राउ गरे । त्यसै समयमा पक्राउ परेका शास्त्री, चन्द, श्रेष्ठ र माथेमालाई राणाले एकतर्फी फैसला सुनाई ६ माघ १९९७ मा मृत्युदण्डको सजाय दिने निर्णय गरे । उनीहरूसँगै पक्रिएका टंकप्रसाद आचार्य र शर्मालगायतलाई महिनौँसम्म असहनीय शारीरिक यातना दिइयो । 

तत्कालीन कानुनी व्यवस्थाअनुसार राणाले आचार्य र शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड दिएनन् । 'चार सहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दसँगै रामहरि शर्मा र टंकप्रसाद आचार्यलाई पनि मार्ने थिए । ब्राह्मण भएर मात्र मृत्युदण्ड दिएनन,' गुरुङ भन्छन्, 'तत्कालीन कानुनी व्यवस्थाअनुसार राणाले आचार्य र शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड नदिएका हुन् । दुवैजनालाई चारपाटे मुडेर जात च्यूत गरी आजीवन काराबासको सजाय दिइएको थियो ।'
त्यसैले शर्मालाई 'जिउँदो सहिद' भनी चिनिन्छ । दुवैजनालाई चारपाटे मुडेर जात च्यूत गरी आजीवन काराबासको सजाय दिइएको विभिन्न राजनीतिक दस्तावेजमा समेत पढ्न पाइन्छ । मृत्युदण्ड सुनाइएका चारजनालाई १० देखि १६ माघसम्म राजधानीका विभिन्न स्थानमा क्रूरतापूर्ण तरिकाले राणाले मृत्युदण्ड दिए । पछि २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि कांग्रेस नेतृत्वमा बनेको सरकारले उनीहरूलाई सहिद घोषणा गरिएको थियो । 

त्यसै आन्दोलनमा संलग्न भएको भन्दै सर्वमान्य नेता एवं लौहपुरुष गणेशमान सिंह, चुडाप्रसादलगायत दर्जनौँलाई राणाले आजीवन काराबासको सजाय सुनाएका थिए । केहीलाई १२ वर्षको सजाय तोकेर कठोरतापूर्वक जेलमा राखेे । सर्वमान्य नेता सिंह २००१ सालमा राणाहरूको जेल तोडेर उम्किएका थिए । आचार्य र शर्मालगायत अरू धेरै राणा शासनविरुद्ध आन्दोलन गर्नेहरू २००७ को जनक्रान्ति सफल भएपछि मात्र जेलबाट उम्कन पाएका थिए । शर्मा र आचार्य १० वर्षको कठोर सजायपछि २००७ माघमा रिहा भएका थिए । त्यसपछि पनि शर्माले देशमा प्रजातन्त्रको संस्थागत विकासमा निरन्तर संघर्ष गरिरहेका थिए । 

पछिल्लो समयमा देखिएको राजनीतिक संकट समाधान पनि त्यस्तै ज्यानको बाजी राखेर मुलुक र जनताको पक्षमा निर्णय लिने व्यक्ति भए सहजै हुने गुरुङको भनाइ छ । 'अहिलेको संकट समाधान मुलुक र राष्ट्रको स्वार्थका लागि राजनीति गर्ने नेताको अभावमा हुन नसकेको हो,' गुरुङ भन्छन्, 'रामहरि शर्माजस्ता निडर र प्रजातन्त्र ल्याउन र संस्थागत गर्नका लागि लागिपर्ने राजनेता भए वर्तमान संकटको समाधान सहजै हुन्छ ।'

कांग्रेसले पनि 'प्रजा परिषद्'ले सुरु गरेको प्रजातन्त्र स्थापनाको आन्दोलनलाई नै निरन्तरता दिएर २००७ सालमा प्रजातन्त्र आएको हो । 'कांग्रेसले 'प्रजा परिषद्'मा संलग्न नेताहरू टंकप्रसाद आचार्य, चुडाप्रसादलगायतलाई समाहित गरेर राणा शासनविरोधी आन्दोलनको सुरुवात गरेको थियो । त्यही आन्दोलनले सफलता प्राप्त गरेर मुलुकमा प्रजातन्त्र आएको हो,' गुरुङले भने ।

तर, वर्तमान सरकारले भने उनको योगदानको उचित कदर गरेको होइन भन्ने लाग्छ । उनको मृत्युपछि बसेको मन्त्रिपरिषद्को बैठकले उनको परिवारसँग छलफल गरी सम्मान दिने भनेको त छ तर अझैसम्म कस्तो र के सम्मान दिने भन्ने निक्र्योल भइसकेको छैन । अन्य परिवर्तनकारी आन्दोलनमा सक्रियता देखाएका र नेतृत्व लिएकालाई सरकारले आफैँ निर्णय गरेर सम्मान दिन्थ्यो, तर उनकोमा परिवारसँगको छलफलपछि मात्र निर्णय लिने बताएर प्रजातन्त्रको स्थापनाका लागि उनले सुरु गरेको कार्यको कदर गर्न नसकेको गुरुङले बताए । तदारुकताका साथ सरकारले गर्नुपर्ने सम्मान गर्न नसकेको उनको भनाइ छ ।

Source :http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6870:2012-10-16-04-17-10&catid=39:2011-07-03-13-23-23&Itemid=55

No comments:

Post a Comment